भर्खरै :

वरिष्ठ गायक प्रधान र समालोचक मालीको निधन

वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौँली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौँको नःघलमा भएको थियो ।
पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो । उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’, २०२१÷२०२२ सालतिरको ‘घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको’ जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो’ जस्ता लोकगीत पनि चर्चित छन् ।
विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँग गाएको ‘नमान लाज यस्तरी’ जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुन्डिएको छ ।
उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो । उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झन्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
रहनुभएन इन्द्र माली

कवि तथा समालोचक इन्द्र मालीको बिहीबार बिहान मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको छ । उनान्असी (७९) वर्षीय माली नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्यसचिव हुनुभएको थियो । उहाँ नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता पनि हुनुुहुन्थ्यो ।
नेपाली भाषामा पनि कलम चलाउनुहुने उहाँका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकु विधा भित्र्याउने श्रेय पनि उहाँलाई दिइन्छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँको बिहीबार अन्त्येष्टि गरियो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *