भर्खरै :

पूर्वकमैयाहरुसँग एक साँझ

-नीरज
असार महिनाको पहिलो साताको एक साँझ हामी बैलोटी थारुको आँगनमा पुग्दा उनी घरमा थिइनन् । घरमा छोरी मात्र थिइन् । बेलौटी आफ्ना श्रीमानसँग सीमावर्ती भारतीय बजार बलेह गाउँमा गएकी रहिछिन्–पूजाको लागि सामान किन्न ।
बेलौटीकी छोरीले हाम्रो स्वागतमा छेउमा राखिएको खटिया लडाइन् र घरभित्रबाट दुई थान हाते पंखा ल्याएर दिइन् । घाममा हिंडेर लोथ परेका हामी मध्यम आकारको खटियामा थुचुक्क बस्यौं । हाते पंखा चलाएर अनुहारभरि उर्लिएको पसिनाका धारा सुकायौं । हाते पंखा गज्जबको हुने रहेछ–एक जनाले घुमाउँदा वरपरका तीन चारजनाले शीतल बाँड्न सकिने । थारु समुदायको संस्कृति रहेछ–कोही मानिस घर आउँदा खटियामा लडाएर बसाल्ने, चापाकलमा गएर जगभरि पानी ल्याएर पिउन दिने र हातेपंखा घुमाउँदै कुराकानी शुरु गर्ने ।
बेलौटीकी छोरी चापाकलमा पानी भर्दै गर्दा छिमेकको एक जना अर्धबैशे आएर हाम्रो हातभरि कुसुमका दाना राखिदिए । मैले कुसुम कहिल्यै खाएको थिइन । हरियो रंगको बाक्लो बोक्राभित्र पहेलो रंगको फल । राम्ररी पाकिनसकेकाले अमिलो थियो । अमिलोले दाँत नै झनन्न भयो । तर खान भने छोडेनौं । अमिलो कुसुम र पेटभरि चापाकलको पानी । हातेपंखा लगातार कोही न कोहीको हातमा घुमिरहेकै थियो । अँध्यारो बाक्लिएसँगै मच्छरका बथानको सक्रियताले हाम्रा हातहरु पनि सक्रिय बन्दै थिए । त्यही बीच साइकलका पौरानी पेल्दै आइपुगिन्–बेलौटी । उनीसँगै थिए उनका श्रीमान शिवप्रसाद थारु । दुवैका साइकलभरि पुजाको बन्दोबस्तीका सामानहरु छन् ।
बर्दियाको थारु समुदायका अधिकांश परिवार विशेषतः अलि उमेर चढेका मानिसहरु कुनै न कुनै धार्मिक सम्प्रदायमा लागेका छन् । कोही सीताराम धर्म, कोही जयगुरु देव त कोही अरु नै केही । बेलौटीको परिवार जयगुरु देवको भक्त हो । त्यही कारण उनको आँगन पस्ने मुखैमा जय गुरुदेवको ठूलै फ्लेक्स बोर्ड ठड्याइएको छ ।

माओवादी केन्द्रको कार्यक्रमलाई प्रचण्डको दर्शन गरेर आएका मानिसहरु बीच बाटोमा माओवादीले दिएको टी–सर्ट फुकालेर रुख चिन्ह भएको टी–लगाइरहेको दृश्य हेर्न लायक थियो । त्यो दिन बर्दियाका कांग्रेस नेता तथा सभासद् संजय गौतमको आउने कार्यक्रम हुँदै थियो अर्को ठाउँमा ।

बेलौटीका श्रीमान शिवप्रसाद आजभोलि गाउँका बडघर हुन् । बडघर गाउँको मुख्य अगुवा हो । एक प्रकारले सामाजिक नेता । बडघरले भनेको सबैले मान्नुपर्छ भन्ने मान्यता अझै पनि थारु समुदायमा ज्यँुदो छ । तर यो मान्यता क्रमशः पातलो बन्दै गइरहेको छ । हरेक वर्षको माघेसंक्रान्तिका दिन थारु समुदायले आफ्नो समुदायको बडघर छान्ने परम्परा छ । पहिलेकै बडघर राम्रो भए उसैलाई पुनः निर्वाचित गर्ने नत्र अर्को छान्ने थारु परम्पराको हिस्सा हो । आधुनिक भाषामा भन्नु पर्दा यो एक प्रकारको प्रजातान्त्रिक अभ्यास हो । थारु समुदायमा अझै पनि त्यस्ता धेरै परम्परा बाँकी छन् जसले यो समुदायले प्रजातान्त्रिक वा लोकतान्त्रिक जे भन्नुहोस्, अभ्यासलाई आफ्नो समुदाय सञ्चालनको आधार बनाइरहेको पुष्टि गर्दछ । बडघर परम्परा त्यस्तै परम्पराको उदाहरण हो ।
हाँक हाल्ने परम्परा अर्को उदाहरण हो । हरेक गाउँमा एक जना चौकीदार हुने गर्दछ जसले गाउँमा कुनै नयाँ खबर भए गाउँलेलाई सुसूचित गर्ने गर्दछ । चौकीदारले कुनै विषयमा बैठक वा भेला भए सबैलाई खबर गर्ने गर्दछ र त्यही खबरअनुसार सबै गाउँले तोकिएको स्थानमा भेला हुने गर्दछन् । हाँक बडघरको आदेशमा हाल्ने चलन रहेछ ।
कुनै हाँक सामान्य खालको हुने गर्दछ जसमा तोकिएको स्थानमा भेला नभए वा काम नगरे गाउँले जरिवाना तिर्न पर्दैन । बडघरको अदबले मात्र त्यो हाँक मान्ने गरिन्छ । तर अर्को थरीको हाँक फरक खालको हुने गर्दछ । त्यस्तो हाँकअनुसार काम भएन वा परिवारको कोही पनि सदस्य तोकिएको ठाउँमा भेला भएन भने आर्थिक जरिवाना तिर्नुपर्ने हुन्छ । थारु समुदायको यो परम्परालाई आजभोलि राजनीतिक दलहरुले भरपुर उपयोग गरिरहेको पाइयो । पार्टीका मानिसले बडघरलाई हातमा लियो अनि गाउँभरि हाँक हाल्न लगायो । अनि राजनीतिक पार्टीका कार्यक्रममा जनता जम्मा पार्ने काम हुने गरेको छ । स्थानीय तहको चुनावको क्रममा बर्दियाको बार बर्दिया नगरपालिकाको प्रशासनिक केन्द्र जयनगरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वामदेव गौतम को सहभागितामा ‘ठूला’ सभाहरु भए । तर त्यहाँ भेला भएका जनता अधिकांश जरिवाना तिर्नाका पीरले पनि ती सभाहरुमा सहभागी बनेका थिए । पाँच सय रुपैंया बेफ्वाक तिर्न भन्दै पार्टीले बन्दोबस्त गरेका ट्रयाक्टरमा बस्यो, रमाइलो हेर्न जयनगर गयो वश । त्यस कारण कुनै पार्टीको सभामा मानिस धेरै भेला भएर खुशी मनाउनुको कुनै तुक हुने गर्दैन–त्यहाँ ।
माओवादी केन्द्रको कार्यक्रमलाई प्रचण्डको दर्शन गरेर आएका मानिसहरु बीच बाटोमा माओवादीले दिएको टी–सर्ट फुकालेर रुख चिन्ह भएको टी–लगाइरहेको दृश्य हेर्न लायक थियो । त्यो दिन बर्दियाका कांग्रेस नेता तथा सभासद् संजय गौतमको आउने कार्यक्रम हुँदै थियो अर्को ठाउँमा ।
…………………..
बेलौटीको घर शोभानगरमा छ । १७ वर्षअघि यो ठाउँ पूरै जंगल थियो । २०५७ साल साउन २ गते तात्कालीन शेरबहादुर देउवा सरकारले कमैया ‘मुक्ति’ घोषणा गरेपश्चात ‘मुक्त’ कमैयाहरुलाई यहाँको जंगल फडानी गरी पुनर्बास गरियो । यहाँ बसेका सबै परिवारलाई प्रतिपरिवार पाँच पाँच कठ्ठाका दरले जग्गा वितरण भयो । आज त्यही ठाउँ शोभानगर बनेको छ । शोभानगरका अधिकांश पूर्व कमैयाहरु राजीपुरबाट यता आएका हुन् ।
बेलौटी राजीपुरका जमिन्दार मदनमोहन जोशीको घरमा कमैया थिइन् । जोशीको घरमा कमैया बस्नुअघि बेलौटीको परिवार एक जना थारुकै घरमा कमैया बसेका थिए केही वर्ष । कुनै जमिन्दारको घरमा कमैया बस्नुको अर्थ त्यो घर र परिवारका सबै काम गर्न हुने गर्दछ । कामको कुनै सीमितता नै हुने गर्दैन । बेलौटीले कमैयाको कामबारे एक शब्दमा जवाफ दिइन्–सबै । जमिन्दारको खेतका काम सबै कमैयाले गर्नुपथ्र्यो अनि बाली लागे पछि सबै उब्जनीलाई तीन भाग लगाइथ्यो । तीन भागमध्ये दुई भाग उब्जनीले जमिन्दार आफ्नो भकारी भथ्र्यो अनि एक भाग सबै कमैयाहरुलाई दामाशाही गरेर बाँडिन्थ्यो । राम्रो उब्जनी जति जमिन्दारकै भागमा पथ्र्यो र नराम्रो भाग कमैयाले बाँडेर लिनुपथ्र्यो । दुवै श्रीमान–श्रीमती रातदिन काम गरेर पनि वर्षको मुस्किलले पाँच कुइन्टल धान हात लाग्थ्यो । त्यो बाहेक अरु फलेका अनाज र फलफुलमाथि कमैयाको केही हक लाग्दैन्थ्यो ।

चुनाव आउँदा जमिन्दारकै पार्टीमा भोट हाल्नुको विकल्प थिएन । आफ्नो जमिन्दारको कुरा अटेर गरेर भोट हाल्दा मुखमा माद नलाग्ने डर थियो । ‘खोई अरुले के–केमा हाले । हाम्रो जमिन्दार त एमालेका थिए । हामीले सूर्यमै भोट हाल्यौं,’ बेलौटीले अन्कनाउँदै भनिन् ।

तर कमैयाले काम भने भएभरको गर्नुपथ्र्यो । जमिन्दार– जमिन्दारनीको टाउको मुसार्ने, खुट्टा मिच्ने, घर सफा गर्ने, ओछ्यान मिलाउने, खेतका सबै काम गर्ने देखि पेटीकोट धुनेसम्मका काम कमैयाकै भागमा पथ्र्यो ।
सारा काम गरेर पनि भोक मेटाउने बेलामा जमिन्दार थारुलाई होच्याएर बोल्थ्यो–‘होइन यो थारुहरु कति कति भात खान्छन् हँ ।’
कमैयाले तेलमा पकाएको परिकार खान ऐनमौका कुर्नुपथ्र्यो । त्यत्तिबेला झुल हालेर कोही सुतेको देख्दा मात्र पनि बेलौटी र शिवप्रसादहरुलाई ‘कति धनी र भाग्यमानी मानिस रहेछ’ भन्ने जस्तो महसुस हुने गथ्र्यो । कसैले साइकल चढेको देख्दा र रेडियो घन्काएर हिंड्दा त बाफरेबाफ जस्तो लाग्ने गथ्र्यो ।
कमैयालाई बस्न सानो कटेरो त दिइएको हुन्थ्यो । तर जमिन्दारको कामको चटारोमा त्यो कटेरोको कुनै अर्थ हुने गर्दैथ्यो । बस्न नपाउने भए पछि त्यसको के अर्थ रह्यो र ?
कमैयाको भागमा कहिल्यै ‘तिमी’ शब्द पर्दैन्थ्यो । ‘तँ’ बाट शुरु भएर ‘तँ’ मै सकिन्थ्यो बोली वचन । कमैयाप्रति सम्मानभाव कहिल्यै हुने गर्दैन्थ्यो । जमिन्दारको अघि एक शब्द बोल्दा ‘होइन यो थारु किन बढी बोल्दैछ ?’ ‘यो थारुनीलाई किन भात लागेछ’ जस्ता बात सुन्नुपथ्र्यो ।
जमिन्दारको अघि बोल्न कसैको आँट पुग्दैन्थ्यो ।
चुनाव आउँदा जमिन्दारकै पार्टीमा भोट हाल्नुको विकल्प थिएन । आफ्नो जमिन्दारको कुरा अटेर गरेर भोट हाल्दा मुखमा माद नलाग्ने डर थियो । ‘खोई अरुले के–केमा हाले । हाम्रो जमिन्दार त एमालेका थिए । हामीले सूर्यमै भोट हाल्यौं,’ बेलौटीले अन्कनाउँदै भनिन् । रातोदिन खेतमा जोत्ने कमैयालाई राजनीति किन चाहियो र भन्ने धारणा जमिन्दारसँग मात्र होइन, कमैयाहरुको मनमस्तिष्कमा पनि व्याप्त थियो ।
…………………………..
कमैया ‘मुक्ति’ पछि बेलौटी र शिवप्रसाद सरकारले ल्याएर छोडेको यो ठाउँको जंगल फाँडेर बसेका छन् । आज आफ्नै नाममा केही न केही सम्पत्ति त छ भन्ने जस्तो लागेको छ उनीहरुलाई । जमिन्दारको घरमा जीवन सकाएका आफ्नो पूर्खाभन्दा आफ्नो जीवनमा केही परिवर्तन त भएको उनीहरु सोच्छन् । तर छोराछोरीलाई पढाउने औकात अझै पुगेको छैन गाउँको बडघरको यो घरमा । आफू पनि कहिल्यै स्कुल नटेकेको यो दम्पत्तीले सन्तानलाई पढाउन सकेनन् ।
बेलौटी निकै खुलेर कुरा गर्छिन् । उनका हात, खुट्टा र अनुहार हेर्दा जो कोही पनि उनले तराईको चर्को घाममा बगाएको पसिना र गरेको कडा श्रमबारे अनुमान गर्न सक्दछ ।
शिवप्रसाद लजालु स्वभावका तर बेलौटी भने फरासिलो स्वभावका । कुरा गर्दै गर्दा गाउँको बडघर शिवप्रसाद होइन, बेलौटी हुनुपर्ने जस्तो भान भइरहने ।
बडघर भएको नाताले सबैलाई खुशी राख्नुपर्ने कर्तव्य छ यो घरको । त्यसकारण बेलौटीको घरमा सबै पार्टीका झण्डा फहराइएका छन् –रुख, सुर्य, गोलाकार हँसिया हथौडादेखि गिलाससम्म । लगाउन पनि शिवप्रसादले गोलाकारभित्र हँसिया हथौडाको टीसर्ट लगाएका छन् र घाँटीमा सुर्य अंकित गम्छा झुण्ड्याएका छन् । सबैको मन राख्नै प¥यो ।
बेलौटीको घरबाट नजिकै छ–भवन घर(सामुदायिक भवन) । त्यहाँ अरु गाउँलेलाई पनि भेट्ने सानो तारतम्य मिलाइएको थियो । झमक्क साँझ परिसकेको थियो । भेलामा २०५७ सालमा कमैया मुक्तिको नाममा जोताहा कमैयाहरुलाई मोहियानी हकबाट बेदखल गरी जमिन्दारहरुलाई मुक्त गर्ने काम शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको र नेमकिपाबाहेक सबै पार्टीले टेबुल ठोकेर संसदबाट त्यो धोखेबाजीको स्वागत गरेको कुरा बोल्दै गर्दा त्यो अँध्यारोमा पनि मानिसहरु सहमति जनाउँदै गरेको प्रष्ट देखिन्थ्यो । आफ्नो थारु भाषामा उनीहरु बीच बीचमा सहमतिका शब्दहरु बोल्दै थिए ।

हिजोका मैमत्त जमिन्दारहरु आज बढेसकालीन दिन बिताइरहेका छन् आज रुग्न बन्दै गएका आफ्ना दरबारहरुमा । जमिन्दारका बगैंचामा मक्किदै गइसकेका छन्–धेरै धेरै रुखहरु । आज थारुहरु बोल्न सक्ने भएका छन् । तर जमिन्दारका सन्तानहरु आज पनि कुनै न कुनै शासक दलको झण्डा बोकेर आफ्ना हिजोका कमैयाहरुलाई कज्याउने उपकर्ममा भने लागेकै छन् । हिजो होच्याएर थारु भन्नेहरुले आज ‘मित्र’, र ‘कामरेड’, ‘जय नेपाल’, ‘लाल सलाम’ र ‘अभिवादन’ जस्ता शब्दबाट फेरि पनि आफ्ना प्रजालाई कज्याउने काम छोडेका छैनन् ।

जमिन्दारको खेतमा पुस्तौं पुस्ता काम गरेर कमैयाहरुलाई किन यो जंगलमा जथाभावी छोड्न काम भयो ? जमिन्दारका खेतमा मोहियानी हक दिनुको सट्टा जंगल फडानी गराउने पार्टीले आज ‘हामीले तिमीहरुलाई जग्गा दिएको’ भन्दै झुठ बोल्दैछन्, तिनलाई कमैया भएर जीवनको उत्तर्राद्ध पुगेका जनताले कस्तो व्यवहार गर्ने ?, यस्ता धेरै प्रश्नहरुमाथि भेलामा छलफल भयो । रात निकै निर्खिसकेको थियो । बेलौटी अझै भेलामा उत्साहका साथ सहभागी थिइन् । भन्दैथिइन्–‘लौ कसैलाई केही सोध्नु पर्छ भने सोध्नुस् ।’
भर्खरै गोठालाबाट फर्केका पूर्व कमैयाहरुका धेरै प्रश्नहरु थिए होलान् मनमा । तर पुस्तौं पुस्तादेखि जमिन्दारको तखतमा मुख सिलाएर बसेका उनीहरुले अझै पनि मनभित्रका धेरै कुरा बोल्न सकेका थिएनन् ।
पैसा दिएको, भेस्ट दिएको, भोज खुवाएको भरमा भोट बेच्नु पाप हो भन्ने कुरा गर्दै धेरै सहभागीहरु अमन्यस्कभाव पोखिरहेका थिए ।
जमिन्दारी प्रथा आज हिजो जस्तो रापिलो छैन । हिजोका मैमत्त जमिन्दारहरु आज बढेसकालीन दिन बिताइरहेका छन् आज रुग्न बन्दै गएका आफ्ना दरबारहरुमा । जमिन्दारका बगैंचामा मक्किदै गइसकेका छन्–धेरै धेरै रुखहरु । आज थारुहरु बोल्न सक्ने भएका छन् । तर जमिन्दारका सन्तानहरु आज पनि कुनै न कुनै शासक दलको झण्डा बोकेर आफ्ना हिजोका कमैयाहरुलाई कज्याउने उपकर्ममा भने लागेकै छन् । हिजो होच्याएर थारु भन्नेहरुले आज ‘मित्र’, र ‘कामरेड’, ‘जय नेपाल’, ‘लाल सलाम’ र ‘अभिवादन’ जस्ता शब्दबाट फेरि पनि आफ्ना प्रजालाई कज्याउने काम छोडेका छैनन् ।
हिजो गाउँको जमिन्दारको घरमा कमैया बनेकाका सन्तानहरु आज ऋण लिएर विदेशमा कमैया बन्न गइरहेका छन् । अनि तिनलाई विदेशमा कमैया बन्न पठाउने मानिसहरु फेरि पनि हिजोका जमिन्दारका शाखा सन्तान छन् । उत्पादन सम्बन्ध परिवर्तन भयो तर शोषणको रुपमा कुनै अन्तर आएको छैन । बेलौटीहरु कमैया थिए तर तिनका एक छोरा र दुई छोरीहरु आधुनिक कमैया बन्नुको विकल्प देखिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *