भर्खरै :

उच्च प्रविधिमा चीनको छलाङ र अमेरिकाको जलन !

हालैमात्र विश्व व्यापार सङ्गठनको मर्मविपरीत संयुक्त राज्य अमेरिकाले चिनियाँ सेनाको प्रयोजनको लागि हुनसक्ने भनेर चीनमाथि विभिन्न उच्च प्रविधियुक्त माइक्रो चिप्सजस्ता वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको छ । यसको पछाडि चीनको आर्थिक विकासको तीव्रतालाई जसरी भए पनि रोक्ने अमेरिकाको मनसाय रहेको देखिन्छ । एकातिर चीनसँग व्यापार घाटा भइरहेको अमेरिकाको रोइलो छ भने अर्कोतिर अनेक बहानामा चीनमाथि विभिन्न वस्तुको निर्यातमा प्रतिबन्धजस्ता निर्मम उपाय अपनाएर अमेरिकाले आफ्नै व्यापार घाटालाई बढाइरहेको छ ।
विश्व व्यापार सङ्गठनको नीतिविपरीत रहेको अमेरिकी अवैध व्यापार नीतिको सामना गर्न अघिल्लो हप्तामात्र चीन सरकारले उच्च प्रविधिमाथिको अनुसन्धानमा अझ बढी लगानी गर्ने छुट्टै रणनीतिको घोषणा गरेको छ । कम्प्युटर चिप्स र अन्य उच्च प्रविधिका पार्टपुर्जाहरूको पहुँचमा बाधा पु¥याउँदा बढेको अमेरिकासँगको तनावबीच चिनियाँ सरकारले देशको आर्थिक स्वतन्त्रता वृद्धिको लागि द्रुत प्रविधिको विकासको आह्वान गरेको छ । औद्योगिक आपूर्ति श्रृङ्खला माथिको नियन्त्रणलाई सुधार गर्न र आत्मनिर्भर आर्थिक वृद्धिलाई दिगो बनाउन उपभोक्ताको माग बढाउन चीनले पहल गरेको देखिन्छ । राष्ट्रपति सी जिनपिङले समृद्धि र विश्वव्यापी प्रभावको माध्यमको रूपमा इलेक्ट्रिक कार, दूरसञ्चार, बायोटेक र अन्य क्षेत्रमा चिनियाँ प्रतिस्पर्धात्मक क्षमता विकास गर्न ठूलो जोड दिएका छन् । रणनीतिक कमजोरीको रूपमा देखिएको विदेशी आपूर्तिकर्तामा रहेको निर्भरतालाई न्यूनीकरण गर्न चिनियाँ सरकार भरमग्दुर प्रयास गरिरहेको छ ।
चिनियाँ सरकारले उच्च प्रविधिको विकासमा विगत दुई दशकमा उल्लेखनीय सफलता हासिल गरेको छ । सन् २०५० सम्ममा चीनले विज्ञान र नवीनतामा ‘विश्व गुरु’ बन्ने लक्ष्य राखेको छ । सन् २०१५ मा ‘मेड इन चाइना २०२५’ घोषणा गरियो, रोबोटिक्स, एयरोस्पेस उपकरण, चिकित्सा उपकरणजस्ता धेरै उच्च प्रविधियुक्त उद्योगहरूमा ‘विश्व नेता’ हुने चीनको रणनीतिलाई रेखाङ्कित गर्दछ ।
विगत २० वर्षमा चीनले आफ्नो उच्च प्रभावशाली वैज्ञानिक प्रयासहरूमा तीन गुणाले बढाएको छ । परिणामस्वरूप चीन अमेरिकापछि दोस्रो ठूलो वैज्ञानिक शक्ति केन्द्र भएको छ । २०१७ मा चीनको अनुसन्धानको खर्च करिब २८० अर्ब अमेरिकी डलर थियो जुन देशको कुल गार्हस्थ उत्पादनकोे २.१२ प्रतिशत रहेको छ । यो विश्वको अनुसन्धान र विकासमा भइरहेको कुल खर्चको २० प्रतिशत हुन आउँछ ।
उल्लेखनीय कुरा के छ भने कोरोना भाइरस महामारीपछि संसारको प्रमुख आर्थिक शक्ति राष्ट्रमध्ये आर्थिक वृद्धि भएको एकमात्र राष्ट्र चीन हो । यद्यपि आर्थिक पुनःउत्थानले अझै ठोस गति लिन सकेको भने छैन । चिनियाँ सरकारले अनुसन्धान र विकास केन्द्रहरू स्थापना गर्न विश्वविद्यालय र अन्य संस्थाहरूको ‘राष्ट्रिय टोली’ को लागि १० वर्षको ‘कार्य योजना’ तयार गरेको छ जसअनुसार कम्पनीहरूलाई ‘नवप्रवर्तन समूह’ गठन गर्न प्रोत्साहित गरिनेछ । चिनियाँ सरकारले पञ्चवर्षीय विकास खाकाको पनि घोषणा गरेको छ । यसले चीनलाई आत्मनिर्भर ‘उच्च प्रविधि शक्ति’ बनाउनको लागि सहयोग पु¥याउने छ ।
उच्च प्रविधि चिनियाँ सरकारको दीर्घकालीन अभियानको आधारशिला हो जसले व्यापार र लगानीको सट्टा घरेलु उपभोग खर्चबाट सञ्चालन गर्न र ‘मध्यम समृद्ध समाज’ निर्माण गर्न प्रोत्साहित गर्दछ । चिनियाँ कारखानाहरूमा विश्वको अधिकांश स्मार्ट फोनहरू, कम्प्युटर र इलेक्ट्रोनिक्स वस्तु निर्माण हुन्छन् तर त्यसको लागि अमेरिकी, युरोपेली र जापानी प्रोसेसर चिप्स र अन्य पार्टपुर्जाहरू चाहिन्छ । ट्रम्प प्रशासनले चीनको पहिलो विश्व प्रविधि ब्रान्ड हुवावेको प्रविधि कम्पनीको लागि चाहिने धेरैजसो अमेरिकी चिप्स र टेलिकम उपकरणको पहुँच बन्द गरेको छ । अमेरिकाले हुवावेविरुद्ध संसारभर आफ्ना नजिकका मित्र राष्ट्रहरू क्यानाडा र बेलायतजस्तालाई भड्काउने अभियान नै चलाएको छ ।
अमेरिकाले चीनको सबैभन्दा ठूलो चिप्स निर्माता सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ्ग इन्टरनेशनल कर्पोरेसन र एयरोस्पेस, रकेट्री र आणविक ऊर्जा उपकरण आपूर्तिकर्ता लगायतका कम्पनीहरूमा पनि निर्यात रोक्न तथा अन्य प्रतिबन्ध लगाएको छ । विशेषगरी अमेरिकी प्रोसेसर चिप्स स्मार्टफोन, इलेक्ट्रिक कार र अन्य प्रविधि माथिको निर्भरताबारे चिनियाँ सरकार चिन्तित देखिन्छ । सेमीकण्डक्टर आयात मूल्य चीनको कच्चा तेलको मूल्यभन्दा बढी छ । चीनले ३ खर्ब डलरभन्दा बढीको सेमिकण्डक्टर आयात गर्छ भने २ खर्ब ४२ अर्ब डलरको मात्र तेल आयात गर्छ ।
चीनको विशाल निर्माण उद्योगहरूको माध्यमबाट औद्योगिक आपूर्ति श्रृङ्खलाको ‘स्वतन्त्र नियन्त्रणको क्षमता’ लाई बढाउनको लागि पनि जोड दिइएको छ । चीनको आफ्नै आधारभूत सामग्रीहरू आपूर्ति गर्न पूर्वाधार बनाउने पहल गर्न आह्वान गरेको छ । सरकारले आन्तरिक माग बढाउन पनि ‘नयाँ विकास ढाँचाको निर्माणका लागि महत्वपूर्ण सहयोग’ को रूपमा आह्वान गरेको छ ।
सन् २०१६ देखि विश्वव्यापीरूपमा सञ्चालनमा आएको सबैभन्दा धेरै औद्योगिक रोबोट चीनको रहेको छ । सन् २०१६ मा अपनाइएको रोबोटिक्स उद्योग विकास योजनाको उद्देश्य औद्योगिक रोबोटिक्स क्षेत्रको विकासलाई तीव्रता दिनु हो । अहिले पनि चीनले १ लाख ५० हजार औद्योगिक रोबोट एकाइहरू उत्पादन गरेर प्रयोगमा ल्याइरहेको छ । यसैगरी सन् २०३० सम्ममा १ लाख ११ हजार मेगावाट आणविक ऊर्जा उत्पादन गरेर चीन विश्वको सबैभन्दा ठूलो परमाणु शक्ति बन्ने छ । अनुसन्धान र विकास रणनीतिको आधारमा आणविक ऊर्जा, नयाँ ऊर्जा सवारी साधन, हावा र सौर्य ऊर्जा, आर्टिफिसियल इन्टलिजेन्स, रोबोट र ड्रोनजस्ता उच्च प्रविधि क्षेत्रमा चीन द्रूत गतिमा अमेरिकाको प्रतिस्पर्धी भएको छ ।
चीनको यी सफलतालाई ट्रम्पले फुटेको आँखाले पनि हेर्न सकिरहेको छैन । यही कारण पर्सिएको बोका भएर पनि (२०२१ जनवरी २० बाट ट्रमको कार्यकाल सकिँदैछ) ट्रम्प प्रशासनले जसरी भए पनि जुनसुकै बहानामा पनि चिनियाँ अर्थतन्त्रलाई धरापमा पार्ने प्रयास जारी नै राखेको छ । ट्रम्प प्रशासनले सुरक्षाको खतरा देखाएर केही चिनियाँ कम्पनीहरूको अमेरिकी टेक्नोलोजी र बजारमा पहुँच बन्द गरेको छ । अमेरिकी सरकारको यो कुटिल कदमको सामना गर्न ती क्षेत्रको विकासमा चीनले विशेष जोड दिएको छ । जसअनुसार चीनले ‘राष्ट्रिय रणनीतिक विज्ञान र टेक्नोलोजी शक्ति सुदृढ’ अभियानमा उच्च प्राथमिकता दिएको छ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *