भर्खरै :

भक्तपुर र कीर्तिपुरका प्रमुखबीच भेट

भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच बुधबार भेट भयो । भनपाले नगरका विभिन्न सम्पदाहरूमा गरिरहेको रात्रीकालीन बत्ती व्यवस्थाको स्थलगत अवलोकनको लागि भक्तपुर पुग्नुभएका प्रमुख महर्जन, उपप्रमुख सरस्वती खड्का र प्रमुख प्रशासकीय अधिकृत सीता परियारले प्रमुख प्रजापतिसँग नगरपालिकामा भेट गर्नुभएको हो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरको पर्यटन विकासका लागि भइरहेका प्रयासहरूलाई थप प्रभावकारी र व्यवस्थित गर्ने उद्देश्य लिएर अगाडि बढिरहेको बताउँदै कोभिड १९ का कारण यहाँको पर्यटन क्षेत्रमा पुगेको असर र चुनौतीहरूबारे जानकारी गराउनुभयो ।
भक्तपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सांस्कृतिक केन्द्र निर्माण गर्ने सोच रहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले कोभिड १९ को जोखिमका कारण भक्तपुर महोत्सव स्थगित गर्नुपरेको बताउनुभयो ।
भनपाले अनलाइनमार्फत शारीरिक व्यायाम प्रशिक्षण सुरू गरिरहेको, भक्तपुरको विकास निर्माण स्थानीय जनसहभागितामा चालू रहेको बताउँदै उहाँले भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका सम्पदा क्षेत्रहरूमा रातको समयमा पनि उत्तिकै आकर्षक बनाउने उद्देश्यले व्यवस्थित बत्तीको व्यवस्था गरिरहेको उल्लेख गर्नुभयो ।
भेटमा कीर्तिपुरका नगर प्रमुख महर्जनले भक्तपुरका सम्पदाहरूमा बत्ती व्यवस्था गर्ने प्रविधि कीर्तिपुर नपाले पनि सिक्न चाहेको बताउनुभयो । कीर्तिपुर नगरपालिकाको सम्पदा बस्तीहरूमा मौलिकता जोगाउने ढङ्गले पुरानै शैलीमा घर पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा जोड दिइरहेको र कीर्तिपुरको हातेतानको प्रविधि लोप हुने क्रममा रहेको हुँदा सोको संरक्षणमा नगरवासीहरूलाई उत्साहित गर्ने कार्यहरूलाई प्राथमिकता दिइरहेको उहाँले बताउनुभयो ।
भेटपश्चात् भक्तपुर नपाका उपप्रमुख रजनी जोशी नेतृत्वको टोलीले उहाँहरूलाई दरबार क्षेत्रलगायत भक्तपुरका विभिन्न सम्पदा क्षेत्रहरूको सन्ध्याकालीन दृश्यहरू स्थलगत अवलोकन गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *