भर्खरै :

इराकमा नयाँ चरणको सरकारविरोधी प्रदर्शन

बग्दाद । इराकको राजधानी बग्दादस्थित तहरिर चोकमा आइतबार सरकारविरोधी प्रदर्शन पुनः सुरू भएको छ । सन् २००३ मा संरा अमेरिका नेतृत्वको सैनिक गठबन्धनले गरेको सैनिक हमलामा सद्दाम हुसेन नेतृत्वको इराक सरकार अपदस्थ भएपछि इराकमा भइरहेको सरकारविरोधी प्रदर्शनको क्रममा आइतबारको प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले मुख्यतः आधारभूत सेवा, रोजगारी र भ्रष्टाचार अन्त्यको माग गरेका छन् ।
“हाम्रो रगत, हाम्रो आत्मा इराक तिम्रो नाममा बलिदान” जस्ता नारा लगाउँदै हजारौँ हजार प्रदर्शनकारीहरू आन्दोलनको केन्द्र बनेको तहरिर चोकमा प्रदर्शन गरेका थिए । शासक वर्ग इराकी जनताभन्दा बढी इरानी र संरा अमेरिकाप्रति बढी नतमस्तक भएको प्रदर्शनकारीहरूको आरोप छ ।
“आज निकै महत्वपूर्ण दिन हो किनभने आज सन् २०१९ को अक्टोबर २५ बाट सुरू भएको आन्दोलनको पहिलो वर्षगाँठ हो । हाम्रो क्रान्ति आफ्नो रगत बलिदान गर्ने सहिदहरूप्रति समर्पित छ”, प्रदर्शनमा सहभागी २४ वर्षका मन्ताथर मेहदीले भने ।
“हाम्रो सबभन्दा पहिलो माग भनेको हत्यारा र अपहरणकारीहरूलाई पाटा कस्नु हो । सबैले न्याय पाउनुपर्छ । त्यो उपलब्धि हासिल नभएसम्म हामी लड्नेछौँ”, मेहदीले भने ।
इराकी सहरहरू बेबिलन र वास्रामा आयोजित प्रदर्शनमा पनि प्रदर्शनकारीहरूले सरकारविरोधी नाराबाजी गरे ।
आइतबारको प्रदर्शनमा सहभागी बन्न इराकका विभिन्न स्थानबाट मानिसहरू रातारात यात्रा गरेर बग्दाद पुगेका थिए । सुरक्षाकर्मीका अवरोध छल्दै र छिचोल्दै उनीहरू तहरिर चोकमा भेला भएका थिए । प्रदर्शनकारीहरूमध्ये कोही तहरिर चोकमै धर्ना बस्ने तयारीमा थिए भने कोही बलियो सुरक्षा प्रबन्ध मिलाइएको हरित क्षेत्रको प्रवेशद्वारमा भेला भएका थिए । हरित क्षेत्रभित्र इराकी सरकारको मुख्यालय र संरा अमेरिकी राजदूतावास छ । सो क्षेत्रमा सुरक्षाकर्मीले शनिबार रातिबाट नै तैनाथी बाक्लो बनाएको छ ।
हरित क्षेत्रको एवाली चोकमा बोल्दै २६ वर्षका अली शम्मारीले प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भए पनि हरित क्षेत्रभित्र प्रवेश गर्ने सङ्कल्प गरेका छन् ।
“गत वर्ष हामीले जहाँ छोडेका थियौं, आज हामी त्यही बिन्दुबाट सुरू गरिरहेका छौँ”, उनले भने ।
“हाम्रा कुनै पनि माग पूरा भएनन् । हामीले चाहेजस्तो परिवर्तन नआउँदासम्म हामी विरोध प्रदर्शन जारी राख्नेछौँ”, उनले भने । उनले शासनमा समग्र परिवर्तन हुनुपर्नेमा जोड दिए । साथै गत वर्ष भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीमाथि हमला गर्ने अधिकारीहरूलाई कारबाहीको पनि उनले माग गरे ।
प्रधानमन्त्री मुस्ताफा अल–कधिमीले हातहतियारबाट हमला हुन नदिन कडा सुरक्षा व्यवस्थाको लागि निर्देशन दिएका थिए ।
गत वर्ष दसौँ लाख प्रदर्शनकारीहरूले इराकमा शासन परिवर्तनको माग गर्दै सडक प्रदर्शन गरेका थिए । उनीहरूले शासक वर्गको अकर्मण्यता, भ्रष्ट चरित्र र इरानप्रतिको बढ्दो झुकावको विरोध गरेका थिए ।
प्रदर्शनको क्रममा झन्डै ६ सय प्रदर्शनकारी मारिनुका साथै हजारौँ मानिस घाइते भएका थिए । प्रदर्शनकै दबाबमा तत्कालीन प्रधानमन्त्री अब्देल अब्दुल मेहदीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री बनेका अल–कधिमीले प्रदर्शनकारीहरूका माग पूरा गर्ने वाचा गरेका थिए ।
तर, सरकारले वाचा गरेअनुसार प्रदर्शनकारीका कुनै पनि माग पूरा भएनन् । नयाँ निर्वाचन, आधारभूत सेवा र रोजगारीका अवसरजस्ता प्रमुख सुधार गर्न सरकार असफल छ । विश्व बैङ्कको तथ्याङ्कअनुसार इराकमा तीन जनामध्ये एक जना युवा बेरोजगार छ ।
गत वर्षको अक्टोबरमा इराकमा धेरै पत्रकार र राजनीति कार्यकर्ताको हत्या र बेपत्ता पारिएको थियो ।
अल–कादिमीले त्यस्ता हत्याको दोषीमाथि कारबाहीको वचन दिएका थिए । तर, हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *