भर्खरै :

सगरमाथा, चोमोलोङमा र एभरेष्ट

संसारको सबभन्दा अग्लो चुचुरो सगरमाथा पूर्वी नेपालको किरात क्षेत्रमा पर्ने महालंगूर हिमालयको श्रृङ्खलामा देशान्तर ‘८६ डिग्री ६’ पू. र अक्षांश २७ डिग्री ५९’ उ. करीबको समन्वयमा पर्दछ । यस चुचुरोलाई विगत सय वर्षदेखि बाह्यजगत विशेषतः पश्चिमी जगतले ‘माउन्ट एभरेष्ट’ को नामबाट चिनिआएको छ, तथापि यसको आफ्नो स्वदेशी नाम नभएको होइन ।
यस चुचुरोको ‘माउन्ट एभरेष्ट’ भन्ने नाम सन् १८५७ तिर तत्कालीन ब्रिटिश भारतमा सर्वेयर जनरलको पदमा आसीन सर जार्ज एभरेष्टको नामबाट अङ्ग्रेजहरूले राखेका थिए । सन् १८५० मा ब्रिटिश भारतको सर्भे विभागले हिमालय पर्वतका चुचुराहरूका उचाइ पत्ता लगाउन सर्भे दलहरू पठाउँदा सर्वेयर जनरल पदमा जार्ज एभरेष्ट बहाल नै थिए । सर्भेक्षण कार्य सुरु भएको दुई वर्षपछि सन् १८५० तिर यसको उचाइ २९००२ फीट छ भन्ने ठहरिई यो संसारको सबभन्दा अग्लो चुचुरोमा गनियो । यो सर्भे गर्ने काम राधाकृष्ण सिग्दर नामका एउटा व्यक्तिले गरेका थिए ।
यस उच्चतम शिखरको उचाइ पत्ता लाग्ने काम समाप्त होउञ्जेलसम्ममा जार्ज एभरेष्ट भारतको सर्वेयर जनरलको पदबाट अवकाश ग्रहण गरी स्वदेश फर्किसकेका थिए । उनका उत्तराधिकारीका रूपमा सर एन्ड्रुवाले उक्त पदमा बहाल गरिसकेका थिए । यो शिखरको उचाइ पत्ता लागेपछि यसको नामकरण गर्नेबारे लण्डनको रायल जोग्राफिकल सोसाइटीले बैठक गर्ने निधो गरेपछि सर्वेयर जनरल सर एन्ड्रुवाले आफ्ना पूर्वाधिकारी जार्ज एभरेष्ट, जसले तत्कालीन ब्रिटिश भारतमा १३ वर्षसम्म सर्वेयर जनरल भई काम गरेका थिए तथा जसको बहाली छँदै हिमालयका श्रृङ्खलाहरूको चुचुरोको सर्भेक्षण गर्ने कार्यको प्रारम्भ भएको थियो, तिनैको सम्मानस्वरूप यस चुचुरोको नाम पनि ‘माउन्ट एभरेष्ट’ राख्ने सुझाव सोसाइटीमा पठाए । त्यस बखत नेपालमा धेरै वर्षसम्म ब्रिटिश रेजिडेन्ड भई बसिसकेका विद्वान ब्रायन हड्सनले नेपालमा यस चुचुरोलाई ‘देवढुङ्गा’ भन्ने हुनाले यसको स्थानीय नाम छँदाछँदै अर्को नयाँ नामकरण गर्न मिल्दैन भनी विरोधपत्र पठाए । तर, यस विषयमा सन् १८५७, मे ११ का दिन रायल जोग्राफिकल सोसाइटी, लण्डनमा बहस हुँदा स्वयम् जार्ज एभरेष्ट पनि बैठकमा उपस्थित रहेकाले यसमा अन्यथा निर्णय दिन सायद सोसाइटीलाई अप्ठेरो प¥यो होला । यसको नाम ‘माउन्ट एभरेष्ट’ नै राख्ने निर्णय गरियो । यसरी सर्वप्रथम सर्वेक्षण गरी उचाइसम्म पत्ता लगाएको कारणबाट नेपालको शिरताज शिखरको अङ्ग्रेजी नामकरण हुनु त्यस बखत ब्रिटिश साम्राज्यवादी शक्तिले नेपालजस्तो सानो राष्ट्रहरूको स्वतन्त्र अस्तित्वलाई मान्यता दिन नखोजेको एक उदाहरण हो भनेमा सायद अत्युक्ति हुनेछैन होला । यस विषय तत्कालीन नेपालका अधिकारीहरूबाट कुनै प्रकारको विरोध भइराखेको नदेखिएको हुँदा यसलाई तिनीहरूको ब्रिटिश शक्तिको सामु नेपाली राष्ट्रियताप्रतिको मर्यादाको धरमरता भनेमा ज्यादती नहोला । यसै चुचुरोलाई पहिलो पटक औपचारिकरूपमा सरकारी स्तरमा ‘सगरमाथा’ भन्ने नेपाली नाम नेपाल–चीन सिमाना सन्धिपत्रमा उल्लेख हुन गएको छ ।
यसप्रकार सन् १८५७ मा लण्डनको रोयल जोग्राफिकल सोसाइटीले यस उच्चतम शिखरको नाम ‘माउन्ट एभरेष्ट’ राखेपछि, त्यस बेलादेखि ब्रिटिश तथा ब्रिटिशद्वारा प्रभावित समस्त सङ्घसंस्था वा सरकारहरूद्वारा प्रकाशित अधिकांश मानचित्र वा नक्साहरूमा यस चुचुरोलाई ‘माउन्ट एभरेष्ट’ भनेर लेखिन थालेपछि अन्य पाश्चात्य एवम् पूर्वीय देशहरूमा समेत यसको यही अङ्ग्रेजी नाम ज्यादारूपमा प्रचलित हुन गयो । अनि कतिपय अङ्ग्रेजी विद्वानहरूले ब्रायन हड्सनद्वारा उल्लेखित ‘देवढुङ्गा’ भन्ने चुचुरो नै छैन भन्ने पनि धारणा राखेका छन् ।
ब्रायन् हड्सनले यस चुचुरोलाई नेपालमा ‘देवढुङ्गा’ भन्ने नाम रहेको हुनाले यसको अर्को नयाँ नाम रहनु हुन्न भनी जोग्राफिकल सोसाइटीमा पठाएको विरोधलाई निश्चय पनि धेरै वर्ष नेपालमा बसिसकेका हुनाले नेपालीहरूको मनोभावना बुझी त्यसको कदर गरेको हो भन्न सकिन्छ । तर जहाँसम्म यस चुचुरोलाई भनिने नामको प्रश्न छ, यसमा ब्रायन हड्सन पनि केही भ्रममा नै परेका देखिन्छन् । नेपालमा यस चुचुरोलाई एकथरीले ‘सगरमाथा’ र अर्कोथरीले चोमजोङलुङमा (अपभ्रंशमा चामोलोमा) भन्ने गर्दछन् । हड्सनले उल्लेख गरेको ‘देवढुङ्गा’ भन्ने शिखर सगरमाथाभन्दा धेरै कोस पश्चिममा पर्दछ । यो शिखर नेपालको तत्कालीन पूर्व १ नं र पूर्व २ नं जिल्लाहरूको सिमानामा देशान्तर ८६ डिग्री ५’ पू. र अक्षांश २७ डिग्री ५३’ उ. को समन्वयमा पर्दछ । यसको उचाइ १४६२८ फीट नापिएको छ । यसबाट ‘देवढुङ्गा’ भन्ने शिखर नै छैन भन्ने धारणा राख्ने कतिपय अङ्ग्रेजहरू पनि पूर्णतया अज्ञानमा थिए भन्ने स्पष्ट हुन्छ ।
यस उच्चतम शिखरको नाम ‘माउन्ट एभरेष्ट’ रहेपछि अधिकांश पाश्चात्य नक्साहरूमा त्यसै बेलादेखि यही नाम दिइन थालेको थियो । तापनि, उन्नाइसौँ शताब्दीको अन्ततिर एकजना जर्मन यात्रुले यस चुचुरोलाई नेपालमा ‘गौरीशङ्कर’ भनिन्छ भन्ने हल्ला चलाएका थिए । त्यस हल्लाको परिणामस्वरूप केही वर्षसम्म भारत, जापान आदि पूर्वीय देशहरूको अतिरिक्त केही पाश्चात्य देशहरूबाट प्रकाशित हुने मानचित्रहरूमा यस चुचुरोलाई माउन्ट एभरेष्टको साथै कोष्ठभित्र ‘गौरीशङ्कर’ भनेर पनि छापिन थालियो । यो प्रथा ईस्वी सन्को बीसौँ शताब्दीको प्रारम्भिक युगसम्म प्रचलित रहेको थियो । तर, त्यसैताका (सन् १९०६ तिर) निस्केको मानचित्रहरूको एक जापानी पुस्तकमा भने, एक ठाउँमा ‘माउन्ट एभरेष्ट’ र ‘गौरीशङ्कर’ लाई एउटै शिखरको रूपमा देखाएर, त्यसै पुस्तकको अर्को ठाउँमा यी दुई शिखरहरूलाई अलग अलग शिखरहरूको रूपमा पनि देखाइएको थियो । यसपछि ‘माउन्ट एभरेष्ट’ र ‘गौरीशङ्कर’ भन्ने एउटै शिखरको नाम होइन कि दुई अलग हिमाली शिखरहरू हुन् तथा गौरीशङ्कर, जसलाई नेपालमा ‘गौरापर्वत’ भनिन्छ, एभरेष्टभन्दा पश्चिमतर्फ पूर्वी नेपालको तत्कालीन पूर्व २ नं जिल्लाको इलाकामा देशान्तर २७ डिग्री ५८’ पू. अक्षांश २७ डिग्री ५’ उ. को समन्वयमा पर्दछ । यसको उचाइ २३४४० फीट नापिएको छ भन्ने पत्ता लागेपछि तत्पश्चात् छापिएका नक्साहरूमा यी दुई चुचुराहरूलाई अलग अलग रूपमा देखाइन थाल्यो । तर, एभरेष्टको स्थानीय नाम भने दिइएको थिएन । सन् १९२४–२६ मा गरिएको सर्वेक्षणको आधारमा भारतको सर्भे विभागबाट सन् १९३२ मा प्रकाशित नक्साहरूमा केवल ‘माउन्ट एभरेष्ट’ सम्म छापिई यसको स्थानीय नामको कुनै उल्लेख गरिएन ।
तर, सन् १९२४–२६ मा गरिएको सर्वेक्षणको आधारमा छापिएका तिनै नक्साहरूको सन् १९३४ मा द्वितीय आवृत्ति छापिँदा भने ‘माउन्ट एभरेष्ट’ शिखरको साथै चामोलोङमा भन्ने नाम पनि छापियो । त्यसपछि प्रकाशित सबैजसो नक्साहरूमा यी दुई नामहरू दिइन थाल्यो । अनि अधिकांश नक्साहरूमा ‘चोमोलोङमा’ लेख्ता उत्तरतर्फ पारी तथा ‘माउन्ट एभरेष्ट’ अक्षरलाई दक्षिणतिर पारी लेखिएको हुनाले सायद चोमोलोङमालाई ‘माउन्ट एभरेष्ट’ को तिब्बती भाषाको नाम ठानी लेखिएको हुनुपर्छ । अनि, कुनै कुनै नक्साहरूमा भने शिखरलाई ‘माउन्ट एभरेष्ट’ नाम दिई त्यस शिखर रहेको महालंगूर श्रृङ्खलालाई ‘महालंगूर’ र त्यसको साथमा ‘चो–मो–लो–मा’ भनी श्रृङ्खला व्याप्त गरी छापिएको देख्ता चोमोलोमा भनी महालंगूर श्रृङ्खलालाई भन्न खोजिएको हो कि भन्ने भान पनि पर्दछ । तर, श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवको ‘संयुक्त अधिराज्य’ को राजकीय भ्रमणको बखत लण्डनको रोयल जोग्राफिकल सोसाइटीले ‘माउन्ट एभरेष्ट’ इलाकाको एक नक्सा बनाई सरकारका हजूरमा टक्राएको थियो । त्यस नक्सामा ‘माउन्ट एभरेष्ट’ र ‘चोमोलोङमा’ दुवै नाम अन्तर्राष्ट्रिय सीमारेखाको उत्तरतिर पारी छापिएबाट एक नयाँ भ्रम उत्पन्न हुन गयो ।
इतिहास शिरोमणि बाबुराम आचार्यले संवत् १९९५ (तद्नुसार सन् १९३८ तिर) पुस महिनाको ‘शारदा’ मासिक पत्रिकामा प्रकाशित ‘सगरमाथा या झ्यामोलोङ्गमा’ शीर्षक लेखमा तिब्बतीहरू यस चुचुरोलाई ‘झ्यामोलोङमा’ भनिन्छ भनी लेख्नुभएको छ । उहाँले अधिकांश नक्साहरूमा छापिएको ‘चोमोलोङमा’ झ्यामोलोङमालाई लेखिएको हुनुपर्छ भनी अनुमान गर्नुभएको छ । तथापि, नक्साहरूमा चोमोलोङमा नै लेखिएको छ न कि झ्यामोलोङमा । अनि सन् १९०७ तिर नेपाली सर्भेयरद्वारा सर्वेक्षण गरी तयार गरिएको नक्सामा भने उसै बखत यस चुचुरोलाई माउन्ट एभरेष्टको साथै ‘चोमोलोङमा’ भन्ने स्थानीय नाम दिइएको छ ।
यसरी सन् १८५७ देखि १९३८ सम्मको अवधिमा संसारको यस उच्चतम शिखरको दुईवटा नामहरू निश्चित हुन आएको थियो । ती हुन् (१) माउन्ट एभरेष्ट र (२) चोमोलोङमा वा (बाबुराम आचार्यको भनाइअनुसार झ्यामोलोङमा ।) यसबाहेक, ब्रायन हड्सनको भनाइबमोजिम यसको स्थानीय नाम ‘देवढुङ्गा’ पनि थियो । तथापि, यो नाम माथि उल्लेखित प्रमाणबाट सत्य ठहरिन आउँदैन र गौरीशङ्कर पनि यसै चुचुरोको नाम हो भन्ने जर्मन यात्रुको हल्ला पनि हल्लामात्रै सावित भइसकेको छ ।
इतिहास शिरोमणि बाबुराम आचार्यले ‘शारदा’ मासिक पत्रिकामा प्रकाशित ‘सगरमाथा या झ्यामोलोङमा’ नामक लेखमा यस चुचुरोको अर्को एउटा नाम पनि प्रस्तुत गर्नुभएको छ । उहाँले यस चुचुरोलाई नेपालका नेपाली भाषा भाषीहरूले ‘सगरमाथा’ भन्दछन् भन्ने उल्लेख गर्दै यसको अर्को एक नाम ‘सगरमाथा’ संसारलाई थाहा दिनुभयो । इतिहास शिरोमणिले यसप्रकार यसको विशुद्ध नेपाली नाम पनि छ भन्ने कुरा लेख्नुभएबाट यस सम्बन्धमा ब्रायन हड्सनले रोयल जोग्राफिकल सोसाइटीमा पठाएको विरोध पत्रमा ‘देवढुङ्गा’ भनी नाममा गल्ती गरे तापनि यस चुचुरोको नेपाली नाम पनि छ भन्ने उनको सङ्केत सही थियो भन्ने स्पस्ट हुन आएको छ । हुन त यस चुचुरोको ‘चोमोलुङमा’ भन्ने जुन नाम हो र जसलाई इतिहास शिरोमणिले ‘झ्यामोलोङमा’ भनी तिब्बती नाम भन्ने अनुमान गर्नुभएको थियो । त्यसको व्युत्पत्ति पनि नेपालमै भएको हो भन्ने थाहा हुन आएको छ र यो नाम नेपालको किरात प्रदेशको भाषाअनुसार बन्न गएको रहेछ । तर, पनि हड्सनले यसलाई ‘देवढुङ्गा’ भनेर नाममा गल्ती गरे तापनि उनको सङ्केत यस चुचुरोको नेपाली भाषा–भाषीहरूले भनिने नामसँगै थियो भन्ने अनुमान गर्न सकिन्छ ।
यस माउन्ट एभरेष्ट चुचुरोलाई नेपाली भाषा–भाषीहरूले भनिने नाम ‘सगरमाथा’ को विषय इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो उपयुक्त लेखमा ‘सगर’ को अर्थ आसमान वा स्वर्ग, ‘माथ’ को मतलब माथ वा कपाल भएकोले ‘सगरमाथा’ को अर्थ आसमानसम्म शिर पुगेको भन्ने हुनसक्छ । यो चुचुरो ज्यादै अग्लो भएकोले यो नाम अत्यन्त सार्थक छ भन्ने विचार उहाँले व्यक्त गर्नुभएको छ । यो नाम यस चुचुरोको किरात प्रदेशमा चलेको नाम (चोमोलुङमा, तर उहाँको भनाइअनुसार झ्यामोलोङमा) कर्णकटु भएको हुँदा त्यस इलाकामा पछि बसाइँ सरेका ब्राह्मण, क्षेत्री आदि आर्य भाषा–भाषीहरूले बदलेको हुनुपर्छ भन्ने पनि अनुमान छ । तर, किरात प्रदेशमा प्रचलित यस चुचुराको नाम (चोमोलोङमा र आर्य भाषा–भाषीको यो नाम सगरमाथा) का अर्थबाट विचार गर्दा यो सगरमाथा नाम किराती नामको ठीक रूपान्तर वा अनुवादमात्र अवश्य होइन भन्ने ज्ञात हुन्छ । अनि, ज्यादै अग्लो भएको कारणले मात्र यो (सगरमाथा) नाम रहन गएको भन्ने अनुमानको हकमा पनि, यो चुचुरो ज्यादै (अर्थात् सबभन्दा) अग्लो भन्ने कुरा सय वर्षअगाडि मात्र पत्ता लागेको विषय हुनाले यस हिसाबबाट यो नाउँ त्यसपछि मात्र हुन गएको जस्तो देखिन्छ । तर, यो चुचुरो सय वर्षमात्र पुरानो नहुनाले तथा किरात प्रदेशमा आर्य भाषाभाषीहरूको आवासन पनि सय वर्ष यतामात्र भएको नहुनाले यसको यो नाम त्यसभन्दा अगाडिकै हुनुपर्छ । हड्सनले सय वर्षअगावै यसको स्थानीय नाम (सम्भवतः नेपाली भाषा–भाषीहरूले भनिने नाम) छ भन्ने कुरा भनिसकेकोले ‘सगरमाथा’ नाम पुरानो हुनुपर्छ र यो नाम रहन गएकोमा अर्को कुनै उपयुक्त कारण पनि हुनुपर्दछ ।
सगरमाथा चुचुरोको दक्षिण पश्चिमतिर एउटा गाउँ छ, जसलाई ‘सगर गाउँ’ भनिन्छ । सगर गाउँको उत्तर–पूर्वमा शिरझैँ यो शिखर खडा रहेको हुनाले त्यस इलाकाका नेपाली भाषा–भाषीहरू (आर्य भाषा भाषीहरू) ले यस चुचुरोलाई सगर गाउँको शिर अर्थात् ‘सगरमाथा’ भन्न कल्पना गरेको हुनुपर्दछ र त्यतैबाट यस शिखरको नाम ‘सगरमाथा’ हुन गयो होला । यो भनाइ तर्कसङ्गतिपूर्ण छ । अनि, किरात भाषा–भाषीहरूको निमित्त त चोमजोङलङमा (अपभ्रंशमा चोमोलोङमा) नाम छँदै थियो ।
आज विभिन्न पुस्तक वा मानचित्रमा यस शिखरको अङ्ग्रेजी नाम माउन्ट एभरेष्टको साथै स्थानीय नामको रूपमा चोमोलोमो रहिआएको छ तापनि त्यो शब्द किराती भाषाको ‘चोमजोङलुङमा’ शब्दको अपभ्रंशमात्र हो भन्ने बुझिन्छ । किराती भाषामा ‘चोम’ को अर्थ ‘प्रतिष्ठित’, ‘जोङ’ को अर्थ ‘शिखर’ र ‘लुङमा’ को अर्थ ‘पहाड’ (वा पत्थर) हुनगएबाट ‘चोमजोङलङमा’ को अर्थ ‘प्रतिष्ठित पहाड (वा पत्थर) को शिखर’ हुन जान्छ र यो नाम उपयुक्त पनि देखिन्छ । हिमालयको विभिन्न श्रृङ्खलामध्ये यस शिखर रहेको श्रृङ्खलालाई नेपाली भाषा–भाषीहरू ‘महालंगूर’ श्रृङ्खला भन्दछन् । नेपाली वा संस्कृत भाषानुसार ‘महा’ शब्द ‘ठूलो वा प्रतिष्ठित’ को रूपमा प्रयोग हुने हुँदा हिमालयको यस श्रृङ्खलालाई विशेष प्रतिष्ठित ठानी यस लंगूर (श्रृङ्खला) मा ‘महा’ विशेषण जोडिएको हुनुपर्छ । यसै ‘प्रतिष्ठित’ अर्थात् ‘महा’ लंगूरको अग्लो चुचुरो हुनाले यसको स्थानीय नाम प्रतिष्ठित पहाडको शिखर अर्थात् चोमजोङलुङमा हुन गएको हुनुपर्छ । पछि बोलीचालीमा सरल उच्चारणको निमित्त अपभ्रंश भई चोमोलोङमा वा चोमोलोमो हुन गएको होला ।
इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइबमोजिम यस चुचुरोलाई तिब्बतीहरू ‘झ्यामोलोङमा’ भन्दछन् तथा तिब्बती भाषामा ‘झ्यामो’ को अर्थ ‘चरी’ र ‘लोङमा’ को अर्थ ‘लमिनी’ भई ‘झ्यामोलोङमा’ को अर्थ ‘चरी लमिनी’ हुन आउँछ । यसरी पन्छीको नामबाट पहाडको शिखरको नाम राख्ने चलन अन्त देशमा पनि भएको तथा इरानी आर्यहरूको साहित्य ‘आवेस्तामा’ हिन्दुकूश पहाडको मुख्य शिखरको नाम ‘उपशिर सइएन’ अर्थात् ‘बाजभन्दा अग्लो’ भन्ने राखिएको हुँदा ‘चरी लमिनी’ भन्ने नाम पनि उपयुक्त छ भन्ने उहाँको सङ्केत थियो । तर, तिब्बती भाषामा ‘झ्यामो’ को अर्थ ‘चरी’ भए पनि ‘लोङमा’ को अर्थ ‘लमिनी’ भन्ने सत्य थिएन भन्ने तिब्बती भाषाका विशेषज्ञहरूबाट थाहा भएको छ । तिब्बती भाषामा लामाको स्त्रीलिङ्ग ‘लमिनी’ लाई ‘अनि’, लमाइको लामोपनालाई ‘रिङ्बु’ र नेवारी भाषामा केटी खोजिदिने लमीको स्त्रीलिङ्गलाई ‘थाक्पाथेनी’ भन्ने हुनाले लोङमाको अर्थ लमिनी भन्ने कतै देखिन आउँदैन । तसर्थ, झ्योमोलोङमाको अर्थ ‘चरी लमिनी‘ भनी मान्न अप्ठ्यारो पर्न आउँछ । अनि यस शब्दको अर्थ एकछिनलाई ‘चरी लमिनी’ नाम ‘बाजभन्दा अग्लो’ भनेजस्तै खास अर्थपूर्ण देखिँदैन । यसैकारण यस ‘झ्यामोलोङमा’ शब्द यस चुचुरोको किराती भाषाको नाम ‘चोमजोङ्लुङमा’ को अपभ्रंश ‘चोमोलोङमा’ को तिब्बती उच्चारणमात्र हो भन्न सकिन्छ ।
यसै सगरमाथा (चोमोलोङमा) चुचुरोलाई वर्तमान अवस्थामा चिनियाँ हान भाषाको पत्र–पत्रिका एवम् पुस्तकहरूमा ‘टुम्होल्हामो’ भनी लेखिँदो रहेछ । चिनियाँ भाषानुसार ‘टुम्हो’ को अर्थ ‘उज्ज्वल मोती’ र ‘ल्हामो’ को अर्थ ‘तेज भएको रत्न’ भई ‘टुम्होल्हामो’ को अर्थ ‘उज्ज्वल तेज भएको मोती’ भन्ने हुँदोरहेछ । अग्लो हिउँहिउँको ढिस्कोस्वरूप रहेको हुँदा यस चुचुरोको ‘उज्ज्वल तेजपूर्ण मोती’ भन्ने नाम उपयुक्त जस्तो देखिन जान्छ, तर पनि चिनियाँ हान भाषाभाषीहरूले यस शिखरलाई तिब्बत प्रदेशमा नगई देख्न नसकिने हुँदा यस्तो विशेष नामको सृजना भयो होला भनी अनुमान गर्न अप्ठ्यारो पर्न जान्छ । साथै ‘टुम्हो’ र ‘ल्हामो’ दुई अलग तर एउटै अर्थ बुझाउने शब्द हुन गएबाट यसलाई चिनियाँ हान भाषाभाषीहरूले आफ्नै प्रेरणामा नामकरण गरेको हो भनी एकछिनलाई माने तापनि उही अर्थ बुझाउने दुई शब्द राख्नमा केही मतलब देखिँदैन । त्यसकारण चिनियाँ अक्षरमा ‘टुम्होल्हामा’ लेखी त्यसको अर्थसमेत देखिए तापनि चिनियाँ अक्षरमा ‘टो’ लेखी उच्चारण ‘चो’ नै गर्ने भएबाट चिनियाँहरू पनि यस चुचुरोलाई किरात भाषाको नाम चोमजोङलुङमाको अपभ्रंशको रूप ‘चोमोलोमो’ नै भन्दछन् ।
भौगोलिक दृष्टिकोणबाट यो सगरमाथा शिखर नेपालको तत्कालीन पूर्व ३ नं. इलाकामा पर्दछ । यसको उत्तरपट्टि चीनको तिब्बत क्षेत्रको ‘चङ्’ प्रदेश पर्दछ । यो शिखर रहेको हिमाली श्रृङ्खला करिब ३ माइल लामो पहाड भई यसको पूर्वतिर २७८९० फीट अग्लो ल्होत्से र पश्चिमतिर २५६८० फिट अग्लो नुप्से चुचुराहरू रहेका छन् । हुन त यो शिखर रहेको महालंगूर श्रृङ्खला पश्चिममा पुमोरीदेखिन् पूर्वतर्फ मकालु शिखरसम्म फैलिएको छ, तापनि सगरमाथाको समीपमा उपर्युक्त दुई चुचुराहरू रहेका छन् ।
सगरमाथा चुचुरो चारैतिर ठूल्ठूला हिमानीहरूद्वारा घेरिएको छ । यस चुचुरोको उत्तरमा रोङवुक, पूर्वमा कोङसुङ, दक्षिणमा इम्जा र पश्चिममा खोम्बु हिमानीहरू रहेका छन् । यसबाहेक यसको समीपमा ‘ल्होत्से हिमानी’ र ‘नुप्से हिमानी’ रहेका छन् । सगरमाथालाई घेरेर बसेका यी विभिन्न हिमानीहरूबाट विभिन्न नदीहरू बगेका छन् । उत्तरतिरको रोङवुक हिमानीबाट एक खोला निस्की तिब्बततर्फ साँप्रो (ब्रह्मपुत्र) मा गएर मिलेको छ र यसलाई जाकार्चु भनिन्छ । त्यसरी नै दक्षिणतर्फ ‘इम्जा हिमानी’ बाट निस्केको खोलालाई ‘इम्जा खोला’ भनिन्छ जुन दूधकोसीमा गएर मिसिन्छ ।
हिवैहिउँको किल्ला बनाइबसेको यस चुचुरोमा कुनै पनि मानिसको बस्ती नरहनु त स्वाभाविक नै थियो र बस्ती हुनु सम्भव पनि छैन । यस गगनभेदी चुचुरोमाथि पहिलो मानव कदमको पदार्पण सन् १९५३ मा कर्नल हन्टको नेतृत्वमा गएको ब्रिटिश अभियान दलको प्रयासको सिलसिलामा तेञ्जिङ्ग नोर्के शेर्पा र एडमन्ड हिलारीद्वारा हुन सक्यो । यस चुचुरोबाट करीब १७ हजार फिट तलतिर अर्थात् समुद्रको सतहबाट करीब १२ हजार फीटको उचाइमा महालंगूर श्रृङ्खलाको दक्षिणी पाटामा एउटा गुम्बा रहेको छ, जुन ‘थ्याङबोचे गुम्बा’ को नामबाट प्रसिद्ध छ । यस चुचुरोको दक्षिणतर्फ मानिसको बस्ती रहेको सबभन्दा अग्लो ठाउँ यही हो । तर, यस महालंगूर शिखरको उत्तरीय पाटामा भने करीब १९५७० फीटको उचाइमा एउटा गुम्बा रहेको छ । यो रोङवुक गुम्बाको नामले प्रसिद्ध छ । यसतर्फ मानिसहरू ल्होला भञ्ज्याङ्गबाट लंगूर वारपार गर्दछन् ।
सगरमाथा चुचुरो चारैतिर ठूल्ठूला हिमानीहरूद्वारा घेरिएको छ । यस चुचुरोको उत्तरमा रोङ्वुक, पूर्वमा कोङसुङ, दक्षिणमा इम्जा र पश्चिममा खोम्बु हिमानीहरू रहेका छन् । यसबाहेक यसको समीपमा ‘ल्होत्से हिमानी’ र ‘नुप्से हिमानी’ पनि रहेका छन् । सगरमाथालाई घेरेर बसेका यी विभिन्न हिमानीहरूबाट विभिन्न नदीहरू बगेका छन् । उत्तरतिरको रोङबुक हिमानीबाट एक खोला निस्की तिब्बततर्फ साँप्रो (ब्रह्मपुत्र) मा गएर मिलेको छ र यसलाई जाकार्चु भनिन्छ । त्यसरी नै दक्षिणतर्फ ‘इम्जा हिमानी’ बाट निस्केको खोलालाई ‘इम्जा खोला’ भनिन्छ जुन दूधकोसीमा गएर मिसिन्छ ।
हिउँहिउँको किल्ला बनाइबसेको यस चुचुरोमा कुनै पनि मानिसको बस्ती नरहनु स्वाभाविक नै थियो र बस्ती हुनु सम्भव पनि छैन । यस गगनभेदी चुचुरोमाथि पहिलो मानव कदमको पदार्पण सन् १९५३ मा कर्नल हन्टको नेतृत्वमा गएको ब्रिटिश अभियान दलको प्रयासको सिलसिलामा तेञ्जिङ्ग नोर्के शेर्पा र एडमन्ड हिलारीद्वारा हुन सक्यो । यस चुचुरोबाट करीब १७ हजार फिट तलतिर अर्थात् समुद्रको सतहबाट करीब १२ हजार फीटको उचाइमा महालंगूर श्रृङ्खलाको दक्षिणी पाटामा एउटा गुम्बा रहेको छ, जुन ‘थ्याङबोचे गुम्बा’ को नामबाट प्रसिद्ध छ । यस चुचुरोको दक्षिणतर्फ मानिसको बस्ती रहेको सबभन्दा अग्लो ठाउँ यही हो । तर, यस महालंगूर शिखरको उत्तरीय पाटामा भने करीब १९५७० फीटको उचाइमा एउटा गुम्बा रहेको छ र यो रोङबुक गुम्बाको नामले प्रसिद्ध छ । यसतर्फ मानिसहरू ल्होला भञ्ज्याङ्गबाट लंगूर वारपार गर्दछन् ।
सगरमाथा संसारको सबभन्दा अग्लो शिखर आरोहणको निमित्त कठिन भएकोले संसारका पर्वतारोहीहरूको निमित्त यो एक चुनौतीको रूपमा खडा छ । सगरमाथाको यस हाँकलाई कतिपय पर्वतारोहीहरूले स्वीकार गरी विजय प्राप्त गर्न अथक प्रयास गरी ज्यानसमेत अर्पण गरेका थिए । पर्वत आरोहण एक सौखको रूपमा स्वीकार गर्ने तथा पाश्चात्य सभ्यताको देन हुनाले यस चुचुरोमाथि विजय गर्ने प्रयास पनि प्रारम्भमा पश्चिमाहरूबाटै भएको थियो र तीसौँ वर्षको प्रयासपछि मानजातिले चुचुरोमा टेकिछाड्यो । मानव प्रगति एवम् प्रयासको सामु प्रकृतिको गौरवपूर्ण चुचुरो आखिर हार मान्न करै लाग्यो । नेपाली जातिमा पर्वत आरोहण एक अनिवार्य कार्यबाहेक सौखका रूपमा स्वीकार गर्ने परम्परा नभएको हुँदा १८÷२० हजार फीट अग्लो भञ्ज्याङ्गबाट वारपार गरे तापनि कतिपय अग्ला हिमपर्वतहरूको टाकुरामा कार्यविशेषले पुगे तापनि यी कार्यहरू पर्वत आरोहणको इतिहासमा दरिन्नथ्यो । अनि, सगरमाथा आरोहण गर्ने उद्देश्यबाट त जार्ज मालोरीले सबभन्दा पहिले प्रयास गरेका थिए । सन् १९२१ मा जोन ब्रुसको नेतृत्वमा ब्रिटिश पर्वतारोहण दलले सबभन्दा पहिले यस चुचुरोको चुनौतीलाई स्वीकार गरी त्यसमाथि विजय प्राप्त गर्न अभियान सुरु ग¥यो । यस साहसिलो कार्यको प्रारम्भ त्यस दलका एक सदस्य जार्ज मालोरीले गरेका थिए । त्यसबखत नेपालका तत्कालीन सरकारबाट इजाजत प्राप्त नभएकाले यो दलले तिब्बतको बाटो भई उत्तरतर्फ आफ्नो अभियान कार्य सुरु गरेको थियो । यो पहिलो प्रयास असफल भए तापनि सन् १९२१ देखि सन् १९२४ सम्ममा जार्ज मालोरीले तीन पटकसम्म सगरमाथामा पुग्ने प्रयास गरी अन्तमा असफल भई त्यसको छेउछाउमा आफ्नो इहलीला समाप्त गरे । त्यसै बेलादेखि विभिन्न देशका पर्वतारोही दलहरूले त्यस चुचुरोमाथि विजय प्राप्त गर्ने कोशिश गर्दै गरे र अन्तमा सन् १९५३, मे २९ तारिखका दिन कर्णेल जोन हन्टको नेतृत्वमा गएको ब्रिटिश पर्वतारोही दल सबभन्दा पहिलो दलको रूपमा यस चुचुरोमा पुग्न सफल हुन सक्यो ।
मालोरीको प्रथम प्रयासदेखिन् हन्टको प्रथम सफलताको अवधिभित्र जम्मा एघार पटक सगरमाथाको अभियान गरिएको थियो । यीमध्ये ८ प्रयासहरू चुचुरोमा पुग्ने उद्देश्यबाट गरिएको थियो र उत्तरबाट सन् १९३५ मा स्वीस नागरिक एरिक सिप्टनले उत्तर तथा दक्षिणबाट सन् १९५० मा ब्रिटिश नागरिक टिल्म्यान र अमेरिकन नागरिक चाल्र्स हप्टनले संयुक्तरूपमा सन् १९५१ मा स्वीस नागरिक एरिक सिप्टनले गरेका प्रयासहरू भने केवल मार्ग निरीक्षणको निमित्त गरिएको थियो । ई.सं. १९५३ सम्ममा सगरमाथा चुचुरोमै पुग्ने उद्देश्यबाट गरिएका विभिन्न प्रयासहरू निम्नलिखित सालहरूमा निम्नलिखित विभिन्न जातीय पर्वतारोही दलहरूबाट सम्पन्न भएको थियो ।
यी विभिन्न दलहरूले गरेका आरोहण प्रयासहरूमा आखिरी दुई प्रयासहरूबाहेक अन्य सबै प्रयासहरू उत्तरतिरबाट भएको थियो । सन् १९४९ पश्चात् सगरमाथा अभियान गर्न नेपालले इजाजत दिन थालेको हुँदा यो सालभन्दा अगाडिसम्मका सबै अभियानहरू तिब्बतबाट हुनु स्वाभाविक नै थियो । नेपालले इजाजत दिएपछि पर्वतारोही दलहरूको प्रयास दक्षिणबाट हुन थाल्यो र यसको केही वर्षभित्रै सफल पनि हुन सक्यो ।
सन् १९५० मा टिल्म्यान र हप्टनको संयुक्त निरीक्षण–अभियानले सगरमाथा चुचुरो पुग्ने कल्पित मार्गरेखा तयार गरेको थियो । त्यसको तत्कालपछि ई.सं. १९५१ मा स्वीस नागरिक एरिक सिप्टनको नेतृत्वमा गएको निरीक्षण दलले कल्पित मार्ग रेखामात्र तयार गरेको नभई दक्षिणतर्फको बाटो उत्तरतर्फको बाटोको दाँजोमा बढी व्यावहारिक एवम् सरल पनि छ भन्ने पत्ता लगायो । यस दलले पत्ता लगाएको यो ज्ञानपूर्ण अन्वेषणको तत्काल उपयोग वेज डुनाटको नेतृत्वमा गएको स्वीस दलले नै गरेको थियो । तापनि, चुचुरोमा पुग्न भने यो दल सफल हुन सकेन । तर, पनि सगरमाथा अभियान दलहरूको इतिहासमा त्यसबेलासम्ममा करीब २८ हजार फीटको उचाइसम्म पुग्न सक्ने दल यही थियो । त्यसबेला यस उचाइमा पुग्ने व्यक्ति पनि प्रसिद्ध पर्वतारोही तेञ्जिङ्ग नोर्के नै थिए । यस आंशिक सफलताको निम्ति त्यसबखत नेपालले उनलाई ‘नेपाल प्रताप वद्र्धक’ को तक्मा प्रदान गरी सम्मान गरेको थियो । त्यसको अर्को साल कर्णेल हन्टको नेतृत्वमा गएको दलसाथ पूर्ण सफलता प्राप्त गरेपछि उनलाई ‘नेपाल तारा’ को तक्मा प्रदान गरिएको थियो ।
कर्णेल हन्टको नेतृत्वमा गएको ब्रिटिश अभियान दलपश्चात् पनि यो चुचुरो पुग्ने प्रयास अन्य दलहरूले गर्दै आएका छन् । सन् १९५६ मा एल्वर्ट इग्लरको नेतृत्वमा सङ्गठित स्वीस पर्वतारोही दल यस चुचुरोमाथि पुग्न सफल भयो । यसरी दक्षिणको मार्ग खुलेपछि थोरै अवधिभित्र दुई पटक चुचुरोमाथि पुग्न पर्वतारोहीहरू सफल भए । त्यसपछि ब्रिगेडियर ज्ञान सिंहको नेतृत्वमा भारतीय अभियान दलले पनि दक्षिणतर्फबाट यस शिखरमा पुग्ने प्रयासहरू गरेको थियो । तर, यस दलले सफलता प्राप्त गर्न सकेन । सन् १९६३ मा नोरम्यान डिरेन फोर्थको नेतृत्वमा गएको अमेरिकी अभियान दल भने यस चुचुरोमा पुग्न सफल भयो ।
यसरी दक्षिणतर्फको बाटोबाट सगरमाथा विजय गर्ने होड चल्दै रहेको बेला सन् १९६० मा सिन चान चुनको नेतृत्वमा गएको चिनियाँ अभियान दल यस चुचुरोमा उत्तरतिरबाट विजय प्राप्त गर्नमा सफल भयो । सन् १९६०, मे २५ का दिन उक्त चिनियाँ दलका तीन सदस्यहरू वाङ फ चाउ, चूयांल्हा र कोन बू (तिब्बती) एकसाथ चुचुरोमा पुग्न सफल भएका थिए । यसप्रकार सन् १९२१ देखि उत्तरतिरबाट तथा सन् १९५२ देखि दक्षिणतिरबाट सुरु भएको सगरमाथा अभियान कार्यको इतिहासमा सन् १९५३ मा दक्षिणबाट पहिलोपटक तथा सन् १९६० मा उत्तरतिरबाट पहिलो पटक गरी दुवैतर्फबाट अभियान दलहरू चुचुरोमा पुग्न सफल भएबाट यस अभियानको इतिहासको एक अध्याय पूर्ण हुन गएको थियो भनेमा अत्युक्ति हुनेछैन ।
यसरी सन् १९६० मा सगरमाथाको दुवैतिरबाट भएको अभियान कार्य पूर्ण भई यसको अभियानसम्बन्धी चर्चा कम के हुन गएको थियो, यस चुचुरोको निश्चित स्थान अर्थात् वस्तुतः अधिकारको विषयलाई लिएर राजनीतिक चर्चा प्रारम्भ हुन गयो । नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, चिनियाँ प्रधानमन्त्री चाउ एन–लाइको आमन्त्रणमा सन् १९६० मार्चमा १५ दिनसम्म चीनको भ्रमण गरी स्वदेश फर्केपछि चीनले सगरमाथामाथि दावा गरेको छ भन्ने कुरा प्रकाशित हुन आयो र यो एक महत्वपूर्ण चर्चाको विषय बनी नेपाललगायत सम्पूर्ण संसारका अखबारहरू एवम् रेडियोमा यस चर्चाले प्रमुख स्थान पाउन थाल्यो । नेपालको राजधानीमा यस विषयमा विरोध प्रदर्शनसमेत हुन गएको थियो ।
सगरमाथाको वस्तुतः अधिकार विषय यसप्रकार व्यापक चर्चा भएको बखत श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणमा होइबक्सिन्थ्यो । यसबारे निकै चर्चा चलेपछि राष्ट्रका सर्वोच्च अधिकारीको नाताले श्री ५ बाट होनोलुलूमा यसबारे राष्ट्रिय दृष्टिकोण स्पष्ट गरिबक्सेको थियो ।
त्यसपछि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आमन्त्रणमा सन् १९६०, अप्रिल २६ देखि २९ तारिखसम्म चिनियाँ प्रधानमन्त्री चाउ एन–लाइको नेपाल भ्रमणको समयमा प्रधानमन्त्रीद्वयको बीच अन्य विभिन्न समस्याहरूका अतिरिक्त सगरमाथाको विषयमा पनि वार्ता चल्न गयो । यस वार्तानुसार प्रस्तावित नेपाल–चीन संयुक्त सीमा कमिटीले नेपाल र चीनको सम्पूर्ण सिमानाको (सगरमाथा इलाकाबाहेक) समस्याहरू समाधान गरी सीमारेखाको रेखाङ्कन निर्धारण गरेपछि सगरमाथाबारे प्रधानमन्त्रीद्वयले पत्रव्यवहारबाट समस्या समाधान गर्ने निर्णय हुन गयो । अनि यसबारे दुवै प्रधानमन्त्रीहरूद्वारा प्रेस सम्मेलनहरूमा आ–आफ्नो धारणा व्यक्त गरिएबाट यसबारेको राजनीतिक चर्चाले उग्र रूप लिन पाएन तथा सीमा कमिटीको कार्यावधिसम्म पर्खने सबैमा धैर्य उत्पन्न हुन गयो ।
चिनियाँ प्रधानमन्त्री चाउ एन–लाइद्वारा सन् १९६०, अप्रिल २८ का दिन सिंहदरबार, काठमाडौँमा आयोजित प्रेस सम्मेलनमा सगरमाथा समस्याबारे निम्न विचारधारा व्यक्त गरिएको थियो, जुन १९६० अप्रिल २९ को गोरखापत्रमा प्रकाशित भएको थियो ।
“…….चीनले सगरमाथाउपर दावा गरेको छैन । चीनको नक्सामा सगरमाथा चीनभित्रै पर्दछ, तर श्री ५ को सरकार नेपालले प्रस्तुत गरेको नक्सामा सगरमाथा ठीक चीन नेपाल सीमानामा पर्दछ । किन्तु, चीनले नेपालको नक्सालाई नै स्वीकार गरी सगरमाथाको टाकुरोको दक्षिण भाग नेपालको र उत्तरी भाग चीनको हुनुपर्दछ भनेको हो ।
“…….सगरमाथा दुई देशबीचको मतभेदको विषय नभई दुई देशलाई जोड्ने एक मैत्रिक चिह्नमा रहने कुरा नेपालका नेताहरूसँगको छलफलपछि (मलाई) विश्वास भएको छ ।…………….”१ (गोरखापत्र, संवत् २०१७ वैशाख १७(सन् १९६० अप्रिल, २९))
“…….त्यसपछि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले त्यसको भोलिपल्ट अर्थात् संवत् २०१७ वैशाख १८, तद्नुसार सन् १९६० अप्रिल ३० का दिन आयोजित प्रेस सम्मेलनमा तलका कुराहरू व्यक्त गर्नुभयो”
“…….पेकिङमा चीनले प्रस्तुत गरेको नक्सामा सगरमाथा चीनको इलाकामा पर्दथ्यो । हाल चीनका प्रधानमन्त्रीको नेपाल भ्रमणमा सगरमाथाको सम्बन्धमा हामीले प्रस्तुत गरेको नक्सालाई चीनका प्रधानमन्त्रीले स्वीकार गर्नुभयो । यसप्रकार अब सगरमाथासम्बन्धी मतभेद धेरै नै सानो भएर एक बिन्दुमा रहन गएको छ ।…………”
“……………आजसम्म सगरमाथाको दक्षिणतिरबाट हुने सबै अभियान श्री ५ को सरकारको अनुमतिबाट भएको छ र उत्तरतिरबाट हुने अभियान तिब्बतको अनुमतिबाट हुने भएको थियो ।…………..”
“………..सगरमाथाको भौगोलिक तथा ऐतिहासिक स्थिति र तथ्यको अध्ययन गरी चीनका प्रधानमन्त्रीसँग लेखापढी गर्नेछु र चीन र नेपालको मैत्रीको आधारमा यो कुरा राम्रोसँग मिल्नेछ भन्ने म आशा गर्दछु ।…………..”२ (पूर्वोक्त, संवत् २०१७ वैशाख १८(सन् १९६० अप्रिल ३०))
यसप्रकार सगरमाथाको प्रश्न विषय भविष्यमा प्रधानमन्त्रीद्वयको बीच पत्रव्यवहारद्वारा निर्णय गरिने निश्चित भएपछि, नेपाल–चीन संयुक्त सीमा कमिटीले यसबारे कुनै किसिमको छलफल नगर्नु स्वाभाविक थियो । तर पनि यसबारे पत्रव्यवहार गर्न सजिलो होस् भन्ने हेतुबाट आवश्यक तथ्यको खोजी एवम् अध्ययन गर्दै रहेको थियो । सीमा कमिटीको तेस्रो अधिवेशनले नेपाल–चीन सिमानाको उक्त इलाकाबाहेक अन्य सम्पूर्ण इलाकाको सीमाको रेखाङ्कन निश्चित गरी सिमाना सन्धिपत्रको प्रारम्भिक मस्यौदा तयार गर्दा नेपालमा ‘संवत् २०१७ पुस १ गते’ को राजनीतिक परिवर्तन आइसकेको थियो र सगरमाथाको विषय दुवै देशका प्रमुखहरूद्वारा निर्णय गरिने भई बाँकी रहन गएको थियो । सीमा कमिटीको तेस्रो अधिवेशनको अन्ततिर श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको निम्ति बेलग्रेड सवारी हुने बखतमा मौसूफबाट सगरमाथाबारे कुरा चलाउने अख्तियार सीमा कमिटीका अध्यक्ष मे.ज. पद्मबहादुर खत्रीलाई बक्स्यो र चीन सरकारको तर्फबाट पनि उक्त अख्तियार कमिटीका चिनियाँ पक्षका अध्यक्ष महामहिम चाङ सि चेलाई सुम्पिएको हुँदा यसबारे दुवै अध्यक्षहरूको बीच सन् १९६१, अगष्टतिर प्रारम्भिक वार्ता सुरु हुन गयो । यस वार्तामा नेपाली पक्षका अध्यक्षद्वारा सगरमाथाको विषयमा श्री ५ को सरकारको धारणा र श्री ५ महाराजाधिराजबाट बक्सेको मौसूफको विश्व भ्रमणको सिलसिलामा ठूल्ठूला राष्ट्रहरूका राजधानीहरूमा बक्सेको हुकुमको आधारमा नेपाली पक्षको धारणा अवगत गराइयो र साथै अनेक शताब्दीदेखि भूगोल, साहित्य र परम्पराबाट संसारको उच्चतम शिखर नेपाल अधिराज्यको मानिआएको कुराहरूको सबूतहरू पनि पेश गरियो । यसप्रकार सगरमाथा विषय प्रारम्भिक वार्ता सुरु भएपछि यसबारे अन्तिम निर्णय सीमा कमिटीको चौथो अधिवेशन पेकिङ्गमा गर्ने गरी सम्पन्न भयो ।
सगरमाथा, जसलाई ‘माउन्ट एभरेष्ट’ एवम् ‘चोमोलुङमा’ (चोमोलोमो) पनि भनिन्छ, त्यसमाथि चीनले दावा गरेको छ भन्ने चर्चा चली सन् १९६० मा यसबारे संसार भर व्यापकरूपमा हल्ला मच्चिनुभन्दा अगाडि यसको वस्तुतः अधिकार विषयमा कहिल्यै कतै प्रश्न उठाइएको थिएन । यस सम्बन्धमा पछि अध्ययन गर्दा के थाहा हुन आएको थियो भने सन् १९५५ तिर नै चीनको आफ्नो नक्सामा सगरमाथासहित त्यसको दक्षिणतर्फ करीब पाँच माइलको भूभाग चीनको क्षेत्रभित्र देखाइएको रहेछ । साथै विभिन्न चिनियाँ पुस्तकहरूमा पनि माउन्ट एभरेष्टलाई चीनमा पर्दछ भनी लेख्ने गरिआएको रहेछ । चिनियाँ पुस्तिका एवम् मानचित्रहरू आदिको प्रचार र प्रसार नेपालभित्र उत्तिको नहुनाले र भाषाको कठिनाइले गर्दा पनि यो कुरा पछि मात्र अर्थात् सन् १९६० मा दुवै देशको बीच सिमानासम्बन्धी विषयमा सम्झौता भई नक्साहरूको आदानप्रदान भएपछि मात्र श्री ५ को सरकारलाई बोध हुन आयो । उसमाथि यसको वस्तुतः अधिकारको निश्चित गरिनुपर्दछ वा यससम्बन्धी विभिन्न विदेशी एट्लास वा पुस्तिकाहरूको गलत भनाइको खण्डन हुनुपर्छ भन्ने पनि अगाडिका नेपालका सरकारहरूलाई ज्ञान पनि थिएन जस्तो देखिन्छ, किनकि त्यसबखत यस्तो चलन पनि थिएन । यसैकारण नेपालमा प्रचार भएको भारतबाट प्रकाशित कतिपय पुस्तकहरू एवम् एट्लासहरूमा संसारको यस उच्चतम शिखरलाई नेपाल तिब्बतको सीमानामा देखाएर पनि स्थानको वर्णन गर्दा भारतमा पर्दछ भनी पूर्णतया ऐतिहासिक गल्ती लेखिँदा पनि त्यसको विरोध वा खण्डन गरिएको थिएन ।यस शिखरलाई विभिन्न भारतीय एवम् अन्य विदेशी नक्साहरूमा ज्यादाजसो नेपाल र तिब्बतको सिमानामा देखाइएको पाइन्छ । सन् १८६५–६७ को सर्भेयरहरूको मार्ग निर्दिष्ट गरिएको ‘पिटरम्यान्स म्याप अफ् टिबेट’, सन् १८७७ को ‘सन्डर्स म्याप अफ् दी हिमालयाज् एन्ड टिबेट’, सन् १९११ को ‘स्टाइलर्स हायन्ड एट्लास म्याप नं. ६२’ र त्यसपछि सर्भे अफ् इन्डियाद्वारा प्रकाशित अधिकांश नक्साहरूमा यस चुचुरोलाई नेपाल–तिब्बत सिमानामा देखाइएको छ ।
यस सगरमाथा शिखर विषयमा जहाँसम्म चिनियाँ नक्साहरूको सम्बन्ध छ, सन् १९४२ को तर अप्रकाशित ‘चाइनिज एरोनोटिकल म्याप’ जस्ता नक्साहरूमा यस चुचुरोलाई चीनभित्र देखाइएको थियो । तापनि, प्रकाशित नक्साहरूमा सन् १९५५ भन्दा पछि प्रकाशित नक्साहरूमा मात्र यसलाई चीनभित्र देखाइएको थियो । अनि, फरेन लाय्ङग्वेज प्रेस पेकिङ्गबाट सन् १९५८ मा प्रकाशित ‘ए सिम्पल जोग्राफी अफ् चाइना’ शीर्षक पुस्तकको पृष्ठ १८६ र १८७ मा यस शिखरलाई चीनमा पर्दछ भन्ने उल्लेख गरी चोमोलुङमा (एभरेष्ट) भनी पाद टिप्पणीमा यसप्रकार लेखिएको थियो, “सन् १७१७ देखि नै चोमोलुङमा चीनको नक्सामा यसको मूल नामबाट अङ्कित भएको थियो ।” साथै उक्त पाद टिप्पणीमा यस शिखरलाई ब्रिटिश सर्भेयरहरूले पत्ता लगाउनुभन्दा करीब १६० वर्षअगाडि चीन सरकारद्वारा पठाइएका सर्वेयरहरूले पत्ता लगाएका थिए भनी सिभेन हिडेन नामक स्वेडीस अन्वेषकले बताएका छन् भनी लेखिएको थियो ।
यस शिखरलाई विभिन्न भारतीय एवम् अन्य विदेशी नक्साहरूमा ज्यादाजसो नेपाल र तिब्बतको सिमानामा देखाइएको पाइन्छ । सन् १८६५–६७ को सर्भेयरहरूको मार्ग निर्दिष्ट गरिएको ‘पिटरम्यान्स म्याप अफ् टिबेट’, सन् १८७७ को ‘सन्डर्स म्याप अफ् दी हिमालयाज् एन्ड टिबेट’, सन् १९११ को ‘स्टाइलर्स हायन्ड एट्लास म्याप नं. ६२’ र त्यसपछि सर्भे अफ् इन्डियाद्वारा प्रकाशित अधिकांश नक्साहरूमा यस चुचुरोलाई नेपाल–तिब्बत सिमानामा देखाइएको छ ।
यस सगरमाथा शिखर विषयमा जहाँसम्म चिनियाँ नक्साहरूको सम्बन्ध छ, सन् १९४२ को तर अप्रकाशित ‘चाइनिज एरोनोटिकल म्याप’ जस्ता नक्साहरूमा यस चुचुरोलाई चीनभित्र देखाइएको थियो । तापनि, प्रकाशित नक्साहरूमा सन् १९५५ भन्दा पछि प्रकाशित नक्साहरूमा मात्र यसलाई चीनभित्र देखाइएको थियो । अनि फरेन लाय्ङग्वेज प्रेस पेकिङ्गबाट सन् १९५८ मा प्रकाशित ‘ए सिम्पल जोग्राफी अफ् चाइना’ शीर्षक पुस्तकको पृष्ठ १८६ र १८७ मा यस शिखरलाई चीनमा पर्दछ भन्ने उल्लेख गरी चोमोलुङमा (एभरेष्ट) भनी पाद टिप्पणीमा यसप्रकार लेखिएको थियोः— “सन् १७१७ देखि नै चोमोलुङमा चीनको नक्सामा यसको मूल नामबाट अङ्कित भएको थियो ।” साथै उक्त पाद टिप्पणीमा यस शिखरलाई ब्रिटिश सर्भेयरहरूले पत्ता लगाउनुभन्दा करीब १६० वर्षअगाडि चीन सरकारद्वारा पठाइएका सर्वेयरहरूले पत्ता लगाएका थिए भनी सिभेन हिडेन नामक स्वेडीस अन्वेषकले बताएका छन् भनी लेखिएको थियो ।
यसप्रकार उक्त चिनियाँ भूगोलमा यो शिखर सन् १६९२ तिर नै चिनियाँ सर्भेयरहरूले पत्ता लगाइसकेका थिए तथा सन् १७१७ देखि नै चिनियाँ नक्सामा अङ्कित भइसकेको थियो भनी दावा गरिएको छ । तथापि, सन् १८८६ सालसम्म प्रकाशित चीनका पुराना नक्साहरूमा यस शिखरको कतै उल्लेख भइराखेको देखिएको थिएन । तिब्बतको पहिलो चिनियाँ नक्सा सन् १७११–१७ सम्मको अवधिमा सम्राट काङ शीद्वारा नियुक्त गरिएका जेस्यू पादरीहरूले केही लामा सर्भेयरहरूको ज्ञानको आधारमा तयार गरेका थिए । यो नक्साको एकप्रति डी. एनभिलद्वारा सन् १७३३ मा प्रकाशित गरिएको थियो । यो नक्सामा तिब्बतको दक्षिणी सिमाना कुनै खास रूपमा दर्शाइएको नभई केवल नेपालतर्फ चोमोर लाङमा पहाडसम्म देखाइएको थियो । यसैलाई उक्त स्वेडिसले माउन्ट एभरेष्ट शिखर भनी लेखेको हुनसक्छ । अनि, यो पहाड कुनै नदीको ठीक उत्तरतिर देखाइएको थियो । यसबाहेक यो नक्सामा पश्चिमी तिब्बत र सिन्धू तथा गंगा नदीका उद्गमस्थलहरू पनि सही रूपमा अङ्कित भएको थिएन, जसबाट यी लामाहरूले यी क्षेत्रहरूमा पुगी सर्वेक्षण गरेका थिएनन् भन्ने स्पष्ट अनुमान हुन्छ । त्यसपछि चीनको भूगोलसम्बन्धी पुस्तकहरूमा समावेश नक्साहरू यही लामा–नक्साकै प्रतिरूपको रूपमा तयार गरिएको हुन्थ्यो र यिनीहरूमा चोमोलुङमा वा माउन्ट एभरेष्ट कतै अङ्कित भएको थिएन । यही कारणले टाचिन् कुङ् ची (सन् १७८४), वे साङ टू ची (सन् १७९२) र शि साङ टू काउ (सन् १८८६) जस्ता महान् कृतिहरूले आफ्ना नक्साहरूमा यस शिखरको कुनै उल्लेख गरेका थिएनन् ।
आधुनिक युगमा तयार गरिएका चिनियाँ नक्साहरूमा सन् १९४२ को अप्रकाशित चाइनिज एरोनटिकल म्यापमा ‘माउन्ट एभरेष्ट’ लाई चीनभित्र देखाइएको भए तापनि, सन् १९३३ मा चाइनिज् बोर्ड अफ् डाइरेक्सन फर एजुकेसन एन्ड लिटरेचरको तत्वावधानमा सङ्ग्रह गरिएको ‘एटलास अफ् प्रोभिन्सेज् अफ् चाइना’ मा यस शिखरलाई नेपालभित्र देखाइएको थियो । अनि सन् १९४७ मा याक्वाङ म्याप पब्लिसिङ सोसाइटीद्वारा प्रकाशित ‘दि वाल म्याप अफ् मोडर्न चाइना’ आदि सबै नक्साहरूमा माउन्ट एभरेष्ट नेपाल र तिब्बतको ठीक सिमानामा देखाइएको थियो ।
सन् १९५५ सालपछि प्रकाशित अधिकांश चिनियाँ नक्साहरूमा यो चुचुरोलाई चोमोलोङमा नाम दिई चिनियाँ क्षेत्रभित्र देखाइएको थियो । यीमध्ये केही प्रमुख नक्साहरू सन् १९५५, जनवरीमा न्यू चाइना म्याप एशोसिएसनद्वारा सङ्कलित तथा चुङ ह्वा बुक स्टोरद्वारा प्रकाशित म्याप अफ् दि ग्रेट मदरल्यान्ड, सन् १९५६, जनवरीमा म्याप पब्लिसिङ सोसाइटीद्वारा प्रकाशित ‘दि वाल म्याप अफ् दि पिपुल्स रिपब्लिक अफ् चाइना’, सन् १९५९ मा म्याप प्रिन्टिङ्ग सोसाइटीद्वारा प्रकाशित ‘दि वाल म्याप अफ् चाइना’ आदि हुन् । यसको साथै नेपाल–चीन सिमाना सम्झौताको बेला चीनद्वारा प्रस्तुत नक्सामा पनि यस शिखर र यसको दक्षिणतर्फ पाँच माइलको भूभाग चीनभित्र देखाइएको थियो ।
यसप्रकार सगरमाथासम्बन्धी यो प्रश्न सन् १९६० तिर मात्रै व्यापकरूपमा प्रचार हुन गए तापनि यसको प्रारम्भ सन् १९५५ देखि नै भइसकेको थियो । तर, यसबारे नेपालीहरूलाई थाहासम्म नभएको हो, नेपालीहरूले यसबारे विशेष अध्ययनको आवश्यकतासम्म नठानेको हो भन्न सकिन्छ । पछि यससम्बन्धी अध्ययनबाट उपर्युक्त कुराहरू बोध हुन आयो । यसको साथै यस सगरमाथा शिखरको उच्चतम क्षेत्र सियोको टुप्पोझैँ चुच्चो नभई यो करीब ५ गज लामो र २ गज चौडा छ भन्ने कुरा पनि ज्ञात हुन आएको छ ।
श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव तथा श्री ५ बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको चीन भ्रमणको समय सन् १९६१ अक्टोबर १ देखि ५ तारिखको बीच सीमा कमिटीको चौथो अधिवेशन चलिरहेको बेला कमिटीका दुवै अध्यक्षहरूको बीच तेस्रो अधिवेशनको अन्त्यतिर काठमाडौँमा भएको सगरमाथा विषयक प्रारम्भिक वार्ताको अन्तिम रूप दिनको निम्ति वार्ता प्रारम्भ भयो । त्यसतर्फको सीमा रेखाङ्कनको विषय समान धारणा कायम भइसकेपछि सगरमाथाको वस्तुतः अधिकार विषय दुवै पक्षको बीच धेरै छलफल हुन गयो । यस विषयमा स्वयम् श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव तथा चिनियाँ प्रधानमन्त्री चाउ एन–लाइबीच धेरै पटक वार्ता सम्पन्न हुन गएको थियो । कमिटीका दुवै अध्यक्षहरूको बीच अक्टोबर ४ तारिखको सन्ध्याकालतिर प्रारम्भ भएको अन्तिम वार्ता अक्टोबर ५ तारिखको प्रातः ६ बजेसम्म अटुटरूपमा चल्यो । यति लामो वार्ता सीमा कमिटीको सम्पूर्ण अधिवेशनमा कहिल्यै भएको थिएन । रात्रिको भोजनसमेतको पर्वाह नगरी दुवै अध्यक्षहरू एक मैत्रीपूर्ण समाधानमा पुग्नको निम्ति व्यस्त थिए तथा स्वयम् श्री ५ महाराजाधिराज एवम् चिनियाँ प्रधानमन्त्रीको समय पनि आफ्ना प्रतिनिधिहरूको वार्ताको निर्णय सुन्न रातभर नै जागा अवस्थामा बितेको थियो । त्यसपछि सबै समस्याको साथै सगरमाथाको प्रश्न समाधान भएपछि अक्टोबर ५ तारिखमा सन्धिपत्रमा हस्ताक्षर सम्पन्न भयो ।
नेपाल र चीनबीच भएको यस ऐतिहासिक सन्धिपत्रबाट ‘परम्परागत प्रचलित सीमारेखाको आधारमा यस शिखरको क्षेत्र जुन प्रकारले नेपाल अधिराज्यभित्र रहिआएको थियो, त्यसै प्रकारले सगरमाथा स्पष्ट तथा विवादरहित किसिमले नेपाल अधिराज्यभित्र’ पारिएको छ । यस विषय काठमाडौँका नागरिकहरूले गरेको अभिनन्दन समारोहको उपलक्ष्यमा संवत् २०१८ साल कार्तिक ११ का दिन श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवबाट नेपाली जनतासमक्ष बडो विश्वास र दृढतासाथ घोषणा गरिबक्सेको थियो–
“…..सगरमाथा, आज जसबारे संसारको आँखा परेजस्तो लाग्दछ जस्ताको तस्तै हाम्रो देशभित्र हाम्रो भएर रहेको छ भन्न पाउँदा हामी सबै नेपाली गौरवान्वित भएका छौँ…… ।”
स्रोत : केही ऐतिहासिक निबन्धहरू
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *