भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– ६

स्वाधीनता ?
१५ अगस्ट सन् १९४७ । भारत स्वतन्त्र बन्यो । तर के वास्तवमै भारत स्वतन्त्र बनेको थियो त ? रक्तपातपूर्ण विभाजन, भयावह विखण्डनपछि कसरी भारत र पाकिस्तानमा विभाजन भयो ? के त्यही स्वतन्त्रताको मूल्य हो ? हाम्रो पार्टी देश विभाजनको विपक्षमा दृढ अडानका साथ उभिएको थियो । विभाजनको विरोधमा हामीले अथाह ऊर्जा पनि खर्च ग¥यौँ । तर, विभाजन रोक्न सकिएन । आफ्नो पुस्तक ‘इन्डिया विन्स फ्रिडम’ मा मौलाना अब्दुल कलाम आजादले स्पष्ट शब्दमा “गान्धीजस्तो आफू पनि विभाजनको विपक्षमा उभिएको तर जवाहरलाल नेहरू र सरदार पटेलजस्ता शक्तिशाली राष्ट्रिय नेताहरूले विभाजनको निर्णय गरेको’ लेखेका छन् ।
हाम्रो पार्टीले अविभाजित बङ्गाल जोगाउने निश्चय गरेको थियो । हामीले सुहावर्दीको ‘ग्रेटर बङ्गाल’ को प्रस्तावप्रति पूर्णतः विमति राख्यौँ किनभने त्यो प्रस्तावले साम्प्रदायिक घृणाको जरालाई अझ बलियो बनाउने हाम्रो मत थियो । यसले भारतमा बेलायतको शासन अझ लम्ब्याउने र हाम्रो देशमाथि दिगो क्षति पु¥याउनेमा हामी चिन्तित थियौँ ।
भारतको स्वाधीनतासँगै बङ्गालको मन्त्रिमण्डल पनि हेरफेर भयो । डा. प्रफुल्लचन्द्र घोष बङ्गालका मुख्यमन्त्री बने । डा. सुरेशचन्द्र बेनर्जी, हेमचन्द्र नस्कर, कमलकृष्ण रोय, मोहिनीमोहन बर्मन, आनन्दप्रसाद चौधरी, चरुचन्द्र भण्डारी र भूपति मजुम्दारलगायत ८३ जनाको मन्त्रिमण्डल गठन भयो । डा.श्यामाप्रसाद मुखर्जीको ठाउँमा डा. विधानचन्द्र रोय मन्त्री बने । प्रान्तीय सभामा कम्युनिस्ट पार्टीको तर्फबाट रतनलाल ब्राह्मण र ममात्र भयौँ किनभने रुपनारायण रोयको क्षेत्र पूर्वी बङ्गालअन्तर्गत विभाजित भयो । पश्चिम बङ्गालमै बसेका केही मुस्लिम लिगका सदस्यहरूले हामीलाई महत्वपूर्ण धेरै विषयमा समर्थन गरे पनि प्रतिपक्षको खेमामा भने समावेश भएनन् । मोहम्मद खुदा बस्क र अब्दुल हसिम यही समूहका सदस्यहरू थिए । हसिमले प्रगतिशील लिगको सदस्यको रूपमा ख्याति कमाए । नयाँ राज्यसभामा प्रतिपक्षको बलियो उपस्थिति थिएन । सबै व्यवहारिक कोणबाट प्रतिपक्षको उपस्थिति शून्यप्राय बन्यो । पूरा संसद अधिवेशनभरि प्रतिपक्षको भूमिका कम्युनिस्ट पार्टीका हामी दुई सदस्यको काँधमा आइलाग्यो ।
संसद अधिवेशन नोभेम्बर २१ को दिन सुरु भयो । हिंसात्मक प्रतिरोधबाट संसद अधिवेशनको सुरुआत भयो ¤ पूर्वी एस्पलेनेडमा झन्डै २५ हजार किसान र विद्यार्थीहरूले प्रदर्शन गर्दा उनीहरूमाथि निर्ममतापूर्वक दमन भयो । प्रहरीले उनीहरूमाथि लाठी र अश्रुग्याँस प्रहार गरे । नयाँ सरकारको स्वागतमा शान्तिपूर्वक राज्यसभातिर अघि बढ्दै गरेको जुलुसलाई क्रूर र अमानवीय प्रहरीको बटालियनले रोक्यो । संसद भवनमा प्रवेश गर्नुअघि मैले प्रदर्शनकारीमाथि दमनको समाचार सुनेँ । मैले मुख्यमन्त्रीलाई प्रहरी दमनको कारणबारे सोधेँ । सदनमा उनले कुनै चित्तबुझ्दो जवाफ नै दिन सकेनन् । म सभाबाट मन अमिलो बनाएर निस्केँ र प्रदर्शनस्थलतिर अघि बढेँ ।
मैले परबाट ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरूलाई देखेँ । हिंस्रक प्रहरीको लाठीको चोटबाट जोगिन उनीहरू यताउता भागाभाग गरिरहेका थिए । आकाशमा अश्रुग्यासको धुवाँ उडिरहेको थियो । मानिसहरू अश्रुग्यासले भतभती पोलेको आँखा मिच्दै गरेको म देखिरहेको थिएँ । ग्यासले मेरो आफ्नै आँखामा पनि पिरो भयो र मेरा गालामा आँखाबाट झरेको आँसुको तातो अनुभव भयो । त्यो परिस्थिति वास्तवमै आँसु झार्नलायक परिस्थिति थियो । तर, अश्रुग्याँसको पिरोले निसृत हुने आँसु होइन, बिस्मात्को आँसु झार्नुपर्ने समय थियो । म सीधैँ राइटर्स भवन (बङ्गालको सिंहदरबार) तिर लम्किएँ अनि प्रफुल्ल र कालीबाबुलाई भेटेँ । मैले मुख्यमन्त्रीलाई आफै गएर के भइरहेको छ, हेर्न आग्रह गरेँ । तर, उनी मेरो अनुरोध स्वीकार्नतिर भन्दा अश्रुग्याँसको रसायनिक बनोटबारे व्याख्या गर्नतिर लागेँ । त्यसपछि उनले आफू त्यहाँ जान असमर्थ हुने भन्दै कालीबाबुलाई जान भने ।
कालीबाबु र म घटनास्थल पुग्दा अझै पनि हावामा अश्रुग्याँसको गन्ध रिङमङ्गिरहेको थियो । आक्रोशित मानिसहरूले कालीबाबुलाई घेरे । त्यहाँको अवस्था खराब र अनियन्त्रित बन्दै गएको बुझिसकेपछि मैले कालीबाबुलाई फर्किन आग्रह गरेँ । अनि आक्रोशित जनतासँग कुराकानी गर्नतिर लागेँ । मैले प्रदर्शनकारीहरूमध्ये एउटा सानो समूहलाई भेटेर सौम्य र भद्र तरिकाले उनीहरूको कुराकानी सुनेँ । बिस्तारै उनीहरूको आक्रोश मत्थर बन्दै गयो । मैले उनीहरूलाई उत्तेजित नहुन आग्रह गरेँ । त्यसपछि उनीहरू शान्तिपूर्वक कार्यक्रम समापनतिर लागे । मैले घटनाबारे डाक्रेस सडकस्थित पार्टी कार्यालयमा जानकारी गराएँ र घरतिर लागेँ । त्यो घटनाप्रति मलाई दुःख लाग्यो । तथापि अवस्था अझ खराब हुनबाट जोगाउन आफ्नो तर्फबाट केही गर्न सकेकोमा आत्मसन्तोष अनुभव भयो ।
जस्तोसुकै प्रतिकूलता र परिस्थिति आइलागे पनि मेरा कमरेडहरू र मैले मानव अधिकार उल्लङ्घनविरुद्ध हाम्रो लडाइँलाई कतै पनि अलमलिन दिएनौँ । त्यस्ता सङ्घर्षमध्ये एउटा उल्लेखनीय सङ्घर्ष भनेको ‘पश्चिम बङ्गाल सुरक्षा कानुन’ विरुद्धको हाम्रो सङ्घर्ष थियो । हामीले त्यो कानुनलाई ‘कालो कानुन’ को नाम दियौँ । त्यो कानुनप्रति लक्षित छ भन्ने सरल कुरा बुझ्न मेरो विशेष कानुनी पृष्ठभूमि नै पनि खाँचो भएन । खासमा त्यो अघिल्लो सुहावर्दी सरकारले पारित गरिसकेको विशेष शक्ति कानुनकै परिष्कृत रूप थियो । भन्नलाई त्यो कानुनको मूल लक्ष्य पश्चिम बङ्गालका विभिन्न साम्प्रदायिक शक्तिलाई नियन्त्रण गर्ने भनिए पनि खासमा त्यो विपक्षलाई दबाउने हतियार थियो । साथै सर्वसाधारण नागरिकको प्रजातान्त्रिक अधिकार दबाउने र कुण्ठित गर्ने माध्यम थियो । त्यसले वैधानिक तर भिन्न मत राख्ने जो कोहीलाई पक्राउ गरी कैदी बनाउन सक्ने अधिकार सरकारलाई प्रदान गरेको थियो । यस्ता सबै काम राज्य सरकारले शान्ति र सुरक्षा कायम गर्ने नाममा गर्न खोजेको थियो ।
कम्युनिस्ट पार्टीले सुरुबाट नै सो विधेयकको कडा विरोध गरेको थियो । तर, हाम्रो विरोधले उनीहरूको कानमा बतास लागेन । प्रफुल्लचन्द्र घोषको सरकार त्यो कालो कानुन पारित गर्ने दिशामा अघि बढ्यो । त्यो कानुनको कार्यान्वयनले एउटा स्वतन्त्र देशमा प्रजातन्त्रको मूल मर्ममाथि प्रहार हुने थियो । त्यो प्रजातन्त्रविरोधी विधेयकको विरोधमा जनताको आन्दोलन उठ्यो । पश्चिम बङ्गालभरि सङ्घर्षको आँधीहुरी आयो । नागरिक अधिकार रक्षार्थ हाम्रो पार्टीले सर्वदलीय परिचालन समिति गठन ग¥यो । समितिमा हामीसँग शरतचन्द्र बोस, बङ्गाल प्रान्तीय मजदुर युनियन काङ्ग्र्रेसका तत्कालीन सभापति मृणाल कान्ति बासु, विख्यात वकिल निर्मलचन्द्र चटर्जी, प्राध्यापक क्षितिजप्रसाद चट्टोपाध्याय र केही काङ्ग्रेसका नेताहरू पनि सामेल थिए । निर्मलचन्द्र चट्टोपाध्याय र शरतचन्द्र बोसको घरमा हाम्रो नियमित बैठक बस्थ्यो । सरकारले बेवास्ता गरे पनि हामी बिनासुझबुझ सरकारसँग यस विषयमा कुराकानी गरिरहेका थियौँ ।
सन् १९४७ डिसेम्बर १० । उदार र कल्याणकारी एम्बुलेन्स टोली (आरडब्ल्युएसी) का सदस्य, एक जना निर्दोष नागरिक शिशिर मण्डलको जथाभावी गोली वर्षाको क्रममा हत्या भयो । त्यो घटना मेरै आँखाअघि भएको थियो । आत्तिएर म कोलकोत्ता उच्च अदालतको गेटअघि घटनास्थलमै ठिङ्ग उभिरहेँ । जसै म नजिकैको वकिल कार्यालयको दोस्रो तलामा पुगेँ, आतङ्कित जनतालाई प्रहरीले लघार्दै गरेको मैले देखेँ । अश्रुग्याँसको कुइरीमण्डलबीच सर्वसाधारणलाई प्रहरीले निर्ममतापूर्वक दमन गरिरहेको थियो । म बन्दुक पड्काइएको आवाज सुुनिरहेको थिएँ । सँगै मानिसहरू आत्तिएर भागाभाग गरिरहेको पनि आवाज पनि सुन्दै थिएँ । मलाई त्यो समय कुनै नमीठो सपनाजस्तो लागिरहेको थियो । पृथ्वीमा मानिसले बनाइरहेको एउटा नर्कको दृश्य । त्यो दृश्यले मेरो मानसपटलमा अमिट छाप छोड्यो ।
अर्को संसद बैठकमा मैले सो घटनाबारे कुरा उप्काउँदै भत्र्सनापूर्ण आक्रोश पोखंँ । तर, मैले कहीँबाट कुनै समर्थन पाइनँ । मुख्यमन्त्रीले परिस्थितिमा केही समस्याको गन्ध पाए र त्यसको निम्ति शरतचन्द्र बोस, निर्मलचन्द्र चटर्जी र मृणाल कान्ति बोसजस्ता नेताहरू जिम्मेवार भएको अन्दाज गरे । सन् १९६७ सम्म त्यो घातक कानुन कार्यान्वयनमा रह्यो । त्यही वर्ष संयुक्त मोर्चाको सरकार बनेपछि प्रजातन्त्रविरोधी पहिलो कानुन खारेज गर्ने निर्णय ग¥यो । म व्यक्तिगतरूपमा दाबीका साथ भन्न सक्छु, वामपन्थी मोर्चाले पश्चिम बङ्गालमा शासन गरे यता सन् १९६७ पछि त्यहाँ कुनै उचित आधारबिना कोही पनि व्यक्तिलाई गिरफ्तार गर्ने वा कैदमा राख्ने गरेको छैन । पश्चिम बङ्गाल सुरक्षा विधेयक पारित भएको केही समयपछि नै विधान सभाको अधिवेशन समाप्त गरियो ।
डा. विधानचन्द्र रोयको नेतृत्व र अभिभावकत्वमा पश्चिम बङ्गालको राजनीतिक इतिहासमा नयाँ अध्यायको सुरुआत भयो । डा. रोय पश्चिम बङ्गालको मुख्यमन्त्री बने । किरणशङ्कर रोय गृह र नलिनी रञ्जन सरकार अर्थमन्त्री बने ।
त्यत्तिबेला नयाँ मन्त्रीहरूले मलाई मेरो राजनीतिक अडान त्याग्न कसरी आग्रह गरेका थिए भन्ने कुरा म स्मरण गर्छु । उनीहरूले मलाई व्यक्तिगत लाभको लोभसमेत देखाउन पछि परेका थिएनन् । दुई वटा घटना मेरो दिमागमा सधैँ रहिरहन्छन् । एउटा घटना बजेट अधिवेशनको बेला भएको थियो । एक दिन डा. बीसी रोय सदनको म बस्ने कुर्सीछेउ आए र भने, “के तपाईँ डा. एनके बासुका सुपुत्र होइन ? उहाँ मेरो असल मित्र हुनुहुन्छ ।” यति व्यक्तिगत कुरा गरेपछि उनले अघिल्लो सरकारको पालामा संसदमा मैले प्रस्तुत गरेका विभिन्न विधेयकमाथिको संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरे । अर्थमन्त्री नलिनी रञ्जन सरकार पनि मेरा परिचित व्यक्ति थिए । मैले मेरो जीवनका सुरुका दस वर्ष हिन्दुस्तान घरमा बिताएको थिएँ । त्यो घरका मालिक नलिनी रञ्जन सरकार थिए । एक पटक उनले ममाथि व्यक्तिगतरूपमा शाब्दिक हमला गरेका थिए । प्रतिवादमा मैले पनि उनीविरुद्ध बोल्नुपरेको थियो । केही दिनपछि राइटर्स भवनअघि एउटा महिला प्रतिनिधिमण्डललाई किरणशङ्कर रोयसँग भेटाउन खोज्दै गर्दा नलिनी रञ्जन सरकारले मलाई बोलाउन पठाए । उनले आफ्नो गलत व्यवहारको लागि माफी मागेर आफ्नो उदार मन प्रदर्शन गरेका थिए ।
सन् १९४८ को २६ मार्च । भारतमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । यो हाम्रो लागि नचिताएको झट्का थियो । प्रतिबन्धले हाम्रा गतिविधिका सबै सञ्जाललाई छिन्नभिन्न बनायो । प्रतिबन्धअघि फेब्रुअरी २८ देखि मार्च ६ सम्म हाम्रो पार्टीको दोस्रो महाधिवेशन कोलकोत्ताको मोहम्मद अली पार्कमा भएको थियो । महाधिवेशनले पार्टी सङ्गठनमा पुनःसंरचना गरेको थियो । यो पुनःसंरचनाले पार्टी रणनीति, अवधारणा, कार्यनीति र नेतृत्व प्रतिबिम्बित गरेको थियो । महासचिव पदमा पीसी जोशीको ठाउँमा बीटी रणदिबे चुनिएका थिए । पश्चिम बङ्गालबाट म पनि महाधिवेशनको प्रतिनिधि थिएँ । पीसी जोशीले गरेका गल्तीलाई सच्याउन उचित भएको लागे पनि मेरो विचारमा त्यसको तरिका आलोचनामुक्त थिएन । हामीमध्ये केहीले वामपन्थी अतिवादी नीतिप्रति विमति राखे । यसले पार्टीभित्रको प्रस्ट मतान्तर देखाएको थियो । वामपन्थी अतिवादले सङ्कटलाई अझ बढाउन सक्नेमा हामी चिन्तित थियौँ । त्यसले वामपन्थी गुट विभाजित हुने सम्भावना बढाएको थियो । पार्टी महाधिवेशनमा मैले मेरो धारणा राख्न अवसर पाइनँ । तथापि मैले महाधिवेशनको मूल समितिसमक्ष मेरो प्रश्न लिखितरूपमा पेश गरेको थिएँ । पछि पश्चिम बङ्गाल प्रान्तीय समितिका सचिव भवानी सेनले पश्चिम बङ्गालका प्रतिनिधिहरूको अलग बैठक बोलाए । पार्टी प्रतिवेदनमाथि प्रश्न गर्ने सबैलाई रोकियो र आत्मालोचनाको औपचारिक प्रस्ताव पारित गरियो । बैठकमा सो प्रस्ताव घोषणा गरियो ।
त्यसपछि दोस्रो महाधिवेशनको नयाँ प्रतिवेदनअनुसार हामीले हाम्रा गतिविधिलाई निरन्तरता दियौँ । शासक दलले हामीमाथि हमला गर्न केही समय प्रतिक्षा गरिरहेकोमा हामी पक्का थियौँ । सरकारको गृहमन्त्रालयबाट बाहिरिएका केही गोप्य कागजपत्र शासक दलको नियतको प्रस्ट प्रमाण थियो । ती गोप्य कागजपत्रमा हामीविरुद्ध हिंसाको रणनीति प्रस्तावित थियो । एक जना प्रहरी अधिकारीले हामीलाई गिरफ्तार गर्ने चेतावनी पनि दिएका थिए । साथै सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको पनि पूर्वजानकारी दिएका थिए । मलाई याद छ, पार्टीमाथि प्रतिबन्ध लाग्न केही दिनअघि म मन्त्री हेमचन्द्र नास्करलाई भेट्न गएको थिएँ । उनले विधान सभामा मलाई पान टक्राए र भने, “ज्योति बसु, तपाईँसँग कुराकानी गर्नुपर्ने केही गोप्य कुरा छ । आफ्नो ख्याल राख्नुहोला । बाँकी बिस्तारमा हामी पछि कुरा गरौँला ।” हेमबाबु र मेरोबीच राम्रो सम्बन्ध थियो । उनले त्यत्तिबेला मलाई अरु कुरा पनि भन्न चाहेका थिए । दुर्भाग्यवश, उनीसँग पछि सम्पर्क नै हुन सकेन ।
अन्ततः सन् १९४८ को मार्च २८ मा हामीलाई जे कुराको भय थियो, त्यही निर्णय भयो । कम्युनिस्ट पार्टीलाई अवैध घोषणा गरियो । त्यसको अघिल्लो दिन पार्टी सूचना स्रोतले त्यो निर्णयबारे खबर गरेको थियो । स्रोतले कम्युनिस्ट पार्टीका गिरफ्तार गर्नुपर्ने व्यक्तिहरूको नामावली पनि सरकारले तयार गरिसकेको सूचना दिएको थियो । डाक्रेस सडकस्थित पार्टी कार्यालयबाट तत्कालै यो समाचार प्रान्तीय तहको पार्टी नेतृत्वलाई खबर भयो । तर, सबै नेताहरूले यो सूचना पाएनन् । मलाई त्यसबारे कुनै पूर्वजानकारी थिएन । त्यसकारण त्यो रात मैले हिन्दुस्तान पार्कस्थित मेरो घरमा अरु सामान्य दिनजस्तै बिताएको थिएँ ।
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *