भर्खरै :

स्मृतिमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा अधिवक्ता लक्ष्मीबहादुर निरालालाई निमन्त्रणा गरिएको थियो । उहाँ आफ्नो निवास मित्रपार्क, गौशालाबाट कार्यक्रमका लागि गाडीमा एयरपोर्ट आइसक्नुभएको थियो । “जामले गर्दा पुग्न सकिएला जस्तो छैन, एक घण्टादेखी एयरपोर्टकै जाममा छु ।” उहाँले भन्नुभएको थियो ।
मैले “यहाँको माया र सदाशयताको लागि हार्दिक धन्यवाद छ दाइ” भनेपछि उहाँले भन्नुभयो, “स्नेहपूर्ण अभिव्यक्तिको लागि धन्यवाद ।”
केही समयपछि उहाँ नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन उद्घाटनस्थल भक्तपुर नगरको सल्लाघारीस्थित खुला चउरमा पुग्नुभयो । उद्घाटन कार्यक्रम स्थलको मञ्चभन्दा अगाडिको अग्रपङ्क्तिमा उहाँँले आसन ग्रहण गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र श्रद्धेय बुद्धिकुमार गोसाईसँग उहाँको निकै राम्रो सम्बन्ध थियो । केही वर्ष अगाडि श्रद्धेय बुद्धिकुमार गोसाईसँगै म पनि लक्ष्मीबहादुर निरालाको गौशाला, मित्रपार्कस्थित घरमा पुगेको थिएँ ।
त्यसपछि हरेक वर्ष भक्तपुरमा हुने नेपालभाषा साहित्य तःमुंज्याको निमन्त्रणा तथा अन्य विभिन्न कार्यक्रमको निमन्त्रणा पु¥याउन र कहिलेकाहीँ कानुनी परामर्श लिन म पुग्थेँ । उहाँ उहाँको निवासको बैठक कोठा या घरसँगै जोडिएको सानो बगैँचा छेउको पिँढीजस्तो ठाउँमा पे्रमपूर्वक चिया खुवाउनु हुन्थ्यो । चिया खानुभन्दा चिया खाँदै गर्ने समयमा उहाँका कानुनी क्षेत्र र जीवनका विभिन्न पक्षहरूका कुरा सुन्ने रहर हुन्थ्यो । चिया खाने बहानामा कम्तीमा आधा घण्टा त उहाँसँग बिताउन पाएकै हुन्थ्यौँ ।
उहाँलाई एनजीओ, आईएनजीओमा काम गर्ने कानुन व्यवसायी मन पर्दैनथ्यो । यो कुरा नेपाल मजदुर किसान पार्टीको तर्फबाट संविधानविपरीतको थ्रेसहोल्डसम्बन्धी मुद्दाको परामर्श गर्न जाँदा उहाँले बताउनुभएको थियो ।
विराटनगर, सप्तरी क्षेत्रमा उहाँका पिताजीले ७ वर्षको उमेरदेखि नै एउटा मौजाको बाली उठाउने काममा उहाँलाई लगाउनुभएको थियो । निडर र तीक्ष्ण बुद्धिका धनी उहाँले कानुन व्यवसायीको रूपमा २०२२ सालदेखि निरन्तररूपमा काम गर्नुभयो । उहाँले पञ्चायतकालमा सरकारको महान्यायाधिवक्ताको रूपमा पनि काम गर्नुभयो ।
२०२२ सालदेखि कानुन र न्याय क्षेत्रमा कार्यरत लक्ष्मीबहादुर निराला सधैँ न्यायिक विधिको शासनको पक्षमा हुनुहुन्थ्यो । उहाँ २०२२ सालदेखि कानुनको पेशामा हुनुहुन्थ्यो ।
नेपाल बार एसोसियसनको केन्द्रीय समितिको निर्वाचनहरूमा कानुन अध्ययन समाज नेपालको तर्फबाट उम्मेदवार हुँदा हामीले उहाँको आत्मीयतापूर्ण ढाडस पाएकै हुन्थ्यौँ ।
सामान्यतः अधिकांश मानिसहरू विधिको शासन (Rule of Law) भन्दै गर्दा उहाँ आफ्नो फरक दृष्टिकोण राख्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “कानुन बनाएर कानुनको शासन त राणाकालमा पनि लागु थियो, त्यसैले न्याय होस् भन्ने हो भने न्यायिक विधिको शासन (Rule of Justlaw) आवश्यक पर्छ ।” पञ्चायत कालमा राजालाई पनि यही सल्लाह दिएको स्मरण उहाँ सुनाउनु हुन्थ्यो ।
उहाँले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनुलाई पञ्चायती संस्करणको रूपमा संविधानविपरीतको कार्य भनी आलोचना गर्नुभएको थियो ।
२०७६ पुसको पहिलो साता उहाँ न्यायपरिषद्को सदस्यमा मनोनीत हुनुभयो । शाही सरकारका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस गरेको भनी कतिको आलोचना भए तापनि उहाँ उक्त पदका भागिदार हुनुहुन्थ्यो । वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाको न्याय, न्यायपालिका र न्यायप्रणालीप्रतिको निष्ठामाथि शङ्का गर्नुपर्ने युक्तियुक्त आधारको कारण कुनै थिएन । उहाँ स्पष्ट वक्ता हुनुहुन्थ्यो । कुन कालमा नियुक्त हुनुभयो भन्ने कुराभन्दा आफ्नो कार्यकालमा पदीय कर्तव्यबाट दायाँबायाँ हुने कुनै काम भयो या भएन भन्ने दृष्टिले मूल्याङ्कन हुनुपर्ने होइन र ?
न्यायपरिषद् सदस्य हुनुभएपछि मैले फोन गरेर बधाई दिएको थिएँ । त्यसको केही समयपछि विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण अद्दा अदालत बन्द भए । लकडाउन, बन्दाबन्दी, निषेधाज्ञाका कारण मैले उहाँलाई भेट्न पाइन ।
उहाँको निधनको समाचारले हामी सबैलाई दुःखी र मर्माहत बनाएको छ । कानुन र न्याय क्षेत्रमा मार्गनिर्देश गर्दै आउनुभएका एक जना अभिभावकलाई हामीले गुमाएका छौँ । कानुन अध्ययन समाज नेपालको कार्यक्रम होस् या नेपालभाषा साहित्य तःमुंज्या वा अन्य कुनै कार्यक्रमको निमन्त्रणा पुगेपछि उहाँलाई अरू अतिथिलाई झैँ पुनःस्मरण गराउन, गाडी पठाई लिन जान पर्दैनथ्यो । ठीक समयमा उहाँ आफै आइपुग्नुहुन्थ्यो ।
कानुन अध्ययन समाज, नेपालले कानुन दिवसको अवसर पारी २०७१ वैशाख २६ गते आयोजित ‘स्वतन्त्र न्यायपालिका र विधिको शासन’ विषयक प्रवचन कार्यक्रममा उहाँले विशेष अतिथिको रूपमा सारगर्भित मन्तव्य दिनुभएको थियो ।
उहाँ भन्नुहुन्थ्यो, “हातमा छाप हुनेलाई शुद्धीकरण गर्ने उपायको थालनी हामीले गर्नुपर्छ । यसको निमित्त हामीले आवाज बुलन्द गर्नुपर्छ । होइन भने स्वतन्त्र न्यायपालिका भन्ने कुरा असनमा यहाँ शुद्ध घ्यू पाइन्छ भन्ने साइन बोर्डजस्तै हुन्छ ।”
“समयमा न्यायाधीशहरूमा चारपासेहरूको बाहुल्यता थियो । चारपासेहरू तीन प्रकारको देखेँ । एउटा घुस पाएपछि जे पनि गरिदिने । अर्को घुस त खाने तर न्याय नमार्ने । तेश्रो घुस खानु भनेको गुहु खानु हो भन्ने घुस खाँदै नखाने ।”
सर्वोच्चमै झपटसिं रावल चारपासे थिए । लोकराजजी, जयदेव भट्ट, हेमराजजी चारपासे थिए । तर, तीनको दाँजोमा अहिले कुनै पनि न्यायाधीशलाई तुलना गर्न सकिँदैन, मिल्दैन । तिनीहरूले गरेका फैसलाहरू, तिनले गरेका तर्कहरू, तिनले गरेका पुर्वीय र पाश्चात्य दर्शनको तुलनात्मक अध्ययन र त्यस पृष्ठभूमिमा जुन फैसला गर्नुहुन्थ्यो त्यस किसिमको फैसला आज एउटै पनि पढ्न पाइँदैन । कालीप्रसाद उपाध्यायजस्तो योग्य मानिस जो सर्वोच्च अदालतका न्यायाधीश हुनुहुन्थ्यो । अबको पचास वर्षमा पनि त्यति नै योग्य, त्यति नै सक्षम, त्यति नै निडर, त्यति नै निर्भिक, त्यति नै न्यायप्रति लगाव भएको व्यक्ति पाउला किन नपाउला सर्वोच्च अदालतमा हिजोआज मैले एउटा उखान भन्ने गरेको छु । “हातमा छाप छ, जे भने पनि फाप्छ” ।
“नेपाल राम्रोभन्दा हाम्रोबाट ग्रसित छ । राम्रो मान्छे यहाँ चाहिएको छैन । यहाँ हाम्रै मान्छे चाहिएको छ । सर्वोच्च न्यायालयको निम्ति योग्य सम्पूर्ण मानिसहरूको विवरण किन बनाइँदैन ? त्यो विवरणबाट जो राम्रा छन्, जसको कुनै राजनीतिक पार्टीसँग लगाव, सक्रिय सदस्य छैन, त्यस्तो एउटा रोस्टर बनाएर त्यसबाट किन सिफारिस गरिँदैन ?”
कानुन अध्ययन समाज नेपालद्वारा २०७२ मंसिर ११ गते आयोजित ‘नाकाबन्दी, सार्वभौमसत्ता र अन्तरॉष्ट्रिय कानुन’ विषयक विचार गोष्ठीमा पनि उहाँले भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेप र नाकाबन्दीको विरोध गर्नुभएको थियो ।
यसरी सधैँ न्याय र स्वतन्त्र न्यायपालिकाको पक्षमा निडर भई आफ्नो पेशा, कर्ममा लाग्नुभएका वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *