भर्खरै :

सोतर भो धान ः किसान चिन्तामा

भक्तपुर, ८ असोज । पानी परिरहेको बिहीबारको दिन । सोमबारदेखि लगातार पानी परेको कारण भक्तपुरको तचपाल टोलका विष्णु लवजूको ताथलीस्थित खेतको धान ‘सुकुल ओछ्याएजस्तै गरी’ लडेको थियो ।
त्यही लडेको धान उठाउन छोरा, बुहारीसहित लवजू चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सिलिंचास्थित खेतमा पुगे ।
घरबाटै ओढ्नका लागि प्लास्टिक बोकेर खेत पुगिसक्दा पनि पानी रोकिने कुनै छाँट थिएन । पानी एकनासले परिरहेको थियो ।
लडेको धान उठाउनमै उनीहरू परिवारै व्यस्त थिए, उनीहरूलाई पानीको कुनै परवाह थिएन । लडेको धान दुई हातले अँगालो मारेर उठाउँदै, धानको बोट बाँध्दाबाँध्दै उनीहरूले लगाएको लुगा निथु्रक्क भइसकेको थियो । तैपनि काम सकिएको थिएन ।
उनीहरूले दिनभर परिरहेको पानीको मतलब नगरी लडेको धान उठाए ।
“ठूलो पानी प¥यो, बोटले ठाम्नै सकेन, अझ हावा पनि बेसरी चल्यो, धान ढल्यो” किसान लवजूले भने । “नउठाई सुख्खै छैन, नउठाए पानी जमेको खेतमा लत्रेको धानै टुसाउँछ ।” पानी पर्दापर्दै ढलेको धान उठाउन पर्नाको कारण खुलाए किसान लवजूले ।

भक्तपुर तचपालका किसान विष्णु लवजूका छोरा – बुहारी, चाँगुनारायण नपा वडा नं. ९ ताथलीस्थित खेतको ढलेको धान उठाउँदै । हातमा धानको पातले काटेर राताम्य भए पनि ढलेको धान उठाउनुको विकल्प नभएको उनीहरू बताउँछन् ।


किसान लवजूको मात्र हैन, अहिले जिल्लाका अधिकांश किसानले लगाएको धान ढलेको छ । दुई दिन अघिदेखि (सोमबार÷मङ्गलबार) परेको भारी वर्षा र चलेको हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएको धानबालीमा क्षति पुगेको छ । पाक्ने बेलाको धानबाटै ढलेपछि जिल्ल्लाका चारवटै नगरपालिकाका किसान चिन्तित छन् ।
पाक्ने बेलामा धान ढलेपछि गेडा पुष्टिन नपाउने हुँदा उत्पादनमा समेत गिरावट आउने भएपछि किसान चिन्तित बनेका हुन् ।
“जेठ, असारमा लगाएको धान अहिले पाक्न थालेको थियो, केही दिनमै काट्नसमेत तयारी थियो, तर अत्यधिक परेको पानीले धान ढलेको छ, हाम्रो मिहिनेत खर जाने भयो ।” चाँगुनारायण नगरपालिका वडा नं. ९ फैढोकास्थित खेतमा ढलेको धान बाँध्दै गरेका किसान आशमती कोजूले भनिन् ।
कतै पहेँलपुर भइसकेको, कतै भने पुष्ट हुने बेलाको धान खेतमै लडेका छन् ।
“सुकुल ओछ्याएको जस्तै गरी धान लडेको छ, सोतरै भयो ।” एक किसानले गुनासो पोखे । धान ढलेर क्षति पुगेपछि आफ्नो वर्षभरिको महेनत खेर गएको किसानले बताएका छन् । “पानीमात्र परेको भए केही नहुने थियो, बेसरी हावाहुरी चल्दा धान ढलेको छ ।”
“असारमा मानो रोपेर मुरी फलाउने किसानहरूको सपना खत्तम भएको छ, भएको धान पनि अब भुस होला कि भन्ने लागेको छ ।” किसान केशव खड्का भन्छन् । उनले यो वर्ष किसानको मेहनत खेर जाने सम्भावना बढेको बताए ।
कृषि सेवा केन्द्र झौखेलका प्रमुख मणिराम दवाडीले क्षतिको विवरणबारे जानकारी नभएको बताए ।
यो वर्ष लगाएको स्थानीय ताइचुन,मन्सुली, खुमल जातका धानमात्र नभएर हाइब्रीड धान पनि लडेको किसानहरूले जानकारी दिएको उनको भनाइ छ ।
त्यसअलावा किसानले आफ्नो खेतको उत्पादकत्व बढाउने नाममा अत्यधिक मात्रामा युरिया मलको प्रयोग गर्नु, धान बाक्लो गरी रोप्नु, बीउको उपचारै नगरीकन रोप्नाले पनि धान ढल्ने सम्भावना रहने उनी बताउँछन् ।
भक्तपुरको ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३५२ हेक्टरमा धानखेती गरिएको तथ्याङ्क छ । भक्तपुरमा वार्षिक २५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । जिल्लामा प्रतिहेक्टर ६ टन धान उत्पादन हुने गरेको छ । यो वर्ष समयमै धान रोप्न पाएका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा भए पनि धान ढलेपछि उत्पादनमा कमी आउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *