भर्खरै :

गोविन्द भट्टको निबन्धकारिता

गोविन्द भट्ट बहुआयामिक व्यक्तित्वका धनी स्रष्टा हुनुहुन्छ । नेपाली साहित्यमा उहाँको महत्वपूर्ण योगदान छ । उहाँले प्राज्ञिक अध्ययनदेखि साहित्यका विभिन्न विधामा लगातार कलम चलाउनुभयो । विभिन्न पत्र–पत्रिकामा छरिएर रहेका उहाँका फुटकर रचनाहरू उहाँको निधनपश्चात् सड्ढलन गरी विभिन्न प्रकाशकहरूले पुस्तकाकारमा प्रकाशित गरेका छन् । गोविन्द भट्टकै परिवारजनको अगुवाइमा उहाँबारे विभिन्न व्यक्तित्वहरूबाट संस्मरण लेखाइ बाक्लै आकारमा स्मृति ग्रन्थ प्रकाशित छ । नेपाल प्रज्ञा प्रतिष्ठानले भट्टका कविता र निबन्धहरूको सड्ढलन गरी अलग–अलग दुई कृतिहरू प्रकाशन गरेको छ –‘गोविन्द भट्टका कविता’ र ‘गोविन्द भट्टका निबन्धहरू’ ।
यो लेखमा ‘गोविन्द भट्टका निबन्धहरू’ पुस्तकबारे छोटो चर्चा गरिनेछ । गोविन्द भट्टको निधन भएको आठ वर्षपछि प्रज्ञा प्रतिष्ठानले यो कृति प्रकाशन गरेको हो । भट्टले आफ्नो जीवनकालमा विभिन्न पत्रपत्रिकामा छपाउनुभएका २७ वटा निबन्धहरू यसमा सड्ढलित छन् । सङ्ग्रहमा लेखकले विद्यार्थीकालमा लेख्नुभएको निबन्ध ‘हाम्रो कर्तव्य’ (२००९) देखि जीवनको उत्तराद्र्धमा लेख्नुभएको निबन्ध ‘विगतका तीता सम्झना र नयाँ नेपालका कुरा’ (२०६६) सम्म सड्ढलित छन् । त्यसकारण यो निबन्ध सङ्ग्रहमा निबन्धकारको समग्र वैचारिक विकासको प्रतिच्छाया हेर्न सकिन्छ ।
निबन्ध सङ्ग्रहमा केही निजात्मक, केही वस्तुपरक, केही वैचारिक, केही संस्मरणात्मक तथा केही घटनापरक निबन्धहरू सङ्कलित छन् । तर, स्वभावतः सुरुका निबन्धको दाँजोमा पछिल्ला कालखण्डका निबन्धहरू अझ वैचारिकरूपमा स्पष्ट र लेखनमा परिपक्व देखिन्छ । ‘हाम्रो कर्तव्य’ निबन्ध भट्टले विद्यालयस्तरीय निबन्ध प्रतियोगिताको लागि लेख्नुभएको निबन्ध हो । यो आरम्भिक निबन्धमा उहाँले मानव समुदायप्रतिको कर्तव्यलाई जोड दिनुभएको छ । देश र समाजप्रति समर्पित हुनुलाई नै उहाँले ‘हाम्रो कर्तव्य’ भन्नुभएको छ । किशोरावस्थाका ती दिनहरूमा निबन्धकार वैचारिकरूपमा अस्पष्ट हुनुलाई अन्यथा मान्न सकिन्न । तथापि, उनको निबन्धकारिताको गुण भने त्यत्तिबेला नै अङ्कुराउँदै गरेको त्यो निबन्धबाट बोध गर्न सकिन्छ ।
‘ईश्वर र विज्ञान’ वैचारिक निबन्ध हो । त्यसमा निबन्धकारले ‘ईश्वर’ शब्दलाई कुनै आध्यात्मिक अर्थमा नभई मानिसको सीमितताभन्दा बाहिरको कुनै पनि प्रक्रियालाई ईश्वरको परिभाषा दिनुभएको छ । मानिसले आफूलाई जतिसुकै जानेको–बुझेको भनी घमण्ड गरे पनि मानिसको सीमितता र उसले नजानेका कुरा धेरै भएको उहाँको तर्क हो । विज्ञान र वैज्ञानिकहरूको दायित्व पनि मानिसका ती सीमितता पार गरेर नवीनताको खोजी हुनुपर्ने भट्टको विचार देखिन्छ । मानिसले आज पृथ्वीको केन्द्र नै आफू मात्र भएको र अन्य जीवजन्तुको कुनै महत्व नभएजस्तो गरी जथाभावी प्राकृतिक स्रोत–साधनको अन्यायपूर्ण दोहन गरिरहेका छन् । तर, मानिसको त्यस्तो व्यवहारले पृथ्वीलाई कुरुप र अनेक अकल्पनीय समस्याको थलो बनाइरहेको छ । प्रकृतिको त्यो अथाह आकारलाई विज्ञानले पनि पार लगाउन सकेको छैन । यो वास्तविकतालाई भट्टले २०१३ सालमै आफ्नो निबन्धको विषय बनाउनुभएको छ ।
‘वैज्ञानिक दृष्टिकोण’ विसं २०२७ सालमा लेखिएको निबन्ध हो । त्यो निबन्धमा निबन्धकारले अन्धविश्वासलाई पराजित गरेर वैज्ञानिक दृष्टिकोणको विकास गर्नुपर्ने तर्क गर्नुभएको छ । सामन्तवादले विज्ञानलाई दबाउँछ भने पुँजीवादले विज्ञानलाई नाफा कमाउने औजारको रूपमा प्रयोग गर्ने विचार प्रस्तुत गर्दै त्योभन्दा अघि बढ्न विज्ञानमा आधारित व्यवस्थाको स्थापना आवश्यक भएको लेख्नुभएको छ ।
निबन्ध सङ्ग्रहमा भट्टका केही व्यङ्ग्यात्मक निबन्धहरू पनि सङ्ग्रहित छन् । समाजमा धेरैथरी मानिस र मानिसका प्रवृति हुन्छन् । त्यस्ता प्रवृत्तिलाई लेखकले व्यङ्ग्यको झटारो हान्नुभएको छ । ‘गधा र मानिस’ निबन्धमा लेखकले बुद्धिजीवी भनिएका मानिसको अहमता र गधाको इमानदार श्रमको तुलना गर्दै श्रमको सम्मान गर्ने विचारमाथि प्रकाश पार्नुभएको छ । ‘मैले कान समातें’, ‘को ठुलो र को सानु ?’, ‘भनाइ र गराइ’, ‘अवसरवाद जिन्दावाद’ मानिसका प्रवृत्तिमाथि लेखिएका निबन्धहरू हुन् ।
गोविन्द भट्टले नेपाली साहित्यका गहन विचारका लेखकको रूपमा प्रतिष्ठा कमाउनुभएको छ । उहाँले नेपाली साहित्यका धेरै साहित्यकार र साहित्यिक कृतिहरूबारे गहन समालोचनाहरू लेख्नुभएको छ । बगर फाउन्डेसनले गोविन्द भट्टका समालोचनात्मक निबन्धहरूको सड्ढलन प्रकाशित गरेको छ । साहित्यलाई मूलतः प्रगतिवादी कोणबाट विश्लेषण गरी समाजको धरातलमा उभ्याउने काममा उहाँका समालोचना सफल छन् । यहाँ चर्चा गरिएको निबन्ध कृतिमा पनि उहाँले केही साहित्यकारहरूसँगको सम्पर्क र ती साहित्यकारहरूका विचारबारे लेख्नुभएका निबन्ध समावेश छन् । विशेषतः उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा र कवि शिरोमणि लेखनाथ पौड्यालसँगका संस्मरण लेख्नुभएको छ । दुवै कविहरूसँग भट्टको व्यक्तिगत निकटतामा आधारित ती संस्मरणमा अन्यत्र चर्चामा नआएका प्रसङ्ग आएका छन् । जस्तै देवकोटाले एक सन्दर्भमा निबन्धकारलाई देशको सार्वभौमिकता जोगाउन चीनसँगको सम्बन्धबारे भएको छलफलको प्रसङ्ग ‘ढाक्न सक्दैन सधै बादलले सूर्यलाई’ (२०२२) मा उल्लेख गर्नुभएको छ । देवकोटासँगको भेटमा भएको छलफलबारे चर्चा गर्दै भट्टले लेख्नुभएको छ, “त्यसबेला नै (जब कसैको मगजमा पनि त्यो कुरा आएको थिएन) उहाँ (देवकोटा)ले हाम्रो राष्ट्रियता र सार्वभौमिकताको निम्ति ल्हासा काठमाडौँ राजमार्ग बनाउनुपर्छ भन्ने कुरा उठाउनुभएको थियो । मैले त्यसको कारण सोध्दा उहाँले नेपालको ऐतिहासिक र भौगोलिक आधार लिएर हाम्रो देशको राष्ट्रिय राजनीतिको व्याख्या गर्दै, त्यसको उपयोगिता र पक्षमा ५÷६ वटा कुराहरू बताउनुभएको थियो ।”
निबन्धकार भट्टले लामो समय चीनमा बसेर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली विभागको भाषाविज्ञको काम गर्नुभयो । त्यही शिलशिलामा उहाँ लामो समय चीनमा बस्नुभयो । त्यही भएर चीन र नेपालबीचको सम्बन्धबारे उहाँले लेख्नुभएका केही निबन्ध पनि सङ्ग्रहमा सड्ढलित छन् । ‘हाम्रो राष्ट्रिय संस्कृति र केही प्रश्नहरू’ निबन्धमा भट्टले नेपाल र चीनबीचको सम्बन्ध र केही सांस्कृतिक प्रश्नहरूबारे चर्चा गर्नुभएको छ । निबन्धमा चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको इतिहासदेखि आफू काम गर्दाको समयसम्मका विविध कुरा लेख्नुभएको छ ।

लामो कालखण्डबीच लेखिएका निबन्धहरू एकै पुस्तकभित्र पढ्दा पाठकलाई धेरैथरी स्वाद अनुभव हुनु स्वाभाविक हो । आध्यात्मिकदेखि वैज्ञानिक विचारसम्म, व्यवहारिकदेखि सैद्धान्तिकसम्म, सम्झनादेखि व्यङ्ग्यसम्म फराकिलो विषयका निबन्धले पाठकको जिब्रोमा दिने स्वादले समग्रतामा मिठासकै अनुभव गराउँछ ।

‘लालीगुराँस, सूर्यमुखी र कोमोरोको सम्झना’ निबन्ध चीनका प्रगतिशील साहित्यकार कोमोरोसँग निबन्धकारले बिताएका समय र कोमोरोको साहित्यिक व्यक्तित्वबारे लेख्नुभएको छ । लेखक कोमोरोको सरल व्यक्तित्वबाट निकै प्रभावित रहेको निबन्धबाट बुझिन्छ । ‘एउटा अँध्यारो सहर र केही जुनकिरीहरू’ निबन्ध नेपालका साहित्यकार र लेखकहरूबीच चीनका क्रान्तिकारी साहित्यकार लुसुनका कृति र व्यक्तित्वबारे भएको चर्चाको वर्णन हो ।
‘प्राचीन संस्कृति र आधुनिक युग’ गहन सांस्कृतिक निबन्ध हो । यो निबन्धमा लेखकको विचार अझ प्रस्ट र परिपक्वरूपमा व्यक्त भएको छ । २०२३ सालमा प्रकाशित यो निबन्धमा लेखकले तत्कालीन विश्व राजनीतिको सापेक्षमा नेपालको संस्कृतिको दिशाबारे चर्चा गर्नुभएको छ । उहाँले साम्राज्यवाद र पुँजीवाद नै प्रगतिशील संस्कृतिको बाधक भएको निक्र्योल निकाल्दै त्यसको विकल्पको खोजी हुनुपर्ने प्रष्ट विचार लेख्नुभएको छ ।
निबन्धकारले ठूल–ठूला कुरालाई मात्र आफ्ना निबन्धको विषय बनाउनुभएको छैन । उहाँले जीवनोपयोगी स–साना विषयलाई पनि आफ्नो निबन्धमा समेट्नुभएको छ । जस्तै बालबालिकाको स्याहारदेखि नेपाली साहित्यकारहरूले भोगिरहेका समस्याबारे पनि निबन्धमा चर्चा गर्नुभएको छ ।
लामो कालखण्डबीच लेखिएका निबन्धहरू एकै पुस्तकभित्र पढ्दा पाठकलाई धेरैथरी स्वाद अनुभव हुनु स्वाभाविक हो । आध्यात्मिकदेखि वैज्ञानिक विचारसम्म, व्यवहारिकदेखि सैद्धान्तिकसम्म, सम्झनादेखि व्यङ्ग्यसम्म फराकिलो विषयका निबन्धले पाठकको जिब्रोमा दिने स्वादले समग्रतामा मिठासकै अनुभव गराउँछ ।
गहन विषयलाई पनि सहज र सरल भाषामा वर्णन गर्ने खुबीमा भट्ट पारङ्गत हुनुहुन्छ । आफ्नो विचारलाई स्पष्ट शब्दमा चित्रण गर्ने उहाँको लेखकीय अब्बलता हो ।
गोविन्द भट्टका समालोचना पढेर प्रभावित नेपाली पाठकको निम्ति उहाँको निबन्धकार व्यक्तित्वसँग परिचित हुन यो पुस्तक उपयुक्त हुन्छ । २१५ पृष्ठको यो पुस्तकको अध्ययनले भट्टको लेखनीमात्र होइन, उहाँ बाँच्नुभएको समयको नेपाली समाज एवम् विश्व अवस्थाबारे बोध गर्न पनि सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *