भर्खरै :

काम्पानेलाको घमाइलो सहर– १

(टोमाजो काम्पानेला युरोपमा समुद्री यात्राको जगजगी चलिरहेको युगका एक काल्पनिक समाजवादी थिए । दक्षिण इटालीको जनजीवनमा महासागर छिचोल्ने नाविकहरूको ठूलो प्रभाव थियो । त्यहीँको एक गरिब र निरक्षर सार्की परिवारमा सन् १५६८ मा काम्पानेलाको जन्म भएको थियो । उनी सानैदेखि तीक्ष्ण बुद्धिका थिए । उमेरले १५ वर्ष ननाघ्दै उनी धार्मिक पाठशालामा भर्ना भए । त्यहाँ उनले विभिन्न गुरुहरूबाट धर्मशास्त्र र दर्शनको ज्ञान पाए । सुरुमा अरस्तुका विचारहरूबाट उनको रुचि घट्दै गयो । बिस्तारै अनुभवजन्य ज्ञानमा उनको चाख बढ्दै गयो । इन्द्रियको अनुभूतिमा आधारित दर्शनबारे उनले सन् १५९२ मा आफ्नो पहिलो पुस्तक लेखे । नेपल्स सहरको बसाइमा काम्पानेलाले आकाश मण्डलको खगोल विज्ञानमा रुचि लिन थाले । उनको लेखनीमा त्यसको छाप पर्दै गयो ।
त्यसबेला युरोपेली धर्मगुरुहरू एरिस्टोटल वा अरस्तुलाई आँखा चिम्लेर विश्वास गर्थे । अरस्तुको विरोध गरेको हुनाले काम्पानेला धर्मगुरुहरूको निन्दा र कोपमा परे । धार्मिक अदालतले उनको निन्दा ग¥यो र उनलाई १५९७ सम्म थुनामा राख्यो । ५ वर्षको थुनामुक्त भएपछि उनी आफू जन्मिएको इटालीको दक्षिण पूर्वको कालाब्रिया प्रान्त फर्के । त्यसबेला उनी २९ वर्षका थिए । त्यहाँ उनले स्पेनी राजतन्त्रका विरुद्ध षड्यन्त्रमा भाग लिए । उनी मेकियावेलीको कुटिल राजनीतिका विरोधी थिए । उनी एक आदर्श समाजको निर्माण गर्न चाहन्थे । आफ्नै मित्रहरूले विश्वासघात गरेपछि उनी पक्राउ परे । उनलाई नेपल्समा थुनामा राखियो । बौलाएको बहाना बनाएर उनी मृत्युदण्डबाट जोगिए । उनलाई आजीवन काराबासको सजाय भयो ।
काम्पानेलाले २७ वर्ष जेलमा बिताए । यही अवधिमा उनले आफ्ना महत्वपूर्ण कृतिहरूको रचना गरे । तीमध्ये घमाइलो सहर’ (The City of The Sun) प्रसिद्ध छ । त्यतिबेला पृथ्वी गोल छ भन्ने कपर्निक्सको ज्ञानलाई मान्ने र दूरवीन बनाउने विश्वविख्यात वैज्ञानिक ग्यालिलियोलाई समेत धार्मिक अदालतले नास्तिकताको आरोप लगाएर मुद्दा चलाइरहेको थियो । ग्यालिलियोको पक्षमा काम्पानेलाले सन् १६१६ मा ‘ग्यालिलियोको प्रतिरक्षामा’ नामक रचना लेखे । उनी त्यसबेला ४८ वर्षका भए । काम्पानेला प्रखर लेखक थिए । उनी धाराप्रवाह लेख्न सक्थे । तीखो स्मरण शक्तिका कारण उनी अग्रज दार्शनिकहरूका विचार उद्धधृत गर्न सिपालु थिए । भनिन्छ, उद्धरण दिँदादिँदा कहिलेकाहीँ उनी आफ्नै विचार दिन बिर्सन्थे ।
सन् १६२६ मा एक पोपको मद्दतले काम्पानेला जेलमुक्त भए । उनलाई रोम लगियो र धार्मिक कार्यालयमा राखियो । त्यसको ३ वर्षपछि उनी पूर्णरूपमा मुक्त भए । ५ वर्षसम्म उनी रोममै बसे । त्यहाँ उनी पोपका खगोलीय मामिलाका सल्लाहकार थिए । एक विचारकको रूपमा युरोपभरि उनी चर्चित थिए । यस्तैमा, सन् १६३४ मा कालाब्रियामा नयाँ षड्यन्त्र भयो । त्यसको नेतृत्व काम्पानेलाका शिष्यहरूले गरेका थिए । अचानक आपत्मा परेपछि काम्पानेला भागेर फ्रान्स गए । धर्मगुरुको छत्रछायाँ र सम्राट लुई १३ औँ को आर्थिक मद्दत पाएर उनले पेरिसको एक मठमा बाँकी जिन्दगी बिताए ।
काम्पानेला एक पादरी थिए । उनले अरस्तुमाथिको अन्धभक्ति तोड्न खोजे । अरस्तुले विज्ञान, साहित्य, राजनीति, दर्शनजस्ता अनेक विषयमा आफ्नो मत दिएका थिए । त्यसैले ज्ञानको प्रत्येक शाखाबारे काम्पानेलाले लेख्नुपर्ने भयो र त्यसका निम्ति उनले गहिरो र चौतर्फी अध्ययन र चिन्तन पनि गरे । उनले कल्पना गरेको ‘घमाइलो सहर’ मा आर्थिक असमानता नरहे पनि त्यहाँ तत्कालीन युरोपेली धार्मिक परिवेशको छाप पाइन्छ । रोमन सभ्यताको स्तुति, ईश्वर, महिला–पुरुष सम्बन्धलगायत विषयमा काम्पानेला केही हदसम्म रुढीवादी देखिन्छन् । तथापि घमाइलो सहरका धेरै बुद्धिमत्तापूर्ण र उज्याला पक्षहरूले हामीलाई घोत्लिन बाध्य पार्छन् । निजी सम्पत्ति र आत्ममोहको जालोमा रुमल्लिएको वर्तमान शोषणप्रधान समाजको विकल्प खोज्न घच्घच्याउँछन् । – सम्पादक)
योद्धाहरूको आरामगृहका प्रमुख र उनका पाहुना जहाजी कप्तानबीचको काव्यिक संवाद 
प्रमुख : अब बताऊ, समुद्री यात्राको क्रममा के के भयो ?
कप्तान : म कसरी पूरै पृथ्वीभरि डुलेँ भनेर मैले बताइसकेँ । घुम्दैफिर्दै म ताप्रोबेन पुगेँ । त्यसपछि म किनारमा नगइरहन सकिन । त्यहाँका बासिन्दाको डरले पहिले म जङ्गलमै रोकिएँ । त्यहाँबाट निस्केपछि मैले आफूलाई ठीक भूमध्य रेखामुनि एउटा ठूलो मैदानमा पाएँ ।
प्रमुख :त्यसपछि के भयो ?
कप्तान : म हतियारधारी महिला पुरुषहरूको ठूलो भीडबाट घेरिएँ । धेरैले हाम्रो भाषा पनि नबुझ्ने रहेछन् । उनीहरूले मलाई घमाइलो सहरतिर लगे ।
प्रमुख : त्यो सहर कसरी बनेको छ र त्यहाँ कसरी शासन गरिन्छ ? मलाई बताऊ ।
कप्तान : सहरको ठूलो हिस्सा अग्लो पहाडमाथि छ । विशाल मैदानबाट त्यो पहाड सर्लक्कै उठेको छ । तर, त्यसका धेरै गोलाकार घेराहरू पहाडको फेदभन्दा परसम्म फैलिएका छन् । पहाड कति ठूलो छ भने सहरको व्यास उचाइमा मात्र दुई माइल होला । त्यसैले त्यसको परिधि सात माइल हुनजान्छ । पहाडमाथि उठेको हुनाले सहरको खास व्यास मैदानमा हुनेभन्दा ठूलो छ ।
सहर सात घेरा वा विशाल गोलाकारमा विभाजित छ र सात ग्रहको नाउँमा नामकरण गरिएको छ । (पुस्तक लेख्दाको समयमा शनि ग्रहभन्दा बाहिरका ग्रहहरू पत्ता लागेका थिएनन् ।) एउटा घेराबाट अर्कोभित्र पस्न बराबर दूरीमा चारवटा सडक र चारवटा द्वारहरू बनाइएका छन् । अझ यो कसरी बनाइएको छ भने पहिलो घेरा भत्कियो भने दोस्रो घेरा भत्किन दोब्बर शक्ति लाग्छ । त्यसैगरी झन् अर्को घेरा भत्काउन अझ दोब्बर शक्ति लाग्छ । त्यसैले यो सहर कब्जा गर्न चाहने व्यक्तिले सहरलाई चार खेपमा ध्वस्त गर्नुपर्ने हुन्छ । मेरो विचारमा पहिलो पर्खाल नै कब्जा गर्न सकिन्न । त्यसको जमोट बाक्लो छ र त्यसलाई ढलान, दुर्ग, बन्दुक र मोर्चाबन्दीले अभेद्य तुल्याइएको छ ।
मलाई उत्तरी द्वारबाट भित्र लगिँदा मैले भित्री र बाहिरी भित्ताबीचको दूरी ७० पेस पाएँ । (१००० पेसको १ माइल हुन्थ्यो ।) द्वारमा फलामका ढोका लगाइएका छन् । तिनलाई तलमाथि गर्न सकिन्छ । तिनलाई सजिलै तर बलियो गरी बन्द गर्न सकिन्छ । तिनलाई बाक्ला स्तम्भमा बाँधिएको बलियो दाम्लोबाट बनेको उपकरणबाट नियन्त्रित गरिन्छ । त्यसपछि विशाल दरबारहरू देखिन थाल्छन् । सबै दरबार पर्खालको भित्रपट्टि कसरी सटेका छन् भने तिनीहरू एउटै दरबारको घेराजस्तो देखापर्छन् । गुम्बजहरू दरबारका आधाआधीसम्म अग्ला छन् र तिनले घेराभरि गोलाकार बनाएका छन् । यी गुम्बजहरू छिचोल्न पेटीहरू छन् । गुम्बजलाई तलबाट बाक्ला र विशेष आकृतिका खाँबाले थामेका छन् । तिनले पौवाजस्तो मन्दिर वा मठको मार्गलाई छपक्कै छोपेका छन् ।
तर दरबारहरूमा कुनै प्रवेशद्वार छैन । भित्री भागबाट भवनको तल्लो तलामा प्रवेश गर्न भने सकिन्छ । माथिल्लो भागमा सिङ्गमरमरको सिँढीबाट उक्लिन सकिन्छ । त्यहाँ बाहिरजस्तै पेटीहरू छन् । माथिल्ला कोठाहरू निकै सुन्दर छन् । त्यहाँ भित्र र बाहिर फर्केका झ्यालहरू छन् । यी कोठाहरूलाई अत्यन्त सजाइएका भित्ताहरूले बाँडेका छन् । पर्खालको घेराको बाहिरी भित्ता आठ हात बाक्लो छ भने बीचका भित्ताहरू अढाइ हात बाक्ला छन् । पहिलो घेरा छोडेपछि दोस्रो मैदानमा पुगिन्छ । यो पहिलो मैदानभन्दा लगभग ३ पेस साँघुरो छ । त्यसपछि दोस्रो घेराको पहिलो भित्ताको तलमाथि हिँडडुल गर्न उस्तै पेटीहरू सजिएको देखिन्छ । भित्रपट्टि दरबारहरूलाई बन्द गरेको भित्री भित्ता पनि छ । त्यहाँ पनि तलबाट खाँबाहरूले थामेका उस्तै मन्दिरहरू छन् । तर, माथिल्लो तलामा घुम्दै गर्दा अत्यन्त सुन्दर तस्बिरहरू देखिन्छन् । भित्र जाँदै गर्दा उस्तै मैदान र दोहोरो भित्ताहरू देखिँदै जान्छन् । यी दोहोरा भित्ताहरूले दरबारहरू समेटेका छन् । यी दरबारको बाहिरपट्टि हिँडडुल गर्नका निम्ति उस्तै पेटीहरू बनाइएका छन् । तिनलाई खाँबाहरूले थामेका छन् । यी पेटीहरू मैदानभन्दा माथि उठेका छन् । एवम्रितले अन्तिम घेरासम्म उस्तै बनोट छ ।
सबैभन्दा भित्री र सबैभन्दा बाहिरी द्वारहरू पार गर्दा व्यक्तिले अनेक सिँढी उक्लेको हुन्छ । तर, उसले यो उक्लाई झट्टै अनुभव गर्न सक्दैन । भिरालो भागलाई एकदम ससाना खुड्किलामा विभाजित गरिएकोले यस्तो हुन्छ । पहाडको टुप्पामा फराकिलो मैदान छ । बीचमा गजबको कलाकृतिले सजिएको मन्दिर छ ।
प्रमुख : भन न ! भन्दै जाऊ! मलाई सुन्न कस्तो अत्तुरी लागेको छ ।
कप्तान : मन्दिर गोलाकार छ । त्यसलाई पर्खालले घेरेको छैन बरु सुन्दर पाराले ठड्याइएका मोटा स्तम्भहरू माथि बनाइएको छ । एउटा विशाल गुम्बजमाथि ससानो थुम्कोजस्तो मन्दिर छ । त्यस गुम्बजलाई केन्द्र वा धुरीमाथि सावधानीपूर्वक अडाइएको छ । मण्डपको ठीक माथि एउटा प्वाल छ । मन्दिरको बीचमा एकमात्र मण्डप छ । यसलाई ससाना खाँबाहरूमाथि बनाइएको छ । मन्दिरले मात्र ३५० पेसभन्दा ठूलो क्षेत्र ओगटेको छ । त्यसबाहेक पनि गुम्बज बाहिरी खाँबाहरूबाट ८ पेस बाहिर फैलेको छ । अन्य खाँबाहरू बाक्लो, बलियो र सीधा भित्ताबाट ३ पेस माथि उठेका छन् । यी दुईथरी खाँबाहरूबीच हिँडडुल गर्न सुन्दर भुइँसितका पेटीहरू छन् । ठाउँठाउँमा अनेकौँ द्वारहरू सजाइएका छन् । भित्ता नभएका खोपीहरूमा अचल कुर्सीहरू राखिएका छन् । भित्रका खाँबाहरूबीच कुर्सी राखिएको छ र ती खाँबाले मन्दिरलाई थामिरहेका छन् । सार्न मिल्ने कुर्सीको अभाव छैन । तिनीहरू धेरै सङ्ख्यामा राम्रो अवस्थामा छन् । मण्डपमाथि विशाल ग्लोबमात्र छ । त्यसमाथि खगोलीय पिन्डहरूको चित्र कोरिएको छ र अर्को ग्लोबले पृथ्वीको झल्को दिन्छ । गुम्बजको भित्री भित्तामा ब्रह्माण्डका एकदेखि छैटौँ आकारका सम्पूर्ण ताराहरूलाई अङ्कित गरिएको छ । साथै तिनको नाम र लौकिक वस्तुमाथि प्रभाव पार्न सक्ने तिनको शक्तिबारे प्रत्येकलाई ३ पङ्क्तिका दरले कुँदिएको छ । खाँबा र सानाठूला गोलाकार घेराहरू त्यस ठाउँको भिरालोपनाअनुसार राखिएको छ । यो भिरालोपना एकनासको छैन किनभने तल कुनै भित्ता छैन । खाँबाहरू मण्डपका ग्लोबअनुसार बनाइएको छ । मन्दिरको पेटी बहुमूल्य रत्नहरू बिछ्याइएकोले चम्किलो छ । त्यसका सातवटा स्वर्ण दियोहरू झुल्दै बल्छन् र तिनलाई सात ग्रहको नाम दिइएको छ ।
भवनको शिखरमा धेरै ससाना र सुन्दर कोठीहरूले सानो गुम्बजलाई घेरेका छन् । भित्री र बाहिरी खाँबाहरूमाथिको आँटीमा धेरै सानाठूला कोठीहरू छन् । त्यहाँ ४९ जना पुजारी र धर्म अधिकारीहरू बस्ने गर्छन् ।
सानो गुम्बजबाट एउटा घुमिरहने झन्डा निस्केको छ । त्यसले हावाको बहाव बताउँछ । झन्डामा ३६ वटा निशानहरू बनाइएका छन् । यसबाट पुजारीले कस्तो हावाले कस्तो वर्ष ल्याउँदै छ र भूमि र समुद्रको मौसममा कस्तो परिवर्तन आउँदै छ भनी थाहा पाउँछन् । झन्डामुनि सुनका अक्षरले लेखिएको एउटा पुस्तक सधैँ राखिन्छ ।
प्रमुख : ओहो, मेरो नायक, मलाई त्यहाँको सरकारबारे बताऊ । मलाई सुनौँ सुनौँ भइसक्यो ।
कप्तान : उनीहरूको सबैभन्दा ठूला शासक एक पुजारी हुन् । उनलाई तिनीहरू होह भन्छन् । हामीले दार्शनिक भन्नुपर्छ । उनी सबै लौकिक र अलौकिक मामिलाका प्रधान हुन् । सबै व्यापारिक र कानुनी मामिला सर्वोच्च अधिकारीको रूपमा उनले नै सल्टाउँछन् । एकनासको शक्ति भएका तीन राजकुमारले उनलाई सघाउँछन् । तिनलाई पोन, सिन र मोर भनिन्छ । हाम्रो भाषामा उनीहरूलाई शक्ति, विवेक र प्रेम भन्नुपर्छ । शक्तिले युद्ध र शान्तिसम्बन्धी सबै मामिलाको रेखदेख गर्छन् । उनले सैन्यकलाको ज्ञान राख्छन् र होहपछि युद्धसम्बन्धी प्रत्येक काममा उनी नै शासक हुन् । उनले सैन्य अधिकारी र सैनिकहरूमाथि शासन गर्छन् । उनले हातहतियार, मोर्चाबन्दी, आक्रमण, युद्ध कारबाही, गठ्ठाघर, आरने (ज्यासल) र अन्य ज्यामीहरूसँग सम्बन्धित सबै बन्दोबस्त मिलाउँछन् ।
तर, विवेक चाहिँ समाजविज्ञान, यन्त्रविज्ञान, विज्ञानका सबै प्रशासक र विज्ञहरू एवम् सबै विचारधाराहरूका शासक हुन् । सबै विज्ञहरू उनी मातहत हुन्छन् । एउटा विज्ञलाई एष्ट्रोलोगस (नक्षत्रविद्), दोस्रोलाई कोस्मोग्राफस (ब्रह्मान्डविद्), तेस्रोलाई एरिथमेटिकस (अङ्कगणितज्ञ), चौथोलाई जियोमेट्रा (ज्यामितिविज्ञ), पाँचौलाई हिस्टोरियोग्राफस (इतिहासविद्), छैटौँलाई पोयटा (काव्यशास्त्री), सातौँलाई लोजिकस (तर्कशास्त्री), आठौँलाई रेटोर (अलङ्कारशास्त्री), नवौँलाई ग्रामाटिकस (व्याकरणविद्), दशौँलाई मेडिकस (औषधिविज्ञ), एघारौँलाई फिजिओलोगस (शरीरविज्ञ), बाह्रौँलाई पोलिटिकस (राजनीतिज्ञ), तेह्रौँलाई मोरालिस (नैतिकशास्त्री) भनिन्छ । उनीहरूको एउटै पुस्तक हुन्छ । त्यसलाई उनीहरू विज्डम (विवेक) भन्छन् । त्यसमा सबै विज्ञानहरू सचेतरूपमा र प्रस्ट भाषामा लेखिएको हुन्छ । यसलाई उनीहरू पाइथागोरसको परम्पराअनुसार जनतासामु पढ्ने गर्छन् । विवेककै कारण सहरको तलदेखि माथिसम्मका भित्री र बाहिरी भित्ताहरू उत्कृष्ट तस्बिरहरूले सजाएका छन् । ती भित्तामा सबै विज्ञानलाई प्रशंसनीय शैलीमा चित्रित गरिएको हो । मन्दिर र गुम्बजमा पुजारीले प्रवचन दिने बेला खुला गरिन्छ । त्यतिबेला उनको स्वर फैलिन्छ, स्रोतहरूलाई छुँदै उड्दै जान्छ । तिनै मन्दिरका भित्ता र गुम्बजमा विभिन्न आकारका ताराहरूका चित्रहरूलाई अलग्गै तीन पङ्क्तिमा तिनीहरूको शक्ति र गतिसहित कुँदिएको हुन्छ ।

भित्री भित्तामा सम्पूर्ण गणितीय चित्रहरू प्रस्टसँग कोरिएका छन् । ती चित्रहरूको सङ्ख्या आर्किमिडिज वा युक्लिडले पत्ता लगाएभन्दा पनि धेरै छन् । तिनलाई उल्टो र सुल्टो पारेर कोरिएको छ र प्रत्येकलाई व्याख्या गर्ने गरी छोटा पङ्क्तिहरू सुन्दर अक्षरले लेखिएको छ । तिनको परिभाषा, अवधारणा आदि पनि कुँदिएको छ । बाहिरी भित्तामा पहिले त समग्र पृथ्वीको चित्र छ । त्यसपछि त्यसमा प्रत्येक देशहरूको सार्वजनिक र निजी रहनसहन, कानुन, रैथानेहरूको उद्गम र शक्तिबारे खण्ड–खण्डमा लेखिएको छ । घमाइलो सहरको सिरानमा विविध जातिका कखराहरू कुँदिएको देख्न सकिन्छ ।
दोस्रो घेराभित्र अर्थात् भवनको दोस्रो गोलाकार घेराभित्र बहुमूल्य र सादा ढुङ्गा, रत्न र धातुहरूका चित्र देख्न सकिन्छ । सबै धातुका ससाना टुक्राहरूसमेत त्यहाँ राखिएका छन् । सँगै प्रत्येक धातु वा खनिजको वर्णन गर्दै दुई छोटा पङ्क्ति पनि लेखिएका छन् । बाहिरी भित्तामा भने पृथ्वीका सम्पूर्ण समुद्र, नदी, ताल र खोलाहरू कुँदिएका छन् । त्यहाँ वाइन, तेल र थरीथरीका झोलहरूका साथै तिनीहरू कुन पदार्थबाट निकालिन्छ भनी तिनको स्रोत, गुणस्तर र तिक्खरपनासमेतको वर्णन गरिएको छ । बार्दलीहरूमा भाँडाहरू राखिएका छन् र तिनमा १ देखि ३०० वर्ष पुराना झोलहरू राखिएका छन् । यी सबै विभिन्न रोग निको पार्न काम लाग्छ । हिउँ र बरफ, आँधीबेहरी र चट्याङ, र वायुमण्डलका सबै रूपलाई उपयुक्त चित्र र छोटा पङ्क्तिहरूले वर्णन गरेका छन् । सहरबासीहरूसँग बतास, वर्षा, चट्याङ, इन्द्रेणीजस्ता वायुमण्डलका सबै घटनालाई ढुङ्गाले जनाउने कलासमेत छ ।
तेस्रो घेराको भित्री भित्तामा रुखबिरुवा र बुट्यानहरूका सम्पूर्ण प्रजातिहरूको चित्रण गरिएको छ । बार्दलीहरूको बाहिरी भागमा प्रत्येक वनस्पतिको नमुना गमलामा हुर्किरहेको देख्न सकिन्छ । तिनीहरू सर्वप्रथम कहाँ पाइएका थिए, तिनको शक्ति र प्रकृति कुन दैवी वस्तु र धातुसँग, मानव शरीरको कुन अङ्गसँग र कुन समुद्रसँग मेल खान्छ एवम् तिनको औषधीय गुणजस्ता उपयोगिताबारे प्रत्येक नमुनाको वर्णन गरिएको हुन्छ । बाहिरी भित्तामा खोलानाला, तालतलैया र समुद्रहरूमा पाइने माछाका सम्पूर्ण प्रजातिहरू, तिनको बासस्थान र महत्व, प्रजनन, तालिम, बाँच्ने कला, विश्वमा तिनको जीवनको सार र मान्छेलाई तिनको उपयोगिताबारे लेखिएको हुन्छ । साथै अलौकिक र लौकिक जगतमा तिनीहरू कोजस्ता देखिन्छन् भन्ने पनि प्रकृति र कलाको मद्दतले झल्काएको हुन्छ । एउटा पुजारीजस्तो माछा देख्दा, एउटा साङ्लोजस्तो, अर्को लुगाजस्तो, चौथो माछा काँटीजस्तो, पाँचौँ ताराजस्तो र अरू हामीमाझ पाइने अन्य वस्तुजस्तो देख्दा म दङ्ग परेको थिएँ । यस्तो गर्दा दुवै वस्तु ठ्याम्मै मिलेका देखिन्छन् । त्यहाँ सी अर्चिन, गुलाफी सेल फिस र मुजेल पनि छन् । चित्र र तस्बिरको माध्यमबाट पानीको संसारमा पाइने सम्पूर्ण पात्रहरूलाई आश्चर्यजनक ढङ्कले चित्रण गरिएको छ ।
चौथो घेराको भित्री भित्तामा सबैखाले चराका चित्रहरू छन् । तिनीहरूको प्रकृति, आकार, जीवनचक्र, रङ, जीवनचर्या आदि पनि उल्लेख गरिएको छ । यस सहरमा एकमात्र फिनिक्स चरा पनि छ । बाहिरी भित्तामा घस्रिने जनावर, सर्प, ड्रागन र जुका, कीराफट्याङ्ग्रा, आदि पनि कोरिएका छन् । साथै तिनको फरक जीवन अवस्था, बल, विष र प्रयोगजस्ता तपाईँ र मैले सोच्न सक्ने भन्दा पनि धेरै कुरा दिइएको छ ।
पाँचौँ घेराको भित्री भित्तामा पृथ्वीका सम्पूर्ण विशाल जन्तुहरू तपाईँलाई नै चकित पार्ने सङ्ख्यामा कोरिएको छ । हामीले तिनको हजार भागको एक भागबारे पनि थाहा पाएका छैनौँ । बाहिरी भित्तामा पनि विशाल जीवजन्तुहरूको चित्रण गरिएको छ । घोडाको मात्र कति धेरै प्रजातिहरू साह्रै सुन्दररूपमा त्यहाँ कुँदिएका छन् ।
छैटौँ घेराको भित्री भित्तामा थरीथरीका औजारहरू विभिन्न देशमा कसरी प्रयोगमा आइरहेको छ भनी सम्पूर्ण प्राविधिक कलाहरू कुँदिएका छन् । साथमा ती उपकरणका आविष्कारकहरूको नाम दिइएको छ । बाहिरी भित्तामा भने विज्ञान, युद्धकला र कानुनका सम्पूर्ण आविष्कारकहरूको चित्र उतारिएको छ । त्यहाँ मैले मोजेज, ओरिसिस, जुपिटर, मर्करी, लाइकुर्गस, पाइथागोरस, जामोल्सिक्स, सोलोन, च्यारोन्डस, फोरोनियस र अन्य धेरै मानिसहरूको तस्बिर देखेँ । त्यहाँ तिनीहरूले झूटा र धूर्त कानुन लेखक भन्ने गरेको मोहम्मदको चित्र पनि अङ्कित थियो । सबैभन्दा गरिमापूर्ण स्थानमा मैले जिजस क्राइस्ट र बाह्र सन्देशवाहकलाई देखेँ । उनीहरूलाई सहरवासीहरू धेरै सम्मान गर्छन् । मान्छेहरूमध्ये सबैभन्दा उच्च स्थानमा मैले सिजर, अलेक्जेन्डर, पाइरस, हनिबल एवम् युद्ध र शान्तिका बेलामा ख्याति कमाएका धेरै नायकहरूलाई पाएँ । खासगरी रोमका योद्धाहरूलाई सबैभन्दा तल पेटीमा चित्रण गरिएको थियो । तिनीहरूले कहिले हाम्रो इतिहास चाल पाए भनी मैले सोध्दा तिनले आफूहरूले सबै भाषा जानेको बताए । साथै लगनसाथ उनीहरूले सारा पृथ्वीभर निरन्तर खोजकर्ता र दूतहरू पठाउने बताए । ती खोजकर्ता र दूतहरूले विभिन्न राष्ट्रका असल र खराब इतिहास, संस्कृति, शक्ति र शासन व्यवस्थाबारे सिक्ने बताए । यो ज्ञान तिनीहरूले आफ्नो देशमा उपयोग गर्छन् र यस्तो गर्दा उनीहरू प्रसन्न हुँदारहेछन् । गोलाबारुद र छपाइ कलाबारे हामीले भन्दा पहिले चिनियाँहरूले थाहा पाएका रहेछन् भनी मैले त्यहीँ थाहा पाएँ । त्यहाँ चित्रहरूको बारेमा बताउने अधिकारी हुन्छन् र शिकारुहरूले दुःख नगरीकन, मानौँ खेलखेलमा सम्पूर्ण विज्ञान सिक्छन् । इतिहासको रूपमा यी कुराहरू सिकिसक्दा उनीहरू १० वर्ष पुग्दारहेछन् ।
जातिहरूको जिम्मा प्रेमको हुन्छ । उनले पुरुष र महिलाहरू जमघट भएको र उत्कृष्ट सन्तानहरू जन्माएको कुरा पक्का गर्छन् । हामीले घोडा र कुकुरको प्रजातिबारे खुब चिन्ता लिन्छौँ । तर, मान्छेको प्रजननलाई बेवास्ता गर्छौँ । यो देखेर त्यहाँका बासिन्दाहरू हामीलाई खिसी गर्छन् । यसकारण बालबालिकाको शिक्षादीक्षा उनको शासनभित्र पर्छ । बेच्ने औषधि, जमिनमा फलफूल रोप्ने र टिप्ने, बालीनाली र घाँसपात लगाउने र भित्र्याउने, महिनाभरको तारतम्य मिलाउने, खानपान र लुगाफाटोको बन्दोबस्त मिलाउने र युवायुवतीको जोडी मिलाउने काम पनि प्रेमकै हो । उनी आफै शासक हुन् । तैपनि, यी कलामा धेरै महिला र पुरुष अधिकारीहरू लागेका हुन्छन् ।
यी तीन शासकहरूमार्फत दार्शनिकले माथि भनिएका सम्पूर्ण कामको व्यवस्था मिलाउँछन् र उनी एक्लैले केही गर्दैनन् । सम्पूर्ण काम चारैजनाले मिलेर गर्छन् तर अन्तिम शब्द दार्शनिकको हुन्छ । त्यसमा सबैको सहमति हुन्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *