भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– ५

साम्प्रदायिक विष
सन् १९९२ को डिसेम्बर ६ । कोलकोत्ताको लेखक भवनस्थित मेरो कार्यालयमा एउटा जरूरी बैठक चलिरहेको थियो । बैठक चल्दै गर्दा हामीले ज्यादै नमीठो समाचार सुन्यौँ । अयोध्याको बारबरी मस्जिद भत्काइएको रहेछ । अनायास मेरो हृदयको गति बढेको अनुभव भयो । अलमल र असहजताबीच मैले बैठक स्थगित गरेँ । ‘यो के भइरहेको छ’ भन्ने अनमन्स्यकभावले मलाई कोक्याइरह्यो । यो घटनापछि धर्मनिरपेक्ष भनिएको भारतप्रति अन्तर्राष्ट्रिय जगतको बुझाइ कस्तो होला भन्ने कुरा मेरो मनमा लगातार खेल्न थाल्यो । हामी जे थियौँ, अब त्यस्तै रहने मलाई पटक्कै लागेन । के हाम्रो अन्तश्चेतनाको गहिराइसम्म साम्प्रदायिकताको तीतो विष फैलिसकेको हो र ? मैले आफैलाई प्रश्न गरेँ । के हामीले फेरि पनि अहिंसाको सिद्धान्तलाई अझ बोकिरहन सक्छौँ ?
एउटा राष्ट्रको रूपमा हामीले सामना गर्नुपर्ने चुनौतीका पहाडहरू निकै अजङ्गका छन् ।

तेलभागा किसान आन्दोलन


गरिबीले हाम्रो आँखैअघि सदाकाल हामीलाई घुरिरहेको हुन्छ । हाम्रा करोडौँ जनतालाई खाना, छाना, शिक्षा र रोजगारी दिन हामीले सकेका छैनौँ । यी सबै चुनौतीलाई बेवास्ताको नालीमा मिल्काएर हामी मिथकीय देवी–देवताको जन्मथलोको पहिचान र निश्चय गर्ने काल्पनिक सौखमा विचरण गरिरहेका छौँ ! के हामी विवेकहीन मूर्खहरूको दफ्फा हौँ ? हामी किन सभ्यताको उज्यालो घाम पुग्न पनि नसकेकाहरूमाथि असभ्य र आदिम गुफामानवको जस्तो व्यवहार गरिरहेका छौँ ? हरेक नागरिकले आ–आफ्नो धार्मिक आस्था राख्न पाउने अधिकारलाई म अस्वीकार गर्न सक्दिनँ । तर, यो देशको नेतृत्व गरिरहेका व्यक्तिहरूले किन यस्ता अतिवादी क्रियाकलापमा रोक लगाउने जिम्मेवारीबाट च्युत भइरहेका छन् ? व्यक्तिगतरूपमा धर्मको नाममा कुनै पनि अतिवादी गतिविधि गर्नुलाई घृणाको अभिव्यक्ति मान्दछु । यस्ता हिँसा केही निर्लज्ज राजनीतिक नेताहरूको चालबाजीको परिणाम हुने गर्छ । आफ्ना केही तुच्छ स्वार्थपूर्तिको लागि साम्प्रदायिकताको आगोमा हावा भर्न उनीहरूलाई कति पनि असहजता अनुभव हुँदैन । म त्यस्ता राजनीतिक नेताहरूलाई ‘अक्षम्य अपराधी’ भन्न कति पनि अनकनाउँदिन । देशको हितप्रति घातकरूपमा असंवेदनशील केही राजनीतिक पार्टीहरूले लगातार साम्प्रदायिक भावना उछाल्ने गरेका छन् । बाबरी मस्जिदको लज्जाजनक ध्वंस अन्धो पागलपनाको परिणाम हो । भारतको इतिहासमा त्यो कालो धब्बा हो ।
वास्तवमा कोही पनि हिन्दू वा मुसलमानले एकअर्काविरूद्ध लड्ने चाहँदैन भन्नेमा म पूर्णतः विश्वस्त छु । कुनै राजनीतिक नेताले बद्नियतपूर्वक आफ्नो व्यक्तिगत औजारले टुक्राटुक्रा पार्न भावनात्मकरूपमा नउक्साएसम्म न हिन्दू न मुसलमानले आपसमा हिंसात्मक लडाइँ गर्ने विषयमा विचार गर्छ । दुर्भाग्यवश धार्मिक साम्प्रदायिकता उकास्नु तत्काल आफ्नो ध्येय पूरा गर्ने हिजोको छोटो सूत्र बनेको छ । देशको अहितमा खुलमखुला काम गर्ने अल्पदृष्टिका मूर्खहरूको भीडप्रति मलाई दया लाग्छ ।

सन् १९४६ मा भएको साम्प्रदायिक हिंसापछि क्षतिग्रस्त कोलकोता


म सन् १९४६ मा भएको बृहत् कोलकोत्ता हत्याकाण्ड स्मरण गर्छु । बङ्गालको त्यो सबभन्दा खराब साम्प्रदायिक उपद्रव थियो । म आफैले कोलकोत्ताको सहरमा पशुतुल्य आक्रोश र आतङ्क देखेको थिएँ । त्यत्तिबेला राक्षसी पागलपनाले हिन्दू र मुसलमानहरूलाई छोपेको थियो । मैले त्यत्तिबेला दुवै समुदायमा उन्माद अनुभव गरेको थिएँ जसले उनीहरूलाई आपसमा भिड्न उक्साइरहेको थियो । लास र रक्तमुछेल मानिसहरू असरल्ल छरिएको सडकमा म हिंडेको थिएँ । बल्दै गरेको आगो र मृत्युको निकै नमीठो गन्ध मेरो नाकमा आएर ठोकिएको थियो । त्यो भयानक त्रासदीले मलाई सधैं तर्साइरहेको हुन्छ र मेरो मानव भावनालाई जिस्क्याइरहेको हुन्छ ।
सन् १९४६ मा जे भएको थियो, त्यो मानिसले नै निम्त्याएको सङ्कट थियो । त्यत्तिबेलाको उपद्रव पछाडि साम्राज्यवादी राज्य संयन्त्रको हात भएको कुरामा म प्रस्ट थिएँ । सबभन्दा दुःखको कुरा, यो शताब्दीको अन्त्यतिर आएर यसअघि कहिल्यै नभएको जस्तो यस्तो मानिस रचित सङ्कटको अशुभ अनुहार मैले देख्नुप¥यो ! धोखेबाजी र मेकियावलीवादी बद्नियत अझ कुरूपताका साथ देखापरेको छ ।

अविभाजित बङ्गालमा तेभागा किसान आन्दोलन दबाउन सुहरावर्दी सरकारले चालेको दमनकारी कदमको हाम्रो पार्टीले कडा प्रतिरोध ग¥यो । तेभागा किसान आन्दोलनमा किसानहरूले फलेको बालीको चार खण्डको तीन खण्ड पाउनुपर्ने माग गरेका थिए । सन् १९४७ को मार्च महिनामा मैले यो विषयमा विस्तृतरूपमा बोलेँ । मैले स्पष्ट शब्दमा बङ्गालका जनतामाथि शोषण र आतङ्कित गर्ने कानुनहरूको विरोध गरेँ । यही विषयलाई लिएर मैले खुलना, जलपाईगुढी, मेमेन्सिघलगायत प्रान्तहरूको पनि भ्रमण गरेँ । ती क्षेत्रहरूको भ्रमण गरेर किसानका मूल समस्याबारे प्रत्यक्ष बुझ्ने अवसर प्राप्त भयो । सङ्घर्षरत किसानहरूले कहिल्यै पनि हिंसाको सहारा लिएका थिएनन् ।

सन् १९४६ को त्यो साम्प्रदायिक उपद्रवको समयमा समेत धेरै मुसलमानहरूले हिन्दूहरूको ज्यान जोगाएका थिए । अनि हिन्दुहरूले पनि आफ्नो तर्फबाट मुुसलमान बन्धुहरूको जीवन रक्षा गरेका थिए । मलाई त्यस्ता धेरै उदाहरणको स्मरण छ । पार्क सर्कसको आफ्नो कोठामा हाम्रो पार्टीका नेता कृष्णविनोद रोय बस्दै आएका थिए । घरबेटीले उनको जीवन रक्षा गरेका थिए । आफ्नै जीवन जोखिममा राखेर रोयलाई घरबेटीले स्थानीय प्रहरी कार्यालयमा पु¥याएका थिए । हाम्रा केही कमरेडहरू चित्तरञ्जन सडकस्थित एउटा भवनमा थुनिएको अवस्थामा स्थानीय एउटा होटलका बुढा मुसलमान मजदुरले भवनको सबभन्दा तलो छिँडीमा लुकाएर ज्यान रक्षा गरेका थिए । उपद्र्याहाहरूले ढोका फोडेर पस्न खोज्दा तिनी बुढा मजदुर निडर भई भित्र पस्न दिएका थिएनन् । ठीक त्यही बेला हामी सो स्थानमा पुगेर हाम्रा कमरेडहरूको उद्धार ग¥यौँ र डाक्रेस सडकस्थित कार्यालयमा पु¥यायौँ ।
साम्प्रदायिक हिंसाको आगो कसरी साम्य भयो र त्यसपछि पुनःस्थापनाको चुनौती हाम्रो सामु कसरी आइपुग्यो भन्ने कुरा पनि म सम्झन्छु । साम्प्रदायिक सद्भावको पुनःस्थापना, साम्प्रदायिक भय न्यून गर्ने, मानिसको मन र दिमागबाट पीडा र निराशा पन्छाउनु नै हाम्रो प्रमुख काम थियो । यो चरणमा हामीले धेरै सङ्ख्यामा शान्ति ¥याली र एकता सभाको आयोजना ग¥यौँ । सन् १९४७ को अगस्ट २५ मा कैयौँ सङ्ख्यामा हिन्दू र मुसलमानहरू कोलकोत्ताको सडक हुँदै नर्केलदांगा मैदानमा आयोजित विशाल सभामा सहभागी बनेका थिए । त्यहाँ महात्मा गान्धीले अहिंसा र शान्तिबारे भाषण गर्नुभएको थियो ।
सबै पार्टींको आयोजनामा त्यो सभा गरिएको थियो । कलिपडा मखर्जी र असराफुदिनले काङ्ग्रेसको तर्फबाट, शहिद सुहरावर्दीले मुस्लिम लिगको तर्फबाट र सोमनाथ लहिरी र सरोज मुखर्जीले हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो । राजनीतिक पार्टी वा विचारधाराभन्दा माथि उठेर सबै मानिसले त्यो सभामा सहभागिता जनाएका थिए । शान्ति–सुव्यवस्था पुनःस्थापना गर्न सबै राजनीतिक दलका मानिसहरूले एकजुट भएर महत्वपूर्ण भूमिका निभाएका थिए । हरेक दिन म कामदार जनताको बसोबास भएका क्षेत्रहरूको भ्रमण गर्थेँ । शान्ति अभियान गर्नुको मूल उद्देश्यबारे प्रकाश पार्न म विशेषतः रेलमार्ग क्षेत्रहरूमा पुगेर जनतालाई सम्झाइबुझाइ गर्थेँ । सुहरावर्दीले सार्वजनिक सभामा नै त्यस्ता अभियान सञ्चालन गर्ने हामी नै पहिलो पार्टी भएको बताएका थिए ।
वास्तवमा भयानक उपद्रवका घटना भएपछि पार्टी नेतृत्वले सर्वदलीय शान्ति समिति गठन गर्ने विषयमा गम्भीर चासो देखाएको थियो । सन् १८४७ मा गान्धीले बेलियाघाटमा शिविर बसाएको बेला पार्टीले मलाई र भुपेश गुप्तालाई उहाँसँग भेट्न र यो विषयमा सल्लाह लिन निर्देशन दियो । गान्धीले हामीलाई सर्वदलीय केन्द्रीय शान्ति समिति गठन गर्न र सर्वदलीय सभाको आयोजना गर्न सल्लाह दिनुभयो । उहाँले त्यत्तिबेलाको परिस्थितिमा त्यसको आवश्यकताबोध गर्नुभएको थियो ।
सेप्टेम्बर १९ मा बसेको संसद् बैठकमा मैले काङ्ग्रेसका सांसद धीरेन्द्रनाथ गुप्ताले अघि सारेको अविश्वासको प्रस्तावबारे बोल्ने अवसर प्राप्त भयो । मैले साम्प्रदायिक उपद्रवको लागि बेलायती शासकहरू दोषी भएको बोलेँ । लन्डनको ह्वाइट हल, नयाँ दिल्ली र कोलकोत्ताको गभर्नर हाउसबाट थपिएको जालोमा हाम्रा नेताहरू सजिलै फस्नु विडम्बनाको कुरा थियो । प्रहरी र चाप्लुस कर्मचारीतन्त्रसँग मिलेर बेलायती शासकहरूले गरेको जघन्य अपराधले मलाई निकै घृणा र विस्मात् लागेको भन्दै मैले आफ्ना विचार राखेँ । तथाकथित ‘निष्पक्ष’ प्रहरी र बङ्गालको गभर्नर पनि साम्प्रदायिक उपद्रव उछाल्न भूमिका खेलेकोमा म विश्वस्त थिएँ ।

सन् १९९२ डिसेम्बरमा बाबरी मस्जिदमा भएको हमला


अविभाजित बङ्गालमा तेभागा किसान आन्दोलन दबाउन सुहरावर्दी सरकारले चालेको दमनकारी कदमको हाम्रो पार्टीले कडा प्रतिरोध ग¥यो । तेभागा किसान आन्दोलनमा किसानहरूले फलेको बालीको चार खण्डको तीन खण्ड पाउनुपर्ने माग गरेका थिए । सन् १९४७ को मार्च महिनामा मैले यो विषयमा विस्तृतरूपमा बोलेँ । मैले स्पष्ट शब्दमा बङ्गालका जनतामाथि शोषण र आतङ्कित गर्ने कानुनहरूको विरोध गरेँ । यही विषयलाई लिएर मैले खुलना, जलपाईगुढी, मेमेन्सिघलगायत प्रान्तहरूको पनि भ्रमण गरेँ । ती क्षेत्रहरूको भ्रमण गरेर किसानका मूल समस्याबारे प्रत्यक्ष बुझ्ने अवसर प्राप्त भयो । सङ्घर्षरत किसानहरूले कहिल्यै पनि हिंसाको सहारा लिएका थिएनन् । वास्तवमा किसानहरूले जमिनदार वा विचौलियामाथि हमला पनि कहीँ गरेका थिएनन् । तर, सरकारले भने के के न भएजस्तो कोकोहोलो मच्चाइरहेको थियो । म विशेषतः बास्टिन नामको बद्मास बेलायती जिल्ला मेजिस्टे«टलाई सम्झन्छु । उनी मेमेन्सिघको हजाङ भन्ने ठाउँमा बस्थे । स्नेहांशु आचार्य र म त्यो क्षेत्रमा यात्रा गर्दै गर्दा बिनाकारण र अभियोग मलाई सशस्त्र प्रहरीले पक्राउ ग¥यो र स्थानीय प्रहरी चौकीमा पु¥याइयो । मलाई किन पक्राउ गरियो भन्ने विषयमा मैले बुझ्न चाहेँ । पछि थाहा भयो, बास्टिनले सो क्षेत्रमाथि निगरानी राख्न उनीहरूलाई जिम्मेवारी तोकेका रहेछन् किनभने त्यो क्षेत्रमा पनि किसान आन्दोलन हुनसक्ने भनी उनीहरूको विश्लेषण थियो । मैले प्रहरीलाई किसान आन्दोलनको सम्भावनाबारे जिज्ञासा राखेँ । उनीहरूले रूखो बेवास्तासहित भने, “खोइ ! अहिलेसम्म त त्यस्तो कुनै सङ्केत छैन ।” बास्टिन वास्तवमा गोरा साम्राज्यवादका जीवन्त प्रतिमा र उत्तम उदाहरण थिए । हामीले सोचेजस्तै उनले स्नेहांशु र मलाई जिल्लाबाट निकाला गरिदिए । यो अनुभवबाट सबै थरी प्रतिकूलताबीच पनि काम गर्नुपर्ने पाठ सिकेँ । म जुनसुकै क्षेत्रमा काम गर्न गए पनि यो अमूल्य शिक्षालाई सधैँ हृदयङ्गम गर्दै गएँ ।
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *