भर्खरै :

कोरोना कहर / जिल्ला–जिल्लामा अनेकथरी समस्या

कैलाली
यतिबेला नेपाल कोरोना भाइरस महामारीको चपेटामा छ । सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीबाट अछुतो छैन ।
प्रदेशका तराईका कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण हुने र मृत्यु हुने दर पहाडी क्षेत्रका जिल्लाको तुलनामा उच्च छ । समुदायमा दैनिक सङ्क्रमण र मृत्युदर बढेको छ । सङ्क्रमण दर बढेसँगै प्रदेशको ‘रेफरल’ अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीअन्तर्गतको कोभिड अस्थायी अस्पताल सङ्क्रमितले भरिएपछि भएको शय्या र अक्सिजन लगायतका स्रोत साधनको अभावले उपचार व्यवस्थापन असहज बनेको छ ।
अस्पतालमा पर्याप्त जनशक्तिका साथै शय्या र अक्सिजनको अभाव सिर्जना हुँदा बिरामीको उपचार व्यवस्थापन असहज बनेको हो । बिरामीको चाप बढेपछि दुई दिनदेखि अस्पताल प्राङ्गणमासमेत शङ्कास्पद सङ्क्रमितलाई राखेर उपचार व्यवस्थापन गर्न थालिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । कोरोनाजस्तो लक्षण देखिएका जटिल प्रकृतिका बिरामीले अस्पतालको आकस्मिक कक्ष भरिएको छ । कतिपयलाई आकस्मिक कक्ष नजिकैको ग्यालरीमा र कतिपयलाई प्राङ्गणमा राखेर उपचार गर्नुपरेको श्रेष्ठले बताउनुभयो ।
नमुना परीक्षणको नतिजा आइनसक्दै कोरोनाजस्तो लक्षण भएका जटिल प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पताललाई बिरामी थेग्नै मुस्किल भएको छ । प्रयोगशालामा जनशक्ति न्यून हुँदा नमुना परीक्षण दैनिक बढीमा ५०० हाराहारीमा हुने गरेको छ भने परीक्षण कार्य र नतिजा आउन ढिलाइ हुने गरेको छ । अस्पतालका दुई वटा पीसीआर मेसिनमध्ये एउटा मात्र सञ्चालनमा रहेको छ ।
धनगढीको चटकपुरमा रहेको निजी क्षेत्रको सिपी अस्पतालका डा.सिपी पाण्डेय बुधबार बिहान बिरामीका आफन्तलाई कतैबाट सिलिन्डरसहितको अक्सिजन उपलब्ध हुन सके उपचार व्यवस्थापन सहज हुने आग्रह गर्दै हुनुहुन्थ्यो । सङ्क्रमितका आफन्तलाई उहाँले भन्नुभयो, ‘‘सक्नुहुन्छ भने सङ्क्रमितलाई सुविधासम्पन्न ठाउँमा उपचार गराउन लैजानुस्, नसके अस्पतालमा अक्सिजन उपलब्ध गराउनुहोस्, अवस्था जटिल भइसक्यो ।’’
कोभिड अस्थायी अस्पताल भरिभराउ हुँदा पछिल्ला दिनमा धनगढी र आसपासका कतिपय निजी अस्पतालमा समेत कोभिड वार्ड सेवा थालिएको छ । तर, यी अस्पतालमा सङ्क्रमितको सहज उपचार व्यवस्थापनमा समस्या भइरहेको छ । यतिबेला समुदायका कतिपय घर परिवारका सदस्यहरू रुघाखोकी, ज्वरो आउने, टाउको दुख्नेजस्ता रोगको लक्षणले ग्रसित भइरहेका छन् । यस्तो लक्षण भएका धेरैले परीक्षणको व्यवस्था सहज नहुँदा नमुना परीक्षण गराउन सकिरहेका छैनन् । नतिजा पोजेटिभ आइहालेमा मनोबल झन खस्किन सक्ने भन्दै अन्य कतिपय यस्ता बिरामी नमुना परीक्षण गराउन नै डराउन थालेका छन् ।
सेती प्रादेशिक अस्पतालमा मात्रै पछिल्लो हप्तामा छ महिलासहित २५ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अघिल्लो हप्ता उपचारमा रहेका सङ्क्रमितको मृत्यु हुने दर यो भन्दा न्यून थियो । प्रयोगशालामा यो हप्तामा दुई हजार ७६१ को नमुना परीक्षण गरिएकोमा एक हजार ११३ मा सङ्क्रमण भएको नतिजा आएको छ । प्रदेशमा भने हालसम्म एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएकामध्ये ४४ को र पीसीआरबाट पोजेटिभ देखिएकामध्ये ९० जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म पीसीआर जाँचमा पोजेटिभ देखिएकामध्ये बुधबारसम्म निको हुने बिरामी १४ हजार ४४६ पुगेका छन् । एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएकामध्ये एक हजार ५१८ निको भएका छन् । एन्टिजेन परीक्षण यही वैशाखबाट सुरु गरिएको थियो ।
सेती प्रादेशिक अस्पतालमा व्यवस्था गरिएका दुई थान पीसीआर मेसिनमध्ये एउटामात्र सञ्चालनमा छ । प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्ति अभावले अर्को मेसिन सञ्चालन गर्न नसकिएको बताउनुभयो । ‘‘दिनमा बढीमा ५०० को हाराहारीका स्वाबका नमुनामात्र परीक्षण गर्न सकिएको छ’’, शाहीले भन्नुभयो । अस्पतालले क्षमता बढाउन नसक्दा नमुना परीक्षणका लागि दैनिक ५० जनाको मात्र नाम दर्ता गर्ने गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षणको व्यवस्थापन गरिरहेको छ । पीसीआर परीक्षणको काम सेती प्रादेशिक अस्पतालमा हुने गरेको छ । कोभिड—१९रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई दिन अघिमात्र कैलालीको कोरोना भाइरस सङ्क्रमणको अवस्था, उपचार व्यवस्थापनमा भइरहेको कार्य, रोकथामका लागि अपनाउनुपर्ने कामका बारेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसँग टेलिफोनमा कुरा गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी रिजालमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको रोकथाम, उपचार व्यवस्थापनका लागि कैलालीको गेटामा नवनिर्मित गेटा मेडिकल कलेज भवनमा होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरको रूपमा प्रयोग गर्ने गरी तयारी भइरहेको छ । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई यसको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ ।
रूपन्देही
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजनका लागि पहल गर्न फोन, सामाजिक सञ्जाल तथा पत्रकारलाई समेत फोन गरेर आग्रह गरेका छन् ।
अक्सिजन सप्लायर्सले समयमा आपूर्ति नगरी दिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा समस्या हुने देखिएको छ । लुम्बिनी प्रादेशिक र धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित बिरामी बढेपछि अक्सिजनको खपत पनि बढेको छ तर मागअनुसार अक्सिजन उपलब्ध नहुँदा अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
बिहीबार दिउँसोसम्मका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आपूर्ति नभए सघन उपचार कक्षमा उपचाररत बिरामीको अवस्था नाजुक हुनसक्ने उहाँले बताउनुभयो । दैनिक २०० सिलिन्डरको माग हुने अस्पतालमा दैनिक ८० देखि १०० सिलिन्डरमात्र रहेको र समयमा थप सिलिन्डर नआए बिरामीको ज्यान जोखिममा पर्ने सूचना अधिकारी डा. गौतमले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो भएकाले श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अक्सिजनको माग बढी छ । अस्पतालले अहिले नेपालगञ्जबाट अक्सिजन आपूर्ति गरेको छ । अन्य जिल्लामा पनि अक्सिजनको माग बढी भएकाले सप्लायर्सले नियमितभन्दा धेरै आपूर्ति गर्न नसक्ने बताएपछि समस्या आएको अस्पतालले जनाएको छ । अस्पतालले अन्य आपूर्तिको पहल भइरहे पनि अहिलेसम्म कुनै सप्लायर्ससँग सम्झौता हुनसकेको छैन । अस्पतालकै अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइए पनि अपुग भएको छ ।
प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दैनिक १५० सिलिन्डरको खपत हुँदै आएको छ । कोरोनाका बिरामी बढेपछि त्यहाँ पनि माग बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र खनालले नागरिक हेल्प डेस्कबाट दैनिक ४०० देखि ५०० सिलिन्डर अक्सिजन आपूर्ति गरिदिन सामाजिक सञ्जालमार्फत याचना गर्नुभएको छ । अहिले सप्लायर्सबाट आपूर्ति भएको १००–१५० सिलिन्डर अक्सिजनले थाम्न नसक्ने भएकाले थप सिलिन्डर आवश्यक भएको उहाँले बताउनुभयो ।
“अझ हामीले दुई÷चार दिनमै अर्को एचडीयू खोल्दा र अन्य अक्सिजन शय्या थप्दा सम्भव भए ३०–३५ शय्याको अर्को कोभिड आईसीयू बनाउँदा कम्तीमा एक हजार सिलिन्डरको आपूर्ति हुनुपर्ने हुन्छ, कसरी व्यवस्था गर्नु”, उहाँले आफ्नो फेसबुकमार्फत सहयोगका लागि आग्रह गर्दै भन्नुभएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा अस्पतालको फिवर क्लिनिकमा आउने कोरोना शङ्का लागेका बिरामीलाई पनि आकस्मिक कक्षमा राखेर उपचारको व्यवस्था मिलाइएको छ । अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा फिवर क्लिनिकमा सात, कोरोना विशेष अस्पतालमा अक्सिजनजडित शय्या (एचडीयू) ३६ तथा १५ वटा सघन उपचारकक्ष (आईसीयू) शय्या छन् । यीबाहेक बेञ्च तथा भुइँमै राखेर पनि अक्सिजनको सहायतामा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
अक्सिजनको अभाव भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको छ । अक्सिजन बैङ्क वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अभाव देखिएको जनाउँदै अस्पतालमा सिलिन्डर उपलब्ध गराउन उहाँले आज सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको हो ।
डोटी
पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् । चालकले सङ्क्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ । कोराना भाइरसका सङ्क्रमित बिरामीलाई बोक्नका लागि डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ । कोरोना सङ्क्रमित बिरामीका आफन्तहरूले फोन गर्दा चालकले आफूहरूसँग कोरोनाबाट जोगिने कुनै पनि सुरक्षा सामग्री नभएका कारण बोक्न नसक्ने भन्दै आलटाल गर्ने गरेको स्थानीयवासी हर्कबहादुर धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमित बिरामी लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा कुन बिरामी भएको हो भन्छन्, कोरोना भनेपछि बोक्नै मान्दैनन् ।” एम्बुलेन्स चालकहरूले नै कोरोना सङ्क्रमित बोक्न नमान्ने गर्न थालेपछि यहाँका गाउँघरमा बिरामी भएकाहरूलाई जिल्ला सदरमुकामका अस्पताल तथा जिल्लाबाहिर लैजान निकै समस्या हुन थालेको स्थानीयवासीको गुनासो छ । कोभिड नियन्त्रणसम्बन्धी न्यूनतम सुरक्षा तथा सावधानी नभएको अवस्थामा एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेकाले बोक्न केही असहज भएको एम्बुलेन्स चालकहरूको भनाइ छ । कोरोना सङ्क्रमित बिरामीलाई बोक्नलाई कुनै पनि सामग्री नभएका कारण समस्या हुँदै आएको र बिनासुरक्षा बिरामी बोक्न नसकिने केआइसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा सामग्री छैन, हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौँ । सुरक्षा र सावधानीबिना काम गर्न कसरी सकिन्छ ?”
अधिकांश एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् । उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दिैन भन्न नमिल्ने र त्यसो गरेको प्रमाणित भए कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दिन भन्न कुनै हालतमा पनि पाउँदैनन, आफ्नो सुरक्षा सावधानी अपनाएर समस्या परेका बखत बिरामी बोक्नैपर्छ ।”
जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गए पनि उनीहरूलाई अस्पतालसम्म पु¥याउन पर्याप्त एम्बुलेन्स नहुँदा झनै समस्या उत्पन्न भएको बताइएको छ । जिल्ला सदरमुकाम सिलगढीमा केही दिन यतादेखि एम्बुलेन्सको अभाव देखिएको छ । सदरमुकाममा जम्मा दुई वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् । जिल्ला अस्पताल डोटीका दुई र दिपायल सिलगढी नगरपालिकाको एक एम्बुलेन्स प्रयोगमा नरहेका कारण एम्बुलेन्स अभाव देखिएको स्थानीयवासी तथा सञ्चारकर्मी कर्ण चन्दले जानकारी दिनुभयो । एम्बुलेन्स बिग्रिएपछि मर्मत नभएका कारण जिल्ला सदरमुकाममै एम्बुलेन्सको अभाव देखिएको हो । दिपायलमा रहेको शैलेश्वरी अस्पताल र चोपडा अस्पतालका दुई वटा मात्र एम्बुलेन्स प्रयोगमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला अस्पताल डोटीको एक एम्बुलेन्स बिग्रिएको र अर्को सेती प्रादेशिक अस्पताल कैलालीमा रहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्स पनि बिग्रिएको र मर्मतका लागी कैलालीमा लगिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग भएको एउटा एम्बुलेन्स बिग्रेका कारण मर्मतका लागि पठाएका छौँ, एम्बुलेन्स मर्मत भएर आएको छैन, आएपछि सञ्चालन हुन्छ ।”
यसैगरी पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको ५० शय्याको सुजङ अस्पताल पनि एम्बुलेन्सविहीन छ । जिल्लाभरिमा कुल १५ वटा एम्बुलेन्स रहेको अवस्थामा जिल्ला सदरमुकाम सिलगढीमा रहेका तीन वटा एम्बुलेन्स एक साथ बिग्रँदा एम्बुलेन्सको अभाव भएको हो । डोटी जिल्लामा नौ वटै स्थानीय तहमा रहेका एम्बुलेन्सले स्थानीय तहभित्र भएका बिरामी बोक्ने गरेका छन् । अहिले १२ वटा एम्बुलेन्स मात्र सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक तेजबिक्रम शाहीले जानकारी दिनुभयो । सङ्क्रमित तथा अन्य बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर उपचारका लागि लैजान एम्बुलेन्स नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।
दार्चुला
दार्चुला जिल्लामा पीसीआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ । पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शङ्कास्पद बिरामीको जाँच गरिएको हो । कोभिड–१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा पर्याप्त हुनसकेको छैन । स्वास्थ्य कार्यालय दार्चुलाबाट निश्चित मात्रामा पठाइएको एन्टिजोन किट्सका माध्यमबाट परीक्षण गरिएको छ ।
अहिले जिल्लाभरि कोरोनासँग मिल्दो लक्षण भएका बिरामी जताततै बढेका छन् । रुघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी अधिकांश गाउँमा रहे पनि उनीहरूको जाँच हुनसकेको छैन । मार्मा गाउँपालिका–३ मा एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्यकर्मीमै सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ ।
ज्वरो तथा रुघाखोकीका बिरामीहरू उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेका छन् । उपकरण, जनशक्ति र औषधि अभावमा सबै बिरामीको घरमा पुगेर उपचार गर्न सकिने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना महामारीको दोस्रो लहर डरलाग्दोरूपमा फैलिएका बेला भारतबाट यहाँका सयौँ स्थानीय रोजगारी छोडेर गाउँ फर्किएका छन् । भारतबाट कति जना गाउँ फर्किए भन्ने यकिन तथ्याङ्क कुनै स्थानीय तहसित पनि छैन ।
भारतबाट फर्किएकाहरू सिधै गाउँघरमा पस्दा कोरोनाको जोखिम झनै बढेको स्थानीय जगतसिंह ठगुन्ना बताउनुहुन्छ । “गाउँघरमा उनीहरू निस्फिक्री घुमिरहेका छन्”, उहाँले भन्नुभयो । यहाँका धेरै मानिसहरू रोजगारी र मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गर्छन् र पढाइका लागि धनगढी, महेन्द्रनगर, काठमाडौँलगायतका सहर पसेका विद्यार्थीहरू पनि समस्यामा परिने डरले गाउँ फर्किसकेका छन् । उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन । केहीलाई ज्वरो आएको जाँच गर्न पनि स्वास्थ्य संस्था नजाने हुँदा गाउँमा कोरोनाको त्रास बढेको छ ।
जिल्लामा पूरै निषेधाज्ञा जारी गरिएको भए पनि परीक्षणको दायरा बढाइएको छैन । दुहुँ गाउँपालिका हिकिला स्वास्थ्य चौकी प्रमुख प्रेमसिंह धामी हिकिलामा अहिलेसम्म १० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको बताउनुहुन्छ । जिल्लाबाटै एन्टिजेन थोरै पठाइएको छ । थोरैमात्र पठाइएको हुँदा नमुनाको रूपमा पाँचवटै वडामा परीक्षण गरिएको छ । २५ एन्टिजेन पठाइएकोमामा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।
जिल्लामा पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानिएको भट्ट बताउनुहुन्छ । एन्टिजेनले बिरामीको नाकबाट स्वाब लिएको १५ मिनेटमै रिजल्ट दिने गरेको छ । यसको रिपोर्ट पीसीआरसँग झण्डै ७५ प्रतिशत मिल्ने बताइएको छ ।
(राष्ट्रिय समाचार संस्थाको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *