भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – १५

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’  को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
स्तालिनको ज्यान लिने सबभन्दा पछिल्लो कथित ‘प्रयास’ या त हावाको भरमा कथिएको हो अथवा त्यो मात्र कल्पनाको उत्पादन हो ¤ ‘मातृभूमिको छोरो’ नामको अखबारमा एउटा सनसनीपूर्ण लेख प्रकाशित भएको थियो । त्यसको शीर्षक थियोः ‘गोप्य युद्धः बर्लिन र टोक्यो’ । (सन अफ द मदरल्यान्ड, सेप्टेम्बर २, सन् १९९१) त्यसमा पनि स्तालिनको हत्या गर्ने प्रयास भएको कुरा लेखिएको थियो । तर, त्यसमा भने जापानीहरूले स्तालिनको हत्या गर्ने प्रयास भएको कुरा उल्लेख थियो ।
क्रिमियाको मतसेस्टामा जापानीहरूले हत्याको प्रयास गर्ने योजना बुनिएको त्यसमा लेखिएको थियो । के त्यो सम्भव थियो ? अहँ असम्भव । किनभने सो क्षेत्र वरपर दुई सय जना सुरक्षाकर्मी तैनाथ थिए । त्यहाँ सुरक्षाकर्मीहरूको तीन घेरा थियो– एकपछि अर्को सुरक्षा घेरा । ती सबै एक आपसमा सम्पर्क र संवादमा थिए । जापानीको सुरक्षा र गुप्तचर निकायभित्र हाम्रा अधिकारी तिखर्ड जोर्ज खटिएका थिए । त्यहाँभित्र कुनै गोप्य खालको योजना बन्दै गरेको भए उनले हामीलाई तत्काल जानकारी दिने गर्थे । हामीलाई डर केको लाग्छ भने जापानीहरूभन्दा हाम्रा आधुनिक ‘पत्रकारहरू’ले बढी पश्चिमी शैलीको सनसनी शैलीको अन्ध नक्कल गरिरहेका छन् ।
एउटा कुरा भने गम्भीर छ । आधुनिक ‘प्रजातान्त्रिक पत्रकारहरू’ स्तालिनको व्यक्तिगत जीवनबारे लेख्दा सबै प्रकारका कपोलकल्पित कथा, छेडछाड र पूर्ण झूटमै खेल्ने गरेका छन् ।
संरा अमेरिकाको गुप्तचर विभाग एफबीआईका प्रमुख एडगर हुबरको प्रतिवेदनको आधारमा ‘कोमसोमोस्काया प्राभ्दा’ अखबारको सन् १९३८ को अक्टोबर १७ मा प्रकाशित अङ्कमा ल्भोभ भन्ने ठाउँमा स्तालिन र हिटलरको बैठक भएको लेखेको छ । (कोमसोमोस्काया प्राभ्दा, अक्टोबर ९, सन् १९९०) त्यत्तिबेला स्तालिनसँग मस्को र देशका अन्य सहर वा जिल्लामा भ्रमण गर्न जाँदा सँगै जाने टोलीको प्रमुख थिएँ । स्तालिनको सुरक्षाको लागि जिम्मेवार मेरा सहयोगीहरू केकोभ, स्टारोस्टिन, ओर्लोभ, कुत्शेभ र किरिल्लिन पनि थिए । हिटलर र स्तालिनबीच ल्भोभमा बैठक भएको कुरा खुलमखुला झूट भएकोमा हामी स्पष्ट छौँ ¤ ‘ग्लास्नोस्ट’ नामको पत्रिकाले गरेको अभिलेखीकृत दस्तावेजहरूको विस्तृत अध्ययनअनुसार जुन बेला स्तालिन र हिटलरको बैठक भएको भनिएको थियो, त्यो समयमा स्तालिन मस्कोमा हुनुहुन्थ्यो । उहाँ एउटा औपचारिक समारोहमा मजदुरहरूलाई स्वागत गरिरहनुभएको थियो । (ग्लास्नोस्ट, १३ डिसेम्बर, १९९०)
‘अगोनोइक’ नामको पत्रिकाले ए.ओर्लोभले लेखेको पुस्तक ‘स्तालिनका अपराधका गोप्य इतिहास’ बाट केही अंश प्रकाशन गरेको थियो । अलेक्सान्द्र ओर्लोभ को हुन् ? उनको खास नाम लेभ फेल्डबिन हो । उनी लुईबैन्काको जेलमा दुई पटक परेका थिए । उनको घर कसेसिया थियो । त्यहाँ उनले केही सुरक्षाकर्मीहरूको नेतृत्व गरेका थिए । सन् १९३० को दशकमा फेल्डबिन सोभियत सङ्घबाट भागे अनि उनले त्यो दन्त्यकथा लेखे ।
उनी कहिल्यै पनि स्तालिनको नजिक थिएनन् । उनले ओजीपीयूका केही प्रमुखहरू जस्तै कमिस्सार पौकरलाई मात्र भेटेका थिए । उनले प्रष्टतः झूट बोलेका थिए । हामी स्तालिनका अङ्गरक्षकहरू सुतिरहेका थियौँ र ? स्तालिनले हिटलरलाई भेटेको उनले देख्ने, हामीले नदेख्ने ? के यस्तो हुन सम्भव छ ? स्तालिनले कहिल्यै आफूसँग पेस्टोल बोक्नुहुन्नथ्यो । उहाँ सधैँ सैनिक पोशाक लगाउनुहुन्थ्यो । उहाँले लगाउने पोशाक साधारण र सरल हुन्थ्यो । त्यसमा न कुनै पदक झुन्डिएको हुन्थ्यो, न कुनै सम्मान अथवा अन्य श्रृङ्गार सुशोभित हुन्थ्यो ।
फल्डबिनले स्तालिनका अङ्गरक्षक इनोबकिमोभ त्रोत्स्कीवादी भएको लेखेका छन् । यो प्रस्टतः अतिरञ्जना हो ¤ सन् १९३० देखि स्तालिनको अङ्गरक्षकहरू एन.भ्लासिक, भी. रुमैनत्सेभ र ए. बोगडानोभ थिए । इनोबकिमोभ आफ्नो समयमा उत्तरी ककेसिया पार्टी (एसीपी–बी) का सचिवमात्र थिए । उनले स्तालिनसँग एम. शोलोखोभलाई पक्राउ गर्न अनुमति मागेका थिए । “स्तालिन, त्यो मान्छेलाई आफ्नो ठाउँमा राख्नुहोस्”, उनले भनेका थिए ।

उही फेल्डबिनले पौकरलाई स्तालिनले आफ्ना लागि केही अश्लील तस्वीर सङ्कलन गर्न आग्रह गरेको कुरा लेखेका थिए । स्तालिनसँग चौबीसै घण्टा सँगै बस्ने हामी अङ्गरक्षकहरूले स्तालिनको कोठामा त्यस्तो कुरा कहिल्यै पनि देखेनौँ । स्तालिनको कोठामा डी.बेड्नुई, एम. शोलोखोभ, एम.गोर्की, एम. मायाकोभस्कीका तस्वीरहरूमात्र भेटिएको थियो । उहाँका कोठाका अरू भित्ता रित्ता थिए । उहाँ ज्यादै सरल ढङ्गले बस्नुहुन्थ्यो ।
फेल्डबिनले आफ्नो डाचा जाने बाटोका अरू सबै घर–टहरा भत्काइदिन स्तालिनले आदेश दिएको लेखेका थिए । मस्को र वरपर भइरहेका पुनःनिर्माणका कुराबारे जानकारी भएका जो कोही पनि यस्तो मूर्खतापूर्ण अभिव्यक्ति सुनेर हाँस्ने थिए किनभने उनले इङ्गित गरेको बाटोमा ठूलठूला आवासीय भवन र उद्योग कलकारखानाहरूले भरिएको थियो ¤
“स्तालिनलाई उहाँको डाचामा १२ सत्न्दा बढी सुरक्षाकर्मीहरूले सुरक्षा दिने गर्थे ।” कोही पनि सद्दे दिमाग भएको मान्छेले यो हास्यास्पद कुरा झूट भएको कुरा सहजै बुझ्नेछ ।
यो शत्रु फेल्डबिनका अन्य झूटहरूबारे मैले यहाँ धेरै चर्चा गरिरहन आवश्यक छैन । अब हामी स्तालिन ‘दुई जना’ भएको विषयमा केही चर्चा गरौँ । ‘इभिनिङ दोनेत्स्क’ र ‘क्रिमिया प्राभ्दा’ नामका अखबारहरूले स्तालिनको दोहोरो अवतारबारे व्यापक प्रचार गरे । त्सेई लिउबित्स्कीले त्यसबारे लेखेका थिए । त्यसपछि ‘प्राभ्दा’ ले त्यो झूटको प्रचारलाई निरन्तरता दियो । ती अखबारलाई के यस्ता झूट प्रचार गर्न आवश्यक थियो ? मलाई थाहा छैन । तर ती अखबारका प्रधान सम्पादकहरूले ती झूटहरू प्रकाशन गर्नुअघि सोभियत कम्युनिस्ट पार्टीका अभिलेखालय र त्यसका पूर्व सदस्यहरूका अन्तर्वार्ता पढेको भए उत्तम हुने थियो । तर, माथि नै उल्लेख भएजस्तै एक जना विदेशी करोडपतिको स्वामित्वमा रहेको ‘प्राभ्दा’ पत्रिकाको लागि ती दस्तावेज पल्टाएर हेर्नु उचित थिएन ।
हरेक दिन चौबीसै घण्टा, वर्षौँ वर्षदेखि स्तालिनसँग बसेका मेरा सहकर्मी र मैले यदि वास्तवमै ‘दुई जना स्तालिन’ भन्ने कुनै कुरा हुँदो हो त केही न केही, कहीँ न कहीँ त देख्नु वा अनुभव गर्नुपर्ने थियो ।
यदि ‘दुई जना स्तालिन’ भन्ने कुरा कहीँ अस्तित्व थियो भने उहाँ चढ्ने गाडीसँग ठ्याक्कै मिल्ने अर्को गाडी, उस्तै अर्को चालक, उस्तै अरू अङ्गरक्षक, उही समयतालिका, उही सभा सम्मेलन, उही उत्तर र उही बानी व्यवहार हुनुपथ्र्यो ¤ स्तालिनका विषयमा यस्ता प्रचारबाजी सबै झूट हुन् !
स्तालिनसँग लगातार सम्पर्क र बैठकमा भेट भइरहने बोल्शोई थिएटरका कलाकारहरू जस्तै एम., रैजेन, पी.लिटसी लिसित्सियन, एन.गोलोभानोभ, एस. समोसुद वा भी. बार्सोभजस्ता कलाकारहरूले स्तालिनमा दोहोरो मापदण्ड भएको तत्कालै थाहा पाउँदैनथे र ? उनीहरूलाई कसरी मूर्ख बनाउन सकिन्छ र ?
अङ्गरक्षक एम. स्टारोस्टिनले भनेका थिए, “स्तालिन कहिल्यै पनि दोहोरो हुनुभएन । न सन् १९३७–१९५३ सम्म मैले उहाँका दुई अवतार देखेँ अथवा त्यसका केही सङ्केत देखेँ । क्रेमलिनबाट डाचा, डाचाबाट क्रेमलिन आउने जाने क्रममा म जहिले पनि उहाँसँग हुन्थेँ । त्यस्तै क्रिमियाको सरकारी डाचामा पनि म उहाँसँगै हुन्थेँ, ती सबै वर्षहरूमा । कदाचित दुई जना स्तालिन हुनुभएको भए मैले ती लामो अवधिमा कम्तीमा एकपल्ट वा दुईपल्ट देखेको हुनुपथ्र्यो !”
अर्का अङ्गरक्षक आई. ओर्लोभले पनि त्यस्तै कुरा लेखेका छन् ।
स्तालिन आफ्नो ख्याल आफै गर्नुहुन्थ्यो । उहाँले कसैलाई पनि आफ्नो दारी खौरिदिन अनुरोध गर्नुभएन । आफ्नो लुगा आफै लगाउनुहुन्थ्यो । दैनिक जीवनमा एक जना व्यक्तिले गर्नुपर्ने आवश्यक सबै काम उनी आफै गर्थे । किरोभको हत्यापछि उहाँ स्तालिन सधैँ वाष्प स्नानमा एक्लै जानुभयो । हुनसक्छ, ‘प्राभ्दा’ अखबारले स्तालिनको आवासमा लुगा धुने, लुगामा आइरन गर्ने, खाना पकाउने आदि काम गर्ने श्रीमती बुतुजोभालाई नै ‘अर्को स्तालिन’ ठानेको हो कि ? स्तालिन बुतुजोभाप्रति निकै आभारी हुनुुहुन्थ्यो । स्तालिनले हस्ताक्षर गरेर आफ्नो एउटा तस्वीरसमेत उनलाई दिनुभएको थियो । स्तालिनले कसैलाई पनि यस्तो सम्मान प्रकट गर्नुभएको थिएन ।
महान् देशभक्तिपूर्ण युद्धको क्रममा मार्सल झुकोभ उहाँका सल्लाहकार थिए । स्तालिन झुकोभको बहादुरी, इमानदारी र स्पष्ट बोल्ने चरित्र मन पराउनुहुन्थ्यो । सरसल्लाहको लागि उहाँसँग पोलिटब्युरोका सदस्यहरू हुनुहुन्थ्यो । तर, उहाँको लागि ‘विशेष सल्लाह’ को कुनै खाँचो थिएन किनभने स्तालिन योजना निर्माणमा प्रतिभावान र तीक्ष्ण स्मरणका धनी हुनुहुन्थ्यो । उहाँ जहिल्यै तर्कशील हुनुहुन्थ्यो । अर्थ नभएको कुनै शब्द बोल्नुहुन्नथ्यो । कारण नभएको कुनै अभिव्यक्ति दिनुहुन्नथ्यो । उहाँ निकै रमाइलो खालको हुनसक्नुहुन्छ । तर, उहाँ कहिल्यै ‘हस् कुमार’ हुनुहुन्थेन । उहाँ कहिल्यै आफ्नै सोच नभएको मान्छे हुनुहुन्थेन ।
मसँग छलफल गर्नुहुँदा स्तालिनले केहीबेर विचार गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “तपाईँ सही पनि हुनसक्नुहुन्छ । म यो विषयमा विचार गर्छु ।”
स्तालिनको डाचाबाट सबभन्दा नजिकै नर्स भालेन्टिना इस्तोमिना, सेनाका पूर्व कमान्डर आई. सेमेनोभ, अङ्गरक्षकहरूको पहिलो समूहका कप्तान भी.क्रुताशेभ बस्नुहुन्थ्यो । उनीहरू सबैले सोभियत सङ्घ र स्तालिनका शत्रुहरूले ‘दुई जना’ स्तालिनबारे प्रचार गरेका कुनै पनि कुरा सत्य नभएको बताए !
यदि हिजोआजका गोएबल्सहरूले ती सबै कथा र झूटहरू सुनेका भए उनको पनि अनुहार लाजले निहुरिने थियो ¤ युद्धकालभरि गोएबल्सले कहिल्यै यस्ता रोचक कथा संसारलाई भनेनन् । तर, स्तालिनको समाधिमाथि फ्याकिएको यो फोहोर इतिहासले पक्कै पनि सफा गर्नेछ ।
नेपाली अनुवादः बर्बरिक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *