भर्खरै :

परीक्षण कम – सङ्क्रमण कम जनस्वास्थ्यमा घातक खेल

काठमाडौं, २ मङ्सिर । सरकारले कोभिड–१९ महामारी नियन्त्रणमा बेवास्ता गरेपछि आरटी–पीसीआर परीक्षणको परिधि पनि क्रमशः साँघुरो बन्दै गएको छ । पीसीआर परीक्षणमा शुल्क लगाउने र कोभिड–१९ का रोगका लक्षण देखिएका बिरामीलाई पनि परीक्षण गर्न अनिवार्यता नहुँदा परीक्षण गर्नेको सङ्ख्या निकै कम भएको छ ।
कोभिड–१९ सङ्क्रमणको पुष्टि गर्ने संसारमा अहिलेसम्मको सबभन्दा पछिल्लो विधि नै पीसीआर परीक्षण हो । पीसीआर परीक्षण नै कम भएपछि स्वभावतः कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । न त अस्पतालमा कोभिडका बिरामीका लागि अलग्ग राखिएका शय्या भरिएका छन्, न सामुदायिक आइसोलेसन केन्द्रहरूमा नै सङ्क्रमित छन् । पीसीआर परीक्षणबाट सङ्क्रमित नै पुष्टि नभएपछि घरमा अलग बस्ने बिरामी पनि कम हुँदैछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्याङ्कअनुसार मङ्गलबार ३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् ।
सोमबार ४ हजार ८३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् । यस्तै ३० हजार ९८६ सक्रिय सङ्क्रमित रहेका छन् ।
परीक्षणको परिधि नै घटाएर सङ्क्रमण दर घटेको भन्नु मुर्खतामात्र हुनेछ । परीक्षणको परिधि फराकिलो बनाएर सङ्क्रमितको उपचार गर्नु नै यो रोग नियन्त्रणको सबभन्दा प्रभावकारी तरिका हो । धेरै सङ्ख्यामा परीक्षण गर्दा धेरै सङ्क्रमित निस्कने भन्दै परीक्षण नै नगर्नु महामारीसँगको लडाइँमा ठूलो गल्ती साबित हुनेछ । पीसीआर परीक्षणमा सरकारले पाइला पाइला गर्दै पछि हटेर जनस्वास्थ्यप्रति ठूलो बदमासी गरेको छ । लकडाउनमा सबैतिर आवतजावत ठप्प पार्दासमेत दैनिक सङ्क्रमितको सङ्ख्या थपिएको अवस्थामा अहिले सबैतिर खुलमखुल्ला भएको समयमा कोभिड–१९ सङ्क्रमित कम हुनु भनेको जनताको स्वास्थ्यमा निर्लज्ज खेलवाड हो । परीक्षण घटाएर सरकारले महामारी नियन्त्रणमा गर्नुपर्ने आधारभूत दायित्वबाट समेत पञ्छिएको छ ।
सरकारले यो गल्ती सच्याउन जरुरी छ । परीक्षण नगरी सङ्क्रमित नै नभएको वा कम भएको भनी सन्तोषको श्वास फेर्नु महामारीलाई आमन्त्रण गर्नु हो । सरकारले तत्कालै कोरोना भाइरसका सङ्क्रमित पहिचान गर्न पीसीआर परीक्षण बढाउन जरुरी छ । रोगका लक्षण देखिएकालाई मात्र होइन, समुदाय स्तरमा पनि परीक्षण गर्न जरुरी छ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङलाई व्यापकता दिनुपर्छ । सङ्क्रमणको दर उच्च रहेका क्षेत्रमा लकडाउन वा आवतजावतमा निषेध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *