भर्खरै :

बिहारको चुनाव – जनताका समस्या एकातिर, राजनीति कतातिर ?

गोरख माझीको परिवार
६ महिनादेखि कुनै काम थिएन । मात्र भोक थियो र ऋण थियो । जब एउटा काम हात लाग्यो, त्यसले पनि दुःखमाथि अझ दुःख थप्यो ।
“उसको खुट्टा सुनिएको थियो, सर”, एक छिमेकीले भने । “उसले निकै दुखाइ सहनुप¥यो”, उनले भने ।
गत अक्टोबर १४ मा गोरख माझीको निधन भयो । सुनिएको खुट्टा लिएर खेतबाट फर्केको तीन दिनपछि उसको निधन भयो । उनी २२ वर्षका थिए । उसले धान काट्ने काम पाएको थियो । बितेका ६ महिनामा उसलाई हात लागेको त्यही पहिलो काम थियो ।
माझी बिहारको मुजफरपुरमा बस्थ्यो । सुरूमा कोरोना भाइरस फैलिएको पछि लगाइएको लकडाउनले त्यहाँको जनजीवन अस्तव्यस्त बनायो । त्यसमाथि बाढीले उनीहरूको सबै कुरा बगायो ।
महिनौँ बितिसक्दा पनि खेतमा अझै पानी जमेको छ । माझीजस्ता कृषि मजदुरहरू बाढीबाट बचेखुचेको बाली काट्न जाँदा जुगा र सर्पले तोक्दा बिरामी हुने गरेका छन् ।
माझीको खुट्टा के कारणले सुनियो, कसैले भन्न सकेको छैन । गाउँकै चिकित्सकले एउटा सुई दिए । उसको आमाले केही परम्परागत जडीबुटी लगाइदिइन् । तर, उसलाई जोगाउन भने सकिएन ।
माझीका बुढा आमाबुबा छन्–झिङगुर माझी र फुलमत देवी । कलिलो उमेरकी श्रीमती रीना देवीले किशोरावस्था पार गरेको पनि धेरै समय भएको छैन । दुई सन्तानमध्ये एउटा अझै आमाको दूध चुसिरहेको छ ।
घरमा कमाउने मान्छे नै असमयमै मर्दा परिवारलाई हजारौँ हजार रूपैयाँ ऋण तिर्न धौ धौै भएको छ । बितेका ६ महिनामा केही काम नहुँदा उनीहरूले पेट पाल्न लिएको ऋण तिर्न यो परिवारको निम्ति कष्टसाध्य हुने पक्का छ ।
गत अप्रिल महिनादेखि कोरोना भाइरसको राहत कार्यक्रमअन्तर्गत मोदी सरकारले प्रतिव्यक्ति प्रतिमहिना ५ केजी चामल निःशुल्क बाँडिरहेको छ । सरकारले भारतको सार्वजनिक वितरण प्रणालीमा नाम दर्ता भएका परिवारलाई मात्र यस्तो सुविधा दिने गरेको छ ।
तर, किनारु गाउँका अधिकांश भूमिहीन र गरिब दलित मुसहर परिवारहरूले माझीले जस्तै त्यस्तो राहत हात पार्न सकेका छैनन् किनभने उनीहरूको नाम सरकारी अभिलेखमा छैन । कसै–कसैले ढिला गरेर आफ्नो नामसम्म दर्ता गराए । उनीहरूको रासन कार्ड आउन नै तीन महिना लाग्यो । चामल पाउने कहिले हो कहिले ! अहिलेसम्म एक दाना अन्न पाएका छैनन् । गाउँमा राहत बाँड्ने ठेकेदारले सरकारी निकायबाट आफूले नयाँ रासन कार्ड लिनेको नाम नै उपलब्ध नगराएको भनेका छन् ।
रोजगार पाउनु माटोको थुप्रोमा तीलको दाना खोज्नुजस्तै छ । मुसहर परिवारले सरकारको ग्रामीण रोजगारी सुनिश्चितता कार्यक्रमअन्तर्गत कसैले पनि एक दिन पनि काम नपाएको दुःखेसो पोखे । काम नपाउँदा मान्छेहरू भोकभोकै भए ।
“हामी एक दिन खाना खान्छौँ र भोलि खाना खाँदैनौँ । दिन बिराएर खाएमात्र केटाकेटीलाई केही खुवाउन अन्न बाँकी रहन्छ”, गोरख माझीको छिमेकमा बस्ने रञ्जु देवीले भनिन् ।
उनको भान्छामा भर्खर पाएको भात, एक थाल उसिनेको आलु, केही रोटीका टुक्रा छन् । बिहान त्यही ठाउँको पसलेबाट उधारोमा ती खानेकुराको जोहो गरिएको हो । त्यत्ति खानेकुरा जोहो गर्न एक सय भारु लाग्यो । तर, त्यो खाना दुई दिनभन्दा पर बाँकी रहँदैन । टोलको किराना पसलमा उनको दस हजार बराबरको ऋण लागिसकेको छ । त्यसमा दस प्रतिशत व्याज जोडिएको छ । त्यो ऋण तिर्न महिनौँ नभए वर्षौँ लाग्न सक्छ ।
सामान्य समयमा पनि मुसहरहरू भोकै हुन्छन् । यो वर्ष त बिहारको लागि झन् अक्करमा परेको वर्ष भयो । बिहारमा जहाँ जानुहोस्, सबैतिर एउटै कुरा सुनिन्छः ‘कुनै काम छैन । घरमै बसेको छु ।” “एक दिन खाएर अर्को दिन भोकै बस्ने गरेका छौँ ।”
यस्तो विपद्को वर्षमा आगामी नोभेम्बर महिनाको सुरुमा प्रान्तीय सभाको चुनाव हुँदै छ ।
१५ वर्ष सत्ता चलाइसकेको जनता दल (युनाइटेड) का नितिश कुमार राष्ट्रिय प्रजातान्त्रिक मोर्चालाई चौथौ पटक सरकार बनाउन दिन जनतासमक्ष मत मागिरहेका छन् । उनलाई टेवा दिइरहेको छ–भारतीय जनता पार्टी ।
नितिशको लागि मुख्य प्रतिस्पर्धी हो–राष्ट्रिय जनता दल । सार्वजनिक कोष हिनामिनाको आरोपमा अहिले जेल सजाय भोगिरहेका लालुप्रसाद यादव त्यो पार्टीका नेता हुन् । लालु जेलमा बस्नु परेकोले राष्ट्रिय जनता दललाई ठूलो फसाद परेको छ । सन् २००५ मा नितिश कुमारसँग पराजित हुनुअघि यादवले बिहारमा १५ वर्ष शासन चलाए ।
सन् २००० को सुरूबाट नितिश कुमार भारतीय जनता पार्टीको मोर्चामा समावेश भयो । तर, सन् २०१४ मा मोदी भाजपाको नेता भएपछि उनी त्यो मोर्चाबाट अलग भए ।
पिछडिएको जातका नेताहरू दुवै यादव र कुमारको राजनीतिक कार्यक्रम एउटै छ । सन् २०१५ मा उनीहरूले आपसी दुश्मनी त्यागेर भाजपाविरुद्ध मिलेर चुनाव लड्ने निधो गरे । तर, त्यो मिलेमत्तो साढे एक वर्ष पनि टिकेन । नितिश कुमार भाजपाको एनडीएकै मोर्चातिर लागे ।
दुई वर्षपछि सन् २०१९ को लोकसभा निर्वाचनमा बिहारको कुल ४० स्थानमध्ये ३९ स्थान एनडीएले हात पा¥यो ।
सन् २०२० को राज्य सभा निर्वाचनमा पुरानै शक्ति संरचनामा होमिन खोज्दै गर्दा एनडीएको सबभन्दा कान्छो साझेदार चिराग पासवान नेतृत्वको जनशक्ति पार्टी अक्टोबरमा बिहारको एनडीए मोर्चाबाट अलग भयो । मोदीप्रति आफ्नो झुकाव कायम नै राखी नितिश कुमारप्रति खनिएका पासवानले आफ्नो पार्टीको उम्मेदवारी जनता दल (युनाइटेड) को विरोध भएको र भाजपाको विरोधमा नभएको घोषणा गरे ।
गठबन्धनमा आएको यस्तो हेरफेरले नितिश कुमारको नेतृत्वलाई निषेध गर्न स्वयम् भाजपा नै लागेको हो कि भन्ने आशयका समाचार धेरै आउन थाले । के भाजपाको दबदबासहित एनडीए सत्तामा आउनेछ ? के यो अन्योलको अवस्थाले एनडीएलाई क्षति पु¥याउला ?
राजनीतिक सरगर्मी बढे पनि यस्ता अधिकांश चर्चा–परिचर्चाले बिहारका जनताको मूल समस्यालाई भने सम्बोधन गर्न सकेको छैन । जात–जातिका सीमा नाघेर यो पटक मानिसहरूले निकै विस्मात्का साथ आफ्नो जीवनकै सम्भवतः सबभन्दा ठूलो चुनौतीबारे आफ्ना दुःख पोख्दै छन् ।

बल्लतल्ल हात लागेको काममा बिहारी मजदुर


मुजफरपुरको राजमार्गसँगैको एउटा विश्रामस्थलमा एक समूह महिलाहरू भेटिए । आफ्नो १५ वर्ष लामो शासनकालमा नितिश कुमारले महिलाहरूको मन जित्न सफल भएको मानिएको थियो । उनले बिहारमा रक्सी बेच्न र किनबेच गर्न निषेध गरेका थिए । तर, यी महिलाहरू अरू नै कुनै विषयमा बढी चिन्तित देखिए ।
“चुनाव आयो, अब सञ्चारमाध्यमका मानिसहरूको पनि ओइरो लाग्दै छ”, आक्रोशित मुद्रामा सञ्जुदेवीले भनिन्, “जब हामी बाढीमा डुबेका थियौँ, कोही पनि पत्रकार हाम्रो अवस्था बुझ्न आएका थिएनन् । न त कोही नेता हामीलाई सहायता गर्न आए ।”
उनीहरूको मोहम्मदपुर कोठी गाउँमा अगस्ट महिनाको सुरूमा बाढी पसेको थियो । सयौँ मानिस बाढीबाट जोगिन अग्लो ठाउँको खोजी गर्दै भागाभाग गर्नुपरेको थियो । अहिले पनि उनीहरू साडीले मोडेर बनाएको अस्थायी छात्रोमा बसिरहेका छन् ।
सन् २०१७ मा पनि उस्तै बाढी आएको थियो । त्यत्तिबेला नितिश सरकारले राहत शिविरको आयोजना गरेको सञ्जुले भनिन् । उनी आफ्नो वडाका निर्वाचित वडा सदस्य हुन् । तर, यो वर्ष भने बाढी पीडितलाई सरकारले बेवास्ता ग¥यो । १६ जिल्लाका ८४ लाख मानिस बाढीबाट प्रभावित भएका थिए ।
गाउँमा रोग फैलिएपछि मोहम्मदपुर कोठीका जनताले सरकारी स्वास्थ्य सेवाको खोजी गरे । “तर, हामीलाई कोरोना फैलिएको भन्दै स्वास्थ्य चौकीमा पस्न दिइएन”, सञ्जुले भनिन् ।
यो वर्ष भोग्नुपरेका अनेकन समस्याबाट आजित बनेका मुजफरपुरका गाउँले महिलाहरूलाई नितिश सरकारबारे राम्रो कुरा केही भन्नु छैन ।
“खान नपाएर हामी मर्दैै छौँ । हाम्रो खेतले हामीसँग भएको सबै पैसा सोसिसकेको छ”, नत्रौली गाउँकी एक किसान प्रमिला देवीले भनिन् ।
उनको परिवारसँग भएको तीन बिगा जमिनबाट यो वर्ष केही फसल हात लागेन । बाली काट्ने फेब्रुअरी र मार्च महिनामा असमयमा परेको पानी र असिनाले गहुँबाली सबै ध्वस्त बनायो । कोरोना भाइरसको लकडाउनको कारण बाली पनि उस्तो फस्टाउन सकेन । “खेतमा काम गरिरहेका किसानलाई पनि प्रहरीहरूले कुटपिट गरे”, उनले भनिन् ।
अनि बाढीले मनसुनमा लगाएको धान बाली सबै बगायो । बिहार राज्यमा ७५ लाख हेक्टर कृषि भूमि बाढीको कारण सखाप भएको सङ्घीय कृषि मन्त्रीले संसदमा उठेको प्रश्नको जवाफमा भने । अहिले पनि धेरै खेत पानीमुनि नै छ । अब मकै लगाउने सम्भावना पनि क्षीण बन्दै छ ।
सबै गुमाएर प्रमिला देवीको परिवारले बाढी पीडितलाई भनी सरकारबाट ६ हजार रूपैयाँ राहत पाएको छ । “हामीले जे गुमायौँ, के त्यत्ति पैसाले क्षतिपूर्ति हुनसक्छ ?”
प्रमिलासँगको कुराकानी सुन्दै गरेकी गाउँमा नास्ता पसल खोलेकी मीनादेवीले भनिन्, “कोरोना भाइरसको कारण सबै काम ज्यादै कठिन भयो । प्रहरीले धम्क्याए पनि हामीले पसल खोल्यौँ । कति दिनसम्म भोकै बस्ने हो र ?”
मुजफरपुरको मजदुर चोकमा उपस्थित मानिसहरूले आगामी चुनावसम्बन्धी प्रश्नको निकै आक्रोशित जवाफ दिए ।
“पहिले जनताका दुःख र समस्या बुझ्नुस्, अनिमात्र बाँकी कुरा हुन्छ”, गुरुदेव झाले भने ।
युवा उमेरका डकर्मी गुरुदेव आफ्नो गाउँ दाग्राबाट हरेक बिहान ६ किलोमिटर साइकल चलाएर सहर आउँछन्–कामको खोजीमा । तर, उनको हातमा लाग्यो शून्य हुने गरेको छ । “गएको महिना मैले जम्मा आठ दिन मात्र काम पाएँ”, उनले भने ।
दैनिक ज्याला पनि घटाइएको छ । पहिले दैनिक ५ सय भारु ज्याला पाउने गरेकोमा आजभोलि ३५० भारुभन्दा एक सुको बढी दिंदैन कसैले पनि ।
डकर्मी मिस्त्री राजा भन्छन्,“उनीहरू आफूले दिएको ज्यालामा गर्ने भए काम गर, नभए जाऊ भन्छन् ।”
“पेट पाल्नु पर्ने बाध्यता छ हजुर । के गर्नु ¤ काम त गर्नैप¥यो”, उनले भने ।
जीवनका यी सबै कठिनाइको लागि को जिम्मेवार ? जात जेसुकै भए पनि मानिसहरू सबै एउटा जवाफ दिइरहेका छन् ।
“नितिश सरकार”, नत्रौली गाउँमा जम्मा भएका मानिसहरूले एकै स्वरमा भने । “मोदी सरकार माथिबाट खुब सहायता गर्न खोजिरहेको छ । तर, तलबाट जनता यसलाई रोकिरहेका छन् ।”
निर्माण मजदुर सुबोध पासवान भन्छन्, “मोदी सरकारले हामीलाई ५ केजी अन्न र ६ हजार रूपैयाँ सहायता स्वरूप दियो । तर, नितिश सरकारले केही पनि दिएन ।”
मैले बाढी पीडितलाई नितिश सरकारले ६ हजार सहायता रकम दिएको कुरा उठाएँ । “त्यो पैसा नितिशले आफ्नो गोजीबाट दिएका हुन् र ¤ त्यो केन्द्रले दिएको पैसा हो । मोदीले दिएको पैसा हो”, उनले जवाफ फर्काए ।
एक जना चोयाका सामान बनाउने युवाले पनि कोरोना भाइरसको राहतस्वरूप १ हजार भारु मोदी सरकारले दिएको बताए । तर, त्यो पैसा पनि खासमा राज्य सरकारको कार्यक्रम थियो ।
मजदुर चोकमा भेला भएका मानिसहरू मोदी सरकार प्रभावकारी भएको तर नितिश सरकार बेकामको भएको धारणा राख्छन् । “मजदुर वर्गमात्र होइन, सबै जनता नै परिवर्तनको खाँचो अनुभव गरिरहेका छन्”, नन्द किशोर महत्तोले भने ।
यो वर्ष उठेको उथलपुथलको कारण पनि नितिश सरकारप्रति जनताको आक्रोश बढेको हो । तर, यो असन्तोष धेरै गहिरोसम्म पुग्ने देखिन्छ ।
“नितिशले पहिलो कार्यकालमा राम्रै काम गरेका थिए”, रत्नौली गाउँमा बस्ने बेरोजगार सवारी चालक जिमदार सहनीले भने । सहनी पिछडा वर्गमा पर्ने जात हो । “उनी निर्वाचित हुनुअघि मानिसहरू राति ७ बजेपछि घरबाट बाहिर निस्कन डराउँथे । उनले सडकलाई राम्रो र सुरक्षित बनाए ।”
तर, दोस्रो र तेस्रो कार्यकाल भने निराशाजनक भएको सहनीको भनाइ छ । बिहारलाई औद्योगिकीकरण गर्ने र रोजगारीको अवसर विस्तार गर्ने आफ्नो वाचा नितिशले पुरा गर्न नसकेको आम बुझाइमा उनी पनि सहमत छन् । “जर्ज फर्नान्डेजले मुजफरपुरमा उद्योग कलकारखाना स्थापना गरे । लालुले ती सबै चपाइदिए । नितिशले ती सबै कलकारखाना ब्युँताउने वाचा गरेका थिए । तर, सकेनन्”, सन् १९७० दसकमा सो क्षेत्रबाट लोक सभामा निर्वाचित भएका सांसद तथा पूर्वमन्त्री फर्नान्डेजलाई सम्झँदै उनले भने ।
राजेश सिंह मजफरपुरका ठेकेदार र पेट्रोल पम्प मालिक हुन् । भूमिहर समुदायका राजेशको त्यहाँ धेरै जग्गा जमिन छ । उनको भनाइमा नितिशले पहिलो कार्यकालमा कर्मचारीतन्त्रमा कडी कसाउ गरेका थिए । “सरकारी कार्यालयमा काम गर्न सजिलो थियो”, उनले भने । “काम गरिसकेपछि मात्र कर्मचारीहरू ‘काम गरेबापत’ केही माग्थे । तर, आजभोलि त केही दक्षिण नचढाइकन कर्मचारी केही काम नै गर्दैनन्”, सिंहले भने ।
मानिसहरूमा विभिन्न खालका बन्देजबारे पनि आक्रोश व्याप्त छ । “कसले भन्छ, बिहारमा रक्सी बेचिंदैन भनेर ?”, विष्णुपुर गाउँमा बस्ने रुखबाट तेल निकाल्ने अनिल कुमारले भने, “२०० पर्ने रक्सी अहिले ४०० मा बिक्री भइरहेको छ । फोनबाट अर्डर गर्न सकिन्छ । घरमै ल्याइपु¥याउँछन् । त्यस्तो व्यापार प्रहरीको पूर्ण जानकारीमा भइरहेको छ ।”
सबै मानिस परिवर्तनको कुरा गरिरहेका छन् । तर, कस्तो परिवर्तन भन्ने विषयमा कुनै एकमत छैन ।
माथिल्लो जातिका मानिसहरूबीच भाजपा नेतृत्वको सरकारप्रति बलियो जरा गाडेको देखिन्छ भने पिछडिएको समुदायहरूमा भने मिश्रित खालको धारणा देखिन्छ ।
उदाहरणको लागि मजदुर चोकमा पिछडिएको समुदायका नन्द किशोर महत्तोले भने, “यो पटक त लालुजी आउनेछन् ।” उनको कुरा सुनेर सँगै बसेका पिछडिएको समुदायकै सुनित कुमार साहुले चर्को मिजासमा भने, “मोदीले सरकार बनाउनेछन् यसपालि ।”
उनको कुरा सुनेर मैले मोदी त केन्द्रीय सरकारमा छँदै छन् भनी भनेँ ।
“हो, बिहारमा पनि उनकै पार्टीले सरकार गठन गर्नेछन्”, साहुले स्पष्ट पारे । तर, भाजपाले त बिहारमा नितिशलाई समर्थन गरेको मैले स्मरण गराएँ । “यसपटक संयुक्त सरकार बन्ने छ”, “भाजपाको नेतृत्वमा ।”, उनले भने ।
विष्णुपुर गाउँको एउटा पसलमा पनि यस्तो बहस चल्यो । नास्ता पसलका मालिक माथिल्लो जैसवाल जातका आकाश कुमारले भाजपाले चुनाव जित्न दाबी गरे । तर, दलित समुदायका रुखबाट तेल निकाल्ने अनिल कुमारले उनको प्रतिवाद गरे । उनले अघिल्लो चुनावमा आफूले जनता दल युनाइटेडलाई मत दिएको तर यो पटक आरजीडी (लालु यादवको पार्टी) लाई मत दिने बताए । उनको भनाइमा आरजीडीले नै यसपालि सरकार बनाउनेछ ।

बिहारका जीर्ण ग्रामीण सडक


“तेजस्वी (लालुका छोरा र आरजीडीका उम्मेदवार) ले दस लाख रोजगार सिर्जना गर्ने वाचा गरेका छन्”, उनले भने ।
रोचक कुरा के हो भने आरजीडीका अधिकांश समर्थकहरू अझै पनि लालुप्रसाद यादवलाई नै नेता मानिरहेका छन् । “लालुजीले नै सरकार बनाउनेछन्”, मोहम्मदपुर बदल गाउँका १८ वर्षका किशोर मजीबले भने । यसबाट तेजस्वीले आफ्नो अलग पहिचान बनाइनसकेको देखिन्छ ।
के आफ्नो प्रतिस्पर्धीका कमजोरीले नितिशलाई यो पटक जोगाउला ? लगभग कसैले पनि उनको समर्थनमा बोलेनन् । सबै जना उनीसँग असन्तुष्ट छन् । आक्रोशित छन् । तर, अधिकांशले अझै पनि निष्कर्ष निकालेका छन्, “तर, विकल्प को ?”
“पहिला सरकार बनाएका सबैको छवि जनतालाई थाहा छ”, लालु यादवतर्फ सङ्केत गर्दै बेरोजगार सवारी चालक सहनीले भने, “मानिसहरूसँग कुनै विकल्प छैन ।”
अधिकांश मतदाता आफू अन्योलमा रहेको बताउँछन् । उनीहरू कुनै राजनीतिक दललाई भन्दा आफ्नो क्षेत्रमा उठेका अब्बल उम्मेदवारलाई मत दिने बताउँछन् । “यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवार पनि जित्न सक्छ”, धेरैतिर यस्तो भनेको सुनियो ।
यस्तो परिस्थितिमा कुनै अँध्यारो भविष्यवाणी गुञ्जिने गर्छ, ‘अल्पमतको सरकार’, ‘अस्थिरता’
नितिशकुमार सन् २००५ मा सरकारमा आए । फेब्रुअरी महिनामा भएको चुनावमा टुक्रिएको जनमत आएको थियो । लगत्तै नोेभेम्बर महिनामा भएको निर्वाचनमा भने उनी भारी मतका साथ विजयी भएका थिए ।
के यो पटक नितिशकुमार मुख्यमन्त्री पदबाट बिदा हुँदै छन् ?
स्रोत-स्क्रोल डट आइएन
नेपाली अनुवाद- सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *