भर्खरै :

हुम्लाको टोकुलेमा भेटियो ११ नम्बरको सीमा स्तम्भ

काठमाडौँ, ८ असोज । विभिन्न सञ्चारमाध्यममा नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ हराएको भनी आएको समाचार गलत ठहरिएको छ ।
हुम्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) चिरन्जीवी गिरीको नेतृत्वमा गएको नेपाली सेनासहितको टोलीले ११ नम्बर सीमा स्तम्भ फेला पारेको हो । चार दिनअघि सीडीओ नेतृत्वको टोली ११ नम्बर सीमास्तम्भको खोजीमा त्यसतर्फ गएको उनले बताए ।
हिउँ र माटोले पुरिएको अवस्थामा ११ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको जनाइएको छ ।
१२ नम्बर सीमा स्तम्भ वडा नम्बर ६ कै लिमीमा भएको र ११ नम्बर सीमा स्तम्भ पनि भेटिएपछि अब रेखाङ्कन गर्न सकिने बताइएको छ ।
सन् २०१९ मा उक्त सीमा स्तम्भहरू निर्माण गरिएका थिए । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।
बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका निर्णय सार्वजनिक गर्दै नेपाल–चीनबीच कुनै सीमा समस्या नभएको बताएका थिए । उनले चीनले नेपाली सीमाभन्दा एक किलोमिटर परै
संरचना बनाएको बताएका थिए । उनले भने, “हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रस्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको छ । त्यतिबेला गठन भएको छानबिन समितिले लिमीमा चीनले बनाएका भवन नेपाल–चीन सीमा क्षेत्रभन्दा एक किलोमिटर पर नै रहेको प्रतिवेदन बुझाएको र अहिले पनि त्यहीँ भवन बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *