राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे २१ औँ, ख्वप कलेजको १९ औँ र शारदा क्याम्पसको ३० औं वार्षिक उत्सव कार्यक्रम शुक्रबार कलेज प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रम उद्घाटन गर्दै अतिथि बिजुक्छेँले विश्वविद्यालय तहमा राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूको कमी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दैै भन्नुभयो, “सांसद सदस्यहरू थोरैले मात्र राजनीतिशास्त्र अध्ययन गरेका छन् । त्यसकारण संसद्बाट हुने कतिपय गल्ती थाहा नपाएरै हुने गर्छ ।”
शासक दलका नेताहरूले अपराधीहरूलाई संरक्षण र आफ्ना कार्यकर्तालाई अपराधी कर्ममा प्रोत्साहित गरिरहेको उल्लेख गर्दै उहाँले शासक दलका नेताहरूप्रति नै कडा कारबाही र खबरदारी नभएसम्म उनीहरू नचेट्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले एउटा भ्रम फैलाइँदै छ । डाक्टर, इन्जिनियर र वैज्ञानिकले राजनीति गर्दैनन् । राजनीति गर्नु भनेको राम्रो काम होइन भनी उनीहरू सिकाउँदै छन् । तिनीहरूको उद्देश्य राम्रो मानिस राजनीतिमा नआऊन् र अपराधी मनोवृत्तिका मात्र राजनीतिमात्र आऊन् भन्ने हो । हामीले समाजवादी देशहरूको इतिहास अध्ययन ग¥यौँ भने ती देशका डाक्टर, इन्जिनियर र वैज्ञानिकहरू पनि राजनीतिक नेतृत्वमा पाउँछौँ । ती नेताहरू आफ्नो देश र जनताको साथै संसारका निम्ति राम्रो काम गर्छन् । शिक्षकहरूले राजनीति गर्नु राम्रो काम गर्नु हो भन्ने शिक्षा विद्यार्थीहरूलाई दिनु आवश्यक छ । राम्रो मान्छेले राजनीति नगरेमा नराम्रो मानिसले राजनीतिलाई कब्जा गर्छ । तिनीहरूबाट देश र जनताको हित हुनेछैन । विद्यार्थीहरुलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावना विकास गराउनु शिक्षकहरुको कर्तव्य हो ।”
हाम्रा कतिपय शासक नेताहरूले विदेशीहरुबाट व्यक्तिगत फाइदा लिइरहेको अध्यक्ष रोहितले बताउनुभयो ।
उहाँले साम्राज्यवाद, नवउदारवाद र उपनिवेशवादबाट हुने नोक्सानीबारे विद्यार्थीहरूलाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालमा कोभिडका कारण गरिबी रेखामुनि १२ लाखभन्दा बढी नेपाली जनता थपिएको सरकारी दाबी यथार्थ नभएको उल्लेख गर्दै चीनले आठ वर्षयता १० करोड र पचास वर्षयता ८० करोड जनतालाई गरिबीको रेखामुनिबाट माथि उकासेको बताउनुभयो ।
‘माछा मारेर खुवाउने होइन माछा मार्न सिकाउने’ चिनियाँ उखान भएको उल्लेख गर्दै सांसद सुवालले चिनियाँ राष्ट्रपति शी चिनफिङले चीनमा गरीबी उन्मूलन घोषणा गर्नुभएकोे बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “विश्वमा धेरै जनसङ्ख्या भएको भारतमा आधा मानिस एक छाक खानुपर्ने र खुला शौचालयमा जानुपर्ने अवस्थामा छन् । शासक दलहरूबीच भागबन्डाको कारण जनताले दुःख पाइरहेका छन् । एमसीसी पारित गर्ने, लिम्पियाधुरा–कालापानी–लिपुलेकको भूभाग दाबी नगर्ने सर्तमा संसद् पुनस्र्थापना देशको हितविपरीत हो । निर्वाचन भएको भए जनताले राजनीतिक अभियानको कक्षाबाट प्रशिक्षित हुने अवसर पाउने थिए ।”
निजी शैक्षिक संस्थाको दबाबमा सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको र भक्तपुर नगरपालिकाका कलेजहरूलाई आवश्यक विषयमा सम्बन्धन नदिएको हुँदा राणा शासन बाँकी नै भएको सांसद सुवालले स्पष्ट पार्नुभयो ।
ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१ औँ शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको बताउँदै देशभरका झन्डै ६ हजार विद्यार्थी अध्ययनरत ती शैक्षिक संस्थाहरू स्थानीय तहबाट सञ्चालित नेपालकै पहिलो शैक्षिक संस्थाहरू भएको बताउनुभयो ।
शिक्षालाई सार्वजनिक सेवाको रूपमा लिइनुपर्नेमा बेचबिखनको वस्तु बनाइएकोमा विरोध गर्दै प्रमुख प्रजापतिले महँगा विद्यालय र कलेजहरूमा गरिब जनताका छोराछोरीहरूले पढ्न नसकेको अवस्थामा भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरूले उत्कृष्ट नतिजा दिइरहेको बताउनुभयो ।
संसदीय समितिले समेत विश्वविद्यालय सञ्चालनको लागि सिफारिस गरिसक्दा पनि विधेयक संसद्बाट पारित हुन नसकेको भन्दै उहाँले ख्वप विश्वविद्यालयको विधेयक पारित भएमा शिशुशालादेखि विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नगरपालिका पहिलो नगरपालिका हुने बताउनुभयो ।
बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले ख्वप सर्कल नेपालका उत्कृष्ट शैक्षिक गन्तव्यस्थलमध्ये एक रहेको चर्चा गदैै कोभिड–१९ को महामारीबीच पनि यी कलेजहरूले पूर्वतयारीका साथ व्यवस्थित तरिकाले अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीको शैक्षिक स्तर उकास्ने कदम सराहनीय छ भन्नुभयो । विद्यार्थीलाई कुलतबाट बचाउनुपर्ने अहिलेको आवश्यकता हो भन्दै उहाँले नयाँ पुस्तालाई कुलतबाट जोगाउन राजनीतिकरूपमा सचेत र क्रान्तिकारी बनाउनु आवश्यक रहेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “क्रान्तिकारी बन्नु भनेको टायर बाल्नु र हुलदङ्गा गर्नु होइन । क्रान्तिकारी हुनु भनेको नयाँ कुरा सिक्ने हो । नयाँ कुरा सिक्न हरेक दृष्टिले योग्य हुनु हो । आमूल परिवर्तनको निम्ति क्रियाशील र अध्ययनशील बन्नु हो । असल व्यवहार र आचरण ग्रहण गर्नु हो ।”
ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भनपा उपप्रमुख रजनी जोशीले ख्वप विश्वविद्यालय निकट भविष्यमा स्वीकृत हुनेमा आशा व्यक्त गर्दै शिक्षाको महत्वबारे चर्चा गर्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्ड काठमाडौँका कार्यालय प्रमुख जयन्ती सत्यालले सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिंदै प्रविधिमैत्री परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले नगरपालिकाबाट सञ्चालित कलेजहरूमा थोरै शुल्कबाट गुणस्तरीय शिक्षा प्रदान गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै ख्वपका विद्यार्थीहरू सबै क्षेत्रमा प्रतिस्पर्धी बनिरहेको उल्लेख गर्नुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले सानो तर सांस्कृतिकरूपले महत्वपूर्ण नगरको शैक्षिक विकास, गुणस्तर र प्रगति उल्लेखनीय छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई दिइने शिक्षा र संस्कारले भविष्य निर्माण हुन्छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न समग्र जनताको साथ आवश्यक छ ।”
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सय वर्षपछिको भक्तपुरको अवधारणालाई मूर्त रूप दिन शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिई भक्तपुर नगरपालिका अगाडि बढिरहेको उल्लेख गर्दै नगरभित्रका विद्यार्थीहरूको उच्च शिक्षा प्राप्तिको सहजताका लागि भनपाले शैक्षिक ऋण सहुलियत ब्याजदरमा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशी र ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा शिक्षक कमिनिका न्याईच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिलगायत अतिथिहरूले खेलकुद प्रतियोगिताका विजयी, उत्कृष्ट विद्यार्थी र दस वर्ष सेवा अवधि पुगेका शिक्षक तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुबाट सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
Leave a Reply