भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – २

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ (Next To Stalin Notes Of A Bodyguard) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)

सहरहरूको विस्तार र विशेषतः मस्को सहर फैलिँदै गएसँगै स्तालिनको ‘डाचा’ (ग्रीष्मकालीन आवास) नजिकको राजमार्गमा गुड्ने ट्रक र अन्य मेसिनहरूको लस्कर दिनानुदिन बढ्दै गयो । मस्कोका सडकहरू यातायातका लागि अझ साँघुरा बन्दै गएका थिए । सबभन्दा फराकिलो राजमार्ग थियो – सादोभोए रिङरोड । त्यसको छेउछाउका रुख यति पुराना भइसकेका थिए, तिनीहरू सुक्न थालिसकेका थिए । मस्कोका सडकमा कारहरू लामबद्ध गुडिरहेका हुन्थे । मस्कोको पुनःनिर्माण दूत गतिमा चलिरहेको थियो । भूमिगत रेलमार्गको विस्तारले मानिसहरूको गतिशीलता अझ बढेको थियो । सरकारले यी सबै निर्माण कार्यको निधो गथ्र्यो र त्यससँगै आउने जटिलताको पनि टुङ्गो लगाउँथ्यो ।
सधैँझैँ स्तालिन एउटा निर्माणस्थलबाट अर्को भवनमा जान आफैँ सडकमा दौडिरहेका भेटिनुहुन्थ्यो । एक दिन पहिलोपटक दिउँसै अनुगमन कार्यमा निस्कनुभयो । तर, त्यो पहिलो पटक दिउँसोको अनुगमन पनि अन्ततः रातिकै लागि स्थगित गर्नुप¥यो । स्तालिनलाई देखेर सयौँको सङ्ख्यामा हुल बाँधेर उहाँलाई पछ्याउँथे । मानिसहरू उहाँसँग प्रश्न गर्न चाहन्थे, कुराकानी गर्न चाहन्थे, छलफल गर्न खोज्थे ।
लामो छलफल र अन्तरक्रियापछि मस्को सहरको गुरुयोजना कार्यान्वयनमा लगियो । गोर्की, बोल्शाया, काल्युझस्काया, कुटुझोबलगायत अन्य सुन्दर सडक र मार्गहरूको निर्माण थालनी भयो । मस्कोमा त्यस्तै एउटा अनुगमनको सिलसिलामा स्तालिनले आफ्ना सवारी चालक मित्रुइखिनलाई भन्नुभयो, “एउटा नयाँ विश्वविद्यालयको खाँचो छ । त्यसको नाम लोमोनोसोभ राख्नु उचित हुन्छ । पढ्ने एकातिर अनि बस्न अन्यत्र धाउनुपर्ने र मस्कोभरि भौँतारिनुपर्ने बाध्यताबाट त्यो विश्वविद्यालयका विद्यार्थीहरू मुक्त हुनुपर्छ ।”
स्तालिन कहिल्यै पनि हावादारी कुरा गर्नुहुन्नथ्यो । बिना परिणामको कुनै हचुवा कुरा गर्नु हुन्नथ्यो । मित्रुइखिनसँग स्तालिनले भन्नुभएको त्यही परिकल्पनाको आधारमा लोमोनोसोभ विश्वविद्यालयको स्थापना भयो । त्यो विश्वविद्यालय मस्कोकै सर्वोत्कृष्ट विश्वविद्यालय भनी विख्यात छ ।
सन् १९३४ को जुलाईमा हामी फेरि सोचीको औद्योगिक वस्तुको बिसौनी केन्द्रमा पुग्यौँ । त्यहाँ पनि स्तालिनले भ्लासिकलाई सोध्नुभयो :
“तपाईँहरू किन मलाई सधैँ जनता कममात्र हुने स–साना गल्लीभित्र ल्याउनुहुन्छ ? म यो बिसौनीको मुलद्वारमा जान चाहन्छु जहाँ मानिस रेलमा यात्रा गर्न आउने–जाने गर्छन् ।”
भ्लासिकले आफ्नो मसिनो स्वरमा आत्मालाप गरे र स्तालिनलाई एउटा पुरानो ‘ब्युक’ गाडीतिर डो¥याए ।
हामी गार्गानजिकको कोल्ड रिभरमा रहेको ‘कोल्ड डाचा’ (एक तले काठे टहरा) मा गयौँ । चारैतिर पहाडले घेरिएको थियो । चराहरूका चिरबिर, सबै थरी जीवजन्तुले त्यहाँको दृश्य अविश्वसनीय बनाएको थियो । भालुहरू हस्याङफस्याङ गर्दै शिकार खोज्दै आइरहन्थे । स्तालिनको अङ्गरक्षकको जिम्मेवारी पूरा गर्दै म कुनै पनि बेला आउन सक्ने अप्ठ्यारो परिस्थितिप्रति सजग रहन्थेँ । एक दिन ‘डाचा’ वरपर नियाल्दै गर्दा मेरो आँखा झुन्ड्याइएको एउटा लुगामा प¥यो । मैले सोधेँ, “त्यो कसको लुगा हो ?”
“जोसेफ भिस्सारिओनोविचको हो”, घरकी सहयोगीले भनिन्, “लगाउनै नमिल्ने नहुन्जेल उहाँ आफ्नो लुगा आफै टालेर लगाउनु हुन्छ ।”
यसलाई कसैले लापर्वाहीको रूपमा पनि हेर्न सक्छन् । पछि मैले थाहा पाएँ – स्तालिन ज्यादै फारोतिनो हुनुहुन्थ्यो । सबै कुरामा फारो गर्ने । यो विषयमा उहाँ अरू सबैको लागि उदाहरण बन्ने प्रयास गर्नुहुन्थ्यो । कुनै पनि कुरा नयाँ किन्न उहाँलाई पहिले चित्त बुझाउनुपथ्र्यो । उदाहरणको लागि उहाँको लागि गर्मीमा लगाउने लुगा किन्न पनि पहिला उहाँलाई त्यो जरुरी भएकोमा चित्त बुझ्नुपथ्र्यो । अनि बल्ल किन्ने विषयमा सोच्नुहुन्थ्यो । बुट र जुत्ताको तलुवा खिइएर खत्रक्क नखसुन्जेल लगाएको लगाइ गर्नुहुन्थ्यो । उहाँले आफ्ना छोराछोरीलाई पनि त्यस्ता कुनै सुख सुविधामा हुर्काउनुभएन । स्तालिनकी छोरी श्वेतलानालाई खुशी बनाउन भ्लासिकले त्यत्तिकै खाली रहेको एउटा सानो कोठा बस्न दिए । स्तालिनले पछि यो कुरा थाहा पाउनुभएछ । अनि भ्लासिकलाई भन्नुभयो, “भ्लासिक ! तिमीले यसो गर्नुहुन्नथ्यो । यो कानुनविपरीत हो । उनी (श्वेतालाना) के हाम्रो पोलिटब्युरो सदस्य हुन् वा केन्द्रीय समिति सदस्य हुन् ? तुरुन्त त्यो कोठा खाली गर्नुस् र उनलाई अरूसँगै बस्न पठाउनुस् ।”
अर्को एउटा उदाहरण । सेप्टेम्बरको एक दिन । समुद्र सौम्य थियो । एउटा ठूलो छहारी भएको रुखमुनि एन्टोनोभ बसेका थिए । अचानक भयानक कालो आँधीबेहरी चल्यो । म नजिकै थिएँ । आकाशै खस्ला जस्तो भीषण वर्षा भयो । सुरक्षागार्ड एन्टोनोभ खुला आकाशमुनि आफ्नो चौकीमा तैनाथ रहे । उनी आफ्नो सुरक्षाको जिम्मेवारीबाट टसको मस भएनन् । मैले जीवनमा देखेकोमध्ये त्यो आँधीहुरी सबभन्दा भयानक खालको थियो । तर, सबै सुरक्षाकर्मीहरू आ–आफ्ना ठाउँमा कति पनि हलचल नगरी तैनाथ थिए । स्तालिनले बाहिरका यी सबै घटना झ्यालबाट हेरिरहनुभएको रहेछ । एन्टोनोभ पानीले निथ्रुक्क भिजिसकेका थिए । उनलाई उभिरहनु पनि धौ धौ भइरहेको थियो । आँधी केही कम भएपछि स्तालिन र कमिस्सार बोगदानोभ जिम्मेवारीबाट कति पनि हलचल नगर्ने सुरक्षाकर्मी एन्टोनोभसामु पुग्नुभयो ।
“कामरेड स्तालिन ¤ म सुन्दै छु”, एन्टोनोभले भने ।
“तपाईँ पक्कै निथु्रक्क भिज्नुभयो… मैले सबै देखिसकेँ”, स्तालिनले भन्नुभयो ।
“केही छैन कामरेड स्तालिन । मेरो लुगा अब केही बेरमै सुक्नेछ ।”
“सुरक्षाकर्मीहरूको लागि यहाँ किन एउटा सानो टहरा बनाइएको छैन ?”, स्तालिनले बागदानोभलाई सोध्नुभयो ।

ए. टी. रेबिन

उहाँले भन्नुभयो, “तपाईँलाई एन्टोनोभको ठाउँमा राख्दामात्र कस्तो दर्केर पानी परेको थियो भन्ने कुरा बुझ्नुहुन्थ्यो । यहाँ तुरुन्तै एउटा टहरा बनाइहाल्नुस् । तुरुन्तै, दुई घण्टाभित्र ।”
दुई घण्टापछि स्तालिन फेरि टहरा बनेको नबनेको हेर्न त्यहाँ आइपुग्नुभयो । त्यतिबेलासम्म त्यहाँ टहरा बनिसकेको थियो । त्यो देखेर स्तालिनले भन्नुभयो, “यस्ता कुरामा मेरो आदेश कुरेर बस्न हुन्थेन । बोगदानोभ आफैले विचार गरेर काम गर्नुपथ्र्यो । हामी सबैले आ–आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ !”
“हृदयदेखि धन्यवाद छ कामरेड स्तालिन, हाम्रो विषयमा यति चासो राख्नुभएकोमा”, एन्टोनोभको ठाउँमा पालो फेर्न पुगेका एल्टसुलरले स्तालिनप्रति आभार व्यक्त गरे ।
एक दिन पिलनिकोभनजिकै क्रेमलिनबाट हामी निस्कँदै थियौँ । स्तालिनको गाडी आयो । हामी झाडीतिर लुक्न गयौँ । हामीलाई त्यस्तै आदेश थियो । तर, स्तालिनसँगै आएका सुरक्षाकर्मीहरूलाई भने त्यस्तो बेला गोली हान्ने आदेश थियो । धन्न स्तालिनले हामीलाई चिन्नुभयो । हाम्रो चालामाला देखेर उहाँ चकित पर्नुभएछ । अनि आफ्ना मातहतका सिपाहीहरूलाई त्यस्तो आदेश दिएको भन्दै स्तालिनले भ्लासिकको आलोचना गर्नुभयो । त्यस्तो अवस्थामा जो सुकैले पनि आफ्नो साथीलाई शत्रु ठान्न सक्थ्यो !
एक दिन कुस्र्क रेल स्टेसनबाट हामी फर्किँदै थियौँ । नोभेम्बर ७ को बिदाभन्दा केही दिनअघि थियो । भ्लासिकले स्तालिनसहित हामीलाई अर्को विशेष द्वारबाट आउन भने ।
“कुन विशेष द्वार ?” स्तालिनले भन्नुभयो, “जनता जहाँबाट जान्छन्, त्यही द्वारबाट जाऔँ ।” अनि स्तालिन धेरै मानिस ओहोरदोहोर गरिरहेको द्वारतिरै अघि बढ्नुभयो ।
ती गम्भीर वर्षहरूमा ‘डाचा’ मा धेरै पाहुना आउँथे । एक दिन ‘अब्खस्क’ सोभियत समाजवादी गणतन्त्रका केन्द्रीय समितिका अध्यक्ष एन.लकोबा आए । ककेसियाको परम्पराअनुसार उनले आफूसँगै एउटा भेडा पनि लिएर आए । किरोभ स्तालिनलाई भेट्न बरोबर आइरहन्थे । उनी त स्तालिनको खाटमा समेत सुत्थे ।
स्तालिन किरोभसँगै बाफको स्नान गर्नुहुन्थ्यो । किरोभसँग जस्तो सहकार्य र समझदारी स्तालिनको पोलिटब्युरोका अरू कोही पनि सदस्यसँग थिएन । एक जना प्रतिभाशाली र समर्पित बोल्शेविकको रूपमा स्तालिन किरोभप्रति गौरव गर्नुहुन्थ्यो । किरोभले आफ्नो जीवनकाल (उनको हत्या भएको थियो) को सबभन्दा पछिल्लो महाधिवेशनमा निकै कुशल भूमिका खेले । उनले केन्द्रीय समितिलाई अनेकन प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने बनाए । बुखारिन, जिनोभिएभ र कामेनेभका मानिसहरूलाई उनले तह लगाए । त्रोत्स्कीको विषयमा उनी भन्थे, “उनको तेब्बर भत्र्सना गरिए पनि उनको नाम अहिलेको जस्तो पवित्र महाधिवेशनमा ल्याइनुपर्छ !”
त्यही वर्षको वसन्तमा किरोभ केन्द्रीय समितिका सदस्यहरूको बैठकमा सहभागी थिए । उनी मटन कवाब सेकिरहेका थिए । सबै जना खुसी थिए । त्यही बेला किरोभले भने, “आजको साँझलाई पूर्णता दिन अब खाँचो छ त सङ्गीतको !”
स्तालिनले तुरुन्तै कालकारहरूलाई आमन्त्रण गर्न पानट्युशिनलाई अह«ाउनुभयो । ‘डाँडाकाँडा, तिमी मेरा तारा हौ’ जस्ता रुसी लोक गीत गाएर त्यो साँझलाई जीवन्त बनाउन भनियो ।
त्यो वर्षको शरद् ऋतुमा किरोभ कजाखस्तान पुगेका थिए । त्यहाँको बालीनालीबारे बुझ्न उनी त्यहाँ पुगेका थिए । कर नतिरेको र मागअनुसारको खाद्यान्न बुझाउन नसकेको भन्दै कजाखस्तान पठाइएका कुलाक परिवारहरूविरुद्ध सोभियत राजनीतिक प्रहरी जीपीयुको अत्याचारलाई लिएर जीपीयुको नेतृत्वसँग उनको कडा असहमति थियो । मस्को फर्केर एनकेभीडी (गृहमन्त्रालय) का प्रमुख यगोडासमक्ष उनले गुनासो पोखे । उनले सरकारको सुरक्षा निकायले गरेका यस्ता असभ्य र असंवैधानिक क्रियाकलापबारे तीतो गुनासो गरे । उनको यस्तो गुनासोलाई यगोडाले आफ्नो व्यक्तिगत अपमानको रूपमा लिए । त्यही बेलादेखि किरोभप्रति यगोडाको दुराग्रह थियो । किरोभ नमारिँदासम्म पनि यगोडाले उनलाई व्यक्तिगतरूपमा घृणा गरिरहे ।
नोभेम्बर २८ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्शेविक) केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न भयो । त्यो बैठकले राशन प्रणाली खारेज गर्ने निर्णय ग¥यो ।
अर्को वर्षको जनवरी १ बाट यो निर्णय कार्यान्वयनमा लगियो । एक साँझ स्तालिन, मेरा कमान्डर स्मीरनोभ, कमिस्सार ल्युबोभित्स्की र किरोभलाई लिएर रेल स्टेसनतिर जाँदै थियौँ । स्तालिनले हार्दिकतापूर्वक किरोभलाई अङ्गालोमा बेर्नुभयो । स्तालिन आफै किरोभसँगै ‘रेड बुलेट’ नामको रेलसम्म पुग्नुभएको थियो । त्यसको केही दिनपछि डिसेम्बर १ मा किरोभको हत्या भयो । डिसेम्बर २ मा स्तालिन, मोलोतोभ र भोरोशिकोभ तत्काल लेनिनग्राड पुग्नुभयो । स्तालिन आफैमाथि पनि हत्याको खतरा थियो । त्यसकारण, जेरझिन्स्कीको सैन्य डिभिजनले हाम्रो मार्गको रेखदेख गरेको थियो । लेनिनग्राड जाने राजमार्गको दुवैतिर सुरक्षा बन्दोबस्त मिलाइएको थियो । स्तालिन निकै दुःखी हुनुहुन्थ्यो । उहाँको अनुहार ज्यादै निन्याउरो थियो । उहाँको अनुहारको कोठी अझ प्रस्ट देखिने भएको थियो । उहाँले किरोभको मृत शरीरको ओठमा चुम्नुभयो र सुकसुकाउनुभयो । भन्नुभयो, “बिदा मेरो प्रिय मित्र !”
स्तालिनकी श्रीमतीको निधनपछि किरोभजत्तिको निकट मित्र उहाँको अरू कोही थिएन ।
तिनताक म सधैँ स्मोल्नी (सिंहदरबार) मा तैनाथ हुन्थेँ । त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूका मुख–मुखमा किरोभको हत्याको कुरा थियो । सबैजना किरोभका हत्यारा निकोलेएभलाई सरापिरहेका थिए । तर, उसको हातमा बन्दुक कसले थमायो त ? अविश्वसनीय अवस्थाः हतियार बोकेको हत्यारा (निकोलेएभ) लाई स्मोल्नीभित्र पस्न दुई पटक रोकिएको थियो । तर, दुवै पटक उसलाई पस्न दिइयो । जापोरोझन्ट्सले उसलाई भित्र पस्न दिन आदेश दिए ¤ हत्या भएको दिन निकोलेएभ पुरा दिन स्मोल्नीभित्रै थिए । उनी घरि यता घरि उता गरिरहेका थिए । सबै आगन्तुकलाई जान निषेध गरिएको भुइँ तल्लामा उनी पुगे । किरोभ र अन्य नेताहरूको सुरक्षाको जिम्मेवारी बोकेका सुरक्षाकर्मीहरूबाट उनलाई कुनै प्रकारको रोकतोक भएन । उनी केही बेर भ¥याङमा उभिए मात्र ।
कोरिडोरमा कोही पनि सुरक्षाकर्मी थिएन । किरोभको कार्यालयअघिको ढोकामा पनि कोही सुरक्षाकर्मी थिएन । कानुनअनुसार किरोभको कार्यालयसँगको कोठामा सधैँभरि सुरक्षाकर्मीको उपस्थिति अनिवार्य थियो । किरोभ भए पनि–नभए पनि त्यहाँ सुरक्षाकर्मी बस्नैपथ्र्यो । तर, त्यो दिन कानुनको यो व्यवस्था पालना गरिएन । अङ्गरक्षकको जिम्मेवारीबारे विशेषज्ञता हासिल गरेको व्यक्ति हुनुको नाताले मलाई तत्कालै त्यसबारे सन्देह लागेको थियो…अङ्गरक्षकहरूबीच नै गद्दारहरू भएको कुरा आश्चर्यको कुरा थिएन । यो गद्दारीको पछाडि पूर्व समाजवादी क्रान्तिकारी (एस–आर) का सदस्य जापोरोझेट्स पनि संलग्न थिए । पृष्ठभूमिमा थिए उनका हाकिम यगोडा । अदालती बयानको क्रममा यगोडाले स्वीकारे, “यस प्रकार म प्रस्ट शब्दमा भन्दै छु, किरोभको हत्या दक्षिणपन्थी त्रोत्स्कीपन्थी खेमाको निर्णयअनुसार भएको हो ।”
आज धेरै मानिस ‘स्तालिनले यसो गरे, उसो गरे, किरोभको हत्या गरे’ भन्छन् । कागको पछाडि लाग्नुभन्दा वेश त इतिहासतिर फर्केर हेर्नु हो । किरोभले सन् १९२१ देखि नै त्रोत्स्कीको आलोचना गरेका थिए । त्रोत्स्कीले गृहयुद्धको बेला सीमा रेखा सरल बनाउने नाममा अस्ट्राखान क्षेत्र शत्रुलाई सुम्पिने निर्णय गरेका थिए । लेनिनले किरोभको पक्ष लिनुभएको थियो । गृहयुद्धका शत्रुहरू त्यही ठाउँमा पराजित भएका थिए । यो कुरालाई लिएर त्रोत्स्कीले किरोभलाई कहिल्यै माफ गरेनन् । त्यसपछि सामाजिक क्रान्तिकारी (एस–आर) पार्टीका वास्सरम्यानले किरोभ राजावादी भएको भन्दै झूटा हल्ला फैलाएका थिए । त्यतिबेला किरोभ पक्राउ परेका थिए । तर, ती शत्रुहरूले उनलाई सिध्याइहाल्ने हिम्मत भने गर्न सकेनन् । अदालती कारबाहीले उत्तेजना फैलाएको खुलासा ग¥यो र वास्सरम्यानलाई मृत्युदण्डको सजाय दिइयो । किरोभ सधैँ त्रोत्स्कीको विपक्षमा थिए । त्रोत्स्कीले के सम्म गर्न सक्छन् र उनी कस्ता शत्रु हुन् भन्ने कुरा उनले राम्ररी बुझेका थिए । सन् १९२७ मा किरोभले भनेका थिए, “लेनिनग्राडमा विपक्षी अवरोध बन्द भएको छ ¤” त्रोत्स्की र विपक्षी (हाललाई गोप्य) का साथै यगोडा (कजाखस्तानमा कुलाकविरुद्ध भयानक उत्तेजनालाई लिएर किरोभले आलोचना गरेको रिस) ले किरोभलाई सिध्याउने प्रयास कहिल्यै छोडेनन् । यी सबै कुराले अङ्गरक्षकहरू किरोभको सुरक्षामा उत्ति संवदेनशील नभएको देखाएको छ । जसले सम्भावित हत्याराहरूलाई किरोभसम्म पुग्न कुनै रोकतोक नै भएन ।
नेपाली अनुवाद :बर्बरिक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *