भर्खरै :

पहिला हियाउने, पछि उडाउने

मैले काठमाडौँ कार्यक्षेत्र बनाएर पत्रकारिता गर्न थालेको २२ महिना भइसक्यो । गृह जिल्ला भोजपुरको तुलनामा सब ठीकठाक चल्दै छ । टेलिफोन, इन्टरनेटको समस्या छैन । चाहेको बेला जुनैबखत रिपोर्टिङमा निस्कन सक्छु । विषयवस्तुमाथि द्विविधा भए जुनैबेला पनि ‘रिसोर्स पर्सन’ सँग सोध्न÷बुझ्न सक्छु । चाहेको र क्षमताले भ्याएको तालिममा सहभागी हुनसक्छु सिक्न सक्छु । समाचार कक्षसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न पाएको छु र मलाई कसैको अनावश्यक ‘ब्याक बाइटिङ’ चिन्ता छैन । लाग्छ, यो सहरमा कसैले कसैमाथि ‘ब्याक बाइटिङ’ गर्ने फुर्सद पनि छैन ।
तर म दुखिरहेको हुन्छु, कता–कता । यति सहज वातावरण पाउँदा जति खुसी सन्तुष्ट हुनुपर्ने हो, त्यो चैन छैन मसँग । काठमाडौँमा काम गर्दा भोजपुरका यादहरू एकपछि अर्को तँछाडमछाड गर्दै आउँछन् । महिला भएकै कारण भोगेका पीडाहरू अहिले सम्झँदा आँखा रसाउँछन् । यद्यपि, भोजपुर हुँदा तत्कालीन कान्तिपुर टीभीमा कार्यरत किरण राई दाइको सहयोग नपाएको भए, पत्रकारिताबाट पहिल्यै गुमनाम भइसक्थेँ । तर, एकखाले पत्रकारहरूले मप्रति हेर्ने दृष्टिकोण उनीहरूको हैसियतभन्दा माथि उठेन । मैले काम गर्ने सञ्चारमाध्यममा मेरा समाचारहरूले दिनदिनै स्थान पाउँदै जाँदा कोही एक अगुवा पुरुष पत्रकारले भनेका थिए, ‘विद्याको समाचार दिनदिनै आइरहेको छ, प्रदेश व्युरादेखि केन्द्रको जिल्ला व्युरोसम्मका हाकिमहरूसँग राम्रै हिमचिम छ कि क्या हो ?’ यति भनिसक्दा उनी गलल्ल हाँसेछन् । एक कान दुई कान हुँदै मेरो कानसम्म आइपुग्यो ।
लेख्न सिक्दा महिलाले लेख्न जान्दैनन्÷सक्दैनन् भन्ने, मेहनत गरेर अघि बढ्दा इज्जतमाथि प्रश्न चिह्न ? जब यो कुरा सुनेँ । त्यसपछि मेहनतलाई झन् निखार्ने मौका त पाएँ नै । तर, त्यहाँ कार्यरत पत्रकार महिला र भावी पुस्ताको अवस्थाबारे मैले पत्रकारिता थालनीसँगै बिताएका २२ महिनाका यी र यस्ता क्षण नै काफी छन् । हिजो मैले जे भोगेँ आज पनि भोजपुरका पत्रकार महिला मेरो भोगाइभन्दा माथि उठ्न पाएका छैनन् ।
सामाजिक संरचनाले महिला र पुरुषबीच छुट्याएको साँध सिमाना पत्रकारिता क्षेत्रमा पनि हाबी छ । यसलाई चिर्न पुरुषमाथि भौतिक लडाइँ लडेर सम्भव छैन । बौद्धिक लडाइँ नै लड्ने हो । भोजपुरमा अहिले सक्रिय कविता खड्काले एक भेटमा भनिन्, “मानसिकरूपमा बलियो बन्नका लागि आवश्यक क्षमता विकास गर्ने तालिम चाहिएको छ, जसले जस्तोसुकै आरोप लाउँदा पनि मन विचलित नहोस् ।” म महिला अझ नेपाल पत्रकार महासङ्घ भोजपुर शाखाको उपाध्यक्ष भएको हिसाबले कविताको कुरा सुनेर झस्किएँ ।
तुरून्तै फेसबुकको म्यासेन्जरमा भोजपुरका पत्रकार महिलाहरूको ग्रुप च्याट बनाएँ । उनीहरूसँग जिज्ञासाहरू राखेँ । उनीहरूले क्षमता विकासदेखि व्यावसायिक तालिम आवश्यक भइरहेको बताए । हुन त उनीहरू कार्यरत सञ्चारमाध्यमहरूले क्षमता विकासका तालिममा ध्यान दिनुपर्ने हो, यो वातावरण मूलधारे मिडियामा समेत खडेरी भइरहेको बेला भोजपुरका स्थानीय सञ्चारमाध्यमबाट सम्भव छैन । मैले पत्रकार महासङ्घ भोजपुर शाखालाई पत्रकार महिलाहरूलाई व्यावसायिक क्षमता अभिवृद्धिको तालिमको व्यवस्था गरौँ,’ ग्रुपमा च्याट गरेँ । पटक–पटक आग्रह गर्दा पनि महासङ्घको नेतृत्वमा रहेका पुरुष अगुवाहरूबाट ‘रेस्पोन्स’ भएन । मैले राखेको प्रस्तावलाई च्याटबक्समा ‘सिन’ गरेर छोडिदिए । त्यही ग्रुपभित्र मेरा समाचार छापिएकोमा प्रदेश व्युरोसम्मका हाकिमसँग अगुवा पनि छन् । तर महिलालाई सिकाउनुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने मानसिकता भएको भए उनले मैले राखेको प्रस्तावलाई कार्यान्वयनमा लान सक्थे, सकेनन् ।
म उपाध्यक्ष भएको हिसाबले त्यहाँको पत्रकार महिलाले अपेक्षा गर्नु स्वाभाविक हो । जसरी आज काठमाडौँमा बस्दा नेपाल पत्रकार महासङ्घको केन्द्रीय महिला विभाग, सञ्चारिका समूह, क्रियाशील पत्रकार महिला समूहबाट क्षमता, विकास र आत्मसुरक्षाको तालिकाको अपेक्षा गरिरहेको हुन्छ ।
तर, कडाइका साथ प्रस्ताव राख्दा मलाई ‘शो पिस’ को रूपमा देखाउने महासङ्घ नेतृत्वमा रहेका पुरुष अगुवाहरूबाट बेवास्ता भएको छ । पत्रकार महासङ्घले हरेक जिल्ला–जिल्ला र विदेशमा समेत शाखा विस्तार गरेको छ । महासङ्घको काम विज्ञप्ति निकाल्ने र धर्ना बस्नेमात्रै हो ? हामी पत्रकार महिलाहरू ¥यालीको दिन अघिल्लो लहरमा देखिने ‘शो पिस’ मात्रै हो ? तालिम, अभिमुखीकरणमा हाम्रा आवाज हाम्रा सहभागिताहरूलाई दबाइरहने नै हो त ? हो, हर मानिसले मेहनत आफैँ गर्नुपर्छ । तर, पढाइले सिकाइमा जति सहज हुन्छ, आफ्सेआफ ‘ढुङ्गाको काप फोडेर’ निस्कन असहज नै हुन्छ । महासङ्घको क्षेत्राधिकारभित्र पर्ने तालिम प्रदानले उसको या उनको क्षमता विकासमा, प्रगति पथमा सहज हुन्छ भने ‘ढुङ्गा फोड्ने’ असहज वातावरणमै किन अल्झाइरहने पत्रकार महिलालाई ? पत्रकार महासङ्घको केन्द्रले नै यो विषयमा संवदेनशील हुनु जरुरी छ ।
म काठमाडौँ देख्छु, पत्रकारमाथि हातपात भयो, पत्रकारमाथि गालीगलौज गरी मानहानि भयो भन्दै विज्ञप्ति निकाल्ने र सडकमा धर्ना बस्ने काम भइरहेको हुन्छ । तर, पत्रकारका पनि प्रेस स्वतन्त्रताको हकसँगै कर्तव्य र आचारसंहिता छन् । यी कर्तव्य र आचारसंहिताका बारेमा पत्रकारहरूलाई पढाउनेमात्रै हो भने पनि गालीगलौज र धम्कीको सिकार बन्नुपर्ने थिएन नि ¤ पत्रकारका बारेमा नीति ल्याउने महासङ्घ पत्रकारलाई सर्कुलर गर्न किन चुकिरहेको छ ?
पछिल्लो समय पत्रकारहरू सामाजिक सञ्जालमा जसरी प्रस्तुत भइरहेका छन् । क्षणिक वाहवाही कमाउनका लागि । यसले व्यावसायिक धर्ममाथि बारम्बार प्रश्न गरिरहेको छ । त्यसमा पत्रकार महिलाहरू कम छैनन् । पत्रकार भएर राजनीतिक आवरणलाई सामाजिक सञ्चालमा उछालेर दिइने अभिव्यक्तिले महासङ्घको बदनाम भइरहेको छ । यस्ता पत्रकारको संरक्षणमा पत्रकार महासङ्घले कहिलेसम्म विज्ञप्ति छापेर सस्तो भइरहने ? म पत्रकार हुँ तर मै भन्छु, “पत्रकार हो भन्दैमा जे पायो त्यही लेख्न र बोल्न रोक लगाइनुपर्छ, यसले व्यावसायिक पत्रकारितालाई धरासायी बनाउँछ ।” एक पत्रकारको कारणले सिङ्गो व्यवसायमाथि आक्षेप लाग्नु हुँदैन । यसका लागि महासङ्घले विज्ञप्ति होइन हरेक पत्रकारलाई ऐन, कानुन, नीति र आचारसंहिता प्रस्टसँग पढाउनुपर्छ ।
‘सामाजिक सञ्जाल आएपछि पत्रकारको भूमिका सीमित भएको छ । नेपाली पत्रकारिताको सम्पादकीय दायरालाई कसरी फराकिलो, बलियो र सुरक्षित बनाउने भन्नेमा पत्रकार महासङ्घले मुख्य ध्यान दिनुपर्छ’ नेपाली पत्रकारितालाई व्यावसायिक बनाउने भूमिका खेल्नुभएका महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेको अभिव्यक्ति हो यो । मैले महासङ्घकै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा नेतृत्वले पत्रकारको क्षमता विकासमा उदारता देखाउनैपर्छ । पत्रकार महिलाहरूका सवालमा बढी उदार हुनुपर्छ किनभने आजसम्म महिलालाई दोस्रो दर्जाकै नजरले हेरियो । संविधानमा लेखिएको समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा लेखाउन अर्थात दोस्रो दर्जालाई समान हैसियतमा पु¥याउन सर्वप्रथमत उति नै दक्ष बनाउनुपर्छ । नत्र कसरी हुन सक्छ ‘फेयर कम्पिटिसन ?’ कसरी हुनसक्छ समान सहभागिता ?
आज महिलालाई अवसरको खाँचो छ, क्षमता, दक्षता र आत्मसुरक्षा अभिवृद्धिको खाँचो छ । महासङ्घको पुरुष नेतृत्वले मात्रै यतातर्फ ध्यान दिने हो भने कुनै महिलाले क्षमता देखाउन सक्दैन र क्षमता देखाए कुन पुरुषसँगको हिमचिमले माथि उठ्यो भनेर खुद्रे आरोप लगाइराख्नुपर्दैन । हरेक सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता राख भनेर पत्रकार महासङ्घले कुर्लनुपर्दैन । सुरुमा दक्ष र सक्षम त बनाऔँ सञ्चारमध्यमले ३३ प्रतिशतमा होइन ५० प्रतिशत बढी महिला सहभागिता पु¥याउँछन् । सम्पादकीय नेतृत्वमा पत्रकार महिला पुग्न सक्छन् ।
स्रोत : संहिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *