भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
एङ्गेल्सको त्याग
एङ्गेल्सले मेनचेस्टरमा २० वर्ष बिताउनुभयो, सन् १८५१ देखि १८७० सम्म । तर, एङ्गेल्स कारखाना सञ्चालनको काममा मात्र लाग्नुभएन बरु उहाँले एकपछि अर्को आर्थिक सङ्कटमा पर्नुभएका माक्र्सलाई सहयोग गर्ने जिम्मेवारी लिनुभयो । उहाँले सुरुका केही वर्षमात्र मेनचेस्टरमा बिताएर फेरि अध्ययनमा लाग्ने विचार गर्नुभएको थियो । तर, १८५४ तिर माक्र्सको आर्थिक स्थिति झन् कमजोर भएपछि एङ्गेल्सले आफ्नो व्यवसाय छोड्ने कुरै भएन । उहाँले माक्र्सको निम्ति ५–१० स्ट्रलिङ्ग पाउन्डका नोटहरू पठाउँदै गर्नुभयो ।
एङ्गेल्स आफ्नो व्यवसायमा अल्झिन मन पराउनुहुन्नथ्यो र त्यसलाई ‘नरकको काम’ सम्झनुहुन्थ्यो । त्यसबेला कार्ल माक्र्सले ‘पुँजी’ नामको ग्रन्थ लेख्न सुरु गर्नुभएको थियो । ग्रन्थ लेख्न नसिधेसम्म माक्र्सलाई आर्थिकरूपमा मद्दत दिनु एङ्गेल्सले आफ्नो कर्तव्य सम्झनुभयो । त्यतिबेला माक्र्स अमेरिकाबाट प्रकाशित हुने एक पत्रिका ‘न्युयोर्क ट्रिब्युन’ मा प्रकाशनको निम्ति लेख पठाउनुहुन्थ्यो । माक्र्सले हप्ताको २ वटा लेख दिनुपर्दथ्यो र उहाँ पारिश्रमिकस्वरूप २ पाउन्ड पाउनुहुन्थ्यो । सहयोगको हिसाबले कहिलेकाहीँ एङ्गेल्स माक्र्सको नाममा लेखहरू लेख्नुहुन्थ्यो । माक्र्सको अङ्ग्रेजी राम्रो नभएकोले माक्र्सका लेखहरूको एङ्गेल्स अनुवाद पनि गर्नुहुन्थ्यो ।
माक्र्सलाई थाहा थियो, एङ्गेल्स प्रतिभासम्पन्न व्यक्ति हुनुहुन्थ्यो । तर, आर्थिक समस्यासामु माक्र्स लाचार र दुःखी हुनुहुन्थ्यो । एङ्गेल्सको त्याग र निःस्वार्थ भावना अतुलनीय थियो ।
एङ्गेल्सको पारिवारिक जीवन
मेनचेस्टरमा एक आईरिस परिवारसँग एङ्गेल्सको राम्रो सम्बन्ध थियो । आमा–बाबु र दुइटी छोरीहरूमात्रै भएको त्यो सानो परिवार अति सुुसंस्कृत थियो । आईरिस दम्पतिका दुई छोरीमध्ये जेठीको नाउँ मेरी बन्र्स र कान्छीको नाउँ लिजी थियो । लगभग सन् १८५० देखि नै मेरी बन्र्ससँग एङ्गेल्सको प्रेम सम्बन्ध थियो । एङ्गेल्स र मेरीबीच विवाह भयो । विवाहमा गरिने विभिन्न सामाजिक आडम्बरमा उहाँहरू अलमलिनुभएन । उहाँहरू एक अर्काेका जीवनसाथी हुनुभयो । एङ्गेल्सका सोचाइमात्रै नयाँ थिएन, व्यावहारिक जीवन पनि पुरानो समाजभन्दा भिन्नै थियो ।

मेरी समझदार युवती हुनुहुन्थ्यो । एङ्गेल्स र मेरीबीच गहिरो प्रेम थियो । मेरी आयरल्यान्डको स्वतन्त्रताको पक्षमा हुनुहुन्थ्यो र बेलायती साम्राज्यवादविरोधी भावना राख्नुहुन्थ्यो । मेरी एक देशभक्त हुनुुहुन्थ्यो ।
सन् १८५७ मा एङ्गेल्स बिरामी हुनुभयो । यो कुरो थाहा पाएर माक्र्सले लेख्नुभयो– “तिमीले निश्चिन्त रहनुपर्छ । म र मेरी जहान जेनी तिम्रो स्वास्थ्यको अवस्था सुनेर दुःखी छौँ । साँच्चै हामी आफ्नो अवस्थालाई सा¥है कम ध्यान दिन्छौँ ।” माक्र्सको सल्लाहअनुुसार एङ्गेल्स समुद्र किनारमा आराम गर्न जानुभयो । आफू बिरामी छँदाछँदै एङ्गेल्सले माक्र्सको निम्ति ‘न्यूयोर्क ट्रिब्युन’ मा लेख पठाउन छोड्नुभएन ।
माक्र्सको दुःख बिसाउने चौतारी
एङ्गेल्स र माक्र्स समान विचार राख्ने घनिष्ठ मित्र मात्रै हुनुहुन्थेन, एङ्गेल्स माक्र्सको दुःख बिसाउने चौतारी या मुख्य सहारा हुनुहुन्थ्यो । माक्र्सको एक छोरो एड्गारकोे निधन हुँदा उहाँको परिवार सा¥है दुःखी भयो । एङ्गेल्सलाई माक्र्सले लेख्नुभयो– “केटोको निधनपछि घर सुनसान देखिन्छ । ऊ घरको जीवन थियो । क्षण–क्षणमा उसको अभावले हामीलाई यतिको बिझाइरहेको छ कि त्यसको बयान गर्न सम्भव छैन । मैले अनेक प्रकारको दुर्भाग्य सहेको छु तर यसपालि मैले जानँे कि वास्तविक दुःख के हो ¤ म भयङ्कर आशङ्का र कष्टहरूबाट गुज्रिरहेको छु । तिम्रो मित्रताले धेरै शक्ति प्रदान गरेको छ र यही आशाले पनि संसारमा हामी केही काम गर्न सकिरहेका छौँ ।” यसबाट थाहा हुन्छ एङ्गेल्सप्रति माक्र्सको कस्तो आस्था र विश्वास थियो ।
सन् १८५७ मा अमेरिकामा आर्थिक सङ्कट भयो । ‘न्युयोर्क ट्रिब्युन’ मा लेख्ने माक्र्सलाई पनि असर प¥यो । माक्र्सले त्यस पत्रिकाबाट पाउने पारिश्रमिक आधा भयो । त्यसै बेला एङ्गेल्सका बुबाले उहाँलाई एउटा घोडा दिनुभएको थियो । तर, माक्र्सको आर्थिक सङ्कट देखेर उहाँले लेख्नुभयो– “जब तिमी र तिम्रो परिवार लन्डनमा यस्तो आपतमा परेका छौ भने म कसरी घोडा राखूँ ?¤ यसलाई म सा¥है नराम्रो सम्झनेछु ।” एङ्गेल्स यस प्रकार माक्र्सको सहायतामा लागिरहनुभयो ।
सीमा विवादको सम्बन्धमा
सन् १८५९ तिर युरोपेली देशहरूबीच विवाद हुन थाल्यो । ‘पो र राइन’ नदीको प्रश्न जर्मनी, अस्ट्रिया, इटाली र फ्रान्सको सीमा र सुरक्षासँग सम्बन्धित थियो । यसकारण, एङ्गेल्सले ‘पो र राइन’ नामको एक पुस्तिका प्रकाशित गर्नुभयो । माक्र्सले त्यो पुस्तिका पढेर प्रतिक्रियामा ‘असाधारण तथा ठीक पुस्तिका, सा¥है सफल’ भनेर लेख्नुभयो । लासालले एङ्गेल्सको विचारलाई समर्थन नगरेका मात्रै होइनन् कि त्यसको खण्डनको निम्ति ‘इटालियन लडाइँ र प्रसिया’ शीर्षकको अर्को पुस्तक नै निकाले । तर, पछि एङ्गेल्सकै पक्ष लिएर माक्र्सले दुवैलाई मिलाउनुभयो । फर्डिनान्ड लासाल जर्मनीका एक जना नाम चलेका समाजवादी र ‘राष्ट्रिय जर्मन मजदुर सङ्घ’का संस्थापक थिए ।
इटालियाली युद्धपछि एङ्गेल्सले सवाई नाइस र राइन नामको अर्को पुस्तिका प्रकाशित गर्नुभयो ।
एङ्गेल्सलाई पितृशोक
एङ्गेल्सको बुबा उदार हुनुहुन्नथ्यो । बुबासँग एङ्गेल्सको सैद्धान्तिक र राजनैतिक दृष्टिमा कुनै समानता थिएन । सन् १८४८ मा ‘नयाँ राइन समाचारपत्र’ निकाल्ने सिलसिलामा एङ्गेल्सले आफ्नो बुबाबारे माक्र्सलाई लेख्नुभएको पत्रबाट यो कुरा स्पष्ट हुन्छ । उहाँले लेख्नुभएको थियो “… मेरो बुबाबाट केही आशा गर्न सकिन्न । उहाँ ‘नयाँराइन समाचारपत्र’ मानिसलाई भड्काउनको लागि ठूलो हतियार हुने मान्यता राख्नुहुन्छ । उहाँले हामीलाई मद्दत गर्न एक हजार डलर दिनुको सट्टा हामीलाई सिध्याउन एक हजार गोली दिने सोच्नुहुन्छ ।”
सन् १८६० को मार्चतिर एङ्गेल्सका बुबाको निधन भयो । उहाँको बुबाको मृत्युपछि एङ्गेल्स कारखानाको हिस्सेदार हुनुभयो । बाबुको मृत्युले एङ्गेल्सलाई आर्थिक फाइदा भएपनि उहाँमाथि घरको बोझ थपिन गयो । तर, उहाँ अब माक्र्सलाई १० पाउन्डको ठाउँमा १०० पाउन्ड पठाउनसक्ने हुनुभयो ।
बुबाको मृत्युको एक महिनापछि नै एङ्गेल्सले आफ्नो हिस्सेदारसँग हिस्सा छुटाउन खोज्नुभयो । तर, उहाँले अनेक किसिमले झन्झट खेप्नुप¥यो । उहाँ यो व्यवसाय तुरुन्तै छोड्न चाहनुहुन्थ्यो । उहाँ त्यस कामले समय खेर गइरहेको र आफै भ्रष्ट भइरहनुभएको सम्झनुहुन्थ्यो । उहाँले यसो पनि लेख्नुभएको थियो– “जबसम्म म यस कारखानामा रहनेछु, त्यसबेलासम्म म कुनै कामको लायक हुनेछैन । खास गरेर जहिलेदेखि म कारखानाको हिस्सेदार बनेँ, त्यस बेलादेखि झनै खराब भयो किनभने जिम्मेवारी झन् बढ्यो । यदि बढी आम्दानीको कुरो नभएको भए म फेरि कर्मचारी नै हुन मन पराउँथेँ ।”

एङ्गेल्स आफ्नो व्यवसाय छोड्न चाहनुहुन्थ्यो तर त्यसो गर्दा माक्र्सलाई आर्थिक सहयोग गर्न समस्या हुन्थ्यो । यो कुरा उहाँले बुझ्नुभएको थियो । त्यसैले माक्र्सले लेख्नुभयो– “तिमीविना म आफ्नो कृति (पुँजी) पूरा गर्न सक्दिनथेँ । म तिमीलाई विश्वास दिलाउन चाहन्छु कि मेरा दिमागमा सधैँ एक पहाडजस्तो बोझले थिचिरहेको हुन्छ । खास गरेर तिमीले मेरा लागि आफ्नो अद्भूत प्रतिभालाई खेर फाल्यौ र मैले तिमीलाई व्यापारमा डुबुल्की मार्न दिएँ ।”
मेरी बन्र्सको वियोग
सन् १८६३ को ३ जनवरीको दिन एङ्गेल्सकी जीवन सङ्गिनी मेरी बन्र्सको निधन भयो । एङ्गेल्सको निम्ति संसारै अन्धकारजस्तो भयो । उहाँ निकै आकूल – ब्याकूल हुनुभयो ।
त्यस खबरबाट माक्र्स परिवार पनि सा¥है दुःखी भयो । माक्र्सकी श्रीमती जेनीलाई पनि गहिरो चोट प¥यो । तर, त्यस बेला माक्र्स अवर्णनीय आर्थिक दुर्दशामा हुनुहुन्थ्यो । एङ्गेल्सलाई माक्र्सले समवेदना पठाउनुभयो ।
माक्र्स मेरीको निधनले दुःखी हुनुहुन्थ्यो, जेनी पनि दिनभर रोइरहनुभएको थियो । घरमा अन्नको एक गेडा थिएन साथै माक्र्सकी छोरी जेनी बिरामी थिइन् । उधारो दिने एकजना साहु ऋण असुली गर्न माक्र्सको डेरामा भएका माल–सामान लिलाम गराउन लागिरहेको थियो ।
माक्र्सको समवेदना सन्देशको जवाफमा एङ्गेल्सले लेख्नुभयो– “कुनै मानिस केही वर्षसम्म एउटी आइमाईसँग बसेपछि उनको मृत्युमा दुःख अनुभव नगरी बस्न सकिँदैन । मेरीको निधनसँगै मेरो जवानी पनि चिहानमा गाडिएको मैले अनुभव गरेँ । तिम्रो चिठी मेरो मगजमा एक हप्तासम्म घुमिरहेको थियो । मैले त्यसलाई बिर्सनै सकिनँ । जे भए पनि तिम्रो आखिरी चिठीले सबै ठीक ग¥यो र म भित्रैदेखि सा¥है खुशी छु ।”
खोटरहित व्यक्ति
फर्डिनान्ड लासालले इटालीको लडाइँको बेलामा एङ्गेल्सको ‘पो र राइन’ भन्ने पुस्तिकाको खण्डन गरेका थिए । यसले लासाल र एङ्गेल्सबीच मनमुटाव भएको थियो, यसलाई माक्र्सले मिलाइदिनुभएको थियो । ३ सेप्टेम्बर १८६४ मा लासालको मृत्युको खबर एङ्गेल्सले पाउनुभयो । उहाँले त्यसको भोलिपल्ट फाइग्रिथ नामका साथीलाई एक पत्र लेख्नुभयो । एङ्गेल्स व्यक्तिगत मनमुटाव वा बुझाइलाई पनि सैद्धान्तिक र राजनैतिक दृष्टिले हेर्नुहुन्थ्यो भन्ने कुरा त्यस पत्रबाट थाहा भयो ।
लासालको विषयमा उहाँले पत्रमा लेख्नुभएको थियो– “यस खबरले मलाई कतिको दिक्क बनायो होला, तिमी अन्दाज गर्न सक्छौ । व्यक्तिगतरूपले लासाल जो सुकै होऊन्, साहित्यिक र वैज्ञानिक दृष्टिकोणले जेसुकै होऊन्, तर राजनीतिकरूपले उनी निश्चय पनि जर्मनीका सा¥है ठूला मानिसमध्ये एक थिए । हाम्रो लागि उनी एक मित्र थिए र उनी पछि हाम्रो शत्रु हुने पनि लगभग निश्चय नै थियो । तर, जे होस्, वामपन्थी दलका मानिसहरू जर्मनीले गुमाउँदै छ, यो कुराले हामीलाई सा¥है दुःखी बनाएको छ । कारखाना मालिकहरू र ‘प्रगतिशील सुङ्गुर’हरू कस्तो आनन्द मनाउँदै छन् होला! आखिर जर्मनीमा लासाल नै एक जना यस्ता व्यक्ति थिए जोसँग तिनीहरू डराउँथे ।”
जीवनको अन्ततिर लासालले अवसरवादी राजनीति अङ्गालेका थिए । माक्र्स र एङ्गेल्सले उनको कडा आलोचना पनि गर्नुभएको थियो । लासाल पहिले एक निम्न– पुँजीवादी पत्रकार र वकिल थिए । तर, एङ्गेल्सले उनको मृत्युमा अलिकति पनि दुविधा राखेर आफ्नो मत प्रकट गर्नुभएन । कुनै पनि व्यक्तिको उहाँ ठीक–ठीक मूल्याङ्कन गर्नुहुन्थ्यो ।
एङ्गेल्सकी नयाँ जीवन सङ्गिनी
मेरी बन्र्स र एङ्गेल्सका कुनै सन्तान थिएन । एङ्गेल्स भर्खर ४४ वर्षको हुनुहुन्थ्यो । उहाँले मेरी बन्र्सकी बहिनी लिजीसँग अर्काे विवाह गर्नुभयो । लिजीको पूरा नाउँ एलिजावेथ बन्र्स थियो । उहाँ सा¥है समझदार र आफ्नो श्रीमान्को आदर्शको सम्मान गर्ने महिला हुनुहुन्थ्यो ।
लिजी पनि आयरल्यान्डको स्वतन्त्रताको पक्षपाती हुनुहुन्थ्यो । आयरल्यान्डका जनताको स्वतन्त्रता सङ्ग्रामलाई उहाँ हृदयदेखि समर्थन गर्नुहुन्थ्यो । आयरल्यान्डको इतिहास नै स्वतन्त्रताको निम्ति रगतमा लतपतिएको इतिहास हो । आयरल्यान्ड बेलायतसँगैको देश हो । भूगोलको हिसाबमा नेपालभन्दा आधाजति मात्रै रहेको आयरल्यान्डको जनसङ्ख्या ३०–३५ वर्ष अगाडि लगभग ३० लाख मात्र थियो, तर आइरिस जनताको देशभक्ति साँच्चै अनुकरणीय छ । आइरिस जनता नेपालीहरू जस्तै वीर छन् । उनीहरू बेलायती साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै छन् ।
Leave a Reply