भर्खरै :

हुम्लाको हैरानी के गरी खाने ?

हुम्ला दुर्गम भएर पनि मूलधारका राष्ट्रिय सञ्चारमाध्यमहरूसँग केही न केही रूपमा सञ्चारकर्मीहरू आबद्ध भएकै छन् । तीन वटा सामुदायिक रेडियो, दुईवटा अनलाइन र एकवटा साप्ताहिक पत्रिका प्रकाशित भइरहेको छ । महासङ्घमा आबद्धता सङ्ख्या हेर्दा साढे दुई दर्जन भए पनि जिल्लामै खटिएर लाग्ने सञ्चारकर्मी एक दर्जनको हाराहारीमा छन् ।
पत्रकारिताले मात्रै रोजीरोटी नचल्ने भएपछि कतिले अन्य काम गर्नुपरेको छ । कतिपय भने यी सञ्चारका माध्यमहरूमा आबद्ध पत्रकारहरूले राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरू भएका काम गरिरहेका छन् । एकजना सञ्चारकर्मीले तीनदेखि चार वटासम्म सञ्चारमाध्यममा काम भ्याउनुपरेको छ ।
खासै अध्ययन नभएका तर पत्रकार भनेर आफूलाई चिनाउने प्रवृत्तिबाट दुर्गम पनि अछुतो छैन । २०५० सालपछि सुरु भएको हुम्लाको पत्रकारिता क्षेत्रले व्यावसायिक रुपधारण गर्न पाएको छैन ।
रेडियोमा आबद्ध सञ्चारकर्मीलाई ज्यादै न्यून पारिश्रमिक छ । हवाई यातायातमात्र भएको हुम्लाको महँगीसँग जुधेर छाक टार्न कठिन छ । घर खर्च टार्ने मुस्किल भएपछि पत्रकारहरू आउने र हराउने क्रम जारी छ । तात्तातै सुविधा चाहिने जमानामा घरपरिवारले पनि केही कुरा नआएपछि किन मान्छन् ।
सञ्चारकर्मी कुनै न कुनै दलसँग आबद्ध हुनु स्वाभाविक होला । तर, महासङ्घसँग आबद्धहरूको सङ्ख्या २८ छ । यसअघि ७७ थियो । यसो हुनुमा मुख्य गरी राजनीतिले ठूलो भूमिका खेल्यो । पत्रकार महासङ्घ जिल्ला शाखा कब्जा गर्नका लागि तत्कालीन प्रेस चौतारी, प्रेस युनियन र क्रान्तिकारीले कामै नगरेकालाई आ–आफ्नो सक्षठनमा आबद्ध गराए । पछि चेतना आयो क्यार काँटछाँट गर्दा २८ जनामा झरेको छ । त्यो सङ्ख्या पनि बढी हो । अहिले जिल्लामा काम गर्ने सञ्चारकर्मी औलामा गन्न सकिने अवस्था छ । यसले गर्दा जो पनि सञ्चारकर्मी भन्ने आम मानिसमा छाप बस्यो र खास पत्रकारहरूलाई काममा बाधा पुग्यो ।
सदरमुकामबाहेक अन्यत्र सहज मोबाइल र इन्टरनेट सुविधा छैन । जसले गर्दा सदरमुकाममा आएर समाचार प्रकाशन तथा प्रसारणले तयारी गर्नुपर्ने बाध्यता भयो । अधिकांशले सरकारी तथा गैससका कार्यालय र व्यक्तिको घरमा गएर इन्टरनेट सुविधा उपभोग गर्ने बाध्यता छ । नेपाल टेलिकमले सदरमुकाम सिमीकोटमा समेत सीमित लाइन इन्टरनेट वितरण गरेको कारण सञ्चारकर्मीहरूले व्यक्तिगतरूपमा इन्टरनेट प्रयोग गर्न पाएका छैनन् ।
भूगोलका हिसाबले नेपालकै दोस्रो ठूलो जिल्ला भएको कारण सिमीकोटबाट उत्तर र दक्षिणतर्फ जान कम्तीमा पनि चार दिन हिँड्नुपर्छ । उत्तरतर्फ नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङमा बाहेक अन्यत्र इन्टरनेट सुविधा छैन । गत वर्षमात्र एक सञ्चारकर्मीहरूले नाम्खा गाउँपालिकाको लिमी रिपोटिङमा जाँदा बास नपाएपछि खुला आकाशमुनि बस्नु परेको थियो ।
विश्व जता गए आधुनिक सञ्चारमाध्यमको प्रयोग गर्न दुर्गमका सञ्चारकर्मीहरूलाई उत्तिकै हम्मे छ । अध्ययन र तालिम बिनै दुर्गमको सञ्चार क्षेत्र अगाडि बढिरहेको छ । सञ्चार क्षेत्रका आधुनिक अध्ययन अति आवश्यक छ जो दुर्गमका हकमा लागू हुन सकेको छैन ।
जिल्ला ठूलो भएर पनि सानो ठाउँ भएको कारण थोरै सञ्चारकर्मीलाई जो कोहीले सहजै चिन्ने भनिदिन्छन् । समाचारमा एबीसीको प्रयोगै नगर्दाको परिणति हो । समाचार लेखेकै भरमा फोनमा धम्क्याउने, अश्लील शब्दले गाली गर्ने, सञ्चारमाध्यममा गएर तोडफोड गर्ने, कतिपय बेला त हात पनि हाल्ने अवस्था छ । यसले पनि सञ्चारकर्मीलाई हतोत्साहित बनाएको छ ।
हुम्लामा पत्र पत्रिकाहरूको जिल्ला प्रशासन कार्यालयमा दर्ता सङ्ख्या ८ पुगेको छ । तर, नियमित प्रकाशन भइरहेको पत्रिका एकमात्र छ । सरकारी पक्षबाट सहयोगका कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिन्छ ।
स्रोत: संहिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *