भर्खरै :

कम्युनिष्टहरु कम्युनिष्ट रहेनन्

– निर्जला
३० जेठ २०७४ को ‘नागरिक’ मा नरेन्द्रजंग पिटरको ‘ट्रेडमार्कमै सीमित नेपाली कम्युनिष्ट’ लाई पढ्दा पुरानै विषय फेरि दोहो¥याएजस्तो लाग्यो ।
एमाले अध्यक्ष मनमोहनजीले संरा अमेरिकाको ‘न्युज वीक’ सँगको अन्तरवार्ताको सिलसिलामा एक प्रश्नको उत्तरमा भनेका थिए – एमालेको ‘कम्युनिष्ट पार्टी’ ट्रेड मार्कमात्रै हो, नत्र जनताले मत दिंदैनन् । मनमोहनजीको साँचो कुराले फ्रान्सेली ‘कम्युनिष्टहरू’ खूब हाँसेका थिए ।
एक डेढ वर्षको बालकले आमालाई चन्द्रमा चाहियो भनी दुःख दिंदा आमाले कौसीमा गएर एउटा थालमा पानी राखेर चन्द्रमासँग खेल्न दिएकी थिइन् र भान्छामा गएर चामलको रोटी वा चपाटी पकाएर दिंदा बालक खुशी भएर दुवै हातले खाएको कथा एक साहित्य र बाल मनोविज्ञान हो । त्यस्तै हो – अश्वस्थामा र चौलानीको प्रसङ्ग ।
सिद्धान्ततः हरेक राजनैतिक पार्टी एउटा न एउटा दर्शन, आदर्श समाजको निर्माण, एक न एक वर्गको आधारमा निर्माण भएको हुन्छ । बेलायतको रुढीवादी पार्टीले सामन्त वर्गको प्रतिनिधित्व गर्छ भने उदारवादी पार्टीले पूँजीपति वर्गको र श्रमिक पार्टीले मदजुर वर्गको प्रतिनिधित्व गर्छ । संरा अमेरिकामा रिपब्लिकन दल रुढीवादी हो भने डेमोक्रेटिक दल उदारवादी, तर व्यवहारमा ती दलहरू पूँजीवादी र साम्राज्यवादी हन् ।
नेपालका शासक कम्युनिष्ट दलहरू नाम र झण्डाले एउटै हुन्छ तर व्यवहारमा पूँजीवादी हुन् भन्ने पिटरजीको ठम्याई हो, त्यसबारे पनि २०४८ सालतिरै संसदमा एमालेलाई भाइकांग्रेस भनियो । युरोपमा एउटा कहावट चल्थ्यो – ‘समाजवाद यस्तो टोपी हो, जसलाई सबैले लगाउँदा लगाउँदै त्यसको आकार नै बिग्रिसकेको छ ।’ बस्, त्यस्तै छ – नेपालका कम्युनिष्ट दलहरूको नाम पनि ¤ तर नेपाली कांग्रेसीहरू आफूलाई ‘समाजवादी’ र ‘प्रजातान्त्रिक समाजवादी’ भन्छन् र आफू सरकारमा पुग्नासाथै सार्वजनिक उद्योग र सेवा कौडीको मोलमा निजीकरण गर्छन् । एमाले र सरकारमा जाने कम्युनिष्टहरू पनि कांग्रेसकै पद्चिन्हमा हिंड्छन् ।
हरेक राजनैतिक दलहरू सरकारमा पुगेपछि आ–आफ्नो घोषणापत्र र सिद्धान्तअनुसार काम गर्नुपर्नेमा नेका पञ्चायतकै पद्चिन्हमा हिंड्यो, एमाले र माआवादी केन्द्रले पनि नेकाकै पद्चिन्ह पछ्याए । नेकाले पञ्चायतले जस्तै अपराधीहरूलाई राजनैतिक संरक्षण दियो भने एमाले र माओवादी केन्द्रले पनि नेकाकै सिको गर्यो । अन्धविश्वासको विरोध, ऐतिहासिक परिस्थितिअनुरुपको परिवर्तन, आर्थिक असमानताको जग उत्पादनका साधनहरूको राष्ट्रियकरण, सहकारीले आर्थिक उन्नतिको निम्ति सामूहिक भावनाको विकास गर्नुभन्दा सहकारीका नाइनेहरूले सामूहिक पूँजीलाई निजी फाइदामा प्रयोग र करोडौं अरबौं रकम कुम्ल्याएर विदेश भाग्ने र म्हास्ने प्रवृत्तिमा सरकारहरूले नै बढावा दिएको जगजाहेर छ । आजको एउटा ज्वन्त उदाहरण ओरियन्टल सहकारी संस्था हो ।
वर्गीय पक्षधरताको अर्थ कम्युनिष्टहरूले मजदुर र किसानहरूको तत्कालीन र दीर्घकालीन हितको निम्ति कामदार वर्गलाई तयार गर्नुपर्नेमा सिंहदरवारका कर्मचारीहरूको ‘ट्रेड युनियन’ बनाएर पूँजीवादी कर्मचारीतन्त्रको एक हिस्साले नै शासक कम्युनिष्ट दलहरूलाई व्यवहारमा नेतृत्व दिन थालियो । निम्न आय भएका कर्मचारी, शिक्षक र अन्य कामदारहरूको हितको निम्ति सङ्गठित गर्नुपर्नेमा सरकारी सहुलियत लिन ट्रेड युनियन खडा गरी मजदुर वर्गलाई ‘ट्रेड युनियनवाद’ को भासमा फसाउने काम ग¥यो र कामदार वर्गलाई विश्वासघात गर्यो । ती दलहरूकै मजदुर संघको फाँटले म्यानपावर कम्पनी, घर–जग्गा दलाल, क्रसर उद्योग, बालुवा खानी, निर्माण व्यवसायीको ठेकेदारहरु कम्युनिष्टको नाममा दलहरुको ‘अगुवा समूह’ वा हिरावलदस्तामा फेर्ने काम गरे ।
पूँजीवादी राज्य सत्तालाई ध्वंश गर्नुको सट्टा सरकारमा गएर पूँजीवादी राज्य सत्तालाई बलियो बनाउने र आफै पूँजीवादी वर्गमा एक एक पाइला गरेर सामेल हुने काम गरे । बेलायतका नयाँ किसिमका क्रमवेलका पल्टन पूँजीवादी व्यवस्थामा फेरिएजस्तै । यस अर्थमा नेपालका शासक कम्युनिष्ट दलहरू ‘कम्युनिष्ट’ रहेनन् । साथै हरेक देशका कुटील नीतिका आचार्य चाणक्य र मैक्यावलीहरुबाट शासक कम्युनिष्टहरू पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *