भर्खरै :

सरकार दीर्घकालीन असरबारे मतलब राख्दैन

देशको स्वाधीनता र सार्वभौम रक्षाको निम्ति नझुक्ने देश प्रजातान्त्रिक जन–गणतन्त्र कोरिया हो । संसारलाई नचाइरहेका र खेलाइरहेका शक्तिशाली देशविरुद्ध लड्ने र आँधीबेहरीमा अड्न सक्ने देशको रूपमा प्रजग कोरिया उभेको छ । कुनै पनि बेला संयुक्त राज्य अमेरिकाले प्रजग कोरियामा आक्रमण गर्नसक्ने हुँदा प्रजग कोरियाले देशको सार्वभौमिकता जोगाउन, कोरियाली जनताको सुरक्षा गर्न आणविक परीक्षण गरेको हो, हाइड्रोजनको परीक्षण गरेको हो । संयुक्त राज्य अमेरिकाले आफ्नो विचारसित नमिलेका कुनै पनि देशमा आक्रमण गर्ने, नाकाबन्दी गर्ने, राष्ट्र प्रमुखहरूको हत्या गरी सत्ता उल्टाउने अमेरिकी प्रशासनको विश्वभर निन्दा हुँदै छ । अमेरिकाले संसारका स्वाधीन सार्वभौम मुलुकमा जे पनि गर्न पाउने तर त्यसको चुइँक्क बोल्न नपाउने, विरोध गर्न नपाउने कस्तो सांसारिक नियम ¤ ठूलाले जे पनि गर्न पाउने, जे गरे पनि सहरे बस्नुपर्ने र त्यस मनपरीतन्त्रको विरोध गर्नेबित्तिकै आक्रमण गर्ने, नाकाबन्दी गर्ने दादागिरीको जति निन्दा गरे पनि पुग्दैन । यसको अरू स्वतन्त्र मुलुकले मात्र होइन संयुक्त राष्ट्र सङ्घले पनि विरोध गर्नुपर्छ, खबरदारी गर्नुपर्छ ।
शक्तिशाली देश संयुक्त राज्य अमेरिकाले आक्रमणको धम्की दिए पनि प्रजग कोरिया डराएन, झुकेन । आक्रमण गर्ने धम्कीको प्रजग कोरियाले प्रतिकार गर्ने बतायो । तर, नेपाल अमेरिकीसामु थुरथुर काम्छ, शक्तिशाली देश अमेरिका र भारतसामु झुक्छ । नेपालको संविधान र सार्वभौम देश कमजोर बनाइने एमसीसी सम्झौता लागू नभए अमेरिकाको सम्बन्ध चिसिन्छ, पछि सहयोग पाउन समस्या हुन्छ भनी आत्मसमर्पण गर्छ । अमेरिकी प्रशासनको धम्की र दबाबकै कारण नेकपाको स्थायी समितिको बैठकले संशोधनसहित एमसीसी सम्झौता पारित गर्ने निर्णय ग¥यो । एमसीसी सम्झौतामा कुन–कुन सर्तहरू संशोधन गर्ने हो, त्यो यकिन छैन । कुनै विकास योजना संसदले नै पारित गर्नुपर्ने सर्त किन राख्यो भन्नेतर्फ सरकार गम्भीर बन्दैन ।
प्रजातन्त्र स्थापना भएको धेरै वर्ष भयो । गणतन्त्र स्थापना भएकै १२ वर्ष बित्यो । यस अवधिमा नेपाल र नेपालीलाई चिनाउन सक्ने, विश्वसामु चिनाउन सक्ने खालको कुनै उल्लेखनीय काम सरकारले गर्न सकेको छैन । अरू देशमा वामपन्थी सरकारले जनताको जीवन सुनिश्चित बनाउन रोजगारको व्यवस्था, आवास निर्माण र भूमि व्यवस्थापन गरेको हामी सुन्छौँ । नयाँ नयाँ उद्योग खोलेर काम–मामको व्यवस्था र आधारभूत आवश्यकता परिपूर्ति गरेर आत्मनिर्भर बनाउने प्रयास गरिरहेको सुन्छौँ । तर, प्रजातन्त्र पुनस्र्थापनादेखि हालसम्मका नेपाल सरकारहरूले त्यस्तो कुनै उल्लेखनीय काम गर्न सकेका छैनन् । सडक पीच, पुल निर्माण, सडक मर्मत, झोलुङ्गे पुल निर्माणको बखान गरेर विकास उचाइमा पु¥याएको भनी सरकारले सन्तोषको सास फे¥यो ।
प्रजग कोरिया बुद्धिजीवीहरूको देश बनाउने अभियानमा छ । तर, नेपाल साक्षर मुलुक पनि बन्न सकेको छैन । साक्षर मुलुक बनाउने घोषणा धेरै वर्षपहिले नै गरिएको थियो । अहिलेसम्म त्यो पनि पूरा भएको छैन । काठमाडौँ उपत्यकामा ल्याइने मेलम्ची योजना पूरा गर्न झन्डै तीन दशक लगाइयो । यो वर्ष खानेपानी खुवाउने वाचा पनि पूरा भएको छैन । झन्डै एक दशकअघि नै भएको सम्झौताअनुसार रेल चल्यो भनेर गर्व गर्ने ? के भारतसँग रेल किनेर चलाउनु पनि विकास हो ? रेल मर्मत गर्नु र रेल चलाउनु यो सरकारको नयाँ काम होइन । अझ नेपालमा त रेल विस. १९९४ मै बनेको थियो ।
प्रजग कोरियाले साम्राज्यवादी शक्तिविरुद्ध अन्तिम दमसम्म लड्ने प्रण गरेको छ । यो जनता, प्रजग कोरियाली सरकार, पार्टी र सेनाको प्रतिबद्धता पनि हो । जनताको भविष्यको लागि देशमा केही अभाव हुन नदिने अर्पण गरिएको छ । त्यसलाई कार्यान्वयनमा लगिरहेको छ । जनतालाई केन्द्रविन्दु बनाएर शक्तिशाली देश बनाउन पार्टी, सरकार, सेना, जनता लागेका छन् । प्रजग कोरियाको लागि संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरिया खतराका देश हुन् । प्रजग कोरिया युद्ध होइन, शान्तिको पक्षमा छ । तर, कुनै शक्ति राष्ट्र आक्रमण गर्न आइपरेमा जाइलाग्न प्रजग कोरिया पछि पर्ने छैन । प्रजग कोरिया स्वतन्त्र र शान्तिपूर्णरूपमा सबै देशसँग मैत्री सम्बन्ध अघि बढाउन चाहन्छ र तद्नुसार लागिपरेको छ । अहिले विश्वका शक्तिशाली देश संयुक्त राज्य अमेरिका, बेलायत, भारतजस्ता देशमा सरकारको अकर्मण्यता, जनविरोधी ऐन कानुनको विरोधमा स्थानीय न्यायप्रेमी जनता आन्दोलित छन् । कुनै पनि देशमा आक्रमण गर्नसक्ने अमेरिकी नीतिको विरोधमा विश्वका न्यायप्रेमी जनता र देश सङ्गठित हुँदै छन् । नेपाल सरकारले पनि साम्राज्यवादको विरोध गर्नुपर्छ, साम्राज्यवादविरोधी सङ्घर्षको समर्थन गर्नुपर्छ । देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाको निम्ति प्रजग कोरियाले थालनी गरेको प्रयासको नेमकिपाले समर्थन गरेको छ ।
कुनै पनि कम्युनिस्ट पार्टीले देशको स्वाधीनताको निम्ति गरेको आन्दोलन र क्रान्तिकारी विचारलाई जीवन्तता दिने काम गर्छ । कोरियाली शैलीको समाजवाद अघि बढाउन र साम्राज्यवादविरोधी सङ्घर्षलाई प्रजग कोरियाले निरन्तरता दिइरहेको छ । यसको स्वागत र समर्थन हरेक कम्युनिस्ट पार्टीले गर्नुपर्छ । अमेरिकाले कुनै देशमा आक्रमण गर्ने नीति पारित नगरेको भए, प्रजग कोरियालाई घेरामा पारेर नाकाबन्दी गरी सास्ती गर्ने काम नगरेको भए, संसारका स्वाधीन र सार्वभौम देशलाई आक्रमण गर्ने धम्की नदिएको भए प्रजग कोरियाले हतियार उत्पादन गर्नुपर्ने होइन । हतियार उत्पादन गरेर देशको ठूलो खर्च अनुत्पादक सामानमा गर्नुपर्ने जरुरत छैन । देशको रक्षा गर्न नै प्रजग कोरियाले अणु उत्पादन गरेको हो । प्रजग कोरिया कामदार जनता र समाजवादको पक्षमा छ । यसरी समाजवादको पक्षमा प्रजग कोरिया लागिपरेको छ । तर आफूलाई कम्युनिस्ट भनिने, ठूलो, शक्तिशाली नेकपाको सरकारले समाजवादको पक्षपोषण होइन पुँजीपति वर्ग, जमिनदार, ठेकेदारहरूको पक्षपोषण गरिरहेको छ । बरु साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतको उठबसमा नेकपाको सरकार चलिरहेको छ । कम्युनिस्ट पार्टीको सिद्धान्त र दर्शन छाडेर पुँजीवादी राजनीतिमा नेकपा फसिरहेको छ ।
संयुक्त राज्य अमेरिकाले दर्जनौँ देशमा सशस्त्र हतियारसहितको सेना तैनाथ गरेको छ । अहिले एमसीसी सम्झौताको कुरा उठाएर अमेरिकाले नेपालमा पनि सेनाले पाइला टेक्ने चाँजोपाँजो मिलाउँदै छ । नेपाल सरकार यसमा चुकेको छ । नेकपाको सरकार अहिलेको फाइदामात्र हेर्छ, दीर्घकालीन असरबारे मतलब राख्दैन । नेपालका सत्तारुढ दलहरू अवसरवादमा फसेकै कारण देशको दुर्गति भएको हो, देशको अर्थतन्त्र नाजुक भएको हो, देश विदेशी ऋणमा डुबेको हो, देश परनिर्भर भइरहेको हो । समाजवादको पक्षमा लाग्ने हो, कम्युनिस्ट आन्दोलन अघि बढाउने हो भने पार्टीको पथप्रदर्शकअनुसार सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *