भर्खरै :

मुख सफा गर्ने झोलले कोरोना रोक्न मद्दत गर्छ – अध्ययन

लण्डन, १७ नोभेम्बर । बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अध्ययनले मुख सफा गर्ने झोल (माउथवास) ले कोरोना भाइरस मार्न प्रभावकारी भूमिका खेल्नसक्छ । कम्तीमा ०.०७ प्रतिशत सेटिलप्रेडिनियम क्लोराइड(सीपीसी) भएको माउथवासले भाइरस सङ्क्रमणको सम्भावना कम गर्न ‘राम्रो सङ्केत’ देखाएको छ ।
गत साता प्रकाशित अध्ययनको रिपोर्टले कोरोना भाइरसबाट सङ्क्रमित मानिसमा भाइरसको परिमाण कम गर्न सीपीसी भएको माउथवासले मद्दत गरेको देखाएको छ ।
वैज्ञानिकहरूको निचोडको आधारमा बेलायतकै कार्डिफस्थित वेल्स विश्वविद्यालय अस्पतालका बिरामीहरूमा माउथवासले सङ्क्रमितको ¥यालमा कोरोना भाइरसको घनत्व घटाउन सक्छ वा सक्दैन भनी क्लिनिकल परीक्षण गरिनेछ । यो परीक्षणको विस्तृत रिपोर्ट सन् २०२१ को सुरूमा प्रकाशित हुने बताइएको छ ।
कार्डिफ विश्वविद्यालयका प्राध्यापक डेभिड थोमसले नेतृत्वमा भएको क्लिनिकल परीक्षणअन्तर्गत बेलायतको डेन्टल ब्रान्डको माउथवास प्रयोग गरिएको थियो ।
“यो परिणाम निकै उत्साहप्रद छ । तथापि, थप क्लिनिकल परीक्षण भने अझै आवश्यक छ”, वैज्ञानिक थोमसले भने ।
“प्रयोगशालामा माउथवास प्रयोगबाट हामीले हासिल गरेका सफलता बिरामीको सन्दर्भमा पनि सफल हुँदै जाने अवस्थामा सन् २०२१ को सुरुसम्ममा हामी हाम्रो परीक्षण सम्पन्न गर्न सक्नेछौँ”, उनले भने ।
विशेषज्ञ दन्तचिकित्सक डा. निक क्लेडनले ‘हात धुने, आपसी दुरी, मास्क लगाउने जस्तै भविष्यमा कोरोना भाइरसबाट जोगिन माउथवासको प्रयोग पनि एउटा अनुशासन हुने’ मा ढुक्क छन् ।
यसैबीच संरा अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग वैज्ञानिकले मोडर्ना कम्पनीले बनाएको कोभिड–१९ खोपले ‘आश्चर्यजनक प्रगति’ गरेकोमा खुसी व्यक्त गरेका छन् । एएफपी समाचार संस्थालाई सोमबार संरा अमेरिकी वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउसीले दिएको अन्तर्वार्तामा मोडर्नाको खोप कोरोना भाइरससँग लड्न ९४.५ प्रतिशत प्रभावकारी भएकोमा खुसी व्यक्त गरे ।
चीनले नयाँ कोरोना भाइरसको आणुवंशिक सूत्र दिएको केही समयपछि संरा अमेरिकी जैविक प्रविधि कम्पनीसँग मिलेर खोप विकासमा लागेको राष्ट्रिय एलर्जी तथा सङ्क्रामक रोग प्रतिष्ठानका डा. फाउसी प्रमुख थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *