भर्खरै :

राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण

नेपालमा यतिबेला ‘राजनीतिको अपराधीकरण र अपराधीको राजनीतीकरण’ को प्रक्रियाले तिव्रता पाएको छ । राजनीतिले चोरी, डकैती, जालसाजी, तस्करी र भ्रष्टाचार समकक्षकै अनैतिक र आपराधिक कार्यको रूपमा स्थान लिएको छ । यो अवस्थाको सिर्जना अरू कुनै कारणले नभएर राजनीति गर्नेहरूको व्यवहार र क्रियाकलापका कारणले हो । एक समय थियो, जतिबेला जो कसैले राजनीतिमा लाग्ने आँट गर्दैनथ्यो । कारण, त्यतिबेला राजनीतिमा लाग्न स्वार्थ होइन, त्याग, बलिदान र समर्पणको आवश्यकता पर्दथ्यो । तर, अब राजनीति व्यापारभन्दा पनि उत्तम कमाउधन्दामा परिणत हुन पुगेको छ । त्यसो किनभने व्यापार नाफामूलक व्यवसाय हुँदाहुंँदै पनि त्यसबाट सहजै नाफा प्राप्त हुनसक्दैन । व्यापारका लागि पहिले लगानी गर्नुपर्दछ । व्यापारमा प्रतिस्पर्धा गर्नुपर्छ । निरन्तर खट्नु पर्दछ । निश्चित मूल्य र मान्यताको पालना गर्नुपर्छ । यद्यपि यतिबेला व्यापारिक क्षेत्र पनि मूल्य–मान्यतामा सञ्चालित छैन । राजनीति लगानी र परिश्रमबिना छोटो समयमा अथाह कमाइ गर्ने धन्दा हुन पुगेको छ । हुन त राजनीति राज्य सञ्चालनसँग सम्बन्धित नीति हो । राज्य एउटा राजनीतिक संस्था र निकाय भएकोले राज्यको मूल कार्य राज्य सञ्चालनको माध्यमबाट समाजमा शान्ति सुव्यवस्था कायम गर्दै जनतालाई सेवा पु¥याउनु हो । त्यस उद्देश्य प्राप्तिका लागि राज्यका गतिविधिहरूमा संलग्न हुनेहरूमध्ये एउटा महत्वपूर्ण वर्गमा राजनीतिज्ञ र राजनीतिकर्मीहरू पर्दछन् । जसलाई हामी नेता भन्दछौँ । राज्यको अस्तित्व कायम राख्दै जनतालाई सेवा पु¥याउने गतिविधिलाई निर्देशन गर्ने नीति राजनीति हो । यसर्थमा राजनीति जनसेवा हो । यो निजी स्वार्थ सिद्ध गर्न र नाफा कमाउन अवलम्बन गर्ने नीति र गतिविधि होइन । राजनीतिलाई मोटामोटीधपमा पुँजीवादी र समाजवादी तथा साम्यवादी दुई स्वरुपमा विभाजन गर्ने गरेको पाइन्छ । पुँजीवाद नाफा कमाउने हेतुले विकसित राजनीतिक विचार हो । यसले एकातिर मानिसलाई बोल्ने, डुल्ने, सङ्गठित हुने आधारभूत स्वतन्त्रता उपलब्ध गराउने ढोँग देखाउने र अर्कातिर श्रमिक, अभावग्रस्त र कमजोर वर्ग र व्यक्तिको श्रमको शोषण गर्दै नाफा कमाउने कुरोमा जोड दिन्छ । समाजवाद समाजमा आर्थिक आधारमा गरिने शोषण, दमन, अत्याचार र थिचोमिचोलाई अन्त्य गरेर सामाजिक समानता कायम गर्ने कुरोमा जोड दिने विचार र प्रणाली हो । यसका लागि उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व कायम गर्ने कुरोमा समाजवादको जोड हुने गर्दछ । यसरी पुँजीवाद र समाजवादबीच व्यक्तिलाई भोकै राखेर कराउने र उफ्रने स्वतन्त्रता दिने वा व्यक्तिका आधारभूत आवश्यकताको परिपूर्ति गरेर संयमित र सौहार्द भएर बाँच्ने प्रवृत्तिको विकास गर्न सिकाउने भन्ने आधारभूत भिन्नता रहेको पाइन्छ । यस हिसाबले समाजवाद पुँजीवादभन्दा निकै उत्तम विचार र प्रणाली हो ।
जुनसुकै विचारलाई बदनाम र पतन गराउन त्यसका विरोधीहरूको भन्दा बढी र खतरनाक भूमिका त्यसलाई अवलम्बन गर्ने गलत व्यक्तिहरूको हुने गर्दछ किनभने सही र गलत दुई विचारमध्ये गलतको तुलनामा सही विचार अवलम्बन गर्नेहरूको व्यवहार बढी आदर्शपूर्ण हुनुपर्ने हुन्छ । तर, हामी कहाँको प्रवृत्ति यसको ठीकविपरीत रहेको पाइन्छ । यहाँका कथित प्रजातान्त्रिक समाजवादी (जो पुँजीवादीहरू नै हुन्) भनाउँदाहरूको सोच र व्यवहार हिजोका पञ्चहरूको भन्दा फरक रहेन । तिनीहरूले एकातिर देशबाट कम्युनिस्ट सिध्याउने नाउँमा विरोधीमाथि दमन गर्ने पञ्चायती नीतिलाई अवलम्बन गरे भने अर्कातिर नवउदारवादी अर्थनीतिको अवलम्बन गर्दै देशलाई उद्योगधन्दाविहीन तुल्याए । यसै कारणले काङ्ग्रेस उसले भट्याउने गरेको प्रजातान्त्रिक समाजवादी लाइनभन्दा पर दलाल लुटेराहरूको श्रेणीमा रहेको कुरा प्रस्टयाइदियो ।

राज्यका सम्पूर्ण निकायहरूमा अपराधीहरूको पकड हुनुको मूल कारण राजनीतिको अपराधीकरणसँगै अपराधीको राजनीतीकरण हुनु हो भन्ने कुरामा शङ्का गर्नुपर्ने ठाउँ रहेन । यसो हुनुको कारण, एकातिर हिजो आफूहरूले जनआन्दोलन र सशस्त्र सङ्घर्षको नेतृत्व लिएका हौँ भन्नेहरूले सरकारको नेतृत्व तहमा पुगी राष्ट्रिय सम्पत्तिमा खुला लुट मच्चाएर सम्भ्रान्त शैलीमा जीवनयापनसँगै आफ्ना सन्ततिको भविष्य सपार्ने जोहो गर्ने र अर्कातिर सरकार र पार्टीले गर्ने राजनीतिक नियुक्ति र अन्य अवसरहरूमा सरकारी लुटमा सघाउने अपराधीहरूले प्राथमिकता पाउने भएकोले हो ।

काङ्ग्रेसको मात्र के कुरा, कथित समाजवादी र कम्युनिस्ट भनाउँदाहरूको व्यवहारसमेत दलाल पुँजीवादीहरूको भन्दा भिन्न रहेको पाइएन । यसको प्रमाणको लागि पञ्चायत व्यवस्थाविरुद्ध जनआन्दोलन गरेर झन्डै ३१ वर्षदेखि सत्ता र त्यसको सेरोफेरोमा रहेको एमाले (हाल नेकपा) र संसदीय व्यवस्थाविरुद्ध सशस्त्र सङ्घर्ष गरेर विगत १४ वर्षदेखि सत्तास्वार्थमा रमाइरहेको माओवादी (हाल नेकपा) को व्यवहार हेर्नु पर्याप्त हुन्छ । तिनीहरूले कथित जनवादी र समाजवादी आवरणलाई पन्छाएर देशभित्र नवउदारवादको नाउँमा काङ्ग्रेसले भिœयाएको लुटको नीतिलाई गति दिन पुगे । परिणामतः यतिबेला आफूहरूलाई लोकतान्त्रिक, प्रजातन्त्रवादी, संसदवादी, गणतन्त्रवादी र समाजवादप्रति प्रतिबद्ध बताउनेहरूको व्यवहार पूर्वपञ्चहरूको भन्दा पनि निकृष्ट हुनपुगेको छ । हिजो पञ्चहरूले यसरी खुलारूपमा ब्रह्मलुट मच्चाउन पाउँदैनथे । केही गरी कसैले लुकिछिपी भ्रष्टाचार गरेको कुरो सार्वजनिक भइदिएमा छिट्टै पदमुक्त हुने गर्दथे । तर, आज सरकार र पार्टीको नेतृत्व गरी टोपल्नेहरूले भ्रष्टाचारी र अपराधीहरूलाई खुलमखुला संरक्षण प्रदान गरिरहेका छन् । तीविरुद्ध भ्रष्टाचार एवं अपराध नियन्त्रण निकायहरूले कारबाही चलाउने प्रयाससम्म गरेको पाइँदैन । यसले राज्य संयन्त्रका यावत निकायहरूमा आपराधिक तत्वहरूको बलियो पकड रहेको कुरोलाई प्रकट गर्दछ ।
यसरी राज्यका सम्पूर्ण निकायहरूमा अपराधीहरूको पकड हुनुको मूल कारण राजनीतिको अपराधीकरणसँगै अपराधीको राजनीतीकरण हुनु हो भन्ने कुरामा शङ्का गर्नुपर्ने ठाउँ रहेन । यसो हुनुको कारण, एकातिर हिजो आफूहरूले जनआन्दोलन र सशस्त्र सङ्घर्षको नेतृत्व लिएका हौँ भन्नेहरूले सरकारको नेतृत्व तहमा पुगी राष्ट्रिय सम्पत्तिमा खुला लुट मच्चाएर सम्भ्रान्त शैलीमा जीवनयापनसँगै आफ्ना सन्ततिको भविष्य सपार्ने जोहो गर्ने र अर्कातिर सरकार र पार्टीले गर्ने राजनीतिक नियुक्ति र अन्य अवसरहरूमा सरकारी लुटमा सघाउने अपराधीहरूले प्राथमिकता पाउने भएकोले हो । त्यसैले यतिबेला सरकार एवं राजनीतिक दलको नेतृत्व लिने, त्यस्तो दल एवं नेतृत्वको कार्यकर्ता एवं समर्थक बन्ने र तिनीहरूले प्रदान गर्ने जुनसुकै पद र जिम्मेवारी र अवसर लिने भनेकै आफूलाई अपराधी वा तिनको मतियार घोषित गर्नु हुने गरेको छ । जुन समाजमा अपराधीहरूको हालिमुहाली चल्छ, त्यस्तो समाजमा सहज जीवनयापन गर्नसमेत मुस्किल पर्छ । अनि त्यस्ता अपराधीहरूद्वारा शासित राज्यसंयन्त्रलाई लोकतान्त्रिक, गणतान्त्रिक र समाजवादी जुनसुकै आवरण दिइए तापनि वस्तुतः त्यसलाई लुटतन्त्र मान्नुपर्ने हुन्छ ।
यतिबेलाको राजनीतिक नेतृत्वले जसरी राजनीति र समाजलाई नै अपराधीकरण गरिरहेको छ, त्यसलाई हेर्दा हामी कतै थोमस हब्सले भनेजस्तो प्राकृतिक अवस्था (जहाँ मान्छे क्रूर, स्वार्थी र अहङ्कारी थियो) तर्फ धकेलिइरहेका त छैनौँ भन्ने लाग्दछ । समाजमा देखापरिरहेको अराजक स्थितिले पनि त्यसै कुरातर्फ सङ्केत गरिरहे जस्तो लाग्छ । यदि यो अवस्थाबाट उन्मुक्ति चाहने हो भने नेपाली जनताले केही कुरामा मनन गर्नु आवश्यक छ । प्रथमतः जीवनयापनका लागि राजनीति गर्ने, राजनीतिक दलको सदस्य वा समर्थक बन्ने परिपाटीलाई त्याग्नुपर्दछ । दोस्रो, दलहरूमा भ्रम र बाध्यता जुनसुकै कारणले आबद्ध भएको भए तापनि दलीय समर्थकहरूले आफूलाई अन्धसमर्थक, दास वा लाचार छायाँको रूपमा कायम राख्ने होइन । निर्भिक, स्वतन्त्र र स्वाभिमानी नागरिकको हैसियतमा राख्ने आँट गर्नुपर्छ । तेस्रो, राजनीतिक आस्थासहित दलमा आबद्ध हुनेहरूले राजनीतिक नेतृत्वलाई होइन, आदर्शलाई उच्च स्थान दिनुपर्छ । चौथो, दलका सदस्य र समर्थकहरूले जसरी विरोधी र भिन्न दलका कमी कमजोरीहरूलाई सूक्ष्मरूपमा (पूर्वाग्रही भएर होइन) मूल्याङ्कन गर्दछन्, त्यही रूपमा आफ्नो दलका काम–कारबाहीहरूको समेत निगरानी राख्ने र तिनलाई सुधार्ने प्रयास गर्नुपर्दछ । पाँचौँ, पार्टी सदस्यहरूले घोषित आदर्श (राष्ट्र र जनहित) विरुद्ध गएर निजी, पारिवारिक र कमाउ स्वार्थको परिपूर्तिका लागि अपराध कर्ममा लाग्ने वा अपराधीलाई काखी च्याप्ने दलीय नेतृत्वलाई कारबाही र त्यो सम्भव नभए दल त्याग्ने सम्मको आँट गर्नुपर्दछ । जनतामा यत्तिमात्र सोच र आँट भइदिने हो भने देशको राजनीतिलगायतका विषयहरूमा धेरै सुधार आउन सक्दछ । यससँगै देशमा अराजकता निम्त्याउने, सामाजिक सद्भाव बिथोल्ने र राष्ट्रको सार्वभौमसत्ता एवम् भौगोलिक अखण्डतामा आँच पु¥याउने हदसम्मको स्वतन्त्रता होइन, नागरिकमा जिम्मेवारीबोध एवं कर्तव्य पालना गर्ने सोचसहित सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको प्रबद्र्धन गर्ने राजनीतिक परिपाटीको विकास गर्नुपर्दछ । त्यसो हुन सकेमात्र नेपाल र नेपालीको सुन्दर भविष्यको अपेक्षा गर्न सकिन्छ । देश र जनताको हित एवं भविष्यप्रति चिन्तित रहनेहरूको यस कुरातर्फ ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *