भर्खरै :

अमेरिकी राष्ट्रपतिप्रति विश्व स्वास्थ्य सङ्गठनका अधिकारीको खेद

ब्रसेल्स, १९ सेप्टेम्बर । विश्व स्वास्थ्य सङ्गठनका एक जना उच्च विज्ञले बिहीबार संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी स्वास्थ्य अधिकारीहरूले कोभिड–१९ बारे दिएका अन्तरविरोधी अभिव्यक्तिप्रति टिप्पणी गर्दै सबै देशले आफ्ना जनतालाई ‘एकैथरी सन्देश’ दिनुपर्ने बताएका छन् ।
संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले नोबेल कोरोना भाइरसको खोप सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुनसक्ने र मास्क अझ बढी प्रभावकारी हुनसक्ने भनी दिएको अभिव्यक्तिलाई लिएर ट्रम्पले फरक धारणा सार्वजनिक गरेका थिए । एउटा पत्रकार भेटघाट कार्यक्रममा ट्रम्पले कोभिड–१९ को खोप रोबर्टले भनेभन्दा पहिले नै आउने बताए । ट्रम्पले रोबर्टलाई उनको त्यस्तो भनाइबारे स्पष्टीकरण सोध्न बोलाएको पनि पत्रकारहरूलाई जानकारी दिए । ट्रम्पले आफूले सोधेको प्रश्नको जवाफ स्पष्टसँग दिन नसकेको पनि बताए ।
“हामीले सबै तहमा एकैथरी सन्देश प्रवाह गर्नु महत्वपूर्ण छ । यो कुनै एउटा देश वा एउटा निकायको कुरा होइन । विज्ञान र सरकारबीच एकैथरी सन्देशको प्रवाह आवश्यक छ”, संरा अमेरिकामा भएको सो घटनाको विषयमा प्रतिक्रिया दिँदै विश्व स्वास्थ्य सङ्गठनका माइक रायनले भने ।
“नयाँ तथ्याङ्क र प्रमाणहरू फेला परिरहेको सन्दर्भमा कोरोना भाइरससम्बन्धी विज्ञान ‘जटिल विषय’ हो । त्यसकारण यसबारे एकै सन्देश सबैलाई समयमै पु¥याउन सहज छैन”, उनले भने ।
“सरकार, वैज्ञानिक अनुसन्धान केन्द्रहरूले एक पाइलापछि हटेर पनि प्राप्त प्रमाणहरूको समीक्षा गर्नुपर्छ र जनतालाई व्यवहार गर्न सहज हुने गरी बुझिने हिसाबले विस्तृत जानकारी दिनुपर्छ”, रायनले भने ।
अफ्रिकामा इबोला र अन्य महामारी फैलिँदा त्यसको नियन्त्रणमा विज्ञता हासिल गरेका उनले समुदायका पिर र चिन्तालाई समाधान गर्न जिम्मेवार निकाय सक्रिय हुनुपर्ने बताए ।
विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत कोभिड–१९ को प्राविधिक समूहको नेतृत्वमा रहेर काम गरिरहेकी मारिया भान केखोभले भाइरसको सङ्क्रमण रोकथाम गर्न आपसी दुरीलगायत अन्य सावधानीका उपायहरूको विस्तृत नियम भएको बताइन् ।
“तीमध्ये मास्क पनि एउटा हो”, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *