भर्खरै :

अवकाश प्राप्त शिक्षकलाई बिदाइ तथा नवनियुक्तलाई सम्मान

भक्तपुर, २० चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा भएको अवकाशप्राप्त र नवनियुक्त प्रअ तथा शिक्षकहरूलाई बधाईज्ञापन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अवकाशप्राप्त प्रअ तथा शिक्षकलाई बधाईज्ञापन गर्दै नगर प्रमुख प्रजापतिले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश–जाँगरले शैक्षिक संस्थाहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन मद्दत पु¥याउने बताउनुभयो ।
अवकाश प्राप्त प्रअ तथा शिक्षकहरूले आफ्नो शैक्षिक अनुभव सङ्ग्रहित गरी नयाँ पुस्तामाझ ल्याउनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले असल नेतृत्व र अनुशासनले संस्थाको प्रगतिमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुरको सामुदायिक तथा संस्थागत विद्यालयहरूबीचको गुणस्तरमा समानता ल्याउने उद्देश्य साथ अगाडि बढिरहेका छौँ । भौतिक संरचना निर्माण तथा मर्मतको लागि विद्यालयहरूलाई आर्थिक सहयोग पनि गर्दै आइरहेका छौँ ।”
भक्तपुरको शैक्षिक रूपान्तरणमा शिक्षक तथा प्रअहरूको योगदान र भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले शिक्षकहरू प्रविधिमैत्री हुुनुपर्ने र नयाँ नयाँ कुरा सिक्न जहिल्यै क्रियाशील रहनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् समितिका अध्यक्ष दीपक माकले आधारभूत विद्यालय समितिको वार्षिक प्रगति प्रतिवेदन वाचन गर्दै शिक्षित समाजविना कुनै पनि क्षेत्रको विकास सम्भव नभएको बताउनुभयो । सरकारले शिक्षामा पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समितिले शिक्षक तथा विद्यार्थीहरूको विकास तथा प्रगतिको निम्ति विविध गतिविधि गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा आधारभूत विद्यालयका समितिका संस्थापक सदस्य लक्ष्मीनारायण दुवालले अवकाशप्राप्त शिक्षक तथा कर्मचारीहरू समाजका विविध क्षेत्रमा सक्रिय भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
समितिका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछा र संस्थापक सदस्य पुष्पलाल सुजखुले पनि आफ्नो शैक्षिक अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा समितिका उपाध्यक्ष सर्मिला कसजू र शिक्षक सूर्यबहादुर फोँजुल पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विभिन्न विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरूलाई सम्मान गर्नुका साथै आधारभूत विद्यालय समितिको आयोजनामा भएको विविध खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरूको प्रमाणपत्र सम्बन्धित विद्यालयका शिक्षकलाई वितरण गर्नुभएको थियो । समितिका अध्यक्ष माकले नवनियुक्त प्रअ तथा शिक्षकहरूलाई बधाईज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *