भर्खरै :

भारतीय पत्रकारलाई जवाफ

काठमाडौँ, १ माघ । दुई–तीन दिनअगाडि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको घोषित–अघोषित समाचार च्यानल जी न्युज टीभीका सम्पादक सुधीर चौधरीले विनास्वीकृति सगरमाथा क्षेत्रको ‘काला पत्थर’ पुगेर पृष्ठभूमिमा सगरमाथा आउने गरी टीभी रिपोर्टिङ्ग गरे । टीभी समाचारमा उनले बेलायती–भारतको एक भारतीय कर्मचारी राधानाथ सिकन्दरले सन् १८५२ मा सगरमाथाको उचाइ निकालेको र सगरमाथाको उचाइ नाप्न खटाएको व्यक्ति जर्ज एभरेष्ट भएको बताए । जर्ज एभरेष्ट बेलायती उपनिवेशवादी सर्भेयर हुँदा सगरमाथाको नाम राधानाथ सिकन्दरको नाममा माउन्ट सिकन्दर राख्नुपर्ने कुतर्क सुधीर चौधरीले ‘काला पत्थर’बाटै प्रसारण गरे ।
बेलायती र अन्य उपनिवेशवादीहरूले जहाँ–जहाँ पाइला टेक्थे, ती–ती ठाउँको नाम आफ्नो नाममा राख्ने गर्थे । अष्ट्रेलियाको दक्षिणपूर्वको एक टापुको नाम ‘टासमेनिया’ हो । त्यहाँ पहिले टासमेन नामका एक जना बेलायती व्यक्ति पुगेको बताइन्छ ।
त्यसरी नै भारतको पश्चिम बङ्गालको दक्षिणतिर टापुहरूका दुई समूह छन्, ‘अन्डमान’ द्वीप र ‘निकोबार’ द्वीप समूह ।
के ती ठाउँ अहिले पनि बेलायतकै हुन् ? भारतको गोआ, डानम, डजू र पान्डोचरी आदि ठाउँ युरोपेली उपनिवेशवादीहरूले शासन गरेका ठाउँ हुन् । त्यसो भए के ती ठाउँलाई पनि युरोपेली उपनिवेशवादीहरूले दाबी गर्न पाउँछन् ? भारत दुई सय वर्षसम्म बेलायतको उपनिवेश थियो । के आज फेरि भारत बेलायतीहरूले पुनःउपनिवेश बनाउँदै छन् ?
आफ्नो भाषा र आफ्नो देशको बोलीचालीको आधारमा कुनै नाउँ दियो भन्दैमा त्यसैलाई औपचारिक मान्यता दिने हो भने पहिले–पहिले नेपालीहरू भारतलाई ‘मुग्लान’ भन्थे, भारत जानलाई ‘मुग्लान’ जाने भन्थे । के त्यसो भए अहिले नेपालद्वारा प्रकाशित नक्सा र पुस्तकमा ‘भारत’ को ठाउँमा ‘मुग्लान’ भन्नु उचित होला ? के त्यसलाई भाजपा वा जी न्युज टीभीका मालिकहरूले स्वीकार्लान् ?
भाजपाका पत्रकारहरूले नेपालका प्रम ओलीसँग चिनियाँ भूभाग ‘गलवान’ बारे भारतको पक्षमा किन नबोलेको जस्ता प्रश्न गरे । तर, जी न्युजले नै प्रसारण गरेको विषय हो – “एक जना बेलायती पर्यटक वा गुप्तचर गलवान क्षेत्रमा घुमफिर गर्दा आफ्नो बाटो देखाउने गाइड वा सहयोगीसँग उक्त ठाउँको नाम सोध्दा ठूलो भूभाग हुँदा नाम बताउन सकेन । अनि, बेलायती नागरिकले गाइडको नाम सोध्दा उसको पछाडिको जात वा थर ‘गलवान’ बताएका थिए । त्यही आधारमा बेलायतीले यो ठाउँको नाम नै ‘गलवान’ राखे ।”
भाजपाका नेता र पत्रकारहरूले बुझ्नुपर्ने हो – जुनसुकै ठाउँको नाम त्यहाँ बसोबास गरेका जाति र भाषाभाषीको बोली वा दिइएको ‘अर्थ’ अनुसार हुन्छ । उदाहरणको लागि, भारतको तर्फबाट विवादित चिनियाँ वा तिब्बती क्षेत्रका नदीलाई ‘चू’ भनिन्छ, भञ्ज्याङलाई ‘ला’ भनिन्छ । जिल्लालाई तिब्बती भाषामा ‘गुल’ भनिन्छ । जस्तैः ‘मोङ्ग गुल’ को अर्थ ‘मोङ्ग जिल्ला’ हो । त्यस्तै सबभन्दा तल्लो प्रशासनिक अङ्गलाई ‘जोङ्ग’ भनिन्छ ।
यसकारण कुनै भूमि कुन देशको हो भन्ने कुरा बुझ्न त्यहाँका नदी–नाला, पहाड–पर्वत आदि प्राकृतिक स्थल र वस्तुको नाम बुझ्न जरुरी हुन्छ । नदी–नाला, पहाड–पर्वत आदि प्राकृतिक स्थल र वस्तुको नामबाट समेत कुनै पनि ठाउँको नाम राख्ने प्रचलन हुन्छ । साथै, कुनै गाउँ र क्षेत्रमा बसोबास गर्ने जाति र भाषाभाषी, नागरिकता र सरकारी कार्यालयको मालपोत वा अन्य कागतपत्रसमेत सो क्षेत्र कुन देशको भूभाग हो भन्ने कुराको अध्ययनमा प्रमाणको रूपमा लिइन्छ । त्यस्तै निर्वाचनको मतदाता सूची र मतदान गरेको प्रमाण साक्षीजत्तिकै महत्वपूर्ण हुन्छन् ।
अङ्ग्रेजहरूले चीन वा तिब्बतको क्षेत्रको नाम ‘गलवान’ राख्नु जालसाजीबाहेक केही थिएन । ‘गलवान’ परिवारका नातिका हजुरबुबा, बुबा र त्यस पर्यटक भनिने बेलायती जासुसको फोटो पनि जी न्युजले देखाएको थियो । त्यसरी नै ‘राधानाथ सिकन्दर’ को नामबाट ‘सगरमाथा’ भारतको हो भनी दावा गर्ने षड्यन्त्र हुँदै छ । यसबारे सारा नेपाली जनता सचेत हुनुपर्ने तड्कारो आवश्यकता छ ।
भारतीय पत्रकारहरूलाई कालापत्थरमा सीम्रिक वायु सेवाको हेलिकप्टरले पु¥याएको बताइएको छ । अबदेखि सीम्रिकका हेलिकप्टरले मात्र होइन, सबै हवाई र यातायात कम्पनीहरूले समेत को–कहाँ–किन जान लागेको हो भनी बुझ्नुपर्छ । यसबारे आफ्ना माथिल्लो तहलाई समेत जानकारी गराई स्वीकृति लिनु आवश्यक छ । कसैको कुकुरले कुनै छिमेकीलाई टोकेमा जसरी क्षतिपूर्ति दिनुपर्ने हुन्छ, त्यस्तै कोही भारतीय, अमेरिकी, बेलायती वा विदेशी हेलिकप्टर वा हवाईजहाज ‘रिजर्भ’ गरी लाँदा त्यहाँ नेपाली सरकारी अधिकारीको उपस्थिति आवश्यक छ । उनीहरू होटलमा बस्दासमेत के र कुन–कुन उपकरण लुकाएर राखेका छन् भनी सतर्कता आवश्यक छ । पर्यटक, पार्टी नेता वा पत्रकारको नामबाट आउने भारतीय र अरू विदेशीबाट हुने क्षतिबारे ‘सीम्रिक’ हेलिकप्टर, हवाईजहाज, यातायात कम्पनी र होटलका मालिकसमेतलाई जिम्मेवार बनाइनुपर्छ ।
कसैले व्यापारमा यस्तो सतर्कता अपनाउन आवश्यक छैन भने त्यो व्यक्ति या त सरल हुनुपर्छ अथवा ‘शङ्कास्पद’ । हरेक नेपाली नागरिकले यस्ता विषयमा सतर्कता अपनाउनुपर्दछ ।
भारतलाई दुई सय वर्षसम्म बेलायतले उपनिवेश बनाउनुमा व्यापार र व्यापारीहरूको भूमिका महत्वपूर्ण थियो । चेकोस्लोभाकियामा हिटलरले हमला गर्दा राजधानी प्रागका सबै होटलहरू ‘गेस्ट’ वा पाहुनाहरूले भरिएको भन्दै होटल व्यवसायीहरू दङ्ग थिए । एकाबिहान होटलका केटाहरू बिहानको चिया लिएर कोठा–कोठा पुग्दा ‘गेस्ट’हरू सबै नाजी सैनिक पोशाकमा थिए । तब, बल्ल चेकोस्लोभाकियाली जनतालाई थाहा भयो – देश त विदेशीको कब्जामा गइसकेको रहेछ ।
कुनै बेला मञ्चुरियामा तरकारी र फलफुल बेच्ने, जुत्तामा पालिस लाउने तथा पत्रु भाँडाकुँडा जम्मा गर्ने र घर–घर गई सामान बेच्ने सबै जापानीहरू थिए । त्यसको केही समयपछि जापानले मन्चुरिया कब्जा गरेको थियो ।
भारत र चीनको झगडा छ अर्थात् भारतलाई बेलायत र अमेरिकाले चीनसँग भिडाउन खोज्दै छ । तेस्रो विश्वका दुई ठूला मुलुकहरूलाई भिडाउँदा ठूलो र लामो युद्धको कारण सम्भावित दुई ठूला देशको औद्योगिक बजार साम्राज्यवादी र उपनिवेशवादीहरूले कब्जा गर्नेछन् । त्यसरी युद्धमा फसाउँदा पछि तिनीहरूसँग आर्थिकरूपमा प्रतिस्पर्धा गर्न सक्दैनन् । परिणामतः संसार दोस्रो विश्व युद्धभन्दा पहिलेकै स्थितिमा पुग्नेछ । सोभियत सङ्घ पनि विश्रृङ्खलित भइसकेकोले चीन–भारत–नेपालसहित दक्षिण एसियाका देशहरू पनि घाइते हुनेछन् भन्ने अनुमान गलत हुनेछैन ।
‘गलवान’ जान नेपालको भूमिबाट भारतले जबरजस्ती सडक बनाएको छ । भोलि अन्य नाकाहरूबाट समेत भारतीय थिचोमिचो बढ्नेछ । जनता र बुद्धिजीवी सचेत नभए यसै हो–हल्लामा नेपाल सिक्किम बन्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । ‘माओवादी’ को गृहयुद्ध हुँदा हतियारले भरिभराउ ट्रकहरू नेपालको पहाड–पहाडसम्म पुगेका थिए । कसरी ? राम्ररी सोचौँ ! ‘माओवादी’ भारतबाटै पालित र पोषित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *