भर्खरै :

चिसो बढेसँगै बाढीपहिरो पीडितलाई बासको चिन्ता

बलेवा, १९ कार्तिक । भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङवासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँदमा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
ढोरपाटन नगरपालिका–७, ८ र ९ का अधिकांश स्थानीयवासीको बसाइँ घुम्ती हुन्छ । हरेक वर्ष ६÷६ महिनामा हुने तलमाथिको बसाइँ यो वर्ष हुने कि नहुने भन्नेमा उनीहरू चिन्तित छन् । हिउँदमा बेसी झरेर बस्ने भुजीखोला छेउका घरमा भएका आफन्तसहित मासिएका घरहरूको सम्झनामा मात्रै उनीहरूसँग छ । बाढीपहिरोका कारण क्षति भएका घरका परिवारले चिसो बढेसँगै यो वर्षको हिउँद कसरी कटाउने भनेर चिन्ता गर्न थालेका छन् । खोला छेउका १२७ घर परिवार बिस्थापित भएका थिए ।
बाढी पहिरो गएको दुई महिना बित्यो तर पीडितहरूको बास त्रिपालमै छ । पीडितको राहतका लागि नगद, खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामग्री बोकेर धेरै संस्था, व्यक्ति तथा समूह ढोरपाटन पुगे । सरकारले बागलुङलाई विपदग्रस्त क्षेत्र घोषणा गरेर पुनः निर्माण गर्ने भनेको दुई महिना पुग्दा पनि अहिलेसम्म काम हुन सकेको छैन ।
केहीदिनदेखि जाडो बढेपछि बाढीपीडितहरू घर बनाइदिन सरकारसँग माग गर्न थालेका छन् । चिसो पालमुनि कटाउन सकिन्न, सरकारले कहिले बनाइदेला खै घर । पीडित चन्द्रा पुनले भन्नुभयो, “आफैँ बनाउन सक्ने अवस्था छैन, चिसो कसरी कटाउनु ।”
“छिमेकीकोमा बसेको पनि दुई महिना भयो, चिसोमा सबैलाई सुविधा पुग्दैन ।” पीडित भीमबहादुर सुनारले भन्नुभयो । नगरपालिकाले पीडितका घर बनाउने कामका लागि सङ्घीय र प्रदेश सरकारका कार्यक्रम कुरेर बसेको छ । “केन्द्रीय विपत् व्यवस्थापन समितिको सिफारिसमा गृह मन्त्रालयले विपतग्रस्त क्षेत्र घोषणा गरेकोले हामीले सो कार्यविधि पर्खिँदा ढिला भएको हो” उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम भट्टराईले भन्नुभयो, “सङ्घ र प्रदेशको कार्यक्रम आएपछि हाम्रो रणनीति बनाउँला भनेर कुर्दा ढिला हुने भयो ।”
सङ्घीय सरकारले प्राविधिक कार्यालय र प्रदेश सरकारले पूर्वाधार कार्यालयका एकाइ नै स्थापना गर्ने भनेकोले योजना दोहोरिने अवस्था आउन नदिन कुरेर बसेको उहाँको जिकिर थियो । “सबै त्रिपालमुनि हुनुहुन्न, घुम्ती बसाइँ भएकाहरूको खर्कमा पनि घर छ ।” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो । जिल्लाभर यस वर्ष ५९० घरमा बाढी पहिरोले क्षति पु¥याएको विवरण जिल्ला प्रशासन कर्यालयसँग छ ।
उक्त नगरपालिकाले पीडितको पुनःस्थापनाका लागि स्थापना गरेको कोषमा हालसम्म रु. दुई करोडभन्दा धेरै रकम जम्मा भए पनि त्यसलाई परिचालन गरेर राहत र पुनःस्थापनका लागि भने नगरले अग्रसरता देखाएको छैन । चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाँडाजस्ता सामग्री पाए पनि ओत लाग्ने घर नहुँदा समस्या भएको पीडितहरूको गुनासो थियो । रासस
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *