भर्खरै :

सहकारी र नियमित बचत

नियमित बचत भन्नाले निरन्तररूपमा सधैं बचत गर्ने भन्ने बुझिन्छ । संसारभरका बचत तथा ऋण सहकारी संस्थाहरूमा आफ्ना सदस्यहरूमार्फत नियमित बचत गर्ने प्रचलन छ । विश्वमा बचत तथा ऋण सहकारी संस्था अहिलेभन्दा एकसय एकहत्तर वर्ष पहिले जर्मनीका एफ. डब्लु. राइफेसनले सन् १८४९ मा क्रेडिट युनियनको रूपमा स्थापना गरी सञ्चालनमा ल्याएको भए तापनि नेपालमा चाहीँ वि.सं.२०१३ सालमा स्थापित बखान ऋण समितिलाई पहिलो सहकारी संस्थाको रूपमा लिने गरिएको छ ।
नेपालमा सहकारी ऐन, २०४८ लागू भएपश्चात् सहकारी सङ्घ संस्थाहरूले स्वायत्तताको अवसर प्राप्त गरेपछि मात्र बचत तथा ऋण सहकारी संस्थाहरू धमाधम खोल्न थालिएका हुन् ।

सहकारी संस्थाहरूमध्ये बचत तथा ऋणको कारोवार गर्ने एकल उद्देश्य भएका संस्थाको मुख्य काम भनेको सदस्यहरूसँग नियमित बचत सङ्कलन गर्नु र सदस्यहरूलाई ऋण लगानी गर्नु हो । अब यहाँ प्रश्न आउँछ कि, बचत सङ्कलन गर्न पाउने सहकारी संस्थाहरूले नियमित बचतलाई प्राथमिकता दिएकोे छ त ? बचतको नाउँमा रकम सङ्कलन त गरेको होला, तर नियमित बचत अर्थात निरन्तर बचतलाई प्राथमिकता दिएको छ कि छैन ? मूलप्रश्न यहाँनिर छ ।

त्यसभन्दा पहिले उपभोक्ता सहकारी तथा बह¬उद्देश्यीय सहकारी संस्थाहरू थिए । त्यस ऐनमा सहकारी संस्थामार्फत आफ्ना सदस्यहरूसँग बचत सङ्कलन गर्न पाउने र सदस्यहरूलाई ऋण दिन सक्ने व्यवस्था गरेपछि बचत तथा ऋण सहकारी संस्था बढेको हो । अहिले सहकारी ऐन, २०७४ मा पनि सोही व्यवस्था कायम नै छ । देशभरका लगभग पैत्तीस हजार सहकारी संस्थाहरूमध्ये आधाजसो बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरू हुन् । दुग्ध सहकारीले दूधको, कृषि सहकारीले कृषिको र उपभोक्ता सहकारीले उपभोक्तासँग सामान खरिद बिक्री गर्ने कारोवार गरेजस्तै बचत तथा ऋण सहकारी संस्थाहरूले सदस्यहरूसँग बचत तथा ऋणकोे कारोवार गर्छन् । बहुउद्देश्यीय सहकारी संस्थाहरूले जे पनि कारोवार गर्न पाउँछन् भन्ने मान्यता रहे तापनि यथार्थमा विनियममा उल्लेखित कार्य मात्र गर्न पाउँछन् ।
सहकारी संस्थाहरूमध्ये बचत तथा ऋणको कारोवार गर्ने एकल उद्देश्य भएका संस्थाको मुख्य काम भनेको सदस्यहरूसँग नियमित बचत सङ्कलन गर्नु र सदस्यहरूलाई ऋण लगानी गर्नु हो । अब यहाँ प्रश्न आउँछ कि, बचत सङ्कलन गर्न पाउने सहकारी संस्थाहरूले नियमित बचतलाई प्राथमिकता दिएकोे छ त ? बचतको नाउँमा रकम सङ्कलन त गरेको होला, तर नियमित बचत अर्थात निरन्तर बचतलाई प्राथमिकता दिएको छ कि छैन ? मूलप्रश्न यहाँनिर छ ।
नियमित बचतको अर्थ थोरै होस् तर निरन्तर होस्, धेरै होइन, सधँै होस् भने हो । समुदायमा आधारित सहकारी संस्थाहरूले नियमित बचतलाई मासिक बचतको रूपमा पनि लिने गरेको पाइन्छ । एसिया स्तरको सहकारी सङ्गठन ‘एशियाली ऋण महासङ्घ’ बाट ब्राण्ड प्राप्त सहकारी संस्था र नेपालको राष्ट्रिय उत्कृष्टताको पुरस्कार हासिल गर्न सफल सहकारी संस्थाहरूले सदस्यहरूबाट मासिकरूपमा नियमित बचत गर्नुपर्ने प्रावधान राखेको पाइन्छ ।
बचतलाई नियमित गराउनका लागि तोकिएको समयमा बचत गरिएन भने जरिवाना पनि लगाउने प्रचलन छ । ‘बचत त्यागबाट प्राप्त हुन्छ’ भन्ने मान्यताअनुरूप दिनको एक कप चिया कटौती गरेर पनि महिनाको कम्तीमा दुई, चारसय रूपैयाँ बचत गर्न सकिने कुरा आफ्ना सदस्यहरूलाई सिकाउने गरिन्छ । गरीबले पनि सहकारीमा सदस्य भई नियमित बचत गर्न सक्छन् । त्यस्ता नमुनायोग्य थुप्रै संस्थाहरूले स्थापनाकालदेखि नै नियमित बचत मासिकरूपमा बचत गराउँदै आएका छन् । हजारौँ सङ्ख्यामा सदस्य भएका सहकारी संस्थाहरूले मासिक बचत न्यूनतम एकसय रूपैयाँलाई नै निरन्तरता दिँदै करोडौँ पैसा बचत जम्मा गराउन सफल भएका छन् । त्यस्ता संस्थाहरूले नियमित बचतलाई मेरुदण्डको रूपमा लिँदै आएका छन् । धेरै महिनासम्म नियमित बचतलाई निरन्तरता दिइएन भने सदस्यता खारेज गर्ने नियमसमेत बनाइएको हुन्छ । समुदायमा आधारित सहकारी संस्थाले ‘थोरै तर सधैँ’ भन्ने नारा अघि सारेका हुन्छन् । सदस्यहरूका चाहनाअनुसारको अरू पनि थुप्रै बचतका सेवाहरू प्रदान गरेका हुन्छन् । तर, ती सबै ऐच्छिक हुन्छन् । वास्तवमा नियमित बचतबाहेकका अरू प्रकारका बचत सेवालाई निक्षेप सेवा भन्न सकिन्छ ।
बचत र निक्षेपको परिभाषा फरक छ । ‘बचत’ भनेको आफ्नो आम्दानीको निश्चित रकम भविष्यमा आइपर्ने आपत्विपतमा काम आउने गरी जोहो गर्ने वा सञ्चित गर्नेलाई जनाउँछ भने ‘निक्षेप’ भनेको आफूलाई चाहिएको बेला तुरुन्तै पाउने गरी अरुलाई नासोको रूपमा जिम्मा दिएको रकमलाई जनाउँछ । त्यसैले ‘बचत’ र ‘निक्षेप’ को परिभाषा र उद्देश्य फरक छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ । बैङ्क तथा वित्तीय संस्था र सहकारीमा भिन्नता भनेकै त्यही हो । बैङ्क तथा वित्तीय संस्थाले निक्षेप सङ्कलनमा जोड दिन्छ भने सहकारीले नियमित बचतमा ।
अहिलेको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाले सहकारीलाई प्रतिस्पर्धी ठानेको छ । वास्तवमा बैङ्क र सहकारीको कामको प्रकृति र उद्देश्य भिन्नाभिन्नै छ । सहकारी संस्थाले सानोतिनो बचतलाई जोड दिनुपर्नेमा केही गलत प्रवृत्तिका सञ्चालकहरूले निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाले जस्तै निक्षेप सङ्कलनलाई मात्र प्राथमिकतामा राखी काम गर्नाले सर्वसाधारणमा भ्रम सिर्जना भएको छ । बचत तथा ऋण सहकारीको मूल मर्म नियमित बचतलाई बेवास्ता गर्दै सर्वसाधारणलाई ब्याजको प्रलोभन देखाई जथाभावी निक्षेप सङ्कलन गर्ने र त्यस्ता सञ्चालकहरूले वित्तीय अनुशासनलाई बेवास्ता गरी सहकारीको पैसा आफ्नो निजी व्यवसायमा मनपरी लगानी गर्नाले त्यस्ता सहकारीहरू धराशायी भएका उदाहरणहरू छन् । कतिपय अझै पनि धराशायी हुँदैछन् । त्यस्ताले सर्वसाधारणको निक्षेप जोखिममा पारेको छ । यो क्रम अझै पनि रोकिएको छैन । गाउँ ठाउँ, टोल बस्तीमा विभिन्न सहकारी संस्थाको नाउँमा निजी क्षेत्रको वित्तीय संस्थाले जस्तै जथाभावी निक्षेप सङ्कलन गर्ने काम अहिले पनि भइरहेको छ र आफूखुसी गर्दैछन् । नियमनकारी निकायले खासै ध्यान पु¥याउन सकेको छैन ।
सर्वसाधारण भ्रममा छन् । सहकारी संस्था भनेका कस्ता हुन् ? बैङ्क तथा वित्तीय संस्था हुन् कि त्योभन्दा भिन्नहुन कि वा अन्य ? सहकारी भनेको ठगी खाने भाँडो पो हुन् कि भन्ने प्रश्न पनि उठेको छ । धराशायी भएका सहकारीहरूमा सरकारी उच्चपदस्थ व्यक्तिहरूदेखि नाम कहलिएका सञ्चारकर्मीसम्मका रकम जोखिममा परेका समाचारहरू पनि आएकै हुन्् । यसले सहकारी सचेतनामा कमी भएको महसुस गर्न सकिन्छ । अब नियमन गर्ने निकायको कमजोरीलाई मात्र दोष दिएर बस्नेबेला छैन ।
बचत तथा ऋण सहकारी अभियानकाबारे थप कुरा बुझ्न र बुझाउन जरुरी भएको छ । सहकारी संस्था भनेको बैङ्कमा जस्तै ग्राहक मात्र बनाउने होइन । साधारणसभामा भाग लिन पाउने अधिकारसम्पन्न सदस्य बनाइ त्यस्ता सदस्यबाट मात्र नियमित बचत सङ्कलन गर्नुपर्दछ । साथै सदस्यहरूलाई नै उनीहरूको मागबमोजिम उत्पादनमूलक काममा ऋण लगानी गरी उनीहरूको आर्थिक र सांस्कतिक स्तर उकास्नका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । सहकारी संस्थाले सेवापक्षलाई प्राथमिकता दिन्छ, समानताको व्यवहार अपनाउँदछ, पारस्परिक सहयोगमा जोड दिन्छ, सदस्यहरूको सामाजिक तथा आर्थिक विकासमा जोड दिन्छ र नैतिक व्यवसाय गर्छ । आफ्ना सदस्यहरूलाई आम्दानी भएको रकमवाट खर्च गरी बाँकी भएको रकममात्र बचत गर्ने परम्परागत धारणालाई परिवर्तन गरी आम्दानीमा पहिले अनिवार्य बचतको लागि रकम छुट्याई अनि मात्र खर्च भन्ने नारा अगाडि सारेको हुन्छ । विश्वका विकसित म¬लुकहरूमा पनि यसको असल अभ्यास भएको पाइन्छ । असल अभ्यास भएका देशहरूमा बचत तथा ऋण सहकारी संस्थाहरूमा नियमित बचतलाई अनिवार्य गरेको पाइन्छ । संस्थाको जग नै नियमित बचतलार्ई मानेको छ । सदस्यहरू र संस्थाबीचको सुमधुर सम्बन्ध पनि नियमित बचतबाट मात्र सम्भव छ ।
अब हामीले भन्नैपर्छ नियमित बचत नगराउने र नसिकाउने जुनसुकै सहकारी संस्थाको नामबाट आए तापनि त्यसलाई बचत तथा ऋण सहकारी संस्थाको रूपमा विश्वास गर्नुहुँदैन । अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तको दोस्रो र तेस्रो सिद्धान्त ‘सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण र सदस्यहरूबाट आर्थिक सहभागिता’ हो । यसको व्याख्या र सहकारी मूल्यमान्यताबारे सर्वसाधारणलाई प्रस्टसँग जानकारी नहुन सक्छ तर नियमित बचतका बारेमा सहजै बुझाउन सक्छौँ । जुन सहकारी संस्थाले रकम जम्मा गर्ने व्यक्तिहरूलाई सहकारी ऐनबमोजिम अधिकारसम्पन्न शेयर सदस्य बनाउँदैनन् र न्यूनतम नियमित बचत गराउँदैनन् त्यस्ता सहकारी वास्तविक सहकारी संस्था हुन सक्दैनन् । त्यसैले त्यस्ता निजी क्षेत्रले जस्तै निक्षेपमात्रै सङ्कलन गर्ने कार्यलाई निरुत्साहित पार्न बचत तथा ऋण सहकारी संस्थाहरूमा अनिवार्यरूपमा नियमित बचत गर्ने प्रावधान लागू गरौँ र गराऔँ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *