भर्खरै :

प्रि–मनसुन सुरु, जाडोयाम समाप्त

काठमाडौँ, १७ फागुन । सोमबारदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।
यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन÷चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकोले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकोले प्रि–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
“तापक्रम बढ्न थालेकोले यसको प्रभाव देखिन थालेको हो”, उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्नेछैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *