भर्खरै :

रुसको डिसेम्बर विद्रोह – कुलीनवर्गविरुद्ध कुलीनवर्गको विद्रोह

सन् १८२५ डिसेम्बर १ (पुरानो रुसी क्यालेन्डरअनुसार नोभेम्बर १९) का दिन रुसी साम्राज्यवादका तत्कालीन सम्राट जार अलेक्जेन्डर प्रथमको दक्षिणी रुसको तागानरोङ्ग सहरमा निधन भयो । साम्राज्ञी एलिजाबेथलाई क्षयरोग लागेको कारण अजोभ समुद्र किनारमा रहेको तागानरोङ्गको गृष्म दरबारमा साम्राज्ञीसहित स्वास्थ्य लाभ गर्न पुगेका सम्राट आफै टाईफाइड रोगले ४७ वर्षको उमेरमा बिते । अलेक्जेन्डरका कुनै सन्तान जिवित नभएकाले साम्राज्यको पहिलो उत्तराधिकार माहिलो भाइ कोन्स्टानतीनमा जान्थ्यो । सम्राटको निधनको खबर १९०० किलोमिटर उत्तरमा पर्ने राजधानी सेन्ट पिटर्सबर्ग पुग्न ८ दिन लाग्यो । त्यसबेला कोन्स्तानतीन सेन्ट पिटर्सबर्गमा थिएनन् । सेन्ट पिटर्सबर्गमा रहेका साँहिलो भाइ निकोलसले रोलक्रमअनुसार आफ्ना माहिलो दाइ कोन्स्तानतीन सम्राट हुने घोषणा गरे । राजधानीको सेना र शाही गार्डको टुकडीले सम्राट कोन्स्तानतीनको नाममा शपथ लिए । राजधानीको १२०० किलोमिटर पश्चिम वार्सा सहरमा रहेको कोन्स्तानतीनलाई लिन पठाइयो । यता कोन्स्तानतीनको सम्राट नहुने इच्छा बुझेर जार अलेक्जेन्डरले आफ्नो शेषपछि साँहिलो भाइ निकोलस सम्राट हुने गरी २ वर्ष अगाडि नै लेखेको गोप्य इच्छापत्र बाहिरियो । वार्शाबाट कोन्स्तानतीनले राजगद्दीको अधिकार त्यागेको खबर पठाए । त्यो खबर राजधानी पुग्दासम्म अर्को २ हप्ता बितिसकेको थियो ।

उत्तराधिकारको यही अन्योलमा रुसी क्रान्तिकारीहरूको गुप्त समाजले जारशाहीविरुद्ध विद्रोह गर्ने निणर्य गर्‍यो । विद्रोह डिसेम्बरमा भएको कारण उनीहरूलाई डिसेम्बरवादी भनियो । गुप्त समाजका सदस्यहरू उदार विचारका सैनिक अफिसरहरू, शाही गार्ड टुकडीका अफिसरहरू, जमिनदार र कुलीनवर्गका सदस्य थिए । तीमध्ये धेरै तत्कालीन जारशाहीको उच्च ओहदामा रहेका परिवारका युवा सदस्य थिए र आफै पनि सेनाका अफिसरहरू थिए । अधिकांशको उमेर २० नाघेर ३० पुगेको थिएन । जारको विरुद्धमा शाही गार्ड र कुलीनहरूको दरबारिया विद्रोह यसअघि पनि धेरै पटक भए । ती विद्रोहले रोमानोभ वंशको एउटा सम्राटको ठाउँमा अर्को सम्राट वा साम्राज्ञीलाई राजगद्दीमा स्थापित गर्थ्यो । अलेक्जेन्डर र निकोलसका पिता सम्राट पाउल प्रथम र हजुरबुवा सम्राट पीटर तेस्रो त्यस्तै दरबारिया विद्रोहको क्रममा मारिरएका थिए ।
तर सन् १८२५ डिसेम्बर २६ (पुरानो पात्रोअनुसार डिसेम्बर १४) का दिन सुरु भएको डिसेम्बर विद्रोह अघिल्ला दरबारिया विद्रोहभन्दा तात्विकरूपमा भिन्न थियो । डिसेम्बरवादीहरू युरोपमा पिछडिएको सामन्ती रुसलाई जारको तानाशाहीबाट मुक्त गरी उदार रआधुनिक देश बनाउन चाहन्थे । त्यसको लागि रुसमा संवैधानिक व्यवस्था लागु गर्न चाहन्थे, रुसी किसानलाई अत्याचारी भूदास प्रथाबाट मुक्त गर्न चाहन्थे, अनिवार्य सैनिक सेवाको नियम खारेज गर्न र राज्यका ठूला अधिकारीहरूको राज्यकोषमाथिको ब्रम्हलुट रोक्न चाहन्थे । उत्तरको गुप्त समाज संवैधानिक राजतन्त्रको पक्षमा थियो भने दक्षिणको गुप्त समाजको नेतृत्व जारलाई फालेर गणतन्त्र स्थापना गर्ने र किसानलाई जमिन वितरण गर्ने पक्षमा थियो । पश्चिम युरोपको उदारवादी पुँजीवादी विचारका किरण भर्खरैमात्र छिर्न थालेको तत्कालीन पिछडिएको र बन्द रुसमा यी विचार एकदम क्रान्तिकारी र समयभन्दा अगाडिका थिए ।

डिसेम्बर विद्रोह
२६ (१४) डिसेम्बरका दिन बिहान सबेरै सेन्ट पिटर्सवर्गको सिनेट स्क्‍वायरमा जम्मा भएका विद्रोह पक्षधर तीन हजार शाही गार्ड, सैनिक र तीनका अफिसरहरूले कोन्स्तानतिनको नाममा शपथ लिइसकेको हुनाले सम्राट निकोलसको नाममा शपथ लिन अस्वीकार गरे । राजधानीका धेरै सैनिक रेजिमेन्टहरू विद्रोहमा सामेल हुन आउने उनीहरूले आशा गरेका थिए । तर, केही मुख्य सदस्यहरूले खुट्टा कमाए, तिनीहरू विद्रोहस्थल सिनेट स्क्‍वायरमा देखिएनन् । आशा गरिएझैँ अन्य सैनिक रेजिमेन्टहरूको साथ भएन । विद्रोहीहरूलाई नौ हजार जार समर्थक सेनाले घेरा हाल्यो । आमजनताका बीचमा विद्रोहको उद्देश्यबारे सङ्गठन र प्रचार नभएको कारण घेराबाहिर उपस्थित दसौँ हजार जनता रमितेमात्र बने । निकोलसले विद्रोही सेनालाई आत्मसमर्पण गराउन वार्ताको निम्ति दूतहरू पठाए । तर, विद्रोहीहरू पछि हटेनन्, सम्झाउन आएका दूतहरुको लास फिर्ता पठाए । आत्मसमर्पण गराउने दिनभरिको प्रयास असफल भएपछि निकोलसले विद्रोहीमाथि बन्दुक र तोप चलाउने आदेश दिए । सिनेट स्क्‍वायर रक्ताम्य बन्यो । डिसेम्बर विद्रोहलाई निरङ्कुशतापूर्वक दबाइयो । १ जनरल, १८ अफिसर र २८२ सैनिक जवानले वीरगति प्राप्त गरे । तोप र बन्दुकको आवाजले रमिता हेर्न बसेका सेन्ट पिटर्सवर्गका जनता तितरवितर भए । तोपगोलाले जाडोमा जमेको नेभा नदीको बरफ फुटायो र भागेका सयौँ मानिसहरु नदीमा डुरेर मरे । विद्रोहीबाहेक ७९ महिला र १५० बालबालिकासहित ११७० साधारण जनताको समेत मृत्यु भयो ।
गोला – बारुद शान्त भएसँगै विद्रोही नेता र गुप्त समाजका सदस्यहरूको पक्राउ सुरु भयो । दुई हप्तापछि विद्रोहको सूचना दक्षिणी गुप्त समाजमा पुग्दासम्ममा तिनका प्रमुख नेताहरूका नाउँमा पक्राउ पुर्जी पनि पुगिसकेको थियो । क्रान्तिकारी युवा अफिसरहरूले आफ्ना साथीहरू समातिनुभन्दा विद्रोहको गर्नु निको माने । चालीस किलोमिटर परको कियभ सहरमा रहेको सेनालाई दूतमार्फत विद्रोह गर्न आह्वान गरेर विद्रोही चेर्निगोभ रेजिमेन्टले भसिलकिस सहर कब्जा गरे । गुप्त समाजमा आबद्ध सैनिक अफिसरहरूको नेतृत्वमा विद्रोह दक्षिण रुसका विभिन्न सहरमा फैलिने आशा उनीहरूले गरेका थिए । तर, त्यतिबेलासम्ममा गुप्त समाजका धेरैजसो सदस्यहरू पक्राउ परिसकेका थिए । अन्ततः ५ दिनको कब्जापछि जनवरी १५ (३) का दिन निकोलस समर्थित बलियो सेनासँग विद्रोही सेना पराजित भयो । विद्रोही नेताहरू समातिए । यसरी दक्षिणी विद्रोह पनि असफलतामा टुङ्गियो ।
पक्राउ परेकामध्ये केही कर्कलोझैँ गले र तिनले आफ्नो बयानमा गुप्त समाजको गतिविधि र सदस्यबारे प्रशासनलाई जानकारी दिए, थप पक्राउ पुर्जीहरू जारी भए । तर, अधिकांश विद्रोहीहरूले जार र उनका प्रहरी अधिकारीसामु विद्रोहको कारण स्पष्ट राखे, जारले आशा गरेजस्तो आफ्नो जीवनको निम्ति याचना गरेनन्, माफी मागेनन्, पछुताउ गरेनन्, आफ्नो विचारमा सतिसालको रुखझैँ अडिग रहे । ५८९ जना पक्राउ परेकामध्ये १० जना क्रान्तिकारीका भेषमा सुराकीहरू थिए । विद्रोहसँग सम्बन्ध नदेखिएका २८६ लाई रिहा गरियो । १६५ जनालाई विद्रोह र गुप्त समाजसँग कम सम्बन्धित भएकोले मुद्दा चलाइएन । तीमध्ये केहीलाई अटोमन साम्राज्य (टर्की) र पर्सियासँग चलिरहेको लडाइँमा सहभागी हुन टाढाको ककेशस क्षेत्रमा सैनिको रूपमा खटाइयो । यो एक प्रकारको निर्वासन थियो । १२१ जनालाई जारको हत्या गर्ने षड्यन्त्र गरेको अभियोगमा मुद्दा चलाउने निणर्य भयो ।
युवा क्रान्तिकारी डिसेम्बरवादीहरूलाई सजाय दिन जार निकोलसले बनाएको ७२ सदस्यीय सर्वोच्च अपराध अदालतमा राजसभा सदस्य, सिनेटर, चर्चका प्रतिनिधि, सैनिक जनरल र निजामति अफिसरहरू सहभागी थिए । तिनको सालाखाला उमेर ५५ वर्षको थियो । अभियुक्तको रूपमा उभ्याइएका १२१ जना क्रान्तिकारीहरूको सालाखाला उमेर भने त्यसको आधा अर्थात् २७.५ वर्षमात्र थियो । बुबा पुस्ताद्वारा छोरा पुस्तालाई परिवर्तनको निम्ति गरिएको ‘दुस्साहस’ को निम्ति सजाय सुनाइँदै थियो ।
विद्रोहको ६ महिनापछि जुलाई २५ (१३) का दिन पाँच जनालाई फासी दिइयो भने बाँकी अधिकांशलाई कहिल्यै फर्किन नपाउने गरी साइबेरिया निर्वासनमा पठाइयो ।
डिसेम्बर विद्रोह सम्राट र कुलीनवर्गको तानाशाहीको विरुद्धमा थियो । विद्रोहको नेतृत्व पनि तिनै कुलीनवर्गका युवा सदस्यहरूले गरेका थिए । ती युवाहरू त्यस्तो व्यवस्थाको विरुद्धमा थिए जुन व्यवस्था उनीहरूको सम्पत्ति र समृद्धिको स्रोत थियो, शिक्षाको आर्थिक आधार थियो । त्यसकारण, डिसेम्बर विद्रोहको खबर सुन्दा एक वृद्ध काउन्ट रोस्टोपचिनले भनेका थिए, “फ्रान्सेली क्रान्तिलाई म कमसेकम बुझ्‍न सक्छु, त्यहाँ सार्कीहरू राजाविरुद्ध उठेका थिए, उनीहरूलाई आफू राजा बन्नु थियो । तर, रुसको डिसेम्बर विद्रोहलाई म बुझ्‍नै सक्दिनँ, यहाँ राजाहरू सार्की बन्न खोजेको देख्छु म ।”
डिसेम्बर विद्रोहको असफलतापछि रूसका भूदासहरूले आफ्नो मुक्तिका निम्ति अर्को ३५ वर्ष कुर्नुपर्‍यो । १८५३ देखि १८५६ सम्म चलेको क्रिमिया युद्धमा औद्योगिक राष्ट्र बेलायत र फ्रान्सको जलसेनासँग नराम्ररी पराजित भएपछि औद्योगीकरण रूसको निम्ति अनिवार्य बाटो बन्यो । त्यसको निम्ति चाहिने श्रमशक्ति (मजदुर) को एउटै स्रोत गाउँका किसान थिए । भूदास व्यवस्था जस्तो पुरानो उत्पादन सम्बन्धले रूसको खाद्यान्न उत्पादन ओराले लागिरहेको थियो । सन् १८६१ मा भूदासहरूको मुक्तिसँगै रूस औद्योगीकरणको युगमा प्रवेश गर्‍यो । औद्योगीकरणले रूसमा विपरीत स्वार्थका दुई नयाँ वर्गहरूको जन्म भयो, पुँजीपति र सर्वहारावर्ग । सन् १९०५ मा रूसमा सर्वहारावर्गको नेतृत्वमा पहिलो क्रान्ति भयो । १९०५ को क्रान्ति असफल भयो तर जार निकोलस संविधान बनाउने ड्युमा अर्थात् संसद्को चुनाव गराउन बाध्य भए । रूसको पहिलो संविधान बनाउन डिसेम्बर विद्रोहको ८० वर्षपछि गुप्त राखिएका डिसेम्बरवादीहरूको खेस्रा संविधान सरकारी अभिलेखालयबाट झिकाइएको थियो ।
डिसेम्बरवादीहरू
सन् १७९०-१८०० को फ्रान्सेली राज्यक्रान्तिको उथलपुथलको दशकमा जन्मिएका डिसेम्बरवादीहरूको हुर्काइमा सामन्तवादविरूद्ध समानता, न्याय र भातृत्व भावनाको गहिरो छाप अनुभव गर्न सकिन्छ । फ्रान्समा नेपोलियनको उदय र सामन्तवादी राज्यहरू विरुद्ध उनले छेडेको युरोपेली प्रभुत्वको लडाइँ अनि त्यसले निम्त्याएको पुराना सामन्ती सत्ताहरूको पतन एवम् नयाँ गणतान्त्रिक र शाही सत्ताहरूको उदय सँगसँगै यी युवाहरू हुर्के । क्रान्ति र प्रतिक्रान्तिको अध्ययनले पोर्चुगलदेखि रूससम्म युरोपका कुनै पनि राज्यसत्ता स्थायी छैनन् भन्ने कुरा यी युवाहरूले स्पष्ट अनुभव गरे । केही क्रान्तिकारीहरू रूसको कूटनीतिक जिम्मेदारीसँगै विदेशमा सेवा गरिरहेका आफ्ना आमा-बुबासँगै विदेशमा हुर्केका र पेरिसको आधुनिक शिक्षालयहरूबाट प्रशिक्षित थिए भने अधिकांश युवाहरू सन् १८१२ देखि १८१५ सम्म चलेको नेपोलियन विरूद्धको लडाइँमा कलिलै उमेरमा सैनिक अफिसरको रूपमा सहभागी भएर पश्चिम युरोपका विभिन्न सहरको जीवन र विचार अनुभव गरेकाहरू थिए । औद्योगिक क्रान्ति र पुँजीवादी समानता एवम् मानवताको भावनाले पश्चिमी युरोपको समाज द्रुत गतिमा परिवर्तन भइरहेको थियो । त्यसले बन्द रूसी समाजमा हुर्केका ती युवा अफिसरहरूको मस्तिष्कमा गहिरो प्रभाव पर्नु स्वाभाविक थियो ।
सन् १८१६ को भियना सम्मेलनपछि बेलायत, रूस, अस्ट्रिया र प्रसियाको नेतृत्वमा एउटा नयाँ युरोपेली व्यवस्थाको प्रादुर्भाव भयो । नेपोलियनले उखेलेका अनेक राजसंस्थाहरू पुनः स्थापित गरिए । रूसी साम्राज्य युरोपमा बलियो सैनिक शक्तिको रूपमा स्थापित भयो, सम्राट अजेक्लेन्डर विजेताको रूपमा रूसमा फर्के । तर, ती युवाहरूको आँखामा रूसको पछौटेपन स्पष्ट थियो । त्यसको कारण जारको तानाशाही हो र तानाशाही व्यवस्थालाई निर्मूल गर्नुपर्छ, भूदास प्रथा मानवीय समानता र न्यायको भावनाविपरीत छ र रूसमा भूदास प्रथा रहेसम्म रूसको आर्थिक प्रगति छिटो हुन सम्भव छैन त्यसकारण त्यसलाई फाल्नुपर्छ भन्नेमा उनीहरू एकमत थिए । तिनै युवाहरूमध्ये ६ जनाले लडाइँबाट फर्केपछि १८१६ को फेब्रुअरीमा ‘मुक्ति सङ्घ’ नामको गुप्त समाज गठन गरेका थिए ।

गुप्त सङ्गठन सुरु गर्ने युवाहरूमा एक थिए सर्गेइ मुराभयोभ, जसले नेपोलियनकालीन फ्रान्समा किशोरावस्थाका तीन वर्ष (आमा र साता दाजु-भाइ, दिदी-बहिनीहरूसँग) बिताएका थिए । उनका पिता स्पेनको निम्ति जारका राजदूत थिए । विद्रोहको समयमा सर्गेईका पिता सिनेट सदस्य थिए । पेरिसको खुला परिवेशमा हुर्केका र अभिजात वर्गीय विद्यालयमा शिक्षित यी किशोरले रूस फर्किँदा जब भूदासहरूको पसिनाको बलले आफू हुर्केको र आफ्नो परिवार चलेको थाहा पाए, मनमा कोरेको मातृभूमिको सुन्दर तस्बिर चकनाचुर भयो । उनले १७ वर्षको उमेरमा नेपोलियनविरोधी युद्धमा भाग लिए र पुनः पेरिस पुगे । सैनिक अफिसरको रूपमा उनी आफ्ना जवानहरूलाई क्रुर सजाय दिने सहकर्मीहरूसँग कहिल्यै सहमत हुन सकेनन् । सैनिक जवानहरूप्रति उदार विचार राखेकै कारण सजायस्वरूप राजधानी बाहिरको सेवामा पठाइए । २९ वर्षको उमेरमा फाँसीमा झुन्ड्याइएका सर्गेईले अन्तिम समयसम्म पनि विद्रोह र बलिदानको औचित्यताबारे जेलमा रहेका आफ्ना सहकर्मीहरूलाई उत्साहित गरिरहे ।
झुन्ड्याइएका क्रान्तिकारीहरूमध्ये दक्षिणी गुप्त समाजका हक्की नेता पाभेल पेस्टेल पनि एक थिए । उनी साइबेरियाका गभर्नरजस्तो उच्चपदस्त परिवारमा हुर्केर पनि रूसको मुक्ति गणतान्त्रिक व्यवस्थामा मात्र सम्भव हुन्छ भन्ने विश्वासमा अटल थिए । तीक्ष्ण बुद्धिका पेस्टेलले जारविनाको रूसको कल्पना गर्नुसम्म पनि गम्भीर अपराध भएको समयमा गणतान्त्रिक रूसको संविधान खेस्रा गरेका थिए । त्यसैगरी अर्का क्रान्तिकारी थिए – कवि कोन्द्राति रिलेयभ । उनको घरमा विद्रोहीहरूको अन्तिम बैठक भएको थियो । आफ्नी जहान र छोरीको अनुनयका बाबजुद पनि विद्रोहको मोर्चामा नेतृत्व सम्हाल्न पुगे र हाँसीहाँसी फाँसीको सजाय स्वीकार गरे । फाँसी दिइएकामध्ये मिखाईल बेस्टुजेभजस्ता कुशल युवा सङ्गठक पनि थिए जो रूसी क्रान्तिकारीहरूप्रति शङ्काको दृष्टिले हेर्ने पोलियाली क्रान्तिकारीहरूलाई पनि एउटै उद्देश्यमा सङ्गठित गर्न सफल भए । यही विशेषताले गर्दा नै बेस्टुजेभ जारशाहीको निम्ति खतरनाक मान्छे साबित भए र २० वर्षको कलिलो उमेरमा झुन्ड्याइए । त्यसैगरी झुन्ड्याइएका अर्का युवा प्योटर काखोभ्स्की थिए जसले सिनेट स्क्‍वायरमा विद्रोही सेनालाई विचलित पार्न सम्झाउन आएका जारका सैनिक अफिसरहरूलाई जिउँदो फर्किन दिएनन् ।
मिखाइल लुनीन डिसेम्बवादीहरूमध्येका एक अर्का प्रभावशाली व्यक्तित्व थिए । उनी अधिराजकुमार कोन्सतानतीनको नेतृत्वमा रहेको गार्ड रेजिमेन्टका अफिसर थिए । गुप्त समाजका संस्थापकहरूभन्दा सालाखाला एक दशकले जेठा लुनीन नेपोलियनविरोधी युद्धका वीर र रूसी कुलीन समाजमा एक लोकप्रिय पात्र थिए । धनी जमिनदारका छोरा लुनीनले सबैलाई आश्चर्यचकित बनाउँदै सैनिक सेवा परित्याग गरे । उनी भन्ने गर्थे – “मेरो निम्ति एउटै मात्र पेशा खुला छ, त्यो हो – स्वतन्त्रताको पेशा !” दक्षिण अमेरिका पुगेर बोलिभारको मुक्तिसेनामा सहभागी भएर जीवनलाई अर्थपूर्ण बनाउने सपना उनी देख्थे । स्वतन्त्रताको खोजमा पैत्रृक सम्पत्तिमाथिको अधिकार त्यागेर उनी पेरिस पुगे र त्यहाँको गुप्त समाजहरूमा सहभागी भए । काल्पनिक समाजवादी सेन्ट साइमनजस्ता विचारकहरूसँगको सङ्गतले राजनैतिक परिपक्‍वता हासिल गरिसकेपछि रूस फर्केर फेरि रूसी गुप्त समाजमा सक्रिय भए । उनी नै त्यस्ता पहिलो व्यक्ति थिए जसले व्यापक जनताको साथविना षड्यन्त्रको तौरतरिकाबाट जारशाहीलाई पल्टाउने र आधुनिक रूसको निर्माण गर्ने गुप्त समाजको उद्देश्य पूरा हुनेमा शङ्का व्यक्त गर्थे । साथीहरूलाई सहमत गराउन नसकेपछि उनी विद्रोह हुनुभन्दा तीन वर्ष अगाडि नै गुप्त समाजबाट अलग्गिए ।

विद्रोहको समयमा उनी अधिराजकुमार कोन्सतानतीनसँगै पोल्यान्डको वार्सामा कार्यरत थिए । पक्राउ परेकाहरूको बयानमा उनको नाम पनि आयो र पक्राउ पुर्जी जारी भयो । कोन्स्तानतीनले उनलाई विदेश भाग्‍न सनिलो पार्न पोल्याण्ड र प्रसियाको सिमानामा सिकार खेल्न पठाएका थिए तर उनी भागेनन् न त जारको आग्रहमा आफ्ना साथीहरूबारे कुनै जानकारी नै उनले दिए । बरु उनी साइबेरिया निर्वासित हुन तयार भए । जारशाहीले डिसेम्बरवादीहरूलाई आतङ्ककारी र हत्यारा भनी प्रचार गरिरहँदा साईबेरियाको कठिन दैनिकीमा पनि उनले डिसेम्बरवादीहरूको तत्कालीन उद्देश्य र गतिविधिबारे फ्रेन्च भाषामा गुप्त निबन्धहरू लेखे । ती निबन्धलाई अङ्ग्रेजी, रूसी भाषामा अनुवाद गरेर आफ्ना साथीहरूलाई पठाए । डिसेम्बरवादीहरूको सत्य तथ्यबारे सेन्टपिर्टसवर्ग र मस्को सहरका कुलीनहरूको घरघरमा गोप्यरूपमा पढिन थालियो । यही सत्य लेखेको अभियोगमा उनी साइबेरियाको अनकन्टार ‘कहिल्यै फर्किन नसकिने’ आकातुई उपत्यकाका खानीहरूमा दोस्रो निर्वासनमा पठाइए । केही वर्षपछि सरकारी एजेन्टहरूबाट उनको हत्या भयो ।
डिसेम्बरवादीमध्ये उत्तरी गुप्त समाजका नेता निकिता मुराभयोभ पनि एक थिए जो समकालीनहरूको मूल्याङ्कनमा आफैमा एउटा विश्वविद्यालय थिए । उनी नाताले सर्गेई मुराभयोभका दाजु हुन्, ठूलोबुबाका छोरा । कुनै पनि सम्राट संविधानको सीमाभित्र रहनुपर्छ भन्ने भावनाले उनले नयाँ रूसको निम्ति संविधानको खेस्रा गरेका थिए, जसलाई पछि ‘निकिता संविधान’ भनियो । सर्गेई र निकितासँगै मुराभयोभ परिवारका आठ दाजु-भाइ गुप्त सङ्गठनमा सामेल थिए । सर्गेइका कान्छा भाइ इप्पोलित दक्षिणको डिसेम्बर विद्रोहमा मारिइँदा भर्खरै १९ वर्षका कलिला युवा थिए । उनलाई उत्तरको गुप्त समाजले विद्रोह गर्ने निणर्य गरेको खबर दक्षिणमा रहेका आफ्ना दाजुहरूसम्म पुर्‍याउने जिम्मा दिइएको थियो । आठ दाजु-भाइमध्ये एक जनाले भने आफ्ना साथीहरूबारे जानकारी दिएर जारसँग माफी माग्‍ने बाटो रोजे । निकितासहित बाँकी ५ जना साइबेरियाको निर्वासनमा पठाइए । तीस वर्षपछि पिटर्सवर्ग फर्किने समयमा सर्गेईका दाजु मात्भेई मुराभयोभ मात्र जीवित थिए, बाँकी सबैको लागि साइबेरिया नै चिहान बनिसकेको थियो ।
क्रान्तिकारी युवामध्ये दक्षिणको विद्रोहका सक्रिय नेता ईभान सुखिनोभ पनि एक थिए जो विद्रोह असफल भएपछि ककेशस क्षेत्रमा भाग्न सफल भए तर आफुले दुईपटक युद्ध र बिद्रोहमा लडेको देश छोडेर बिदेश जान मनले नमान्दा फर्किए, समातिए र साइबेरियामा निर्वासित भए । सुखिनोभको नेतृत्वमा साइबेरिया निर्वासनबाट भाग्ने योजना प्रशासनको हातमा पर्दा उनलाई दोस्रो पटक मुद्दा चलाइयो र मृत्युदण्डको सजाय सुनाइयो । त्यस्तै उत्तरको विद्रोहका लडाकु प्लाटुन कमान्डर निकोलाई पानोभ पनि थिए जो आफ्नो सहित अन्य सातवटा प्लाटुनका हजारभन्दा बढी सेनाको नेतृत्व गरेर पहिलो समयमा निर्देशनअनुसार सिनेट स्क्‍वायर पुगेका थिए । स्पष्ट निर्देशन भएको भए शितल दरबार र सम्राट निकोलसलाई कब्जा गरेर विद्रोहलाई अर्कै मोडमा पुर्‍याउने मौका उनलाई थियो । उनको समूहले निकोलस समर्थक तोपहरू कब्जा गर्न सक्ने समय थियो तर नेतृत्वको अन्योलका कारण तिनै तोपको शिकार क्रान्तिकारीहरू हुन पुगे र विद्रोह असफल भयो ।
विद्रोहमा जनरल सर्गेई भोल्कोन्स्कीजस्ता उच्च ओहदाका कुलीन युवाहरूको पनि सहभागिता थियो । उनी यस्तो उच्च सम्भ्रान्त परिवारबाट आएका थिए जसलाई जार निकोलसले अनुसन्धान अवधिभर उनको फाइलमा वास्तविक नाम पनि लेख्ने अनुमति दिएनन् । उनका २० वर्षकी श्रीमती पिटर्सबर्गको सुखी जीवन त्यागेर लोग्नेलाई साथ दिन निर्जन साइबेरियामा पुगेकी थिइन् । निर्वासनमा पनि निश्चित वर्ष कैदको सजाय तोकिएको थियो । कैद अवधि सकाएरमात्र क्रान्तिकारीहरूले साइबेरियामा सामान्य जीवन बिताउन सक्थे । त्यो कैद सजाय अवधिभर क्रान्तिकारीहरूलाई श्रीमतीसँग बस्‍ने अनुमति थिएन, हप्तामा एक घण्टामात्र भेट्ने व्यवस्था थियो । कैदीहरूलाई लेख्‍ने अनुमति पनि थिएन । त्यसकारण, मारियाजस्ता महिलाहरूले नै क्रान्तिकारीहरूको तर्फबाट महिनामा सयौँ चिठ्ठी लेखेर आफन्त र साथीहरूको ठेगानामा पठाइदिन्थे ।
सन् १८५६ मा नयाँ जार अलेक्जेन्डर दोस्रोले आममाफीको घोषणा गर्दा राजहत्याको षड्यन्त्र गरेको अभियोगमा सजाय दिइएका १२१ जना डिसेम्बरवादीहरूमध्ये जम्मा ५६ जनामात्रै जीवित थिए । आममाफीपछि धेरैले युरोपेली रूस फर्कने इच्छा देखाएनन्, फर्किनेहरूलाई पनि पिटसवर्ग र मस्कोमा बसोबास गर्ने अनुमति थिएन ।
( जार विरुद्ध षड्यन्त्र – १ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *