भर्खरै :

सक्वको म राजदास – ६०

 
कसरी समाधान भयो क्षेप्यास्त्र सङ्कट
क्युवाको कम्युनिस्ट सरकार फाल्न गरिएको ‘वे अफ पिग्स’ आक्रमणमा संयुक्त राज्य अमेरिकाले हार खाएपछि सन् १९६२ को मस्को भ्रमणको क्रममा क्युवाली क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले क्युवामा थप आक्रमण हुन नदिन सोभियत नेता निकिता खु्रश्चेभलाई सैनिक सहयोगको अनुरोध गरे । द्वितीय विश्वयुद्ध समाप्तिदेखि सोभियत सङ्घ संयुक्त राज्य अमेरिकासँग शीतयुद्धमा थियो ।
फिडेल क्यास्ट्रोको अनुरोधलाई स्वीकार्दै सोभियत नेताले दक्षिणपूर्वी अमेरिकाको फ्लोरिडा राज्यनजिक ९० किलो मिटर दुरीमा केही आणविक क्षेप्यास्त्र (मिसाइल) स्थापना गर्न सहमति जनाए । लगत्तै क्षेप्यास्त्रहरू तैनाथीको निम्ति आधारस्थल निर्माण गर्न थालियो ।
आफ्नो नाकैमुनि भर्खर स्थापना भएको कम्युनिस्ट राज्य क्युवामा विनाशकारी क्षेप्यास्त्रहरू राखिएपछि संरा अमेरिका चिन्तित र क्रोधित हुनु स्वाभाविक नै थियो । यसपछि शीतयुद्ध लडिरहेका दुई शक्ति सम्पन्न राष्ट्र सोभियत रुस र संयुक्त राज्य अमेरिकाबीच ठूलो तनाव सृजना भयो । तृतीय विश्वयुद्ध हुनसक्ने सम्भावनाको अड्कल पनि काट्न थालियो । तर, सोभियत सङ्घ र संयुक्त राज्य अमेरिका दुवै देशका नेताहरूको सुझबुझले गर्दा उक्त विवाद केही समयमै समाधान भयो ।
सन् १९६२ को अक्टोबर महिनामा भएकोले यस घटनालाई अक्टोबर सङ्कट (अक्टोबर क्राइसिस) भनियो । रुसमा यसलाई क्यारिबियन क्राइसिस भनियो । क्युवा मध्यअमेरिकी क्षेत्र क्यारिबियाली सागरमा पर्ने भएकोले त्यसो भनिएको थियो ।
यस सङ्कटकालीन परिस्थितिमा सोभियत सङ्घमा निकिता खु्रश्चेभ सत्तामा थिए भने जान एफ केनेडी संयुक्त राज्य अमेरिकामा राष्ट्रपति थिए ।
सन् १९६२ अक्टोबर १४ मा अमेरिकी गुप्तचर हवाईजहाज ‘यू–२’ ले क्युवामा सोभियत क्षेप्यास्त्र तैनाथ भएको पत्ता लगाएलगत्तै सोभियत रुस र अमेरिकाबीच तनाब सुरु भएको थियो । १३ दिनसम्म परिस्थिति धेरै तनावपूर्ण रहेको थियो ।
सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिएलगत्तै संयुक्त राज्य अमेरिका सोभियत सङ्घदेखि तर्सिएको थियो । सोभियत सङ्घले एसिया युरोपलगायत अमेरिकी गोलाद्र्धमा पनि साम्यवादको प्रभाव फैलाउन सक्ने भनी अमेरिका धेरै चनाखो भइरहेको थियो । यसै सन्दर्भमा तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस टु«मनलाई सोभियत मस्कोस्थित एक अमेरिकी कूटनीतिज्ञ जर्ज केनान्ले सोभियत सङ्घ साम्यवादी विचारधारा बोकेर विश्वमा आक्रामकरूपमा हिँड्नेछ भन्ने सङ्केत दिएका थिए । १६ वर्षपछि सन् १९६२ मा भएको क्युवाली सङ्कटलाई संयुक्त राज्य अमेरिकाले यसै परिप्रेक्षमा लियो ।
सन् १९६१ मा क्युवामाथि भएको ‘मिसन मंगुज’ नामक ‘वे अफ पिग्स’ मा भएको अमेरिकी सैनिक आक्रमणपछि सोभियत नेता निकिता ख्रुश्चेभ र क्युवाली क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको सहमतिमा अमेरिकाले फेरि पनि क्युवामाथि सैनिक आक्रमण गर्ने चेष्टा नगरोस् भन्ने हेतुले क्युवामा आणविक क्षेप्यास्त्र तैनाथ गर्ने निधो गरिएको थियो । संयुक्त राज्य अमेरिकाले सन् १९५९ मा टर्की र इटालीमा आणविक क्षेप्यास्त्रहरू तैनाथ गरेको कुराले सोभियत तथा क्युवाका नेताहरूलाई गम्भीर बनाएको थियो । सन् १९६२ को अक्टोबर ४ मा अमेरिकी गुप्तचर हवाईजहाजले क्युवामा सोभियत क्षेप्यास्त्र तैनाथ भइसकेको पुष्टि ग¥यो ।
उक्त कुरा अक्टोबर १६ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई जानकारी दिइएको थियो र यसको समाधानको लागि तत्काल क्युवामाथि समुद्री नाकाबन्दी लगाउने अथवा हवाई आक्रमण गर्ने दुई विकल्प पनि प्रस्तुत गरिए । भोलिपल्ट १९६२ को अक्टोबर १७ देखि संयुक्त राज्य अमेरिकाले आफ्नो देशको दक्षिणपूर्व फ्लोरिडा राज्यमा सैनिक गतिविधि परिचालन गर्न थाल्यो भने अमेरिकी गुप्तचर जहाज (यु–२ गुप्तचर हवाईजहाज) ले क्युवामा सोभियत सङ्घले मध्यम दुरीका आणविक क्षेप्यास्त्रहरू तैनाथ गरेको तथ्य सङ्कलन गर्दै गयो । ती क्षेप्यास्त्रले संयुक्त राज्य अमेरिकाको कुनै पनि सहर र क्षेत्रमा प्रहार गर्नसक्दथे ।
अक्टोबर १८ मा अमेरिकाको चिन्ता र गतिविधि बाहिरिएपछि तत्कालीन सोभियत विदेशमन्त्री आन्द्रेई ग्रोमीको अमेरिकी राष्ट्रपति जोन एफ कनेडीलाई वासिङ्गटन ह्वाइट हाउसमा भेट्न गए र क्युवामा तैनाथ क्षेप्यास्त्रहरू क्युवाको आत्मरक्षाको लागि भएको कुरा प्रस्तुत गरे । तर, अमेरिकाले सोभियत विदेशमन्त्रीलाई क्युवामा रहेको आणविक क्षेप्यास्त्रहरूले गम्भीर परिस्थिति सृजना हुनसक्ने चेतावनी दियो ।
अक्टोबर २२ तारिखमा अमेरिकाले थप सोभियत क्षेप्यास्त्रहरू क्युवामा प्रवेश नहोस् भनेर क्युवा वरिपरि समुद्री नाकाबन्दी लगायो । सोभियत सङ्घलाई क्युवामा आक्रामक क्षेप्यास्त्रहरू नल्याउन र क्युवामा तैनाथ गरिसकेका क्षेप्यास्त्रहरू पनि फिर्ता लान चेतावनी दियो ।
तनावपूर्ण परिस्थितिमा अमेरिकी राष्ट्रपति केनेडी र सोभियत नेता खु्रश्चेभबीच एक सम्झौता भयो । सम्झौतामा संयुक्त राज्य अमेरिकाले क्युवामाथि सैनिक आक्रमण नगर्ने सर्तमा सोभियत युनियनले आफ्ना क्षेप्यास्त्रहरू फिर्ता लाने कुरा उल्लेख थियो । सोभियत सङ्घले आफ्ना क्षेप्यास्त्रहरू क्युवाबाट फिर्ता लगेमा अमेरिकाले पनि सोभियत सङ्घप्रति लक्षित गरी टर्कीमा राखेका क्षेप्यास्त्रहरू हटाउने गोप्य सहमतिसमेत भएको थियो ।
उक्त सम्झौताअन्तर्गत सोभियत सङ्घले आफ्ना सबै क्षेप्यास्त्रहरू क्युवाबाट हटाएपछि १९६२ नोभेम्बर २० मा अमेरिकाले क्युवामाथि लगाएको समुद्री नाकाबन्दी हटायो । यस सम्झौताले सोभियत अमेरिकी सम्बन्धमा केही सहजता पनि ल्याइदियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *