भर्खरै :

सक्वको म राजदास – ७५

 
ब्रेझनेभपछिको सोभियत सङ्घ
विश्वका एक महान् शक्तिशाली राष्ट्र सोभियत सङ्घको आयु ७० वर्ष रह्यो । सोभियत सङ्घ प्राकृतिक स्रोत साधनमा धेरै सम्पन्न थियो । सोभियत सङ्घ या रुसमा अथाह इन्धनको स्रोत छ । प्राकृतिक तेल र ग्यासको भण्डारमात्र होइन पत्थर कोइलाका विशाल खानीहरू पनि छन् । सोभियत सङ्घमा नभएको चीज केही थिएन । तर, साभियत जनताले त्यति सुख पाएनन् । सोभियत सङ्घ समाजवाद हुँदै साम्यवादमा गएर विश्वकै एक शोषणमुक्त समाज बनाउने आशामा हिँड्दा हिँड्दै ७० वर्षको हाराहारीमा धरासयी भयो ।
सन् १९१७ मा विश्वमा सर्वप्रथम सम्पन्न भएको महान् समाजवादी अक्टोबर क्रान्तिपश्चात् स्थापना भएको सोभियत सङ्घले विश्वमा एक ठूलो राजनीतिक र सामाजिक तरङ्क नल्याएको होइन । सोभियत सङ्घको उदयपछि विश्वमा धेरै उपनिवेश देशहरू साम्राज्यवादी र पुँजीवादी देशहरूको उपनिवेशबाट स्वतन्त्र भए । सयौँ वर्षको उपनिवेशको जन्जीरबाट धेरै देशहरूले स्वतन्त्रताको सास फेर्न पाए । सोभियत सङ्घ र चीनजस्ता साम्यवादी देशहरूको सहयोग र समर्थनमा आर्थिक, राजनीतिक र सामाजिक अनि वैज्ञानिक र शैक्षिक क्षेत्रमा धेरै गरिब मुलुकहरू सम्पन्न भए । आज उपनिवेशबाट स्वतन्त्र भएर आज सयौँ देशहरू फलेफुलेका छन् । यसमा सोभियत सङ्घमा सम्पन्न भएको महान् अक्टोबर क्रान्तिको ठूलो योगदान छ । तर, समाजवादको जगमा हिँडिरहेको सोभियत सङ्घ आज नरहनुमा धेरै दुःख लाग्दछ । सोभियत सङ्घ विघटन हुनुका कारण धेरै छन् । देशभित्रका आन्तरिक अनि बाह्य कारण पनि होलान् । सोभियत सङ्घजस्तो एक शक्तिशाली विशाल यस विश्वबाट हराउनुमा । निश्चय पनि बाह्य पुँजीवादी र साम्राज्यवादी देशहरूबाट सोभियत सङ्घ निर्माण भएदेखि नै यसको घाँटी निमोठ्ने प्रयत्न नभएको होइन । देशभित्रको संशोधनवादी नीति पनि हावी हुन पुग्यो ।
सन् १९५४ मा सोभियत नेता जोसेफ स्तालिनको मृत्युपश्चात् सत्तामा आएका सोभियत नेता निकिता ख्रुश्चेभको शासनकालदेखि समाजवादी बाटोमा हिँडिरहेको सोभियत पुँजीवादी देशहरूसँगको सह–अस्तित्वको सुधारवादी नीतिले गर्दा अवरोध आइप¥यो ।
ख्रुश्चेभपछि आएका सोभियत नेता लिओनिद इलिच्छ ब्रेझनेभको पालामा निकिता ख्रुश्चेभले रोपेको बीउ त्यति हुर्केको देखिएन । तर, सन् १९८२ मा बे्रझनेभको मृत्युपश्चात् सत्तामा आएका सोभियत नेता मिखाइल गोर्भाचोभले ख्रुश्चेभले भन्दा नवउदारवादी नीति लिएर ‘ग्लास्नोस्ट’ र ‘पेरेस्ट्रोइका’ को नीतिअनुसार सोभियत सङ्घलाई एक नयाँ रूप दिने प्रयास गरे । रुसी भाषामा ‘ग्लास्नोस्ट’ को माने हुन्छ, ‘पारदर्शिता’ र पेरेस्ट्रोइकाको मतलब ‘पुनःसंरचना’ अथवा पुनःनिर्माण हो । लिओनिद इलिच्छ बे्रझनेभको पालामा सोभियत सङ्घ अरू कालखण्डमा भन्दा बढी स्थिर तथा शान्त थियो । आर्थिक उन्नति पनि राम्रै थियो । कृषि क्षेत्रमा त्यतिको सफलता हासिल गर्न नसके पनि औद्योगिक उत्पादन र इन्धन निर्यात क्षेत्रबाट ठूलो लाभ हासिल गर्दै थियो । इन्धन र ग्यास उत्पादनमा सोभियत सङ्घ यति प्रबल थियो कि विश्व पेट्रोल निर्यात सङ्कठन ‘ओपेक’ भन्दा बढी पेट्रोलियम पदार्थको उत्पादन र निर्यात गर्दथ्यो । यद्यपि तत्कालीन सोभियत सङ्घले ‘ओपेक’ को सदस्यता ग्रहण गरेन ।
‘पेट्रोलियम निर्यात सङ्कठन’ ‘ओपेक’ को सदस्य राष्ट्रहरूमा अरब मूलमा मुख्य तेल उत्पादन गर्ने देशहरू साउदी अरब, कुबेत, इराक, इरान, बहराइन, संयुक्त अरब इमिरेट्सलगायत अफ्रिकी मुलुक नाइजेरियाको साथै दक्षिण अमेरिकी देश भेनेजुयला पनि थिए । तर, विश्वमा सबभन्दा धेरै तेल उत्पादन गर्ने देश भएर पनि सोभियत सङ्घ ‘ओपेक’ को सदस्य थिएन । ओपेकको सदस्यत बने । विश्व बजारमा तेलको आवश्यकता र आपूर्तिअनुसार तेलको भाउ स्थिर राख्नको लागि ओपेकको निर्णय र निर्देशनअनुसार तेल उत्पादनमा थपघट गर्नुपर्ने हुन्छ । ओपेकले दिएको कोटाअनुसार तेल उत्पादन गर्न सकिन्थ्यो । यही नियममा आफू बस्न नचाहेकोले सोभियत सङ्घ विश्व तेल निर्यात गर्ने देशहरूको समूहमा आबद्ध नभएको कुरा मैले सुनेको थिएँ ।
पेट्रोलियम पदार्थजस्तै प्राकृतिक ग्यास उत्पादन र वितरणमा पनि सोभियत सङ्घ धेरै समृद्ध थियो । पूर्वी र पश्चिम युरोपका प्रायः सबै देशहरूको घर–घरमा सोभियत ग्यास पुगेको हुन्थ्यो । युरोपको दक्षिण पश्चिममा रहेको स्पेनसम्म सोभियत सङ्घले आफ्नो प्राकृतिक ग्यास वितरण गरेको थियो । रुसको साइबेरियाको ग्यास वितरण युरोपियन देशहरूमा त्यो आपूर्ति जारी नै छ  ।
यस ग्यास निर्यातलाई सोभियत सङ्घ र अहिलेको रुसी महासङ्घले एक हतियारको रूपमा प्रयोग गरेको देखिन्छ । समय–समयमा संयुक्त राज्य अमेरिकाले रुस अथवा सोभियत सङ्घमाथि नाकाबन्दीको धम्की देखाउँथ्यो ।
अमेरिकाले रुसलाई कुनै प्रकारको औद्योगिक अथवा व्यापारिक नाकाबन्दी लगाउन प्रयास ग¥यो भने सबभन्दा पहिले रुसले युरोपियन देशहरूमा वितरण गरिरहेको तेलको भाउ बढाउने अथवा ग्यास सप्लाइमा समस्या ल्याउने काम गरेर अमेरिकालाई यथोचित जवाफ दिने गर्दथ्यो र आजकल गर्छन् पनि ।
प्राकृतिक सम्पत्तिले भरिपूर्ण देश सोभियत सङ्घमा ब्रेझनेभको जस्तो शान्तिपूर्ण अवस्थामा पनि सोभियत जनताले त्यति सुख र शान्ति पाउन नसकेको कुरा म आफैले भोगेर आएको थिएँ ।
सोभियत जनताको असन्तुष्टिको अन्य धेरै कारणहरूमध्ये एक कारण थियो, उपभोक्ता सामग्रीको बजारमा अभाव र ती सामानहरूको कमसल गुणस्तर । लिओनिद इलिच्छ ब्रेझनेभको पालामा सन् १९७० र ८० को दशकमा सोभियत सङ्घका ठूला–ठूला सहरहरूमा धेरै विदेशीहरूको उपस्थिति भइसकेको थियो । विदेशबाट आएका विद्यार्थीहरूले लाएर आउने लुगाफाटो र जुत्ता देखेर सोभियत जनता अचम्मित हुन्थे । आफ्नो देशमा त्यस्ता राम्रा र गुणस्तरीय सामानहरू नभएको कारण सोभियत जनता विशेष गरेर युवा वर्ग धेरै क्षुब्ध थिए । सोभियत जनतासँग पैसाको अभाव थिएन । तर, उच्चस्तरीय उपभोक्ता सामानहरू खाद्यपदार्थ, पेयपदार्थदेखि लिएर लाउने लुगा र कस्मेटिक पदार्थहरू बजारमा पाइँदैनथ्यो । विदेशीहरूको लवाइखुवाइ देखेर सोभियत युवा जगतमा एक निराशा र हिनताबोधको आभास हुनथाल्यो । लुगाफाटो र अन्य आधुनिक उपभोक्ता सामानहरूको लोभमा धेरै सोभियत युवतीहरू विदेशीहरूसँग टाँसिन पुग्थे भने धेरैले विदेशी विद्यार्थीहरूमार्फत युरोपबाट कालोबजारिया सामानहरू मगाउन थाले ।
जर्मन, लन्डनजस्तो युरोपियन बजारमा एक दुई डलरमा पाइने जिन्सका लुगाफाटो र हाइहिल जुत्तालाई ४०–५० डलरसम्म तिरेर किन्न थाले । एक–दुई पाउन्ड पर्ने विटल्सको गीत रेकर्डलाई ५०–६० डलरमा किन्न थाले, विदेश घुम्न जाने विद्यार्थीहरूलाई अग्रीम पैसा भुक्तानी दिएर । यही कारणले गर्दा सोभियत मुद्रा रुबलको पनि अपचलन हुनथाल्यो । सरकारी रेटमा एक रुबल बराबर एक अमेरिकी डलर हुन्थ्यो ब्ल्याक मार्केटमा । एक डलरको ४–५ रुबलसम्म पर्नथाल्यो ।
बाहिरबाट हेर्दा सोभियत सङ्घ एक समृद्ध र शक्तिशाली राष्ट्र भए तापनि भित्र–भित्रै आर्थिक स्थिति बिग्रँदै गएको थियो । बे्रेझनेभको पालामा देशभित्र माथिल्लो तहसम्म भ्रष्टाचारले बिस्तारै ठाउँ ओगट्दै थियो । बेझनेभको मृत्युपश्चात् स्वयम् सोभियत नेता ब्रेझनेभका ज्वाइँ भ्रष्टाचारको आरोपमा जेल परेका थिए । यसरी ब्रेझनेभका नातेदारहरूले शक्तिको दुरूपयोग गरी विदेशीहरूसँग कालाबजारी गर्दै अर्थ उपार्जन गरेका थिए ।
तत्कालीन सोभियत सरकारका प्रवक्ता गेनाडी गेरास्निमोभले एक प्रेस सम्मेलनमा सोभियत नेता बे्रझनेभको आलोचना बढ्दै गएको सन्दर्भमा उनका छोरी ज्वाइँ युरी छुर्भानोभलाई भ्रष्टाचारको आरोपमा समातेर कारबाही भइरहेको बताएका थिए । छुर्भानोभ सोभियत सङ्घमा तेस्रो दर्जाका सैनिक जनरल थिए भने प्रथम आन्तरिक उपमन्त्री पनि थिए ।
सन् १९८५ सम्म जब मिखाइल गोर्भाचोभ सोभियत सत्तामा आए लिओनिद इलिच्छ बे्रेझनेभको पछिल्ला वर्षहरूमा धेरै नैतिक पतन भएको थियो । उनको मृत्युपश्चात् उनले पाएका सबै पदकहरू सोभियत जनताले खोसेका थिए । ब्रेझनेभका सालो भाइ जनरल सिम्योन चीभ्गुनले आत्महत्या गरे बे्रझनेभको परिवारमा लागेको आरोप खप्न नसकेर । जनरल चीभ्युन त्यसबेला सोभियत गुप्तचर विभाग केजीबीका उपाध्यक्ष थिए ।
यसरी बे्रझनेभको शासनकाल दुःखान्तमा बित्यो । गोर्भाचोभ र एल्सीनको कारणले बेझनेभपछिको सोभियत सङ्घले आफ्नो अस्तित्व नै गुमाउनु प¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *