विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
काठमाडौँ, ३० मङ्सिर । सत्तारुढ दलभित्रको झगडाले सरकारको काम प्रभावित बनेको छ । मङ्गलबार दिनभरको घटनाक्रमले नेकपाभित्र प्रस्टै विभक्त दुई गुटबीचको झगडा उत्कर्षमा पुगेको अनुमान गर्न सकिने पर्यवेक्षकहरूले बताएका छन् ।
मङ्गलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठकमा परिषद्का सदस्य सभामुख अग्नि सापकोटा उपस्थित भएनन् । सभामुखको अनुपस्थितिको कारण नियमानुसार गणपुरक सङ्ख्या नपुगेपछि बैठक बस्न सकेन । सभामुख सापकोटा नेकपाको ओलीइतर समूहका हुन् ।
बिहान परिषद्को बैठक बस्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरिन् । उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेकी हुन् । यसअघि पनि राष्ट्रपति दल विभाजनसम्बन्धी अध्यादेश यसरी नै निकै छोटो समयमा जारी गरेकी थिइन् ।
जारी अध्यादेशले संवैधानिक परिषद्को बैठकमा परिषद् अध्यक्ष र कम्तीमा चार जना सदस्य उपस्थिति हुनुपर्ने प्रावधानमा संशोधन गरी तीन जना सदस्यमात्र उपस्थिति भए पनि बैठक बस्न सकिने बनाएको छ । अध्यादेशकै आधारमा मङ्गलबार साँझ सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्ष दल नेका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषद्को बैठक बसेको थियो ।
सत्तारुढ दलकै अर्को खेमाका नेताहरूले भने राष्ट्रपतिबाट जारी अध्यादेशको विरोध गरेका छन् । पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले अध्यादेशको विरोध गरेका हुन् । यसअघि दल विभाजनसम्बन्धी अध्यादेशकै झल्को दिने गरी यसपटक सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको छ । मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्न भएको सिफारिसको मसी पनि सुक्न नपाई राष्ट्रपति कार्यालयबाट जारी भएको हो ।
संवैधानिक परिषद्सम्बन्धी मङ्गलबार जारी अध्यादेशले सत्तारुढ दलभित्रको झगडा अझ उत्कर्षमा पुग्ने निश्चितजस्तो देखिएको छ । संवैधानिक परिषद्को बैठकमा सभामुख सहभागी नहुनु, दुई पटकसम्म परिषद्को बैठक गणपुरक सङ्ख्या नपुगेकै आधार बस्न नसक्नु र त्यही झोँकमा प्रधानमन्त्रीले अध्यादेशमार्फत ऐन नै परिवर्तन गरी बैठक बस्नुले सत्तारुढ दलभित्रको झगडा छताछुल्ल भएको छ ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका नेताहरूबीचको लडाइँको कारण नेपाली जनताका दैनिक समस्या ओझेलमा परेका छन् । कोभिड–१९ महामारी, महँगी, बेरोजगारी, भ्रष्टाचारजस्ता गम्भीर बन्दै गएका समस्या नेकपा नेताहरूबीचको अर्थहीन झगडाको कारण ज्यूँका त्यूँ रहेको छ । शक्ति सङ्घर्षको यस्तो विकृतिको कारण जनताले नेकपाप्रति वितृष्णा पोख्न थालेका छन् । नेकपाका दुवै खेमा आज एकअर्कालाई पार्टी फोडुवाको दोषारोपण गरेर आफ्नो पल्ला भारी गर्न उद्यत्त देखिएका छन् ।
Leave a Reply