भर्खरै :

मन्त्री भाग लगाउँदै दिने पद होइन

अहिले मन्त्रिमण्डल हेरफेरको चर्चा छ । नयाँ मन्त्री नियुक्ति गर्न नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल रातदिन जुटेका छन् । मन्त्री नियुक्ति गर्न योग्यता र क्षमताको खोजी भइरहेको बुझिएको छ । कुशल व्यक्ति मन्त्री हुनुपर्ने र बनाइनुपर्ने प्रसङ्ग पनि उठेको छ । नयाँ मन्त्रीहरू अग्रगामी र परिवर्तनकामी हुुनुपर्ने माग उठेको छ । तर, सरकार र नेकपाले जस्तो मन्त्री खोजे पनि, जस्तो मन्त्री बनाए पनि देशको अनुहार फेरिने छैन । नयाँ मन्त्रीमा सुरुमा केही जोश, जाँगर होला तर काम गर्ने शैली र प्रक्रिया उस्तै हुन्छ । पहिलेकै विचार, नीति तथा कार्यक्रम र बजेटको आधारमा नयाँ मन्त्रीले काम गर्छ । त्यसकारण नयाँ मन्त्रीले थप कुनै काम गर्ला, गरेर देखाउला भन्ने विश्वास कसरी गर्ने ?
मन्त्रीहरू देश र जनताप्रति समर्पित हुनुपर्छ । मन्त्रीहरू इमानदार, योग्य, चरित्रवान, देशभक्त र कम्युनिस्ट आचरणको हुनुपर्छ । मन्त्रीहरू सङ्कीर्ण सोचका, जातिवादी र क्षेत्रीयवादी हुनुहुँदैन । मन्त्रीहरू साम्राज्यवादविरोधी र विस्तारवादविरोधी हुनुपर्छ । मन्त्रीले आफ्नो जिल्लाको हेर्ने होइन, आम नेपाली जनता या समग्र देशको हित या पक्षमा हेर्नुपर्छ । मन्त्रीले पदको दुरूपयोग गर्नुहुँदैन । मन्त्रीको काम मन्त्रालयको क्वार्टरमा ठेकेदार, कमिसनखोर, कालाबजारीसँग भेटघाट गर्ने होइन । आफ्नो मन्त्रालयअन्तर्गत रहेका सबै काम जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ । मन्त्रालयको क्वार्टर या नेता तथा कार्यकर्तासँग भेटेर कार्यकर्तालाई आर्थिक सहयोग बाँड्ने काम छोड्नुपर्छ । मन्त्री भएर अब कहाँ, कसरी, कति कमाउने भन्ने सोच राख्नुहुँदैन । नयाँ अनुहारका मन्त्रीहरू नेकपाकै नेता तथा सांसदहरू हुने हुँदा मन्त्रीहरू जो आए पनि जनताको लागि हर्ष न विस्मात् हुनेछ ।
यतिबेला सञ्चारमाध्यमको ध्यान पनि मन्त्री हेरफेर गर्नेसम्बन्धी केन्द्रित देखिन्छ । पत्रिकाहरूमा ‘भागबन्डा पु¥याउन मन्त्रालय फुटाउने खेल’, ‘तीन मन्त्रालय टुक्राइँदै’, ‘भागबन्डामै अल्झियो मन्त्रिपरिषद् पुनर्गठन’ जस्ता समाचारले ढाके । सरकार र नेकपाको मात्र होइन नेकपाका सांसद, जनप्रतिनिधि र कार्यकर्ताको ध्यान पनि मन्त्री नियुक्ति गर्ने सम्बन्धमा गएको छ । नेता या सांसदलाई चित्त बुझाउन, उनीहरूको रिस र असन्तोष सेलाउन मन्त्री बनाउने सरकार र नेकपाको चिन्तन नै गलत छ । मन्त्री भाग लगाउँदै दिने पद होइन । नेकपाभित्र यस्तै विवादको कारण मन्त्रिमण्डल छिनछिनमा हेरफेर हुन्छ, हेरफेर भइरहेको हो ।
नेकपाको झन्डै दुईतिहाइ प्राप्त वर्तमान सरकारले जिम्मेवारीपूर्वक काम गर्न सकिरहेको छैन । मन्त्रिमण्डल यसअघि पनि हेरफेर भएकै हो । नयाँ मन्त्री हुनेबित्तिकै फटाफट काम हुने र पुरानाले काम गर्दैनन् भन्ने कुरा होइन । पुराना मन्त्रीहरू सबै अयोग्य र नयाँ मन्त्रीहरू सबै योग्य हुन्छन् भन्ने कुरा होइन । नयाँ अनुहारका मन्त्रीहरू पुराना मन्त्रीहरूझैँ फस्नेमा शङ्का छैन । हाल नियुक्ति भएका मन्त्रीहरू पनि सुरुका बखतमा योग्य, क्षमतावान ठानेका थिए । पछि कमिसनको खेलमा लागे । उनीहरू अनियमित बाटोमा लागे । राजनीति गरेर देश र जनताको सेवा होइन कमाउधन्दामा लागे । नेकपाका नेता, मन्त्री र सांसदहरूको चिन्तन र सोच नै जनताको सेवाभन्दा कमाउधन्दा रहेको छ, अकुत सम्पति कुम्ल्याउनेतर्फ ध्यान गएको छ । यो दुर्भाग्यपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *