भर्खरै :

भगत सिंहको हातमा पुग्न नपाएको स्तालिनको निमन्त्रण

भारतको क्रान्तिकारी आन्दोलनको इतिहासबारे कमैलाई थाहा भएको एउटा घटना हो–सोभियत नेता जोसेफ स्तालिनले भारतका क्रान्तिकारी भगत सिंहलाई पठाएको ‘निमन्त्रणा’ । विडम्बना ! स्तालिनको त्यो निमन्त्रणा कहिल्यै पनि भगतको हातमा पुग्न पाएन । त्यसकारण इतिहासकारहरूले कदाचित त्यो पत्र भगतको हातमा पुगेको भए र भगतले त्यो आमन्त्रण स्वीकारेका भए के हुने थियो भन्ने कुराको अनुमानमात्र गर्न सक्छन् । यद्यपि एउटा कुरा भने पक्का हो । कदाचित योजनाअनुसार काम फत्ते भएको भए भारतको स्वतन्त्रता सङ्घर्षको दिशा नै बदलिने थियो ।
भगत सिंह र स्तालिनलाई जोड्ने व्यक्ति थिए–सौकत उसमानी । उसमानी सन् १९२० मा तास्कन्दमा गठन भएको भारतीय कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए । भारतका देशभक्तहरूसँग सम्पर्क स्थापित गर्न उसमानीलाई एमएन रोयले भारत पठाएका थिए । भारतमा उनको सम्पर्क कानपुरबाट सन् १९२० को दशकमा प्रकाशित हुने लोकप्रिय हिन्दी दैनिक ‘प्रताप’ का विख्यात सम्पादक गणेशशङ्कर विद्यार्थीसँग भयो । विद्यार्थीमार्फत उनको सम्बन्ध भारतका क्रान्तिकारीहरूसँग भयो ।

सौकत उसमानी


भगत सिंह ‘प्रताप’ दैनिकका सह–सम्पादक थिए । उसमानीको राजनीतिक यात्रा वृत्तान्त ‘पेशावरदेखि मस्कोः भारतका एक जना मुहाजेरिनको दैनिकीबाट बिदाइ’ कृतिको समीक्षा लेखेर भगतले ‘प्रताप’ मा छपाएका थिए । उसमानी कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित थिए । तर, उनले भारतका सशस्त्र क्रान्तिकारीहरूसँग निकट सम्पर्क कायम गरेका थिए र उनीहरूका गतिविधिबारे कोमिन्टर्नमा खबर पठाउने गर्थे ।
सन् १९२८ मा कम्युनिस्ट अन्तर्राष्ट्रियको छैटौँ महाधिवेशनमा सहभागी बन्न सोभियत सङ्घ जाने क्रममा उसमानीले भगत सिंह र उनी निकटका मित्र विजयकुमार सिन्हालाई आफूसँगै सोभियत सङ्घ जान आग्रह गरेका थिए । सो घटनाबारे उसमानीले लेखेका थिए,“सरदार भगत सिंह र मेरो पहिलो भेट कहिले भएको थियो, मलाई अहिले ठ्याक्कै याद भएन । उनलाई मैले पहिलो पटक या त लाहोर नभए कानपुरमा भेटेको हुनुपर्छ ।… त्यत्तिबेला हिन्दुस्तान गणतान्त्रिक सङ्गठन(एचआरए) हिन्दुस्तान समाजवादी गणतान्त्रिक सङ्गठन(एचएसआरए) बनिसकेको थियो । त्यसले कम्युनिस्ट अन्तर्राष्ट्रियसँग सहकार्य गर्ने निर्णय गरिसकेको थियो । …व्यक्ति– हत्याका गतिविधि छोड्नुअघि आफ्नो योजनामा रहेका केही महत्वपूर्ण काम फत्ते गर्ने उनीहरूले मलाई जानकारी दिएका थिए । …मैले विजय बाबु (विजयकुमार सिन्हा) लाई भनेको थिएँ, “आउनुहोस्, मस्को जाऔँ ।” यदि भगत सिंह र विजय सिन्हा मस्कोमा गएका भए सोभियत सङ्घबाट सक्रिय सशस्त्र सहायता हुनसक्ने व्यक्तिगतरूपमा मलाई विश्वास लाग्छ ।”
भगतसँगै विजयकुमार सिन्हा हिन्दुस्तान समाजवादी गणतान्त्रिक सङ्गठनको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीमा थिए । उसमानीले आफूलाई सोभियत सङ्घमा आउन निमन्त्रणा गरेको कुरा विजयकुमारले आफ्नो पुस्तक ‘सोभियत सङ्घमा नयाँ मानव’ मा लेखेका छन् । त्यसमा उनले लेखेका छन्,“भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि सौकत उसमानी कम्युनिस्ट अन्तर्राष्ट्रियको छैटौँ महाधिवेशनमा भाग लिन मस्को जाँदै थिए । उनले मलाई र मेरा सहयोगीलाई भारतीय क्रान्तिकारी आन्दोलनका प्रतिनिधिका रूपमा सोभियत सङ्घमा सँगै जाने प्रस्ताव गरे । सो प्रस्तावबारे मैले भगत सिंहसँग कुराकानी गरेँ । हामीले त्यो समय सोभियत सङ्घमा जाने उपयुक्त समय नभएको निष्कर्ष निकाल्यौँ । हाम्रा योजना कार्यान्वयनमा सफल भएपछि हामी मस्को जाने निक्र्यौलमा पुग्यौँ ।”
भगत सिंह र सिन्हालाई उसमानीले सोभियत सङ्घमा हिन्दुस्तान समाजवादी गणतान्त्रिक सङ्गठनका प्रतिनिधिको रूपमा मस्को जान निमन्त्रणा गरेको कुरा भारतीय कम्युनिस्ट आन्दोलनका धरोहर मुजफ्फर अहमदले पनि पुष्टि गरेका छन् । आफ्नो आत्मसंस्मरण ‘म र भारतको कम्युनिस्ट पार्टी’ मा अहमदले उसमानी र सिन्हाबीच भएको बैठकबारे उल्लेख गरेका छन् । उसमानीलाई मस्को जान सिन्हाले दुई सय भारु पनि दिएको अहमदले लेखेका छन् । उसमानीले पनि सोभियत सङ्घबाट आर्थिक सहायताको लागि पहल गर्ने वाचा गरेका थिए ।
सन् १९२८ मा उसमानी सोभियत सङ्घमा पुगे । कम्युनिस्ट अन्तर्राष्ट्रियको ऐतिहासिक छैटौँ महाधिवेशनको अध्यक्षमण्डलमा उनी समावेश थिए । सन् १९२८ को जुलाई १७ देखि सेप्टेम्बर १ सम्म सो महाधिवेशन भएको थियो । महाधिवेशनमा उपनिवेशको विषयमा छलफल हुँदा हिन्दुस्तान गणतान्त्रिक सङ्गठन(एचआरए)का गतिविधिबारे पनि उल्लेख भएको थियो । भारतमा भारतीय राष्ट्रिय काङ्ग्रेसजस्ता पुँजीवादी पार्टीहरूको असफलताको कारण एचआरएजस्तो सङ्गठनको उदय भएको त्यहाँ निष्कर्ष निकालिएको थियो । भारतीय राष्ट्रिय काङ्ग्रेस परिवर्तनकारी निम्न पुँजीवादी पार्टीको रूपमा स्थापना भएको तर सङ्घर्ष अघि बढ्दै जाने क्रममा त्यो सुधारवादी पुँजीवादी पार्टी बनेको महाधिवेशनको निष्कर्ष थियो ।
कोमिन्टर्नको बुझाइ थियो,“…भारतमा गान्धीवादजस्ता आन्दोलन परिवर्तनकारी निम्न पुँजीवादी वैचारिक आन्दोलनको रूपमा सुरु भयो । तथापि, ठूला पुँजीपति वर्गको सेवा गरेसँगै त्यो दल पुँजीवादी राष्ट्रिय–सुधारवादी आन्दोलनमा पतन भयो । त्यसपछि भारतमा विभिन्न निम्न पुँजीवादी समूहबीच एउटा क्रान्तिकारी धार (उदाहरणको लागि गणतान्त्रिक पार्टी) पुनः उदाएको छ जुन पार्टी कम–बेसी देशभक्त क्रान्तिकारी दृष्टिकोणप्रति स्थिर छ ।”

विजयकुमार सिन्हा


दुर्भाग्यवस मस्कोबाट फर्केको केही समयपछि नै उसमानी सन् १९२९ को मार्चमा भएको मेरुत काण्डको मुद्दामा गिरफ्तार गरिए । त्यहीबीच सन् १९२८ को डिसेम्बरमा भगत सिंह र उनका कमरेडहरूले जोन सौन्दर्सको हत्या गरेका थिए र उनीहरू भूमिगत थिए । मेरुत काण्डपछि भगत सिंह र बीके दत्तले एचएसआरएको तर्फबाट मजदुरविरोधी सुरक्षा कानुन र व्यापार विवाद विधेयकको विरोधमा केन्द्रीय व्यवस्थापिकामा दुई वटा वम विस्फोटन गरेका थिए । उनीहरूलाई त्यहीँ पक्राउ गरिएको थियो ।
यहाँ उल्लेखनीय कुरा के थियो भने, केन्द्रीय व्यवस्थापिकामा वम हमला गर्ने निर्णय गर्नुअघि एचएसआरएका नेताहरूले भगत सिंहलाई सोभियत सङ्घ पठाउनुपर्ने मत राखेका थिए । लाहोर काण्डमा उनीमाथि मुद्दा भएकोले भगत त्यत्ता जानु उपयुक्त हुने उनीहरूको मत थियो । भगत सिंहबाहेक अरू नै कोही कमरेडले संसदमा वम हान्ने निर्णय भएको थियो । तर, सुखदेवको जोडमा सो कार्यको लागि भगत सिंह नै चुनिएका थिए । पार्टीका मुद्दा अदालत र सञ्चारमाध्यमसामु भगत सिंहले अझ प्रस्ट र प्रभावकारी ढङ्गले राख्न सक्ने भएकोले उनलाई यो काम दिनु उपयुक्त हुने सुखदेवको तर्क थियो । त्यत्तिबेला एचएसआरएका सदस्यहरूलाई सोभियत सङ्घबाट उसमानीले ल्याएको सन्देशबारे थाहा थिएन । उसमानी आफै गिरफ्तारीमा परेका कारण उनले भगत सिंह र एचएसआरएसम्म स्तालिनको सन्देश पु¥याउन सकेका थिएनन् ।
पछि नयाँ दिल्लीबाट प्रकाशित हुने हिन्दी पत्रिका ‘नयीँ जमिन’ मा उसमानीले लेखेको लेखमा मस्कोबाट भारत फर्किनुअघि स्तालिनले आफूलाई भगत सिंहलाई चित्त बुझाएर सोभियत सङ्घ लिएर आउन आग्रह गर्नुभएको कुरा लेखेका थिए । उसमानीका अनुसार स्तालिनको शब्द थियो, “भगत सिंहलाई मस्कोमा आउन भन्नु होला ।”
यहाँनेर प्रश्न उठ्छ–स्तालिनलाई भगत सिंहबारे कसरी थाहा भयो ?
भगत सिंहका जीवनी लेखक र उनका भतिजा वीरन्द्र सिन्धुका अनुसार स्तालिन र कोमिन्टर्नले भगत सिंहबारे दुई जना गद्दर क्रान्तिकारीहरू बाबा सन्तोक सिंह र बाबा गुुरुमुख सिंहमार्फत थाहा पाएको हुनुपर्छ । उनीहरू दुवै जना पञ्जाबको कम्युनिस्ट आन्दोलनसँग नजिकको सम्पर्कमा थिए । उनीहरूले आफ्नो ‘कृति’ समूहमा भगत सिंहलाई पनि समावेश गर्न खोजेका थिए ।
यद्यपि, स्तालिनले भगत सिंह र भारतीय क्रान्तिकारी आन्दोलनप्रति चासो देखाउनुको कारण भने भारत र चीनजस्ता उपनिवेश देशमा राष्ट्रिय मुक्ति आन्दोलनको विषयमा छैटौँ महाधिवेशनमा पारित रणनीति र कार्यनीति हुनसक्छ । कम्युनिस्ट अन्तर्राष्ट्रिय हिन्दुस्तान गणतान्त्रिक सङ्गठनबारे जानकार थियो । त्यो सङ्गठन भारतीय काङ्ग्रेस नेतृत्वको राष्ट्रिय सुधारवादीहरूभन्दा फरक निम्न पुँजीपति वर्गले नेतृत्व गरेको क्रान्तिकारी सङ्गठन भएको कोमिन्टर्नको निचोड थियो ।
उपनिवेश देशहरूमा साम्राज्यवादविरोधी सङ्घर्षको रणनीति र कार्यनीतिबारे छैटौँ महाधिवेशनले निकै विभाजनकारी निर्णय गरेको थियो । महाधिवेशनले उपनिवेश देशहरूका कम्युनिस्ट पार्टीहरूले सबै निम्न पुँजीवादी समूह र पार्टीहरूबाट राजनीतिक र साङ्गठनिक दुवै ढङ्गले ‘स्पष्टतः आफूलाई फरक वा अलग बनाउनुपर्ने’ नीति पारित गरेको थियो ।
यद्यपि, निम्न पुँजीपति वर्गले नेतृत्व गरेका देशभक्त क्रान्तिकारी पार्टीहरूको हकमा छैटौँ महाधिवेशनले देशभक्त क्रान्तिकारी आन्दोलन वास्तवमै क्रान्तिकारी आन्दोलन भएको अवस्थामा कम्युनिस्ट पार्टीहरूले अस्थायी एकता वा सहकार्य गर्न सक्ने नीति बनाएको थियो । त्यस्तो देशभक्त क्रान्तिकारी आन्दोलन सत्तारुढ शक्तिविरुद्ध इमानदारीपूर्वक सङ्घर्ष गरिरहेको हुनुपर्ने र त्यसका प्रतिनिधिहरूले किसान र व्यापक उत्पीडित जनसमुदायलाई कम्युनिस्टहरूले क्रान्तिकारी विचारधाराबारे प्रशिक्षित वा सङ्गठित बनाउन कुनै अवरोध नगरेको हुनुपर्ने कोमिन्टर्नको मत थियो ।
उसमानीलाई हिन्दुस्तान गणतान्त्रिक सङ्गठन (एचआरए) हिन्दुस्तान समाजवादी गणतान्त्रिक सङ्गठन(एचएसआरए)मा रूपान्तरण भएको थाहा थियो । एचएसआरएले समाजवादी व्यवस्था स्थापनाको निम्ति काम गर्ने लक्ष्य तय गरेको पनि उनलाई जानकारी थियो । धेरै सम्भव उनले कम्युनिस्ट अन्तर्राष्ट्रियको कार्य समितिमा भगत सिंह र एचआरएको पुनःसङ्गठन गर्ने योजनाबारे बोलेको हुनसक्छ । त्यही कारण स्तालिनमा भगत सिंहप्रति चासो बढेको हुनसक्छ ।
लाहोर काण्डमा भगत र सिन्हा गिरफ्तार परेपछि एचएसआरएले गद्दर पार्टीका वरिष्ठ नेता पृथ्वी सिंह आजादलाई वैचारिक र सैनिक तालिमको लागि सोभियत सङ्घ पठाउने निर्णय गरेको थियो । तर, आजाद तत्काल जान सकेनन् । त्यसकारण एचएसआरएले सुरेन्द्र पाण्डे र यशपाल (भविष्यका विख्यात हिन्दी उपन्यासकार) लाई पठाउने निधो गरेको थियो । तथापि, एचएसआरएका कमान्डर–इन–चिफ चन्द्रशेखर आजादको सन् १९३१ को फेब्रुअरीमा अचानक हत्या हुँदा पार्टीको सो योजना विफल भएको थियो ।
केही महिनापछि यशपाल पनि पक्राउ परे । सुरेन्द्र पाण्डे पनि थुनिए । रिहाइपछि पाण्डेले कानपुरमा एचएसआरएलाई पुनःसङ्गठित बनाउने प्रयास गरे । उनले कम्युनिस्टहरूसँग नजिक समन्वयमा काम गरे । कारागारबाट भगत सिंह र उनका कमरेडहरूले सन् १९३० को जनवरी ३१ मा कम्युनिस्ट अन्तर्राष्ट्रियलाई टेलिग्राम पठाएर लेनिनको निधनप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गरे ।
एचएसआरएका सदस्यहरू सोभियत सङ्घ जाने धेरै पटक प्रयास गरिरहे । तर, त्यो यात्रा कुनै न कुनै कारण कहिल्यै हुन सकेन । भारतबाट बेलायत फर्केपछि मात्र विजयकुमार सिन्हा सोभियत सङ्घको भ्रमणमा गएका थिए ।
(लेखकद्वय जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यावारिधि विद्यार्थी हुन् ।)
स्रोत: न्युज क्लिक
नेपाली अनुवाद: सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *