भर्खरै :

महामारीको क्षति कम गर्न खोप अभियान सुचारु गर

काठमाडौँ, २१ वैशाख । कोभिड–१९ महामारी उकालो लागिरहेको बेला कोभिडको खोप अभियानलाई अझ व्यापकता दिनुपर्नेमा सरकारले खोप नभएको भन्दै अभियान रोकेको छ । यसअघि भारत सरकारबाट प्राप्त दस लाख कोभिडसिल्ड र चीन सरकारबाट प्राप्त आठ लाख भेरोसेल खोप सरकारले वितरण गरेको थियो । कोभिडसिल्डको दुवै खेप र भेरोसेलको पहिलो खेप वितरण भइसकेको छ । तर, थप खोप ल्याउन नसक्दा हाल खोप अभियान रोकिएको छ । यहीबीच देशभर सङ्क्रमण दर भने क्रमशः उकालो लागिरहेको छ ।

कोभिडसिल्ड


कोभिडका बिरामीको उपचारमा संलग्न छिमेकी देश भारतका विभिन्न चिकित्सकहरूको अनुभवअनुसार खोपको दुवै मात्रा लगाएका व्यक्तिको पीसीआर परीक्षण गर्दा पोजिटिभ आएको छ । तर, त्यस्ता बिरामीको स्वास्थ्य खोप नलगाएको बिरामीको तुलनामा राम्रो हुने गरेको छ । विशेषतः अहिले फैलिरहेको नयाँ प्रजातिको कोभिड–१९ भाइरसका बिरामीको छोटो समयमै स्वास्थ्य अवस्था खराब हुने गरेको नेपालमा पनि देखियो । त्यसकारण, कोभिडको खोप अभियानलाई व्यापकता दिन सके कोभिडको जोखिम कम हुने देखिन्छ । खोप अभियानलाई व्यापकता दिनुपर्ने बेलामा सरकारले भने अभियान रोक्ने निर्णय गरेको छ ।
भारत आफैलाई खोपको खाँचो परेको बेला उसले नेपाललाई दिने वाचा गरेको खोप अहिले तत्काल पठाउने अवस्था देखिँदैन । भारतमै महामारी व्यापकरूपमा फैलिरहेको अवस्थामा भारतीय जनतालाई खोप नदिएको भन्दै सरकारको आलोचना भइरहेको छ । त्यसका साथै खोप उत्पादनको लागि आवश्यक कच्चा सामग्री ल्याउन नसक्दा भारत आफैलाई आवश्यक खोप जोहो गर्न सकिरहेको छैन । त्यसकारण, तत्काल भारतबाट खोप ल्याउन सकिने अवस्था देखिँदैन ।
नेपालले यसअघि पनि प्रयोग गरिसकेको चिनियाँ खोपको लागि सरकारले चीन सरकारसँग पहल गर्न जरुरी देखिन्छ । चीनले यसअघि पनि नेपाललाई कुनै पनि आपत्विपत्मा नजिकबाट सहयोग गर्दै आएको अवस्थामा नेपाललाई आवश्यक खोप चीन कम्पनीसँग खरिद गर्नु जरुरी छ । दुरीको हिसाबमा पनि चीनबाट नेपालमा खोप ल्याउन सहज हुने देखिन्छ । नेपाली जनताले चिनियाँ भेरोसेल कम्पनीको खोपको प्रयोग गरिसकेको हुनाले विश्वसनीयताको आधारमा चीनबाट खोप ल्याउन सरकारले तदारुकता देखाउन जरुरी छ ।

भेरोसेल


सरकारले रुसको स्पुटनिक खोप पनि ल्याउने प्रक्रिया अघि बढाइरहेको छ । प्राप्त जानकारीअनुसार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र गैरआवासीय नेपाली सङ्गठनका पूर्वअध्यक्ष उपेन्द्र महत्तोले रुसबाट खोप ल्याउने पहल गरिरहेको र त्यसकारण चीनको खोप ल्याउने प्रक्रियालाई विलम्ब गरिरहेको छ । खोप ल्याउन भित्रभित्रै कमिशनको ठुलै चलखेल चलिरहेको स्रोतले बताएको छ । स्वास्थ्य मन्त्री त्रिपाठीले तत्कालीन सोभियत सङ्घमा उच्च अध्ययन गरेका थिए भने महत्तो रुसका व्यापारी हुन् । यसरी खोप ल्याउन कमिसनको चलखेल चल्दै गर्दा खोप नेपाल आइपुग्न भने विलम्ब भइरहेको छ । रुसमा बनेको स्पुटनिक खोप नेपालमा प्रयोगको लागि सरकारी निकायले अनुमति दिइसकेको छ । जुनसुकै देश वा कम्पनीमा बनेको खोप भए पनि प्रभावकारी खोप नेपालमा सकेसम्म चाँडो ल्याउन सके महामारीको कहरलाई कम गर्न सकिने जनापेक्षा छ ।

 स्पुटनिक


तत्काल खोप भित्र्याएर घर–घरै खोप दिने कार्यक्रम सञ्चालन गर्न सके महामारीको प्रतिरोधमा गतिलो उपलब्धि हुनसक्ने देखिन्छ । खोप अभियानमा ढिलाइको कारण छिमेकी देश भारतले सामना गर्नुपरेको क्षति नेपालले भोग्न नपरोस् भन्ने सर्वसाधारण नेपालीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *