भर्खरै :

छिमेकमा सुरु भयो खोप अभियान नेपाल अझै अन्योलमा

काठमाडौँ, २५ पुस । छिमेकी मित्रराष्ट्र चीनले आफ्नै देशमा उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपको सार्वजनिक प्रयोग थालिसकेको छ । उहानमा कोभिड–१९ महामारी फैलिएको ठीक एक वर्षमै चीनले आफ्नै बलबुत्तामा खोप उत्पादन गरी गत डिसेम्बर महिनाबाट नै सार्वजनिक वितरण थालेको हो । कोभिड–१९ सङ्क्रमण शून्य भइसकेको चीनमा सिनोभाक अनुसन्धान तथा विकास कम्पनीले बनाएको खोपको सार्वजनिक वितरणसँगै कोभिड–१९ को सङ्क्रमण पूर्णतः निर्मूलन हुने अपेक्षा गरिएको छ । चीनले शतप्रतिशत निःशुल्क खोप वितरण गरिरहेको छ । चीनले उत्पादन गरेका पन्ध्र थरी खोप हाल क्लिनिकल परीक्षणमा पुगेको र तीमध्ये पाँच वटा खोप परीक्षणको तेस्रो चरणमा रहेको बताइएको छ ।
अर्को छिमेकी देश भारतले पनि कोभिड–१९ विरुद्धको खोपको सार्वजनिक वितरणको अन्तिम तयारी गरिरहेको छ । भारतका सञ्चारमाध्यमले जनाएअनुसार आगामी जनवरी १६ बाट सरकारले औपचारिकरूपमा कोरोना भाइरसको खोप लगाउने अभियान थालनी गर्ने भएको छ । भारत सरकारले पहिलो चरणमा एक करोड स्वास्थ्यकर्मी र दुई करोड अन्य अग्रपङ्क्तिका व्यक्तिहरूलाई खोप लगाइने बताएको छ । स्वास्थ्यमन्त्री हर्षबद्र्धनले यो समूहका मानिसहरूलाई निःशुल्क खोप लगाइने बताएका छन् । भारतले अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले तयार गरेका दुईथरी खोपलाई प्रयोगको लागि स्वीकृत गरिसकेको छ । खोप भारतकै पुणेमै उत्पादन गरिने बताइएको छ । भारतले ७० भन्दा बढी जिल्लामा खोप अभियानको नमुना अभ्याससमेत गरिसकेको छ ।
दुई छिमेकी देशहरूले आ–आफ्ना नागरिकलाई कोभिडविरुद्ध खोप लगाउने तयारी सघन बनाइरहेको बेला नेपाल सरकारले भने अझै पनि खोप अभियानबारे कुनै ठोस योजना नै अघि सार्न सकेको छैन । नेपाल सरकारले कोरोनाको खोपको लागि विश्व स्वास्थ्य सङ्गठनको अग्रसरतामा बनेको कोभ्याककै सुुविधामा मात्र भर पर्न खोजेको र अन्यत्र कुनै पनि उत्पादकसँगै औपचारिक कुराकानी नथालेको विभिन्न सञ्चारमाध्यमहरूले भनेका छन् । खोप खरिदको लागि सघन तयारी गर्नुपर्ने बेलामा नेपालको राजनीतिमा आएको समस्याले यतिबेला खोप खरिद प्रक्रिया वा अन्य आवश्यक तयारी ओझेलमा परेको छ । स्वास्थ्य मन्त्रालयबाट मन्त्रीसमेत हेरफेर भएको छ । मन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रीको जिम्मेवारी दिइएको छ । हाल हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री छन् । यसरी मन्त्रीको हेरफेरले समेत खोप ल्याउने र खोप अभियान सञ्चालन प्रक्रिया प्रभावित बनेको बताइएको छ ।
युरोपका विभिन्न देशमा कोभिडका नयाँ उत्परिवर्तित रूपले सताइरहेको बेला नेपाल सरकार भने आफ्ना नागरिकको सुरक्षाभन्दा पार्टी र सरकारको झगडामा बढी केन्द्रित भएको स्वास्थ्यकर्मीहरूको गुनासो छ । समयमै सबै नागरिकलाई खोप लगाउनु नै महामारीको सम्भावित नयाँ लहरबाट जोगिने उपाय भएकोले सबै देशले खोप खरिद र अभियानलाई जोड दिइरहेका छन् । तर, नेपाल भने अझै यो विषयमा अन्योल र अस्पष्ट रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कुन देश वा कम्पनीबाट खोप ल्याउन हो भन्ने विषयमा न सरकारले कुनै परीक्षण गर्न आवश्यक ठानेको छ न आवश्यक प्रक्रिया अघि बढाएको सुनिन्छ । हाल संसारमा प्रयोग हुन थालेका खोपहरूमध्ये नेपालको सन्दर्भमा कुन खोप उपयुक्त हो भन्ने विषयमा सरकारको तयारी ज्यादै धिमा बनेको छ ।
सरकारले देशमा खोप ल्याउने र व्यवस्थित खोप अभियानमार्फत सबै नागरिकलाई कोभिडबाट सुरक्षित राख्न अग्रसरता लिन जरुरी भएको सर्वसाधारणको मत छ । तर, सरकार र मन्त्रीहरू भने विपक्षीहरूलाई राजनीतिक गालीगलौजमै बढी आत्मसन्तोष मानिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *