भर्खरै :

भारतमा ऐतिहासिक श्रमिक आन्दोलन

नयाँ दिल्ली, २८ नोभेम्बर । गत नोभेम्बर २६ यता भारतमा मानव इतिहासमै सबभन्दा ठूलो सङ्गठित हडताल भइरहेको छ । २ करोड ५० लाखभन्दा बढी मजदुर, किसानसँग विद्यार्थी, महिला र नागरिक सङ्गठनहरू भारतव्यापी हड्तालमा सहभागी बनेका छन् । भारतको संविधान दिवसकै मौका पारेर आयोजित सो हडताल प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दक्षिणपन्थी सरकारले मजदुर तथा किसानहरूको अधिकारमा गरिरहेको हमलाको विरोधमा भएको हो ।
दिल्ली वरपरका विभिन्न राज्यबाट लाखौँको सङ्ख्यामा किसान र मजदुर बिहीबार र शुक्रबार दिल्ली वरपर भेला भएका थिए । उनीहरूलाई दिल्ली पस्न नदिन सुरक्षाकर्मीले बनाएका अवरोधलाई हजारौँ किसान र मजदुर होस्टेमा हाइँसे गर्दै पन्छाएर दिल्लीतिर अघि बढेका थिए । प्रदर्शनकारीहरूलाई दबाउन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास, लाठी आदिको प्रयोग गरेका थिए । सडकमा खाल्डोसमेत खनिएको थियो । आन्दोलनकारीहरूलाई हतोत्साहित गर्न दमन गरे पनि सरकारले उनीहरूको आक्रोशलाई किमार्थ घटाउन सकेको थिएन । प्रदर्शनकारीहरूले डटेर प्रहरी दमनको सामना गरेका थिए ।
दस वटा विभिन्न मजदुर र किसान सङ्गठनहरूसहित अखिल भारत किसान सङ्घर्ष समन्वय समितिको आयोजनामा सो हड्ताल भएको हो । सो समितिमा भारतका दुई सयभन्दा बढी किसानहरूको सङ्गठन आबद्ध छन् । महिला सङ्गठन, विद्यार्थी सङ्गठन र विभिन्न नागरिक सङ्गठन पनि हड्तालमा सहभागी बनेका छन् । भारतका विभिन्न वामपन्थी र विपक्षी राजनीतिक समूहले हडतालमा समर्थन गरेका छन् ।
मोदी सरकारले श्रमिकको ज्याला र कृषि उत्पादनको मूल्य घटाउने र सरकार नियन्त्रित प्रमुख उद्योगमा सरकारी लगानी कटौती गर्ने नीतिविरूद्ध सो हडतालको आयोजना गरिएको हो । त्यस्तै ग्रामीण क्षेत्रका श्रमिकको लागि विद्यमान कल्याणकारी कार्यक्रम लागू गर्न र कोभिड–१९ महामारीको कारण आर्थिकरूपमा कमजोर बनेका जनताको हितमा कल्याणकारी नीति लागू गर्न आन्दोलनकारीहरूले माग गरेका छन् ।
विभिन्न राज्यबाट दिल्ली आएका प्रदर्शनकारीहरूलाई शुक्रबार दिल्ली छिर्न नदिएपछि दिल्लीमा हजारौँ किसान र मजदुरले अलगै प्रदर्शनको आयोजना गरेका थिए ।
कोलकोत्ता र मुम्बईजस्ता महानगरमा आयोजित मजदुर र किसानहरूको प्रदर्शनमाथि पनि सरकारले दमन गरेको थियो । प्रदर्शनकारीहरूले ती महानगरका प्रमुख यातायात मार्गमा धर्ना बसेर दैनिक जनजीवन ठप्प बनाइदिएका थिए । पूर्वी र मध्य भारतका औद्योगिक र खानी क्षेत्रहरू पनि मजदुरहरूले बन्द गरेका थिए ।
हड्तालका आयोजकहरूले भारतमा आगामी दिनमा हुने श्रमिक सङ्घर्षको यो हड्ताल पूर्वाभ्यास मात्र भएको बताएका छन् । “मजदुर–किसानहरूले भाजपा सरकारको घातक र खतरनाक नीति खारेज नहुँदासम्म विश्राम लिने छैनन् । आजको हड्ताल सुरूवातमात्र हो । आगामी दिनमा अझ घनीभूत सङ्घर्षहरू हुनेछन्”, भारतीय टे«ड युनियन केन्द्र (सीआईटीयू)का महासचिव तपन सेनले भने ।
कोभिड–१९ महामारीको कारण भारतीय अर्थतन्त्र कमजोर बन्दै गरेको, समाजमा असमानताको खाडल अझ फराकिलो बन्दै गरेको र विभेद बढ्दै गरेको अवस्थामा यो हड्ताल भएको हो । भारतीय कुल गार्हस्थ उत्पादन (जीडीपी) २३.९ प्रतिशतले ओरालो लागेको छ । बेरोजगारी दर २७ प्रतिशत पुगेको छ । बेरोजगारी दर अभूतपूर्वढङ्गले वृद्धि भएको छ ।
समग्र क्षेत्रमा देखापरेको यो सङ्कटबीच दक्षिणपन्थी भारतीय जनता पार्टीको सरकारले मजदुर अधिकार र कृषि उत्पादनमा प्राप्त भएका ऐतिहासिक उपलब्धि उल्ट्याउने खालका कानुनहरू बनाउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *