भर्खरै :

अलबिदा डिएगो म्याराडोना !

कस्तो संयोग ! क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो र अर्जेन्टिनाका विश्व फूटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी एवम् फिडेलका मित्र डिएगो म्याराडोनाको देहावसान नोभेम्बर २५ कै दिन भयो । सन् २०१६ मा क्यास्ट्रोे र सन् २०२० मा म्याराडोनाको निधनको अन्तर चार वर्षको थियो ।
फूटबल खेलमा रूचि भएका संसारका खेलपे्रमीहरूले औधी रुचाएका र प्रायको मुखमा झुन्डिने नाम हो, म्याराडोना । प्रायः दर्शक खेल मैदानमा उनका कौशल खेल हेरेर आजित हुन्थे । सन् १९६० मा गरिब परिवारमा जन्मेका म्याराडोनालाई अर्जेन्टिनाका जनता भगवानसरह मान्छन् । अर्जेन्टिनाका जनता फूटबललाई धर्मका रूपमा मान्छन् र म्याराडोनालाई भगवान । अर्जेन्टिना फूटबलले चिनिएको देश हो । फूटबल अर्जेन्टिनाको पहिचान हो । उनको देहान्तले आज अर्जेन्टिनाका जनताले आफ्नो मियो गुमाएका छन्, ल्याटिन अमेरिकी जनताले एक सहयोद्धा गुमाएका छन् भने विश्व फूटबल जगतले अपूरणीय क्षति व्यहोरेको छ । म्याराडोनाका एक अर्जेन्टियन प्रशंसक शब्दमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भन्छन्, “तिम्रो खुट्टामा जाबो एउटा बलमात्र हुँदा पनि तिमीले देशको इतिहासमा कुनै पनि राजनीतिज्ञले भन्दा बढी योगदान दिएका छौ । तिमीले हामीलाई अर्जेन्टियन हुनुको गौरव प्रदान गरेका छौ ।”
सानै उमेरमा बोका जुनियर्सबाट फूटबलमा करियर सुरु गरेका म्याराडोनाले अर्जेन्टिनाका लागि खेलिएका ९१ अन्तर्राष्ट्रिय खेलमा ४३ गोल गरेका थिए ।

म्याराडोना सर्वाेत्कृष्ट खेलाडी हुनुका साथै एक साम्राज्यवादविरोधी एवम् समाजवादका पक्षपाती थिए । मैदानमा लेफ्टिस् भएझँै राजनीतिमा उनी वामपन्थी आन्दोलनका सहयोद्धा थिए । उनी फूटबल खेलाडीका रूपमा फिफामा भइरहेको भ्रष्टाचारको विरुद्ध अनवरत लागिरहे । खेलाडीहरूको हकहित र अधिकारको रक्षार्थ खेलाडीको एकताको लागि उनले खेलाडी सङ्घको गठन पनि गरेका थिए ।

अर्जेन्टिनाका लागि चार विश्वकप खेलेका उनले अर्जेन्टिनाका लागि सन् १९८६ मा मेक्सिकोमा सम्पन्न विश्वकपको उपाधि दिलाएका थिए । उक्त विश्वकपमा इङ्गल्यान्डसँग भएको क्वाटरफाइनल खेलमा गरेको दुई गोल विश्वकप फूटबल इतिहासमा आज पर्यन्त अत्यन्त चर्चामा रह्यो । इङ्गल्यान्डविरुद्धको ह्यान्ड अफ गड ९ज्बलम या न्यम० ले चर्चित पहिलो गोल र त्यसको ४ मिनेटपछि मैदानको मध्य भागबाट विपक्षी टोलीका ६ रक्षकहरूलाई छक्याएर गरेको गोल शताब्दीको उत्कृष्ट गोलले प्रसिद्ध छ ।
बोका जुनियरबाट केही वर्ष बार्सिलोनामा बिताएर सन् १९८४ पछि नेपोलीबाट व्यावसायिक फूटबल खेल यात्रा सुरु गरेका म्याराडोनालई अर्जेन्टिनामा जस्तै नेपोलीका जनता भगवानसरह मान्छन् । असीको दशकमा सधैँजसो पीडामा रहेको र रेलिगेसनसँग सङ्घर्षरत नेपोलीलाई दुई वटा ‘सिटी ए’ को उपाधि, दुई इटालियन कप र एकपटक यूईएफए कपको उपाधि दिलाएर जीवनदान नै दिएका कारण सधँै नै नेपोलीको हृदयमा म्याराडोना अमिट छापा भएर बसेका छन् ।
आफ्नो बायाँ खुट्टाको मद्दतले विपक्षी टोलीको जबर रक्षा कवज तोड्दै अद्भूतपूर्वक गोल गर्नसक्ने क्षमता, खेल रच्नसक्ने अर्थात् ‘प्लेमेकर’ र गोलका लागि अन्य साथीहरूलाई मौका सृजना गर्नसक्ने क्षमताका कारण सर बवि रोबसकलाई म्याराडोना प्रतिभावान वास्तविक कलाकार र महान् खेलाडीमध्ये एक मान्छन् । प्रशिक्षक जोसे मोउरोन्हो म्याराडोनाको खुट्टामा परेको बल कहाँ अन्त्य गर्छ र कसरी सुरु गर्छ थाहा पाउन मुस्किल हुने गरेको बताउँछन् । रुउद ग्वालेर भन्छन्, “म्याराडोनाले गर्ने केही चिजहरू अविश्वसनीय लाग्छ । बललाई हेर्दै नहेरी गर्ने नियन्त्रण, कहाँ कसलाई कसरी बल पास दिन्छन् र लिन्छन् ।” अर्जेन्टिनाका विश्व प्रसिद्ध फूटबलर लियोनल मेस्सी म्याराडोनासँग आफूलाई तुलना नगर्न अनुरोध गर्दै आफूले लाखौँ वर्ष खेले पनि कहिल्यै म्याराडोनाको स्तरको नजिक पुग्न नसक्ने भन्दै म्याराडोना सर्वकालीन र महान् खेलाडी रहिरहने बताउँछन् ।
म्याराडोना सर्वाेत्कृष्ट खेलाडी हुनुका साथै एक साम्राज्यवादविरोधी एवम् समाजवादका पक्षपाती थिए । मैदानमा लेफ्टिस् भएझँै राजनीतिमा उनी वामपन्थी आन्दोलनका सहयोद्धा थिए । उनी फूटबल खेलाडीका रूपमा फिफामा भइरहेको भ्रष्टाचारको विरुद्ध अनवरत लागिरहे । खेलाडीहरूको हकहित र अधिकारको रक्षार्थ खेलाडीको एकताको लागि उनले खेलाडी सङ्घको गठन पनि गरेका थिए ।
म्याराडोना ल्याटिन अमेरिकाको समाजवाद र प्रगतिशील सरकारका गतिविधिहरूको समर्थनमा एवम् अमेरिकी साम्राज्यवादको विरुद्ध खुलेआम लाग्थे । उनी फिडेल क्यास्ट्रो, ह्युगो चाभेज, इभो मोरालस, निकोलस माडुरोका घनिष्ट मित्र थिए । उनी गर्वका साथ आफ्नो पाखुरामा चेग्वेभारा र खुट्टामा फिडेल क्यास्ट्रोका टाटु खोपेर हिँड्थे । अमेरिकी साम्राज्यवाद र दक्षिणपन्थी सम्भ्रान्त वर्गहरूले बलपूर्वक वामपन्थी सरकारविरुद्ध चलाएका लडाइँको विरोधमा समाजवादको पक्षमा भएको भेनेजुयलाको बोलिभारियन क्रान्तिको समर्थनमा उनले ऐक्यबद्धता जनाएका थिए भने ल्याटिन अमेरिकाभर फैलिएको वामपन्थी आन्दोलनको पक्षमा सहभागी थिए । निकारागुवामा भएको क्रान्तिकारी सान्डानिस्टा अभियानको समर्थन गर्दै उनी ‘म डानियल ओर्टेगाको सिपाही हुँ र निकारागुवाको सङ्घर्षको साथी हुँ’ भन्दै ऐक्यबद्धता जनाउँथे ।
उनी साम्राज्यवाद र उपनिवेशवादलाई खुलमखुला हाँक दिन्थे । सन् २०१८ मा मस्कोमा सम्पन्न विश्वकप फूटबलको फाइनल खेल हेर्न पुटिनको निमन्त्रणामा मस्को आएका प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बास (Mohmoud Abbas) सँग अङ्कमाल गर्दै “मेरो मुटुमा म प्यालेस्टाइनी हुँ, म प्यालेस्टाइनी जनताको रक्षक हुँ, म उनीहरूलाई सम्मान र सहानुभूति व्यक्त गर्छु र म बिनाडर प्यालेस्टाइनको समर्थन गर्छु” भनेर उनले हाकाहाकी भनेका थिए ।
अब्बल र विश्वस्तरका फूटबलर वा खेलाडी सबैको निधि हुने गर्छ । खेलकै माध्यमबाट उनीहरूले संसारका कुनाकन्दरासम्म प्रशंसकहरू कमाएका हुन्छन् । विश्व फूटबलको इतिहासमा म्याराडोनाजस्तो अधिक मन पराइएका खेलाडीहरू सायदै होलान् ¤ म्याराडोनाको देहावसानमा दुःखी नहुने बिरलै होलान् ! उनी खेलप्रेमीका प्रिय र तेस्रो विश्वका शोषित पीडित गरीब जनताका प्रेरक व्यक्तित्व थिए ।
६० वर्ष बाँचेका डियगो म्याराडोना अर्जेन्टिनी जनता र इटालीको नेपोली सहरका जनताका निम्ति ‘भगवान’ थिए । विश्व फूटबल जगतमा प्रत्यक्ष, अप्रत्यक्ष जोडिएका व्यक्तित्वहरू खेलाडी, प्रशिक्षक, दर्शकहरूका निम्ति आकर्षक व्यक्तित्वका साथै साम्राज्यवाद, उपनिवेशवादविरुद्ध जीवनपर्यन्त सङ्घर्षशील विशेषतः ल्याटिन अमेरिका र अन्य देशका श्रमजीवी जनता, वामपन्थी र समाजवादका हिमायतीका निम्ति सदा स्मरणमा रहने योद्धाका रूपमा अनन्तकालसम्म बाँचिरहनेछन् । अलबिदा डियगो, तिम्रो अमूल्य जीवनको अवसानप्रति हार्दिक श्रद्धा सुमन !

One response to “अलबिदा डिएगो म्याराडोना !”

  1. Surendra KC says:

    Great

Leave a Reply

Your email address will not be published. Required fields are marked *