भर्खरै :

नेपाली व्याकरण सिकौँ – २

५. ‘ब’ र ‘व’ को प्रयोग
५.१ ‘ब’ को प्रयोग
क) धातु तथा क्रियापदमा ‘ब’ उच्चारण हुन्छ भने ‘ब’ नै लेख्नुपर्छ, जस्तै :
बढ्, बक्स, बस्, बच्, बार्, बास्, बित्, बिथोल्, बुन्, बेच्, बेर्, बेहोर्, बौरि, बाहिरिन्छ, बटार्नु, बेर्नु, बाँढ्नु, बम्कनु, बक्सनु, बढार्नु, बेच्नु आदि ।
ख) अव्यय शब्दमा उच्चारणअनुसार ‘ब’ लेख्नुपर्छ, जस्तै :
अब, कब, तब, जब, बित्तिकै, बुरुक्क, बेग्लै, बेसरी, ब्यारे आदि ।
ग) बि/बे उपसर्ग ‘ब’ लेख्ने, जस्तै :
बिकाम, बिचेत, बिछोड, बिजोर, बेइज्जत, बेकार, बेवास्ता, बदनाम, बदमास आदि ।
घ) तद्भव तथा आगन्तुक शब्दहरूमा ‘ब’ हुन्छ भने ‘ब’ नै लेख्नुपर्छ, जस्तै :
बाहिर, अम्बा, बकुल्लो, बखान, बगाल, बयान, बच्चा, बतास, बँदेल, बङ्गुर, बखत, बारुलो, बिजुली, बैँस, बोक्रो, बोसो, बौलाहा, बखत, बन्दुक, तलब, बकस, बगैँचा, बन्दकी, पिसाब, हिसाब, बजेट, बन, बस, बाकस, बोतल, बटुवा, बनैया, बत्तिस, बाक्लो, बुढो, बुच्चो, बिखालु, बन्द, तलबी, बिचरो, बर्बाद, ब्रिटिस आदि ।
ङ) उच्चारण र लेखाइ दुवैमा ‘ब’ हुने अन्य केही शब्दहरू अम्बर, अम्बिका, कुटुम्ब, चुम्बन, चुम्बक, चुम्बी, सम्बद्ध, सम्बन्ध, सम्बन्धी, सम्बोधन, विडम्बना, अवलम्ब, लम्ब, बहुधा, बहुलता, बहुब्रीहि, बाहु, बाह्य, ब्रह्मचारी, ब्रह्मर्षि, ब्रह्मा, ब्रह्माण्ड, ब्राह्मण, ब्राह्मी आदि ।
५.२ ‘व’ को प्रयोग
क) तलका शब्दमा उच्चारण र लेखाई दुवैमा ‘व’ हुन्छ :
वर, वास्ता, वकिल, वासलात, रवाफ, कावासोती, कावा, मेवा, वस्ताद, सवारी, वजन, वरि, वरिपरि, वाल्ल, वाक्क, तावा, देवर, पेवा, तौलिहवा, पावर, वायरलेस, वार्ड, वार्डेन, वेल, वारेस, छ्वाल्ल, वाल्ल, ट्वाल्ल, वार्र, ट्वाँक, ग्वाँक, च्वाम्म, स्वाँ, कछुवा, कुवा, खुवा, जुवा, पुवा, जुवाडी, जुवाइँ, तुवाँलो, दुवाली, धुवाँ, रुवाइ, धुवाइ, बालुवा, देखावट, बोलावट, ढुकुवा, फुकुवा, खोलुवा, भतुवा, बहालवाला, हकवाला, उम्मेदवार, दफावार, जिम्मेवारी, नश्वर, ईश्वर, कर्तव्य, नेतृत्व, आत्मवत्, पुत्रवत्, गुणवान्, धनवान्, भगवती, सौभाग्यवती, तपस्वी, पाण्डव, पार्थिव आदि ।
ख) तलका शब्दमा उच्चारण ‘ब’ भए पनि ‘व’ लेख्नुपर्छ, जस्तै ः वस्तु, वस्त्र, वाक्य, वाचन, वाचा, वाद, वादी, वाम, वायु, वाल्मीकि, वाहन, विज्ञान, विकास, विकृति, विखण्डन, विचलन, विचित्र, विजय, वंश, वक्तव्य, वक्ता, वक्र, वक्ष, वन, वन्दना, वयस्क, वातावरण, वरिष्ठ, वर्ग, वरुण, वर्गीकरण, वर्जित, वर्ण, वर्षा, वर्ष, विच्छेद, विज्ञापन, विदेश, विद्या, विधवा, विवाह, विभूति, विभाजन, विरह, विशेष, विश्लेषण, विषम, विषाणु, विषय, वीर, वृत्त, वृद्ध, वेग, वैद्य, व्यक्ति, व्यर्थ, विधि, व्यापार, व्यवहार, व्रज, विराट्, विराम, वैदिक, वैज्ञानिक, वैभव, वैर, वैष्णव, वर्ग, व्याकरण आदि ।
६. ‘य’ र ‘ए’ को प्रयोग
६.१ ‘य’ को प्रयोग हुने शब्दहरू
योग्य, पेय, दृश्य, हास्य, कार्य, वाक्य, गद्य, पद्य, रमणीय, कर्तव्य, धैर्य, वीर्य, जय, माधुर्य, पाण्डित्य, वाणिज्य, शौर्य, सौर्य, सौन्दर्य, राष्ट्रिय, स्वकीय, परकीय, भवदीय, अमात्य, ग्राम्य, मूल्य, मुख्य, मनुष्य, जलमय, अन्नमय, स्वर्णमय, वाङ्मय, यज्ञ, यथार्थ, यन्त्र, भय, हिमालय, मितव्ययिता, उत्तरदायित्व, स्नाथीय, गायिका, नायिका, आयु, वायु, चिरायु, अनुयायी, उत्तरदायी, दुःखदायी, प्रेरणादायी, चिरायु, अनुदायी, उत्तरदायी, दुःखदायी, प्रेरणादायी, स्थायी, यी, यो, त्यो, यता, यति, यी, यिनी, यिनलाई, यिनबाट, यिनदेखि, यिनमा, यिनको, यही, यसो, यस्तो, यस, त्यस, त्यस्तो, त्यति, त्यसरी, यत्रो, त्यत्रो, त्यहाँ यसरी, यतिन्जेल, त्यतिन्जेल, चतु¥याइँ, दुस्ट्याइँ, धुत्र्याइँ, घुस्याहा, मुल्याहा, रत्यौली, हँस्यौली, केट्यौली, फस्र्याैट, घरानियाँ, जहानियाँ, सहरिया, भरिया, थियो, थियौँ, बयर, घायल, टायम, डायरी, डायल, कायल, मध्ये, आदि ।
६.२ ‘ए’ को प्रयोग हुने शब्दहरू
एक, एघार, एकतिस, एकाउन्न, भए, गए, एकहत्तर, एकता, एकत्व, एकत्र, एकाग्र, एकाङ्की, एकादशी, एकान्त, एवम्, लाएँ, खाएँ, देखाएँ, पढाएँ, दिएँ, लिए, गए, खाए, आए, लाए, लिएस्, रोएस्, भएस्, धोएस्, खाएस्, रोएन, धोएन, खाएन, पाएन, लाएन, गएर, लाएर, दिएर, पोतरिएर, भनिएर, सुनिएर, कुल्चिएको, डकारिएको, पाएको, लाएको, दिएको, एक, एउटा, एक्काइस, एकतिस, एकचालिस, एकाउन्न, एकसठ्ठी, एकहत्तर, एक्लै, एकलास, एकनास, एकोहोरो, एकान्त, एकसरो आदि ।
७. ‘श’, ‘ष’ र ‘स’ को प्रयोग
क) ‘श’ र ‘ष’ को प्रयोग तत्सम शब्दमा मात्र हुन्छ । ‘स’ को प्रयोग तत्सम, तद्भव र आगन्तुक तीनै प्रकारका शब्दमा हुन्छ । तद्भव र आगन्तुक शब्दमा ‘स’ को मात्र प्रयोग हुन्छ । जाति, थर, बुझाउने शब्दमा आउने ‘श’ लाई भने सम्बन्धित समुदायले प्रयोगमा ल्याएका प्रचलनअनुसार नै लेख्नुपर्छ, जस्तै : शेर्पा, शाह, शाही, शेरचन, जोशी आदि ।
ख) सबै आगन्तुक शब्दमा पूर्वप्रचलनअनुसार ‘स’ मा लेख्नुपर्छ, जस्तै : सहिद, सहर, कोटेसन आदि ।
ग) ‘श’ को प्रयोग हुने केही शब्दहरू :
शिक्षा, दिशा, राशि, पश्चिम, निश्चय, आश्चर्य, पश्चिम, पश्चात्, आश्चर्य, निश्चय, निश्चित, श्रम, श्राप, श्रावण, श्रोता, श्री, शिशु, शशि, शशक, शशाङ्क, शिशिर, शाश्वत, शैशव, शेष, शस्त्र, शास्त्र, शासन, शासक, आश्वासन, प्रशंसा, प्रशासक, प्रशस्ति, आशक्ति, आशङ्का, आशा, आशीर्वाद, आशु, शारदा, शालिग्राम, श्राद्ध, श्रावण शिखा, शिला, शिल्प, शिव, शिविर, श्रद्धा, विश्राम, आश्रय, आश्रम, श्लोक, संश्लेषण, विश्लेषण, क्रमशः, प्रायशः आदि ।
घ) ‘ष’ को प्रयोग हुने केही शब्दहरू :
कृषि, कृषक, कोष, उत्कर्ष, उषा, ऋषि, औषाधी, अष्टम, आषाढ, इष्ट, कष्ट, नष्ट, पुष्ट, सन्तुष्ट, शिष्ट, सृष्टि, दृष्टि, राष्ट्र, निष्कर्म, शुष्क, मस्तिष्क, बहिष्कार, परिष्कार, निष्काशन आदि ।
ङ) ‘स’ को प्रयोग हुने केही शब्दहरू :
सय, आसन, कुसुम, शास्त्र, अस्त्र, शासन, सरस्वती, उत्सुक, सुगा, पोस, बदनास, सेतो, स्कुल, स्टेसन, सहर, सती, साधारण, दास, सदन, साधन, साधु, स्नान, नमस्कार, पुरस्कार, प्रशस्त, स्तुति, स्त्री, सफल, सभा, सत्कार, सज्जन, सम्मान, सद्भाव, संयुक्त, संसद्, संस्था, सङ्गीत, सन्तान आदि ।
८. ‘क्ष’ को प्रयोग
‘क्ष’ को प्रयोग तत्सम शब्दमा मात्रै हुन्छ । जस्तैः क्षण, क्षत, क्षमा, क्षय, अक्षर, क्षेत्र, क्षेत्रीय, क्षेप्यास्त्र, नक्षत्र, भिक्षुक, राक्षस, लक्षण, सक्षम, आक्षेप, कक्ष, दक्ष, यक्ष, रुद्राक्ष, लक्ष्य आदि ।
९. ‘ज्ञ’ को प्रयोग
तत्सम् शब्दमा मात्रै हुन्छ । जस्तै ः ज्ञान, ज्ञात, ज्ञाता, विज्ञान, विज्ञप्ति, आज्ञा, प्रतिज्ञा, संज्ञा, प्रज्ञा, युवराज्ञी, विज्ञ, यज्ञ आदि ।
१०. पञ्चम वर्ण (ङ, ञ, ण, न, म) तथा शिरबिन्दुको प्रयोग
नसिक्य वा नाके उच्चारण हुने वर्णलाई पञ्चम वर्ण भनिन्छ । संस्कृत भाषामा यस्ता वर्ण पाँच ओटा छन्, ङ, ञ, ण, न, म । त्यसैले संस्कृत भाषामा यिनलाई पञ्चम वर्ण भनिएको हो । तद्भव र आगन्तुक शब्दमा भने ङ, न, म (तीन वर्णको मात्रै प्रयोग गरिन्छ । तत्सम शब्दमा पञ्चम वर्णको प्रयोग यसरी गरिन्छ :
ङ : ‘क–ख–ग–घ’ अघि – अङ्क, शङ्कर, शङ्ख, पङ्खा, चङ्ख, गङ्गा, चङ्गा, सङ्घ, ढङ्ग आदि ।
ञ : ‘च–छ–ज–झ’ अघि – पञ्च, पुञ्ज, लाञ्छना, व्यञ्जन, झञ्झा, मञ्जन, मञ्जुल आदि ।
ण : ‘ट–ठ–द–ढ’ अघि – कण्टक, कण्ठ, कुण्ठा, दण्ड, खण्ड आदि ।
न : ‘त–थ–ड–ध’ अघि – मन्तव्य, परन्तु, पन्थ, बन्दी, बन्धन, भिन्न, खिन्न आदि ।
य, र, ल, व, श, ष, स, ह, क्ष, ज्ञ अघि शिरबिन्दु लेख्ने ः संयम, संरक्षण, संलग्न, संवाद, वंश, संशय, संसार, संहार
११. हलन्तको प्रयोग
तलका शब्दमा हलन्त प्रयोग गर्नुपर्छ :
क) अकस्मात्, अर्थात्, आपत्, अहम्, एवम्, कदाचित, जगत्, दण्डवत्, भविष्यत्, यावत्, महत्, विद्युत्, विपत्, साक्षात्, हठात्, आपद्, संसद्, स्वयम्, शुभम्, स्वागतम्, पश्चात्, पृथक्, दिक्, विराट्, श्रीमान्, विद्धान्, भगवान्, महान्, आदि तत्सम शब्दमा ।
ख) हलन्त उच्चारण हुने क्रियापदमा जस्तै ः गर्, बस्, हिँड्, लेख्ु, सुन्, पढ् आदि ।
ग) आधा अक्षर नमिल्ने ङ, ट, ठ, ड, द, ढ, लाई आधा अक्षरका रुपमा देखाउनु पर्दा हलन्त दिनुपर्छ, जस्तैः अङ्क, खुट्टा, ढड्डा, पढ्न आदि ।
(नोटः क्रियापदबाहेक नाम, सर्वनाम, विशेषण शब्दमा भने हलन्त उच्चारण भएर पनि अजन्त लेख्नुपर्छ, जस्तैः नेपाल (उच्चारण : नेपाल्), श्याम, राम, उसले (उच्चारण : उस्ले), उनलाई, असल, खराब आदि) ।
१२. पदयोग र पदवियोग
१२.१ पदयोग
क) रुढ भइसकेका एकार्थी (स्थाननाम, बारनाम, संस्था र व्यक्तिका नाम आदि) शब्दलाई पदयोग गरेर लेख्ने । जस्तै – भक्तपुर, ललितपुर, विराटनगर, आइतबार, सोमबार, विश्वविद्यालय, विद्यावारिधि, लक्ष्मीप्रसाद, लेखनाथ आदि तर व्यक्तिको पहिचानसँग जोडिएकाले छुट्याएर लेखेमा अन्यथा नमान्ने । जस्तै ः कृष्ण बहादुर, मुरारि प्रसाद आदि ।
ख) सबै नामयोगीलाई मूल शब्दसँग योग गरेर लेख्नुपर्छ । जस्तै : टेबुलमाथि, घरबाहिर, रामसित, पूर्वतर्फ, भनेबमोजिम आदि ।
ग) संयुक्त क्रियाकलाई जोडेर लेख्नुपर्छ । जस्तै ः खानुपर्छ, पूर्वकालिक र उत्तरकालिक क्रिया एवं पूर्व, अपूर्व र सामान्य भविष्यत् पक्षका क्रियालाई छुट्याएर लेख्ने । जस्तै ः खाई जान्छ (खाएर जान्छ), खान जान्छ (खानका लागि जान्छ), पढ्दै छ, भनेको खाने छ आदि ।
घ) विभक्ति जोडेर (लाई, ले, बाट, देखि, को, का, की, रो, रा, री, नो, ना, नी, मा आदि ) लेख्नुपर्छ, जस्तै : मैले, तिनले, उनले, हामीलाई, सहरको घरमा, दिक्तेलबाट, बैतडीदेखि ।
१२.२ पदवियोग
क) सार्थक द्वित्व शब्द छ्ट्टाछ्ट्टै लेख्नुपर्छ । जस्तै– खान्छ, क्याम्पस, विद्यालय विद्यालय, घर घर, जो जो आदि । अरु द्वित्व शब्दलाई भने एउटै डिकोमा लेख्ने । जस्तै – भातसात, मरमसला, आ–आफ्नो स–साना आदि ।
ख) विशेषणयुक्त शब्दलाई पदवियोग गरी लेख्नुपर्छ । जस्तै : अकासे खेती, कान्छो बाबु, कालो मुन्टो, माला दाइ, सानो दाइ, ठुली आमा आदि तर दुई शब्द मिली एकार्थी भएका समस्त शब्द तथा विकार भएका शब्दलाई पदयोग गरेर लेख्ने । जस्तै– शुभयात्रा, प्रधानमन्त्री, कालीमाटी, रातीगेडी, माल्दाइ, सान्दाइ, ठुल्यामा आदि ।
ग) समास भएर बनेका लामा शब्दहरूका घटक (जस्तै– प्रधान न्यायाधीश, मदन पुरस्कार, सरस्वती सम्मान, उच्च माध्यमिक, नेपाल सरकार, प्रेस काउन्सिल आमसञ्चार माध्यम सञ्चारमाध्यम संस्कार सुधार, नेपाली समालोचना आदि) तथा विशेषण विशेष्य संरचनाका घटक (जस्तैः तेह्रथुमे केटो, सानो भाइ, माथिल्लो घर, साउने पानी आदि) लाई अलग डिकोमा लेख्ने । यसबाहेकका दुई शब्दका लघु समासयुक्त शब्द (शिक्षामन्त्र ी, केटाकेटी, दालभात, बङ्गुरपालन, विशेषणबोधक, घरबाहिर आदि) लाई एउटै डिकोमा लेख्नुपर्छ ।
घ) स्वतन्त्र शब्द पदवियोग गरी लेख्नुपर्छ, जस्तैः ऊ घर गयो । उनीहरू त असल छन् ।
ङ) विभक्तिपछि आउने दोस्रो विभक्ति वा नामयोगी शब्द पदवियोग गरी लेख्नुपर्छ । उनीहरूका लागि । घरको बाहिर ।
च) नामिक क्रियासँग आउने नाम अलग डिकामा लेख्नुपर्छ जस्तैः घर गर्नु, आँखा लाग्नु, मन पर्नु, उजुर गर्नु आदि ।
छ) रीति वा तरिका जनाउने क्रियासँग अघिल्लो शब्द पदवियोग गरी लेख्नुपर्छ जस्तैः हुने गरी, खाने गरी, ढिलो गरी देखिन गरी, बस्ने गरी आदि ।
ज) ‘ओटा’, ‘जना’ जस्ता परिणाम बुझाउने शब्दलाई अघिल्लो शब्दसँग पदवियोग गरी लेख्नुपर्छ, पाँच ओटा, पाँच जना जस्तै ।
झ) तुलनाबोधक शब्दका रुपमा प्रयोग हुने ‘झैँ’ जस्तै, जस्तो, जस्तो, जसरी’ आदि शब्दका अगाडि आउने नाम, सर्वनाम आदि शब्द पदवियोग गरी लेख्नुपर्छ । जस्तैः चन्द्रमा झैँ, ऊ जस्तै, तिमी जस्तो, देखाए जसरी आदि ।
१३) संयुक्त व्यञ्जनका सम्बन्धमा
अ) तत्सम शब्दमा प्रयुक्त संयुक्त व्यञ्जन वर्ण विशेष गरी द् वर्णसँग जोडिएर आउने शब्दलाई हलन्त– जस्तैः विद्या, बुद्ध, युद्ध, द्वन्द्व, द्वित्व, द्विवचन आदि) नलेखी संयुक्ताक्षर (जस्तैः विद्या, बुद्ध, युद्ध, द्वन्द्व, द्वित्व, द्विवचन आदि) नै लेख्ने ।
आ) अन्य संयुक्त व्यञ्जन जोडिएर बनेका शब्दलाई हलन्त (जस्तैः अङ्क, अङ्ग शङ्ख, मङ्गल, गन्हाउनु, ब्राह्मण, प्रह्लाद, चिह्न, तत्त्व, मत्त शक्ति आदि) नै लेख्ने ।
इ) क् र त मिलेर बनेको संयुक्त वर्णलाई भने वैकल्पिक (क्त÷क्त) लेख्न सकिन्छ ।
१४) सङ्क्षिप्त नाम
सङ्क्षिप्त नाम लेख्दा सुरुमा पुरै र दोहो¥याउनु पर्दा त्यसको सङ्क्षिप्त रुपमात्र प्रयोग गर्ने । जस्तै : प्रेस काउन्सिल नेपाल (प्रेकाने), राष्ट्रिय समाचार समिति (रासस), महानगरपालिका (मानपा), नेपाल पत्रकार महासङ्घ (नेपम), गोरखापत्र (गोप), खोज पत्रकारिता केन्द्र (खोपके ) आदि ।
क) एउटै शब्दमा लेखिने शब्द देहायअनुसार लेख्नुपर्छ ।
टेलिभिजन – टिभी
ब्रिटिस ब्रोडकाष्टिङ कर्पोरेसन – बिबिसी
चाइना रेडियो इन्टरनेसनल – सिआरआई
कम्युनिटी इन्मेफरमेसन नेटवर्क – सिआइएन
केवल न्युज नेटवर्क – सिएनएन आदि ।
ख) निम्न शब्दहरू सुरुमै सङ्क्षिप्तरुपमा लेलेख्नुपर्छ ।
डाक्टर – डा., चार्टर एकाउन्टेन्ट – सी.ए., बी.ए., एम. ए. , आई. ए. आदि ।
ग) निम्न शब्दहरू सुरुमै यसरी लेख्नुपर्छ ।
युनेस्को, सार्क, युनिसेफ, इन्सेक, नेकपा, एडिबी, भाजपा, पिटिआई, युएसए, युके आदि ।
१५. अङ्क प्रयोग
क) अङ्क आउने उखान टुक्का अक्षरमा लेख्नुपर्छ । जस्तैः मेरो गोरुको बाह्रै टक्का, नौतले दरबारको न झ्याल न ढोका, बाह्र छोरा तेह्र नाति बुढाको धोको काँधैमाथि आदि ।
ख) समयमा जहिले पनि अङ्कको प्रयोग गर्ने । जस्तै १२ बजे, ३ बजे, २ बजे आदि । तर, समय जनाउने आधा पौने, सवा जस्ता शब्दलाई अक्षरमा प्रयोग गर्ने । जस्तै पौने बाह्र बजे, साढे तीन बजे, सवा एक बजे आदि ।
ग) गते जनाउँदा सधैँ अङ्कमा लेख्ने । जस्तैः मङ्सिर १९ गते, चैत ९ गते, वैशाख ७ गते, भदौ ५ गते आदि ।
घ) वर्ष वा साल जनाउने सङ्ख्या अङ्कमा लेख्ने । जस्तै २०२७ साल असोज ६ गते प्रेस काउन्सिल नेपालको स्थापना दिवस हो । २०६५ साल जेठ १५ गते….., आदि ।
ङ) मापन, आयतन, गहिराइ, उचाइ, लम्बाइ, चौधाइ आदि लेख्नुपर्दा अङ्कको प्रयोग गर्ने । जस्तै :  प्रेस काउन्सिलमा दैनिक १०० लि. पानी खपत हुन्छ । कार्यालय प्रयोजनका लागि ५०० मिटर मलमलको कपडा किन्ने निर्णय गरियो । आदि ।
च) तीभन्दा माथिको अङ्कमा अल्पविराम चिह्न राख्ने जस्तैः ५,५५०।–, २,९०,४५६।– आदि ।
छ) वाक्यको सुरुको अङ्क अक्षरमा लेख्ने जस्तै एकाउन्न बर्से यात्रामा प्रेस काउन्सिल नेपाल । बिस वर्षमा खोलो फर्कियो आदि ।
ज) मिति लेख्दा निन्नानुसार लेख्नुपर्छ ।
२०२७ असोज ६ गते अथवा २०२७÷०६÷०६ । (तर, साल वा वर्ष अङ्कमा लेख्ने । जस्तै ः वि.सं. २०३६)
झ) क्रम जनाउँदा अङ्कका साथमा थोप्लो र अक्षरका साथमा कोष्टक प्रयोग गर्ने । जस्तैः १., २., ३., (क), (ख), (ग) आदि ।
१६. विविध
क) क्षतिपूर्ति दीर्घीभवन भनी दीर्घ लेखिँदै आएका (मीठो, दूध, मीत, तीतो आदि) सबै शब्दलाई ह्रस्व (मिठो, दुध, मित, तितो) लेख्ने ।
ख) श्रुतिसम्म भिन्नार्थी शब्दलाई छुट्टाछुट्टै लेख्नुपर्छ ः
फुल : अन्डा फूल : पुष्प
तिन : सर्वनाम तीन : सङ्ख्या–३
(उदाहरण : तिनले मलाई बोलाइन् ।)
पुरा : जुठो पूरा :पूर्ण
जुन : सर्वनाम जून : चन्द्रमा
ग) विध्यर्थक क्रियाका बिचमा ह्रस्व र अन्त्यमा दीर्घ लेख्नुपर्छ । जस्तै : जाउन्, हिँडुन्, जाऊ, खानू, देऊ आदि
घ) कुनै स्रोतबाट कुनै अंशमात्र उद्धृत् गर्दा उद्धृत अंश जस्ताको तस्तै भए दोहोरो उद्धरण चिह्न प्रयोग गर्ने । जस्तैः प्रेस काउन्सिल नेपालको नारा छ, “स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारिता मैत्री प्रेस काउन्सिल नेपाल” । यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ तय गरिएको छ ।
(प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको ‘शैली पुस्तिका’ बाट
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *