न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
आजभन्दा ७८ वर्षअघि अर्थात् सन् १९४२ मई २ मा साहित्य र कलाबारे येनान गोष्ठीमा अभिव्यक्त अध्यक्ष माओको विचारले यो युगलाई पनि मार्गनिर्देश गरिरहेको अनुभव हुन्छ । साहित्य र कला क्षेत्रका साधकहरूलाई स्पष्ट र सही बाटो देखाइरहेको छ । साहित्य र कला के हो, केका लागि, कसका लागि र किन भन्ने प्रश्नहरूको जवाफविना साहित्य लेखनी र स्तरीय कलासमेत व्यर्थ हुन सक्दछ । यसबारे चर्चा अध्यक्ष माओले उतिबेलै गर्नुभएको थियो । विश्वको साहित्यिक आकाशमा उहाँको योगदान अतुलनीय मानिन्छ । के साहित्य समाज र जनभावनासँग निरपेक्ष रहन्छ ? परिवर्तन र क्रान्तिका लागि साहित्य र कलाको भूमिका के ? साहित्य कल्पनाशिलता हो या यथार्थ अभिव्यक्ति ? समाजको मार्मिक चित्रणमात्र साहित्य हो या समाज परिवर्तनको आह्वान पनि ? साहित्यमा जनता र देश भेटिन जरुरी छ या छैन ? यी प्रश्नबारे आज पनि चर्चा चालु छ ।
पुस्तक ‘येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन’ ले ती खुल्दुली मेटाउनुका साथै स्पष्ट मार्गचित्र प्रदान गर्दछ । येनान गोष्ठीमा दिनुभएको मन्तव्यलाई त्यही वर्ष पुस्तक आकार दिइएको थियो । त्यसपछि त्यो पुस्तकलाई विभिन्न भाषामा प्रकाशन गरियो । नेपाल चीन मैत्री सङ्घले विसं २०२४ माघमा प्रकाशित ग¥यो । यस पुस्तकमा अभिव्यक्त माओको विचार आजपनि त्यति नै सान्दर्भिक छ ।
अध्यक्ष माओले साहित्य र कलाबारे त्यो अभिव्यक्ति दिनुहुँदाको समय विश्वमा युद्धको स्थिति थियो । चीनमा जापानविरोधी सङ्घर्ष या लडाइँको ५ वर्ष चलिरहेको थियो । केही मुक्त क्षेत्रहरूमा पनि जापानी साम्राज्यवादीहरू अत्यन्त बलपूर्वक दमन र आक्रमणको शैलीमा आइरहेको अवस्था थियो । चीनमै कोमिन्ताङ प्रतिक्रियावादीहरूले जापानविरोधी युद्धमा निस्क्रिय हुने र चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध भने हमला गरिरहने नीति लियो । जनताले मुक्ति प्राप्त गरेका धेरै क्षेत्रहरूमा हमला गर्ने र लालसेनाविरुद्ध धावा बोल्ने क्रम जारी थियो । चिनियाँ कम्युनिस्ट पार्टीभित्रै वामपन्थी र दक्षिणपन्थी अवसरवादी विचार देखिन थालेको थियो । यस्तो समयमा चिनियाँ क्रान्ति कठिन बन्दै जानु स्वाभाविक थियो । सेनामात्रको तयारी क्रान्तिको तयारी हुन सक्दैनथ्यो । सम्पूर्ण जनतालाई सङ्गठित र सुसूचित बनाउनु, कार्यकर्ता र योद्धाहरूलाई वैचारिक स्पष्टता र अडान प्र्रदान गर्नुपनि उत्तिकै जरुरी थियो । अध्यक्ष माओले त्यसकारण सुधार आन्दोलन थाल्नुभयो । त्यसैको एउटा सिलसिला येनान गोष्ठी थियो ।
साहित्य र कला क्षेत्र अनि क्रान्तिकारी गतिविधिबीचको सम्बन्धबारे येनान गोष्ठीमा सघन छलफल भयो । क्रान्तिकारी साहित्य र कला विकासको सही बाटो पहिल्याउन र देशको मुक्ति आन्दोलन सफलतामा टुङ्ग्याउने, शत्रु परास्त पार्न साहित्य र कला क्षेत्रले निर्वाह गर्ने बेजोड भूमिकाबारे चर्चा भयो । क्रान्तिमा सफलता हासिल गर्न जति बन्दुकबाजहरू अर्थात् योद्धाहरूको योगदान रहन्छ उत्तिकै कलमवीरहरूको पनि हुनुपर्छ भन्ने मान्यता सहित चीनमा सांस्कृतिक मोर्चाहरू पनि खडा गरिएको थियो । साहित्य र कला क्रान्तिकारी यन्त्रहरूको महत्वपूर्ण पूर्जा हो भनी अध्यक्ष माओ बताउनुहुन्छ । साहित्यले शत्रुविरुद्ध लड्न जनतालाई एकमनको एकतामा बाँध्नुपर्छ । यद्यपि, तत्कालीन समयमा चिनियाँ साहित्य, ओपेरा, नाटकहरूमा देखिएका समस्याहरूलाई केलाई समाधानका उपाय दिइएको छ । पुस्तकले विशेषतः देश, क्रान्तिमा साहित्य र कलाको महत्व उजिल्याउँछ । कलाले कामदार वर्गीय जीवन प्रतिविम्बित गर्नुपर्दछ, साहित्यको श्रोता कामदारवर्ग हुनुपर्दछ, साहित्य र कलाले राजनीतिको सेवा गरेको हुनुपर्दछ । विशेषतः समाजवादको विकासमा सहयोगी बनेको हुनुपर्छ भन्ने विचार पुस्तकमा भेटिन्छ । लेखक र कलाकारहरूको वर्गीय र वैचारिक अडान, धारणा पाठक या श्रोताहरू, कौशल र अध्ययनबारे स्पष्टता आवश्यक हुन्छ ।
सर्वहारा जनता नै साहित्य र कलाको केन्द्र हुनुपर्छ । पार्टी कार्यकर्ता जसरी पार्टीको अडान, भावना र नीतिअनुसार हिँड्छ त्यसरी नै साहित्यकारहरूले वर्गीय अडान त्याग्नुहुन्न । आप्mनो अडानमा आधारित विभिन्न धारणाहरूलाई केलाइएको छ । कसको प्रशंसा गर्ने कसलाई छ्यास्ने ? भनी प्रस्ट लेखिएको छ । वर्गशत्रुलाई उदाङ्ग्याउने र वर्गमित्रहरूलाई जनतामाझ लोकप्रिय बनाउने काम साहित्यकारहरू गर्न सक्दछन् । सर्वहारा जनतामात्र भनेर पनि हुँदैन । जनतासँग पनि निम्न पुँजीवादी र सामन्तवादी विचार हुनसक्दछ । त्यसलाई हटाउन साहित्यकारहरूले भूमिका निर्वाह गर्नुपर्ने औँल्याइएको छ । साहित्यकार र कलाकारहरूले वास्तविक जनजीवन बुझेको र जनताको मनोकाङ्क्षा हृदयङ्गम गरेको हुनुपर्छ । आपूmले लेखेका पात्रहरूको मिहिन ज्ञानविना साहित्यको मर्म नखुल्ने पक्का हो । जनता या आम पात्रहरू बुझ्न जनताले बोल्ने भाषा बुझ्नुपर्छ, सिक्नुपर्छ भन्नुहुन्छ अध्यक्ष माओ । जनताको सम्पन्न र गतिशील भाषा बुभ्mनु सभ्यता बुझ्नु पनि हो । मानिसको सभ्यताबारे राम्रो जानकारी लेखक कलाकारमा हुन जरुरी छ ।
येनान गोष्ठीमा भएको त्यो छलफलले साहित्यमा पुँजीवादी विचारविरुद्ध व्यवस्थित सङ्घर्षको आह्वान ग¥यो । कार्यकर्ता र जनतामा अझ नयाँ पिँढीमा पुँजीवादी विद्यालयहरूको गहिरो छाप मेटाउन कार्यकर्ता स्वयम्ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेतिर सचेत बनाइएको छ । पढेलेखेका बुद्धिजीवी मानिस सुकिला राम्रा र ज्यामी, मजदुर अर्थात् कामगरी खाने जनता फोहोरी नराम्रा भन्ने गलत धारणा मेट्न साहित्यले सघाउनुपर्दछ । अध्ययनको सवालमा अध्यक्ष माओले माक्र्सवाद–लेनिनवाद र समाजको अध्ययनलाई जोड दिनुभयो । आपूmलाई कम्युनिस्ट बताउने क्रान्तिकारी लेखकको दर्जामा राख्ने तर माक्र्सवाद–लेनिनवाद नपढ्ने, माक्र्सवादी–लेनिनवादी आँखाबाट समाजको विश्लेषण नगर्ने हो भने त्यसको कुनै अर्थ हुन्न । माक्र्सवादी साहित्य अध्ययनविना माक्र्सवादी साहित्य लेखन सम्भव हुन्न । त्यसकारण, विज्ञानसम्मत माक्र्सवाद–लेनिनवादको अध्ययनले साहित्यकारहरूलाई वर्गीय, वैज्ञानिक दृष्टिकोण त दिन्छ नै साथै सर्वहारा वर्गीय आन्दोलनमा अडिग बनाउँछ ।
येनान गोष्ठी साहित्य र कला क्षेत्रको आन्दोलनमा महत्वपूर्ण उपलब्धि हो । साहित्य र कलामार्फत जनसमूहको काम गर्ने र कसरी त्यो कार्य फत्ते गर्ने भन्ने प्रश्नमा व्यापक छलफल चलेको उल्लेख छ ।
साहित्य र कला कसका निम्ति ? साहित्य र कलाले बहुसङ्ख्यक कामगरी खाने जनता, सर्वहारा जनताको सेवा गर्नुपर्छ । यसर्थ शोषण, अन्याय, अत्याचार, भोक–रोग, अभावविरुद्ध जनताको स्वर उठाउनुपर्छ । कति शास्त्रीय साहित्य राजारजौटाको मनोरञ्जनका निम्ति लेखिएका थिए । कति गीत, गीति नाटकहरूले कुलीन र सम्भ्रान्त वर्गका जनताकै सेवा गरेको भेटिन्छ । त्यस्तो साहित्य र कलाको विपरीत जनताको साहित्य रचिन जरुरी छ । साहित्य र कला क्रान्तिको नेतृत्व गर्ने ज्यामी वर्गका निम्ति हुनुपर्दछ । क्रान्तिका सहयोगी किसानहरूका निम्ति हुनुपर्छ । सहरिया निम्नपुँजीपति श्रमिक जनसमूह र निम्न पुँजीवादी बुद्धिजीवीहरू पनि कालान्तरमा क्रान्तिका सहयोगी बन्छन् । त्यसकारण तिनका निम्ति पनि साहित्य र कलाकारिता केन्द्रित भएको हुनुपर्छ । यद्यपि, सर्वहारा वर्गीय अडान त्याग्नुहुन्न । साहित्य र कलाले निम्नपुँजीपति वर्गलाई समेटे पनि निम्न पुँजीवादी अडान लिने लेखकले ज्यामी, किसान र सिपाहीहरूको सेवा गर्न सक्दैन । यसरी ‘साहित्य र कला’ कसका लागि भन्ने सवाल असाध्यै महत्वपूर्ण र सैद्धान्तिक सवालको रूपमा व्याख्या गर्न सकिन्छ । साहित्य र कलाको अभिव्यक्ति कुन किसिमबाट भन्ने प्रश्न पनि महत्वका साथ उठाइएको छ । कलात्मकतामा ध्यान दिने या सरलीकरण गर्ने ? साहित्यको स्तर उकास्ने विषय सकारात्मक हुँदाहुँदै यही विषयमा मात्र अडिनु गलत हो भन्नुहुन्छ माओ । साहित्यले विशेषतः ज्यामी, किसान, सिपाहीहरूको सेवा गर्ने हुँदा तिनले बुझ्ने भाषाशैलीमा साहित्यको सरलीकरण आवश्यक हुन्छ । साहित्य र कलाको स्तरलाई सर्वहारावर्गले समातेको बाटोतिर अर्थात् ज्यामी, किसान र सिपाहीहरूले समातेको बाटोतिर पु¥याउनु हो । त्यसका निम्ति ज्यामी, किसान र सिपाहीहरूबाट सिक्न जरुरी हुन्छ । ज्यामी, किसान र सिपाही वर्गबाट थालेर साहित्य सिर्जना गरेको खण्डमा मात्र सरलीकरण र स्तर उकास्ने कामको अर्थ राम्ररी बुझ्न सकिन्छ ।
साहित्य र कला समाजले मान्छेको चेतनामा पारेको छाप हो भनी अध्यक्ष माओ भन्नुहुन्छ । क्रान्तिकारी लेखक कलाकारको चेतनामा जनजीवनको छाप परेको हुन्छ । सर्जकको रचना जनताकै निम्ति हुन्छ । यसरी साहित्य लेखन र कलाकारितालाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्न सकिन्छ । पुस्तकअनुसार जनता नै साहित्य र कलाको कहिल्यै नसुक्ने श्रोत हो र साहित्यमार्पmत चेतना छर्न सम्भव छ । मानिसको सामाजिक जीवन साहित्य र कलाको एकमात्र मुहान भए तापनि, जीवन र साहित्य दुवैमा सौन्दर्य रहे तापनि साहित्य र कलाका कृतिहरूमा देखिएको जीवन यथार्थ जीवनभन्दा माथिल्लो तहको, बढी प्रभावकारी, बढी अनौठो र आदर्शतिर ढल्केको हुन्छ । त्यसकारण, साहित्य र कला जीवनभन्दा बढी विश्वव्यापी हुन्छ ।
यसरी क्रान्तिकारी साहित्य र कलाले यथार्थ जीवनबाट विभिन्न खालका चरित्रहरूको सिर्जना गर्नुपर्छ र इतिहासलाई डो¥याउने कुरामा व्यापक जनसमूहलाई सहयोग पु¥याउनुपर्दछ । भोक, जाडो, थिचोमिचो, मानिसबाट मानिसलाई हुने शोषणविरुद्धको आवाज साहित्यबाटै दिन सकिन्छ । जनताका भ्रमहरू चिर्ने र सङ्घर्षको बाटोमा हिँडाउने काम साहित्य र कलामार्फत हुन्छ । साहित्यमा सरलीकरणको पक्ष प्रधान हो या कलात्मकता भन्ने सवाल पनि उठ्यो । एउटा भनाइ छ– “रेशमी लुगामा बढी फूलबुट्टा भर्ने होइन बरु हिँउदमा दाउरा पु¥याउनू ।” बहुसङ्ख्यक जनताले बुझ्ने भाषामा सुन्दर ढङ्गले प्रस्तुती दिनु नै साहित्यको स्तर हो । त्योभन्दा महत्वपूर्ण कुरा के हो भने क्रान्तिकारी लेखक र कलाकारले व्यापक जनताको सम्पर्कमा नगई व्यापक जनताको विचार र भावनालाई व्यक्त नगरी, तिनीहरूको इमानदार प्रतिनिधि नबनी कुनै काम लाग्ने कलाकृत सृजना गर्न सकिन्न । व्यापक जनताका लागि बोलेर लेखेर मात्र तिनीहरूलाई उसले शिक्षित पार्न सक्छ र उनीहरूको शिष्य बनेरमात्र उनीहरूको गुरु हुनसक्दछ । यो पुस्तकमा अभिव्यक्त विचार सदावहार प्रकृतिको छ ।
के साहित्य र कलाको सन्दर्भसँग उपयोगितावाद जोडिन्छ ? सामान्य उपयोगितावादको भौतिकवादीहरू विरोध गर्दैनन् तर सामन्ती पुँजीवादी उपयोगितावादको भने विरोध गर्छन् । पुस्तकमा लेखिएको छ – “उपयोगितावादी दृष्टिकोणभन्दा पर रहेर हेर्ने वाद यस संसारमा छैन । वर्गीय समाजमा कि यस वर्गको उपयोगितावाद हुन्छ कि त त्यस वर्गको । हामी सर्वहारावादी क्रान्तिकारी उपयोगितावादी हौँ । हामी हाम्रो जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढी अंश बहुसङ्ख्यक जनसमूहको हित चिताउँछौँ ।”
साहित्य र कलाको पार्टीसँगको सम्बन्धबारे छलफल शिक्षाप्रद छ । साहित्य र कलाक्षेत्रमा पार्टीको काम र पार्टीमा बाहिर रहेका व्यक्तिहरूको कामबीचको सम्बन्ध बलियो हुनुपर्छ । पार्टी विचारले नभिजेको साहित्यमार्फत पार्टीलाई परिवर्तनका निम्ति सङ्घर्ष गर्न गाह्रो पर्छ ।
कला कलाकै लागि हो ? वर्गहरूबाट असम्बन्धित रहेको कला वा राजनीतिसित कुनै सम्बन्ध नराखेको वा राजनीतिभन्दा स्वतन्त्र कला भन्ने जस्तो कुरा कुनैपनि हुँदैन । सर्र्वहारावादी साहित्य र कला सम्पूर्ण सर्वहारावादी क्रान्तिकारी उद्देश्यका अंश हुन् । “राजनीति–माक्र्सवादी, कला–पुँजीवादी” यो हितकर हुन्न । साहित्य र कलाको महत्वलाई आवश्यकताभन्दा ज्यादा जोड्ने या उपेक्षा गर्ने पक्ष गलत हुन्छ । साहित्य र कला राजनीतिभन्दा गौण हुन्छ तर यसले राजनीतिमा विशेष महत्व राख्छ भनी लेखिएको छ । चिनियाँ क्रान्तिकै अनुभवले भन्छ यदि तत्कालीन समयमा साहित्य र कला अर्थात् सांस्कृतिक आन्दोलनलाई अगाडि नबढाइएको भए क्रान्ति सफल हुने थिएन । राजनीतिको हतियार बनाउँदा क्रान्ति सम्भव हुन्छ । यसरी विचार र सिद्धान्तले माझिएका साहित्य, सत्य र तथ्यले भिजेको साहित्यले देश र जनताको सेवा गर्न सक्दछ । साहित्यमा कलापक्ष सबल हुँदा श्रयेस्कर नै हुन्छ तर वर्गीय अडान, वैचारिक धरातल भुल्नुहुन्न भन्ने शिक्षा पुस्तकबाट मिल्छ ।
पुस्तकमा साहित्य र कलासम्बन्धी आलोचनाको संस्कृतिबारे चर्चा छ । आत्मालोचना र आलोचनाले साहित्य र कला क्षेत्रलाई परिष्कृत बनाउँछ । राजनीति र कलाको एकता, विचार र सीपको एकता र क्रान्तिकारी राजनैतिक विषयवस्तु र उच्च तहको कलात्मक सीपको एकता आवश्यक छ भन्नुहुन्छ, अध्यक्ष माओ ।
साहित्य र कलाको मूलभूत विशेषता प्रेम हो भन्ने सन्दर्भलाई पुस्तकले खण्डन गर्नुका साथै समस्याहरूको विषयमा छलफल प्रस्तुत छ । साहित्य र कलाबारे महत्वपूर्ण विचार सङ्कलित यस पुस्तक अत्यन्त पठनीय छ । साहित्य र कला जनता र देशका निम्ति हुनुपर्दछ । राजनीति र क्रान्तिको साधन साहित्य बन्नुपर्दछ भन्ने शिक्षा पुस्तकबाट मिल्छ ।
यथार्थवादी साहित्त्र्न्दा पनि माक्र्सवादी साहित्यले जनसेवाको फराकिलो बाटो खोल्ने विचार अभिव्यक्त छ । स्पष्ट वर्गीय अडान र वैचारिक स्पष्टताविनाको साहित्यको अर्थ हुन्न । जनताले बुभ््mने भाषामा लेखिएका, जनताबाट सिकेर जनताकै भाषामा लेखिएका साहित्यहरू युगान्तकारी हुन्छन् । बन्दुकधारी अर्थात् सैन्य शक्तिले मात्र होइन कलमवीरहरूले पनि क्रान्तिको विगुल फुक्न सघाउँछन् भन्ने उदाहरण चीनको इतिहास नै हो । संसारका जुनैपनि देशमा साहित्यले योगदान गरेको भेटिन्छ । कस्तो विचारको साहित्य भन्ने प्रश्न अहम् हो । समाजवादी देशहरूले साहित्यलाई समाजवाद निर्माणमा उपयोग गर्छन् । चीनले क्रान्तिको तयारी र समाजवाद निर्माणमा साहित्यलाई हतियार बनायो । यही ऐतिहासिक तथ्यसँग जोडेर कला र साहित्यको भूमिकालाई अध्ययन गर्न पुस्तकले सघाउँछ ।
Leave a Reply