भर्खरै :

कोरियाली मजदुर पार्टीको महासचिवमा किम जङ उन निर्वाचित

प्योङयाङ, ११ जनवरी । प्रजग कोरियाको कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनले पार्टी महासचिव पदमा सर्वसम्मतिमा किम जङ उनलाई निर्वाचित गरेको छ । महाधिवेशन प्रतिनिधि रि इल ह्वानले महाधिवेशनको छैटौँ दिन आइतबार महासचिव पदको लागि किम जङ उनको नाम प्रस्ताव गर्नुभएको थियो ।
महासचिव पदको लागि किमको नाम प्रस्ताव गर्ने क्रममा रिले पार्टी नेताको महानता नै पार्टीको महानता, देशको शक्ति र क्रान्तिकारी विचारको अपराजयता भएको कुरा कोरियाली क्रान्तिको इतिहास तथा क्रान्तिकारी पार्टी निर्माणको लामो विश्व इतिहासले पुष्टि गरेको बताउनुभयो ।
उहाँले किम जङ उनले राष्ट्रपति किम इल सङ र किम जङ इलका क्रान्तिकारी विचारलाई सफलतापूर्वक अघि बढाएर कोरियाली मजदुर पार्टी र जुछे क्रान्तिको नेतृत्व गरिरहनुभएको बताउनुभयो ।
“उहाँले राजनीति, अर्थतन्त्र, सैनिक मामिला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय सफलताको नेतृत्व गर्नुभयो । कोरियाली क्रान्ति र समाजवादी निर्माणलाई उहाँले बुद्धिमत्तापूर्वक अविलक्षण नेतृत्व गरिरहनुभएको छ”, रिले भन्नुभयो ।
महाधिवेशनले किम जङ उनको नेतृत्वमा पार्टी केन्द्रीय समितिको पोलिटब्युरोको अध्यक्षमण्डल (प्रेसिडियम) निर्वाचित गरेको छ । अध्यक्षमण्डलमा किमसहित छोई ¥योङ हेइ, रि प्योङ चोल, किम तोक हुन र जो योङ वन निर्वाचित हुुनुभएको छ ।
त्यस्तै महाधिवेशनले किमसहित उन्नाइस जनाको पार्टी केन्द्रीय समितिको पोलिटब्युरो निर्वाचित गरेको छ । त्यस्तै पोलिटब्युरोमा एघार जना वैकल्पिक सदस्य पनि निर्वाचित गरिएको छ । जो योङ वन, पाक थाए सोङ, रि प्योङ चोल, जोङ सान हक, रि इल ह्वान, किम तु इल र चोई सान गोन पार्टी सचिव पदमा निर्वाचित हुनुभएको छ ।
महाधिवेशनले किम जङ उनलाई पार्टी केन्द्रीय सैनिक आयोगको अध्यक्ष पद पनि निर्वाचित गरेको छ । रि प्योङ चोल आयोगको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आयोगमा अध्यक्ष र उपाध्यक्ष बाहेक एघार जना अन्य सदस्यहरू पनि निर्वाचित भएका छन् ।
महाधिवेशनले जोङ सान हकको अध्यक्षतामा पार्टी केन्द्रीय लेखापरीक्षण आयोग र पार्टी केन्द्रीय समितिका विभिन्न विभागका प्रमुखहरू पनि निर्वाचन गरेको प्रजग कोरियाको आधिकारिक सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।
महाधिवेशन गत जनवरी ५ मा प्योङयाङमा सुरू भएको थियो ।
कोरियाली मजदुर पार्टीको महासचिव पदमा निर्वाचित हुनुभएकोमा किम जङ उनलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले बधाई सन्देश पठाउनुभएको छ । उहाँले कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनले प्रजग कोरियाको समाजवादी विचारधारा विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै बधाई ज्ञापन गर्नुभयो ।
“किमको नेतृत्वमा कोरियाली मजदुर पार्टीको बलियो नेतृत्वमा कोरियाली मजदुर पार्टी र प्रजग कोरियाली जनताले महाधिवेशनलाई आर्थिक तथा सामाजिक विकासको लक्ष्य हासिल गर्ने र प्रजग कोरियाली समाजवादी विचारधाराका नयाँ र महान उपलब्धि हासिल गर्न सफल हुने आशा गर्दछौँ”, सीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *