भर्खरै :

संरा अमेरिकालाई आक्रामक नीति त्याग्न प्रजग कोरियाको आग्रह

प्योङयाङ, ९ जनवरी । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता तथा कोरियाली मजदुर पार्टीका नेता किम जङ उनले प्रजग कोरियामाथिको आक्रामक नीति अन्त्य गर्न संरा अमेरिकालाई आग्रह गर्नुभएको त्यहाँको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।
कोरिया मजदुर पार्टीको आठौँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसमक्ष बोल्दै उहाँले प्रजग कोरिया र संरा अमेरिकाबीचको भविष्यको सम्बन्धको मूल आधार नै वाशिङ्टनबाट आक्रामक नीतिको परित्याग हुने बताउनुभयो ।
तर, किमले वासिङ्टनमा को आयो भन्ने कुराले प्रजग कोरियाविरुद्धको संरा अमेरिकाको नीति परिवर्तन नहुने बताउनुभयो ।
संरा अमेरिकाको निर्वाचनमा डेमोक्रेटिक दलका जो बाइडेन निर्वाचित भएपछि प्रजग कोरियाबाट पहिलोपटक यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । जनवरी २० बाट बाइडेनले पदभार सम्हाल्दैछन् ।
महाधिवेशनमा नेता किमले राष्ट्रिय सुरक्षालाई अझ बलियो बनाउने बताउनुभयो । केसीएनएका अनुसार प्योङयाङले आणविक शक्तिसम्पन्न पनडुब्बी बनाउने योजना तयार गरिसकेको बताउनुभयो ।
“यसले हाम्रो देशलाई आणविक राज्यको रूपमा प्रस्ट परिचय दिएको छ । साथै पूर्ण आणविक सुरक्षाकवच स्थापना गरेर सबै चुनौती सामना गर्ने बलियो र भरपर्दो रणनीति बनाउन सफल भएका छौं”, किमले महाधिवेशनको तेस्रो दिनमा भन्नुभयो ।
महाधिवेशनमा किम र प्रतिनिधिहरूले छिमेकी गणतन्त्र कोरिया र अन्य देशसँग विस्तृत सम्बन्ध गर्ने विषयमा जोड दिनुभएको थियो ।
दक्षिण कोरियासँगको नयाँ नीतिमा किमले प्रजग कोरिया तीन वर्षकै अवस्थामा दुईपक्षीय सम्बन्ध पु¥याउन तयार भएको तर त्यसको लागि सोलको मनसायमा निर्भर हुने बताउनुभयो ।
सीमावर्ती केसोङमा रहेको अन्तरकोरियाली सम्पर्क कार्यालय प्रजग कोरियाले ध्वस्त बनाए पछि सन् २०२० को जुनदेखि दुई देशबीचको सम्बन्धमा केही तिक्तता आएको छ । दक्षिण कोरियामा प्रजग कोरियाविरोधी गतिविधिमा कुनै रोक लगाउन नसकेको भन्दै प्रजग कोरियाले यस्तो कदम चालेको थियो ।
किमले महाधिवेशनमा प्रजग कोरियाको समाजवादी व्यवस्था र विदेश सम्बन्ध थप बलियो बनाउने बताउनुभएको केसीएनएले जनाएको छ ।
उहाँले प्रजग कोरियाको समाजवादी प्रणाली फलदायी र प्रभावकारी बनाउन व्यावहारिक उपायहरू सुझाउनुभयो । महाधिवेशनमा कोरियाली मजदुर पार्टीको सातौं केन्द्रीय समितिका कार्यको समीक्षा गर्दै किमले शिक्षा, जनस्वास्थ्य, साहित्य र कलालगायत क्षेत्रमा सुधार गरेर कोरिया ताजा सुनौलो युगको दिशातिर अघि बढिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *