भर्खरै :

कार्ल माक्र्सको जन्मदिवसमा अध्ययन गोष्ठी

भक्तपुर, २५ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०३ औँ जन्म दिवसको अवसरमा अध्ययन गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालका कम्युनिस्ट पार्टीका नेताहरूका सल्लाहकार र सहयोगीहरू पुँजीपतिहरू भएकाले ती पार्टीहरूले पुँजीपति वर्गकै सेवा गर्नेछन् भन्नुभयो ।
समाजवादमा मात्रै कामदार वर्गको हित हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “कामदार वर्गले काममात्र गर्ने होइन, राजनीतिक र सांस्कृतिरूपमा पनि अघि बढ्नुपर्छ र त्यसको जिम्मा राज्यले लिनुपर्छ ।”
देशकै ठुल्ठुला पदमा पुगेका मानिसहरूमा अध्ययन नहुँदा परिस्थितिको सही विश्लेषण नभएको र विश्वव्यापीकरण र निजीकरणजस्ता साम्राज्यवादका ज्यावलहरूकै वकालत गर्दै हिँडेको बताउँदै उहाँले विद्यार्थीहरूले मानव समाजको विकास, विभिन्न देशका कामदार वर्गको आन्दोलन र क्रान्ति, कम्युनिस्ट आन्दोलन, किसान आन्दोलनलगायतका विषयहरूमा गहन अध्ययन र छलफल चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले विद्यार्थी कार्यकर्ताहरूलाई अध्ययन गर्न गराउन अध्ययन गोष्ठीको आयोजना गरेको बताउनुभयो ।
विश्वव्यापी महामारी कोभिड–१९ को रोकथामका लागि आ–आफ्नो क्षेत्रबाट सकेको प्रयास गर्नुहुन विद्यार्थी कार्यकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो ।
समितिका सदस्य ईश्वर शाहीले ‘द्वन्द्वान्मक भौतिकवाद’ र अर्का सदस्य हृदय दाहालले ‘माक्र्सवादका तीन सङ्घटकहरू’ बारे आ–आफ्नो प्रस्तुति दिनुभएको कार्यक्रममा केन्द्रीय सचिव रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *