भर्खरै :

लेनिनका जीवनका पानाहरू – १०

बैठकहरूमा लेनिनको सङ्घर्ष

यस पुस्तककी लेखिका सोभियत कम्युनिस्ट पार्टीकी वरिष्ठ कार्यकर्ता थिइन् । उनी सन् १९०४–१९०५ मा निर्वासनमा थिइन्, त्यहाँ उनले बोल्शेभिक समुदायबीच काम गरिन् । रुसका गुप्त सङ्गठनहरूसँग गरिने गुप्त पत्र–व्यवहारमा उनले क्रुप्सकायालाई सघाइन् । १९०५ को क्रान्ति र महान् अक्टोबर क्रान्तिमा उनी सक्रियतापूर्वक भाग लिइन् । सोभियत सत्ताका सुरुआती वर्षहरूमा उनले जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद् सँगसँगै लेनिनको सेक्रेटरीको रूपमा काम गरिन् । उनले लेनिनबारे अनेक संस्मरणहरू लेखिन् । प्रस्तुत पुस्तक लेनिनबारे फोतिएभाले लेखेका संस्मरणहरूको सङ्ग्रह हो ।
कामलाई सुनियोजित र आफ्नो समयको समुचित विभाजन गरिकार्य–कुशलताको उच्चतम मानक कसरी प्राप्त गर्ने भनी लेनिन निजी उदाहरणबाट पनि प्रदर्शन गर्नुहुन्थ्यो । यसैकारणले लेनिनमा कहिल्यै पनि अनावश्यक उत्तेजना, हतारपना अथवा बेचैनी हुँदैनथ्यो । हुन त उहाँलाई कामको बोझ थियो । उहाँका दिनहरू अत्यावश्यक समस्या, भेटघाटकर्ता, टेलिफोनमा हुने कुराकानीहरूका कारण अति व्यस्त हुन्थे । रपनि, उहाँ शान्त भावले काम गर्नुहुन्थ्यो र पूर्वनिर्धारित दिनभरिका सबै काम सधैँ पूरा गर्नुहुन्थ्यो । लेनिनले समयको महत्व अन्य जोसुकैले भन्दा बेसी बुझ्नुहुन्थ्यो र त्यसको सर्वोत्तम उपयोग कसरी गर्नुपर्छ भन्ने राम्ररी जान्नुभएको थियो । उहाँले कहिल्यै एक पल पनि व्यर्थ जान दिनुहुन्नथ्यो ।
लेनिन बिहान घरमा नास्ता गरेपछि हरेक दिन एक निश्चित समयमा अध्ययन–कक्षमा आउनुहुन्थ्यो । थुप्रै अखबार र कागजात पढ्नुहुन्थ्यो । आफ्नो सेक्रेटरीलाई आदेश, निर्देशन दिनुहुन्थ्यो । साथीहरूलाई भेटघाटको समय दिनुहुन्थ्यो । बैठकहरूको अध्यक्षता गर्नुहुन्थ्यो । तेस्रो प्रहरको ठीक ४ बजे दिउँसोको खाना खान घर जानुहुन्थ्यो । खाना खाई केही समय आराम गरेपछि सधैँ उत्साहले भरिएर ६ बजे अध्ययन–कक्षमा फर्किनुहुन्थ्यो र राती अबेरसम्म काम गरिरहनुहुन्थ्यो । तर, दिनको खानाको समयमा पनि लेनिनको दिमाग फुर्सदमा हुँदैनथ्यो । उहाँले कुनै सानो नोटबुकमा लेखिएका अनेक टिप्पणी र आराम गर्दै दिमागमा उब्जिएका प्रश्नहरू अनि आफ्नो सेक्रेटरीलाई दिनुपर्ने आदेशसँगै कार्यालयमा फर्किनुहुन्थ्यो । ती आदेशहरूलाई तुरुन्त कार्यान्वयन गर्न जरुरी हुन्थ्यो ।
लेनिनले आफ्नो समयसँगै अरूको समयको पनि कदर गर्नुहुन्थ्यो । उहाँ कहीँ पनि ढिला गरी पुग्नुहुन्नथ्यो । जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद्का बैठकहरूमा उहाँ निर्धारित समयमा वा दुई–चार मिनेट पहिले नै आउनुहुन्थ्यो । लेनिनको अध्यक्षतामा यी बैठकहरू निश्चित समयमा नै सुरु हुन्थे, चाहे उपस्थिति जस्तो होस् । लेनिनको आदेशमा ढिलो गरी आउनेहरूको नामसँगै बैठकको कार्य–विवरणमा को कति ढिलो गरि पुग्यो, त्यो पनि लेखिन्थ्यो । जब कोही पर्याप्त कारणबिना पुनः ढिलो गरी आउँथ्यो, तब लेनिनले त्यसको भत्र्सना गर्नुहुन्थ्यो । फेरि पनि यस्तै भएमा भत्र्सनालाई अखबारमा छपाउने चेतावनी दिनुहुन्थ्यो ।
लेनिन सभा सञ्चालनमा निपण हुनुहुन्थ्यो । जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद्का बैठकहरूको अध्यक्षता गर्दै गर्दा उहाँले सधैँ बहसहरू यथासम्भव सङ्क्षिप्त होस् र वक्ता विषयान्तर नगरिकन आफ्नो मुद्दामाथि नै बोलोस् भनी कोसिस गरिरहनुहुन्थ्यो । यदि कुनै प्रश्नको स्पष्टीकरण आवश्यक नभएमा उहाँले केवल आँकडा र व्यवहारिक सुझावको माग गर्नुहुन्थ्यो । सभाहरूमा लामो–लामो भाषणलाई उहाँले निरर्थक र समयको बर्बादी ठान्नुहुन्थ्यो । लेनिनले विचाराधीन प्रश्नको सारांश तत्काल ग्रहण गरि बहसलाई सुन्दै दोस्रो समस्यामाथि पनि विचार गरिरहनुहुन्थ्यो । ‘रुसी भाषाको शुद्धीकरण’ विषयक लेनिनको सुविख्यात लेख यस्तै सभाको क्रममै लेखिएको थियो । उहाँले कोष्ठकमा त्यस लेखको उपशीर्षक दिनुभएको थियो ः ‘अवकाश–चिन्तन अर्थात् सभाहरूमा भाषण सुन्दै गर्दाको सोच–विचार ।’
तर, उहाँ थौरै हल्लाले पनि बेचैन हुनुहुन्थ्यो र पूर्ण शान्ति र व्यवस्था कायम राख्न माग गर्नुहुन्थ्यो ।
जब सभा–कक्षमा धूमपान निषेध गरियो, तब जनकमिसार परिषद्का सदस्यहरू टायल लगाइएको स्टोभ पछाडि गएर धूमपान गर्थे । उनीहरू चिम्नीको पाइपमा धुवाँ फाल्थे र अध्यक्षको नजरबाट ओझेल भएर कहिलेकाहीँ विचार–विनिमय गर्ने गर्थे । लेनिनले स्टोभको पछाडिको धूमपानलाई निषेध गर्नुहुन्नथ्यो र ठट्यौली पारामा त्यस कुनालाई क्लव भन्नुहुन्थ्यो । तर, धूमपान गर्नेहरूले त्यहाँ कुरा गरेको सुनेमा भन्नुहुन्थ्यो: ‘‘त्यहाँ सुनसान होस्, स्टोभको पछाडिको क्लवमा ।”
‘‘समय आएको छ, बैठकका कारबाहीहरूका लागि समय निर्धारण आमरूपमा जनकमिसार परिषद्द्वारा गरियोस् ।
१. रिपोर्टको लागि दश मिनेट ।
२. वक्ताहरूको लागि ः पहिलो चोटि पाँच मिनेट र दोस्रो चोटि तीन मिनेट ।
३. वक्ताहरूलाई बोल्न दुई चोटिमात्र दिइयोस् ।
४. कारबाहीको व्यवस्थाको बारेमा बोल्नको लागि ः एक मिनेट पक्षमा, एक मिनेट विपक्षमा ।
५. अपवाद, जनकमिसार परिषद्को विशेष अनुमतिमा ।”
कुस्र्कीले रिपोर्ट पेश गरेपछि जनकमिसार परिषद्ले समय निर्धारणसम्बन्धी नियमलाई ५ अप्रिल १९१९ मा स्वीकार ग¥यो । समयको यस्तो पावन्दीको पालना गर्न कठिन थियो । कहिलेकाहीँ एक वा दुई अतिरिक्त मिनेट पाउनको लागि वक्ताले ‘‘व्यवस्थाको बारेमा बोल्नको लागि” समय माग्थे । तर, लेनिनले यो मागलाई स्वीकार गर्नु ‘‘व्यवस्था” होइन, ‘‘अव्यवस्था” हुनेछ भनी त्यसको विरोध गर्नुहुन्थ्यो ।
एक दिन जनकमिसार परिषद्को बैठकमा लेनिनले एकजना गैरपार्टी सैनिक विशेषज्ञको रिपोर्टको कटु आलोचना गर्नुभयो । उनलाई विचाराधीन प्रश्नको महत्वलाई ध्यानमा राखी २० मिनेटको समय दिइएको थियो ।
लेनिनले कुनै खास आलोचनात्मक कुरा भनेर त्यस व्यक्तिलाई अकस्मात् भन्नुभयो, ‘‘भोलि दिउँसो एक बजे मसँग भेट्नुस्, मैले सिकाउँछु, रिपोर्ट कसरी पेश गरिन्छ ।” ती विशेषज्ञ लेनिनले भनेको समयमा अर्को दिन पुगे । लेनिनले तिनीसँग एक घण्टा कुरा गर्नुभयो । उनी गएपछि सेक्रेटरीको कोठामा आउनुभएका लेनिन खुसी देखिनुभएको थियो । उहाँको मुहारमा मुस्कुराहट थियो र उहाँले कोठाको वरपर चक्कर लगाउदै भन्नुभयो –
“हो, यदि मानिसले चाहेमा राम्रो रिपोर्ट पेश गर्न सक्छ ।” पछि थाहा भयो, ती फौजी विशेषज्ञले रातभरि नसुती लेनिनको रायअनुसार आफ्नो रिपोर्ट तयार गरेका थिए । काममा त्रुटि भएमा लेनिनले एकदम कडा तरिका अख्तियार गर्नुहुन्थ्यो । तर, यसको साथसाथै, हरेक साँचो सफलतामा, जतिसुकै सानो सफलता भए पनि, उहाँ खुसी हुनुहुन्थ्यो र त्यसको श्रेय दिन कहिल्यै चुक्दैहुन्नथ्यो ।
कागजी कारबाहीको मात्रा कम गर्ने कोसिसमा लेनिन सङ्क्षिप्तरूपमा लेखिएका वक्तव्यहरूको आग्रह गर्नुहुन्थ्यो । लामो रिपोर्ट न त कसैले पढ्छ, न त सुन्न नै सक्छ भनी उहाँले बारम्बार भनिरहनुहुन्थ्यो । सेप्टेम्बर १९२१ मा आफ्नो एउटा पत्रमा उहाँले लेख्नुभएको थियो, “सङ्क्षेपमा लेख्नुस्, तारमा लेखेजस्तै । यदि जरुरी भएमा सन्दर्भ सामाग्रीहरू नत्थी गरिदिनुस् । लामो रिपोर्ट पढ्ने कुरा त परै जाओस्, पाना पनि पल्टाउँछु जस्तो मलाई लाग्दैन ।”
“यदि हजुरसँग कुनै व्यावहारिक सुझाव भएमा सङ्क्षिप्तरूपमा, तार लेखेजस्तै तिनको सूची बनाउनुस् र त्यसको एकप्रति सेक्रेटरीलाई पठाउनुस् ।”
लेनिनले लामा रिपोर्टहरू पुच्छारबाट पढ्न सुरु गर्नुहुन्थ्यो । अर्थात्, जुन हिस्सालाई उहाँले आफ्नो बानीअनुसार “किस्सा” भन्नुहुन्थ्यो, त्यसलाई छोडेर सुझावहरू भएको हिस्साबाट पढ्न सुरु गर्नुहुन्थ्यो । सुझावहरू कार्य–रूप दिन योग्य सिद्ध भएमा उहाँ फेरि पूरा रिपोर्ट हेर्नुहुन्थ्यो । लेनिनको पढाइको रफ्तार असाधारण रूपले तेज थियो । एउटा पूरा रिपोर्ट पढ्नको लागि मात्र एक नजर काफी थियो ।
पहिल्यै निश्चित गरिएको समयमा आउने भेटघाटकर्ताहरूलाई लेनिन कहिल्यै प्रतिक्षा गराउनुहुन्नथ्यो । भेटघाटकर्तासँगको वार्ता लम्बिने भएमा र अर्को भेटघाटको समय भएमा उहाँले आफ्नो सेक्रेटरीलाई बोलाएर प्रतिक्षारत भेटघाटकर्तासँग क्षमा–याचना प्रकट गर्दै केही समय पर्खनको लागि आग्रह गर्न लगाउनुुहुन्थ्यो ।
जब लेनिनसँग कुनै भेटघाटकर्ता पुग्थ्यो, तब उहाँ प्रायः ढोकासम्म जानुहुन्थ्यो । मुस्कुराएर हात मिलाउनुहुन्थ्यो । र, टेबलछेउको कुर्सी तानेर त्यसमा बस्न आग्रह गर्नुहुन्थ्यो । उहाँ ध्यानपूर्वक कुरा सुन्नुहुन्थ्यो । सवाल सोध्नुहुन्थ्यो । टीका–टिप्पणी गर्नुहुन्थ्यो र कुराकानीलाई मुख्य विषयमा केन्द्रित राख्नुहुन्थ्यो ।
लेनिनसँग हुने हरेक कुराकानी एक घटना हुन्थ्यो । त्यो उहाँसँग भेटघाटको सौभाग्य प्राप्त गर्नेहरूको स्मृतिमा सदाको लागि अङ्कित हुन्थ्यो । यसको कारण थियो लेनिनको अद्भूत व्यक्तित्व, व्यक्तिको इज्जतलाई उसको आफ्नै दृष्टिमा उँँचो उठाइदिने उहाँको योग्यता र मानवीय मर्यादाप्रतिको उहाँको सम्मान । उहाँले अल्छी कार्यकर्ताहरूलाई कठोरतापूर्वक गाली गर्नुहुन्थ्यो, उसलाई सजाय दिनुहुन्थ्यो । तर, कहिल्यै कसैको स्वाभिमानमा ठेस पु¥याउनुहुन्नथ्यो । स्वयम् उहाँमा आत्म–सम्मानको राम्रो भावना भएकाले हरेक मानिसको भावनाको कदर कसरी गर्नुपर्छ र त्यसलाई कसरी अक्षुण्ण राख्नुपर्छ भन्ने उहाँले राम्रोसँग जान्नुभएको थियो । उहाँ मानवतामा अटुट विश्वास गर्नुहुन्थ्यो । उहाँले कार्यकर्ताका यस्ता शक्ति तथा क्षमताहरूलाई पहिचान गर्न सक्नुहुन्थ्यो, जसको अनुमान स्वयम् कार्यकर्तालाई पनि हुँदैनथ्यो ।
लेनिनले पहिलो राज्य प्रबन्धको अचम्मित र अपरिचित कामलाई हातमा लिने हरेक कार्यकर्ताहरूको भावनात्मक स्थितिलाई राम्रोसँग बुझ्नुहुन्थ्यो । कहिलेकाहीँ कुनै साथीले आफूमा र आफ्नो सामथ्र्यमा विश्वास गर्दैनथ्यो र काम आफ्नो सामथ्र्यभन्दा पर भएको महसुस गथ्र्यो, तब ऊ बेचैनी र थकानको मनस्थितिमा लेनिनसँग भेट्न आउँथ्यो । तर, उसको उत्साह–वृद्धि तथा उसको मनस्थितिमा परिवर्तन पैदा गर्नलाई लेनिनका केही शब्दहरू नै काफी हुन्थे । लेनिनले साथीहरूसँग कहिल्यै धेरै माग गर्नुभएन । तर, उहाँलाई कसरी मानिसको श्रेष्ठतम गुणलाई परख गरिन्छ र अगाडि ल्याइन्छ, कसरी उसको उत्साहलाई वृद्धि गरिन्छ भन्ने पूर्णतः ज्ञान थियो । ता कि उसले आफ्नो सामुन्ने नयाँ क्षितिज देखोस र नयाँ शक्तिको आन्तरिक सञ्चार भइरहेको महसुुस गर्न सकोस् । उहाँले कार्यकर्ताहरूलाई सही तवरले परख गर्नुहुन्थ्यो र तिनको रुचि तथा क्षमताअनुरूप जिम्मेवारी दिनुहुन्थ्यो । यसकारण उहाँको साथमा काम गर्नेहरूलाई कुनै महान् र उपयोगी काम गरिरहेको महसुस हुन्थ्यो ।
लेनिनको विनम्रताका बारेमा भनेका सबै कुरा सही छन्, तर त्यसलाई अत्यन्त उँचो कम्युनिस्ट अर्थमा बुझ्नुपर्छ, न कि त्यसको विकृत अर्थमा । जसअनुसार विनम्रतालाई आत्महीनताका समानार्थी बुझिने गरिन्छ । लेनिनको विनम्रता आत्मसम्मानको भावनासँग जोडिएको थियो । त्यो हाम्रो देशमा घट्ने घटनाहरूको लागि सोभियत जनताप्रति उत्तरदायित्वको प्रचण्ड बोधसँग जोडिएको थियो । यसैकारणले उहाँले जनताका पिरमर्कालाई गहिरो गरी महसुस गर्नुहुन्थ्यो र उनीहरूको सफलतालाई हार्दिक प्रसन्नताका साथ स्वागत गर्नुहुन्थ्यो । नेता आफ्नो कामहरूप्रति मात्र जवाफदेही हुँदैनन्, बरु ती मानिसहरूप्रति पनि जवाफदेही हुन्छ, जसको उसले नेतृत्व गर्छ भनेर उहाँ बारम्बार भन्ने गर्नुहुन्थ्यो ।
लेनिनले ठाँट–बाँटले जीउने ढङ्गलाई मन पराउनुहुन्नथ्यो । उहाँ एकदम सीधा–सादा तरिकाले बस्नुहुन्थ्यो । शारीरिक आरामको उहाँको आवश्यकता अत्यन्त औसत ढङ्गको थियो । जीवन–पर्यन्त लेनिनकी बफादार सङ्गिनी रहेकी नादेज्दा कोन्स्तान्तिनोभ्ना क्रुप्सकायाको आनीबानी र रुचिहरू पनि लेनिन समान थियो । उहाँले आफ्ना संस्मरणमा लेख्नुभएको छ । “मानिसहरूले हाम्रो जीवनलाई अभावयुक्त जीवनको रूपमा चित्रित गर्छन् । यो सत्य होइन् । हामीले यस्तो खालको अभाव कहिल्यै महसुस गरेनौँ । जबकि मानिसहरूलाई रोटी कुन चिजले किनिन्छ त्यो पनि थाहा हुदैनथ्यो । यसो सोच्नुस् त, हाम्रा साथीहरू उत्प्रवासमा कसरी बस्थे होलान् । तीमध्ये केही साथीहरू त यस्ता थिए, जो दुई–दुई वर्षसम्म बेकार बसे । रुसदेखि पनि उनीहरूलाई कुनै रकम आउँदैनथ्यो । वस्तुतः उनीहरू भोकै बस्थे । हाम्रो साथमा यस्तो कहिल्यै भएन । हो, यो सत्य हो, हामी मामुली ढङ्गले रहन्थ्यौँ । तर, के प्रचुर भोजन र ऐश–आरामको जिन्दगीमा मात्र जीवनको आनन्द छ ?” वास्तवमा लेनिन र क्रुप्सकायालाई ऐश–आरामको जिन्दगीमा होइन, आफ्नो सङ्घर्ष र काममा आनन्द प्राप्त हुन्थ्यो ।
लेनिनले प्रायः हरेकसँग शिष्टता तथा विनम्रता अपनाउनुहुन्थ्यो । उहाँको स्वभाव सरल थियो । कुनै पनि सेवाको लागि धन्यवाद दिन भुल्नुहुन्नथ्यो । चाहे ती अखबार ल्याएर उहाँलाई दिनेजस्ता स–साना सेवा नै किन नहोऊन् । जुन महिला उहाँको अध्ययन–कक्षको मकल जलाउनको लागि नियुक्त थिइन्, उनले मानिसहरूसँग काम गर्ने समयमा लेनिन आउनुभएमा कति हार्दिकतापूर्वक तथा सहृदयतापूर्वक बोल्नुहुन्छ भनी औधि हार्दिकतापूर्वक वर्णन गर्थिन् । हरेक व्यक्तिको मानवीय मर्यादाको कदर र इज्जत गर्ने लेनिनको विशेष गुण थियो । मातहतको हैसियतले काम गर्नेहरूसँग अशिष्टता दर्शाउनुलाई उहाँले घृणित तथा कुनै पनि सोभियत नागरिक र कम्युनिस्टको लागि अनुचित मान्नुहुन्थ्यो ।
प्रस्तुति: आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *