भर्खरै :

जारविरुद्ध षड्यन्त्र – ७, निर्जन साइबेरियामा डिसेम्बरवादीहरूको कैद र निर्वासन

डिसेम्बर विद्रोहपछि धरपकडमा समातिएका ५८९ जना युवामध्ये १२१ जनालाई राज्यविरुद्ध गम्भीर अपराधमा मुद्दा चलाइएको थियो । जार निकोलस प्रथमले गठन गरेको अनुसन्धान समितिले पाँचजना डिसेम्बरवादी नेताहरूलाई घोडाले चारतिर तानेर मार्ने सजाय सुनायो भने थप ३१ जना क्रान्तिकारीहरूलाई मृत्युदण्डको सजाय निर्णय गरेको थियो । त्यो जारको सल्लाहमै तोकिएको सजाय थियो । जनतासामु आफूलाई दयालु सम्राटको रूपमा प्रस्तुत गर्न र डिसेम्बरवादी क्रान्तिकारीहरूका परिवारको साहनुभूति प्राप्त गर्न जारले ती ३१ जनाको मृत्युडण्दको सजाय खारेज गरिदियो । त्यस्तै पाँच जना मुख्य नेतालाई घोडाले तानेर होइन फाँसी दिइने निर्णय गरियो ।
सन् १८२६ को जुलाई २५ (१३) को दिन झिसमिसेमा ५ जना डिसेम्बरवादी नेतालाई फाँसीमा झुन्ड्याइयो । त्यही दिन बिहान मुद्दा चलाइएका बाँकी सय जनाभन्दा बढी डिसेम्बरवादीहरूलाई सेन्ट पिटर्सवर्गको पिटर र पाउल किल्लाको भित्री चोकमा भेला गरी ‘सदाको लागि साइबेरियामा कैद र निर्वासन’ को सजाय सुनाइयो । प्रिन्स सर्गेई ट्रुबेत्स्कोई, प्रिन्स येभ्गेनी ओब्लेन्सकी, प्रिन्स सर्गेई भोल्कोन्स्की, निकिता मुराभयोभ, मात्भेई मुराभयोभ (एपोस्टोल, मिखाईल लूनीन, ईभान याकुस्कीन, अलेक्जेन्डर मुराभयोभ, ईभान सुखिनोभ, निकोलाई प्यानोभलगायत मृत्युडण्द खारेज गरिएका ३१ जना पहिलो तहका क्रान्तिकारीहरूलाई साइबेरियामा १५ देखि २० वर्षको कैद र बाँकी जीवन साइबेरियामै निर्वासन बिताउनुपर्ने सजाय तोकिएको थियो । उनीहरूका पद, मान पदवी, कुलीन वर्गीय परिचय, सम्पत्ति सबै खोसिएको थियो र सदाको लागि राजनैतिक अधिकारहरूबाट वञ्चित गरिएको थियो ।
साइबेरियामा पनि सुर्य चम्किन्छ !
साइबेरिया रुसको एसियाली भागमा पर्ने विशाल भू–भाग हो । युरोपेली रुस र एसियाली रुसको सिमाना युराल पाहाड हो र युराल पहाडको पूर्वी फेदबाटै साइबेरियाली क्षेत्र सुरु हुन्छ । अहिलेको एसियाको नक्सामा हेर्दा पूर्वमा चीन, बीचमा मङ्गोलिया र पश्चिममा काजाख्स्तानको उत्तरमा रहेको रुसी भूभाग नै साइबेरिया क्षेत्र हो । १९ औँ शताब्दीको सुरुमा साइबेरियामा रुसी जातिको स्थायी बसोबास कममात्र थियो र आदिवासीहरूको पातलो बसोबासमात्र रहेको थियो । पश्चिम साइबेरिया मूलतः मैदानी क्षेत्र हो भने येनिसे नदीपूर्वको पूर्वी साइबेरिया पठार र पहाडले भरिएको क्षेत्र हो । १६ औँ शताब्दीअघि मङ्गोलियाली साम्राज्य ‘गोल्डेन होर्ड’ को अधिनमा रहेको यो भूभाग उक्त साम्राज्य कमजोर हुँदै गएपछि रुसले आफ्नो अधिनमा ल्याएको थियो । युरोपेली रुसबाट धेरै टाढा र धेरै चिसो ठाउँ भएको हुँदा १८ औँ शताब्दीदेखि रुसले साइबेरियालाई अपराधीहरूलाई कालापानी सजाय दिने वा निर्वासनमा पठाउने ठाउँको रूपमा प्रयोग गर्न थालेको थियो ।
मृत्युडण्द खारेज गरेर साइबेरियाको कैद र निर्वासनको सजाय घोषणा गर्दा एउटा क्रान्तिकारीले उत्साहित भएर ठूलो स्वरमा टिप्पणी गरेका थिए – “साइबेरियामा पनि सूर्य चम्किन्छ !” कठिनाइहरूका बावजुद पनि डिसेम्बरवादीहरूको दृढतालाई जाडोले कठ्याङ्ग्रिने साइबेरियाको कैद र निर्वासनले गलाउन सक्दैन भन्ने उद्गार थियो त्यो ।

तर, विशाल साइबेरियाली भूमिको यात्रा सजिलो थिएन । त्यतिबेला रुसको अधिनमा रहेको सारबेरियाको सबभन्दा पश्चिमी भाग बैकाल तालपारिको नेर्चिन्स्क नगर वरपरको धातुका खानीहरूमा कैद अवधिभर डिसेम्बरवादीहरूलाई कठिन श्रम गराउने रुसी सरकारको योजना थियो । नेर्चिन्स्क नगर सेन्ट पिटर्सवर्गबाट सात हजार पाँच सय किलोमिटर टाढा थियो । बाटोघाटो र मौसमको असुविधाका कारण घोडाको बग्गीमा जाँदा पनि दुई महिना समय लाग्थ्यो । सन् १९२६ को जुलाईमै डिसेम्बरवादीहरूको पहिलो समूहको साइबेरिया यात्रा सुरु भयो । ट्रर्बेत्स्कोई, ओब्लेन्स्की, भोल्कोन्स्कीजस्ता मुख्य नेताहरू सम्मिलित यो पहिलो समूहलाई बग्गीमा लगिएको थियो । पिटर्सवर्गको गर्मीमा यात्रा सुरु गरेको उनीहरूको टोली निर्चेन्स्क पुग्दा पश्चिम साइबेरियामा हिउँ पर्न थालिसकेको थियो । सबै डिसेम्बरवादीहरू उनीहरूजस्तै भाग्यमानी थिएनन् । सेनामा तल्लो तहका क्रान्तिकारीहरूलाई हिँडाएरै साइबेरिया पु¥याइएको थियो । सेन्ट पिटर्सवर्गबाट हिँडेको ६ महिनामा जारले प्रतिवेदन माग्दा उनीहरूले आधा बाटो पनि छिचोलिसकेका थिएनन् । धुलाम्य र हिलाम्य बाटोमा हिँडेर र घस्रेर पश्चिम साइबेरियाका तोकिएका खानी र बस्तीहरूमा उनीहरू पुग्दा वर्षदिन नाघिसकेको थियो ।
सुरुमा धेरैजसो क्रान्तिकारीलाई बैकाल ताल पश्चिमका स–साना गाउँहरूमा छरेर राखिएको थियो । केही डिसेम्बरवादीहरूलाई भने तुलनात्मकरूपमा नजिक पश्चिम साइबेरियाका गाउँहरूमा राखिएको थियो । नभागून् भनेर हरेक क्रान्तिकारीको कडा निगरानी राखिन्थ्यो । अधिकारीहरूले सोचेजस्तो काम गराउन सबै ठाउँमा खानीहरू थिएनन् त्यसकारण धेरै क्रान्तिकारीहरूलाई राज्यको भेडीगोठ र घोडाका तबलाहरू सफा गर्ने काम दिइयो । त्यस्तै बस्तीको बाटो बढार्ने, माटो खन्ने र अन्न कुट्ने मीलहरूमा काम लगाइयो । सुखसयलमा हुर्केका कुलीन परिवारका डिसेम्बरवादीहरूलाई साइबेरियाको कठ्याङ्ग्रिने चिसोमा अँध्यारो र ओसिलो कोठाहरूमा राखियो । बसाइको असुविधाकै कारण धरैको स्वास्थ्य बिग्रँदै गयो । केहीले त्यो अवस्था सहन नसकेर मानसिक सन्तुलन पनि गुमाए । तर, अधिकांश विद्रोहीहरूले हार मानेनन् । आफू बसेको ठाउँमा उनीहरूले स्थानीय आदिवासी जनतासँग सम्पर्क बढाए, शिक्षाको निम्ति स–साना विद्यालयहरू स्थापना गर्न थाले ।
तर, स्थानीय जनतासँगको सम्बन्ध तानाशाही राज्यको निम्ति टाउको दुखाइको विषय थियो । सम्पूर्ण पुर्वी साइबेरियामा तानाशाहीविरुद्ध विद्रोह हुन सक्ने डर जारलाई थियो । त्यस्तै टाढाका बस्तीहरूमा छरिएर बस्दा क्रान्तिकारीहरूलाई निगरानी गर्न कठिन थियो । त्यसकारण, १८२७ को सेप्टेम्बरदेखि पूर्वी साइबेरियामा छरिएर रहेका करिब ५० जना डिसेम्बरवादीहरूलाई चीनको सिमाना नजिकको चिता सहरमा सामूहिक कैदमा राख्ने व्यवस्था गरियो । यसले डिसेम्बरवादीहरूबीच वैचारिक आदानप्रदान र भौतिक सरसहयोगलाई सहज बनायो ।
डिसेम्बरवादी महिलाहरू
डिसेम्बरवादी विद्रोहमा भाग लिएका कुलीन युवाको सालाखाला उमेर २७.५ वर्ष थियो । विवाहित युवाको सङ्ख्या धेरै थिएन र धेरै कमका मात्र बालबच्चा थिए । ‘सदाका लागि साइबेरियामा कैद र निर्वासन’ क्रान्तिकारीका परिवारहरूको निम्ति एउटा ठूलो झट्का थियो । तर, केही महिलाले साइबेरिया पुगी आफ्नो क्रान्तिकारी पतिको साथ दिने साहसी निर्णय गरे । तिनको नेतृत्व प्रिन्स सर्गेई ट्रुबेत्स्कोईका पत्नी एकातेरिना ट्रुबेत्स्काया, निकिता मुराभयोभका पत्नी अलेक्जेन्ड्रा मुरायोभा र प्रिन्स सर्गेई भोल्कोन्स्कीका पत्नी मारिया भोल्कोनस्कायाले गरेका थिए ।
कुलीन परिवारमा नोकरचाकरका साथ कुनै शारीरिक श्रमविना सुखसयलमा हुर्केका ती महिलाको निम्ति साइबेरिया बसाइ सजिलो थिएन तर असहज समयमा आफ्ना पतिहरूको क्रान्तिकारी उत्साह कायम राख्न र अर्थपूर्ण जीवनलाई निरन्तरता दिन उनीहरूले त्यो कठिन बाटो रोजे । जम्मा एघार जना महिला आफ्नो पतिलाई निर्वासनमा साथ दिन साइबेरिया बसाइ सरेका थिए । साथै, अन्य ७ जना क्रान्तिकारीहरूका आमा र दिदीबहिनी साइबेरिया पुगेका थिए । आफ्ना पतिहरू जस्तै उनीहरूलाई पनि मानपदवी, कुलीनवर्गको परिचय र पारिवारिक सम्पत्ति त्याग्न लगाइएको थियो । तिनलाई आफ्ना बालबच्चा पनि साइबेरिया लाने अनुमति थिएन । ती महिलाहरूले आफ्नो परिवारको मात्र होइन निःस्वार्थरूपमा सम्पूर्ण निर्वासित डिसेम्बरवादीहरूको सेवा गरे । उनीहरू जाडोको कपडा नभएका क्रान्तिकारीहरूलाई आफ्नो न्यानो कपडा दिन्थे, उनीहरूको लुगा सफा गरिदिन्थे, खाना बनाइदिन्थे । केही वर्षमा निर्वासित परिवारहरूको एउटा छुट्टै समुदाय नै साइबेरियामा बन्यो ।

साइबेरियामा कठोर श्रम र कैदको सुरुको समयमा क्रान्तिकारीहरूलाई आफ्ना पत्नीसँग बस्ने अनुमति थिएन । हप्तामा दुईचोटी एक–एक घण्टामात्र अधिकारीहरूको उपस्थितिमा भेट्न दिइन्थ्यो । त्यस्तै कैदीहरूलाई चिठ्ठी लेख्ने वा अरू कुनै लेखरचना कोर्ने अनुमति थिएन । डिसेम्बरवादी महिलाहरू सबै कैदीहरूको नाममा चिठ्ठी लेखेर तीनका घरघरमा पठाइदिन्थे । एक महिलाले हप्तामा सालाखाला १० देखि २० वटा चिठ्ठीहरू लेख्नुपथ्र्याे । कहिलेकाहीँ अरूका चिठ्ठी लेख्दालेख्दै आफ्नो परिवार, बालबच्चालाई चिठ्ठी लेख्न भ्याउँदैनथे ।
साइबेरिया पुगेका महिलाहरूले त्यहाँका अधिकारीहरूलाई दबाब दिई कैदी र स्थानीय आदिवासीहरूको निम्ति स्वास्थ्य उपचार गर्न स्वास्थ्य केन्द्र तथा शिक्षालयहरू स्थापना गर्न सक्रिय भूमिका खेलेका थिए । ती महिलाहरू डिसेम्बरवादीहरूको निम्ति जिउने भौतिक र नैतिक आड साबित भए ।
प्रसिद्ध रुसी कवि एवम् धेरै डिसेम्बरवादीका सहपाठी र मित्र अलेक्जेन्डर पुश्किनले तिनै महिलाहरूमा समर्पित एउटा कविता पनि लेखेका छन् ।
‘साइबेरियाका गहिरा खानीहरूमा
तपाईँहरूको गर्व र धैर्यता उदाहरण बनेर रहनेछ ।
तपाईँको कठिन मेहेनत खेर जाने छैन,
तपाईँको उच्च विचार सदा प्रमाणको रूपमा रहनेछ !’
पेट्रोभ्स्की जेल
सुरुमा धेरै क्रान्तिकारीले केही वर्षमा आममाफी घोषणा हुने आशा गरेका थिए । कुनीन जस्ता केही क्रान्तिकारी नेताहरूमा भने त्यस्तो आशा थिएन । उनीहरू बरु चीनको सिमाना पार गरेर जापान भाग्ने योजना बनाउँदै थिए । तर, योजना सफल भएपछि विदेशमा के गर्ने भन्ने दुविधा र आफ्नो योजनाले अरू नभागेका क्रान्तिकारी साथीहरूलाई झन् कडाई गरिने आँकलनले भाग्ने योजना त्यागिदिए । सन् १८२८ को गर्मीमा चीनको सिमानाभन्दा २० किलोमिटरमात्र टाढा रहेको जेरेन्थुई खानीका क्रान्तिकारीहरूको एक अर्को समूहले पनि डिसेम्बरवादी ईभान सुखिनोभको नेतृत्वमा सशस्त्र विद्रोह गरेर सीमापार भाग्ने योजना बनाएका थिए । तर, त्यसको सूचना अगाडि नै चुहिँदा सुखिनोभलाई दोस्रोचोटि मुद्दा चलाइयो र ज्यान सजाय दिइयो ।

आममाफिको घोषणा त भएन तर क्रान्तिकारीहरूका परिवारहरूको उच्च अधिकारीहरू र जारसँगको निरन्तर माग एवम् ताकेताका कारण केही वर्षपछि प्रशासन कैदीहरूप्रति बिस्तारै खुकुलो हुन थाल्यो । महिलाहरूलाई आफ्ना कैदी पतिसँग बस्ने छुट दिइयो र कैद तथा कठोर श्रमको समय २० वर्षबाट १५ हुँदै केहीको १० वर्षमा झारियो ।

जेरेन्थुईको घटनाले अधिकारीहरूलाई अझ सजग बनायो र झन् कडा निगरानी राख्न थालियो । सन् १८३० को सेप्टेम्बरमा चिताका डिसेम्बरवादीहरूलाई भर्खरै निर्माण गरिएको तुलनात्मकरूपमा व्यवस्थित सैनिक ब्यारेकजस्तो कारागार पेट्रोभ्स्की जेलमा सारियो । त्यहाँ सामूहिकरूपमा बस्ने व्यवस्था हटाई हरेकलाई छुट्टाछुट्टै कोठामा राख्न थालियो । नुहाउन र चर्चमा प्रार्थना गर्नबाहेक कैदीहरूलाई सधैँ सिक्री लगाइएको हुन्थ्यो । यस्तो कडा व्यवस्थाले गर्दा कैदीहरू भाग्न सक्ने अवस्था रहेन ।
आममाफिको घोषणा त भएन तर क्रान्तिकारीहरूका परिवारहरूको उच्च अधिकारीहरू र जारसँगको निरन्तर माग एवम् ताकेताका कारण केही वर्षपछि प्रशासन कैदीहरूप्रति बिस्तारै खुकुलो हुन थाल्यो । महिलाहरूलाई आफ्ना कैदी पतिसँग बस्ने छुट दिइयो र कैद तथा कठोर श्रमको समय २० वर्षबाट १५ हुँदै केहीको १० वर्षमा झारियो ।
सन् १८३५ देखि १८३७ सम्ममा प्राय सबै क्रान्तिकारीहरूलाई कैदबाट मुक्त गरी साइबेरियाका विभिन्न बस्तीमा बसाइएको थियो । प्रत्येकलाई जीउनको निम्ति केही हेक्टर जमिन उपलब्ध गराइएको थियो । डिसेम्बरवादीहरूले सामान्य जीवन बिताउन थाले । तर, युरोपेली रुस फर्कने अनुमति उनीहरूलाई थिएन न त जफत गरिएको सम्पति, मानपदवी नै फर्काइएको थियो । केही क्रान्तिकारीहरूलाई सामान्य सैनिक जवानको रूपमा ककेसियामा ईरान र टर्कीसँगको लडाइँमा भाग लिन पठाइयो । तर, लेख्ने स्वतन्त्रता उनीहरूले प्राप्त गरे । अझैपनि युरोपमा रहेका नातेदारहरूलाई लेख्ने अनुमति उनीहरूलाई दिइएको थिएन, लेखिएका हरेक रचनामा कडा सेन्सर हुन्थ्यो । केहीले गुप्तरूपमा आत्मकथा र डिसेम्बरवादी विद्रोहको इतिहास लेख्न सुरु गरे । साइबेरियामा व्यापार गर्ने धेरै रुसी व्यापारीहरू डिसेम्बरवादीहरूप्रति साहनुभूति राख्थे । ती व्यापारीहरूले युरोपेली रुस र डिसेम्बरवादीहरूबीच सूचना आदान प्रदान गर्न महत्वपूर्ण सहयोग गरे । कैद भुक्तानीपछि बसोबास गरिएको ठाउँमा पनि क्रान्तिकारीहरू निरन्तर प्रशासनको निगरानीमा रहन्थे । शङ्कास्पद व्यवहारका देखिए क्रान्तिकारीहरूलाई पुनः साइबेरियाको जेलमा कोचिन्थ्यो ।
साइबेरियाली जीवनमा डिसेम्बरवादी प्रभाव
साइबेरियाली जनता डिसेम्बरवादीहरूप्रति सकारात्मक थिए । उनीहरूको निम्ति डिसेम्बरवादीहरू ‘जार निकोलसको शपथ लिन नमान्ने साहसी जनरलहरू’ थिए । साइबेरियाको सांस्कृतिक र राजनैतिक जीवनमा डिसेम्बरवादीहरूले ठूलो प्रभाव छाडेका थिए । बसोबास गराइएको ठाउँहरूमा उनीहरूले विद्यालयहरू स्थापना गरेर आदिवासीहरूको शिक्षामा ठूलो योगदान गरे । त्यस्तै विभिन्न ठाउँमा महिला विद्यालय पनि स्थापना गरिए । डिसेम्बरवादीहरूले स्थानीय जनताको निम्ति आफूले जानेका विदेशी भाषाका कक्षाहरू चलाउन थाले । पश्चिम युरोपका नयाँ – नयाँ विचार र पुस्तकहरू क्रान्तिकारीहरूसँगै साइबेरियाका जनाताले पढ्न थाले । त्यस्तै साइबेरियाको कला र सङ्गीतमा डिसेम्बरवादीहरूको प्रभावका कारण युरोपेली छाप देखिन थाल्यो ।
त्यस्तै, पहिले साइबेरियामा नदेखिएका तरकारी, नगदेबाली र अन्नका बिउहरू एवम् कृषिका नयाँनयाँ तरिकाहरू डिसेम्बरवादीहरूले साइबेरियामा भित्र्याए । सूर्ती, जौ र फापरजस्ता बालीहरू साइबेरियामा डिसेम्बरवादीहरूले भित्र्याएका थिए । त्यस्तै, उनीहरूले हरितगृहको माध्यमबाट बेमौसमी खेतीको प्रविधि पनि साइबेरियामा प्रयोग गरे । त्यस्तै आधुनिक चिकित्सा पढेका क्रान्तिकारीहरूले साइबेरियामा स्थानीयहरूको उपचारमा सहयोग गरे ।
सन् १८५५ मा जार निकोलसको मृत्युपछि नयाँ जार अलेक्जेन्डर द्वितीयले डिसेम्बरवादीहरूलाई आममाफीको घोषणा गरे । आम माफीसँगै उनीहरूले आफ्नो राजनैतिक अधिकार, सम्पत्ति र केहीले मान पदवी पनि फिर्ता पाए । तर, त्यतिबेलासम्म निर्वासनमा पठाइएका आधा डिसेम्बरवादीहरूको मृत्यु भइसकेको थियो । बाँकी धेरैले पनि युरोपेली रुस फर्कने इच्छा देखाएनन्, कति साइबेरियाको जीवनमै अभ्यस्त भइसकेका थिए भने कतिको युरोपेली रुस फर्कन कुनै परिवार बाँकी थिएन । उनीहरू साइबेरियाका स्थायी बासिन्दा बने । तिनै डिसेम्बरवादीहरूकै कारण साइबेरियामा पहिलो पुस्ताका बुद्धिजीविहरूको उदय भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *