भर्खरै :

वर्षायामको सुरुवातसँगै पहिरोको त्रास

वर्षातयाम सुरु भएसँगै खोला, नदीका छेउछाउ बसोबास गर्ने मानिसहरूलाई बाढीले बगौला कि भन्ने पिर पर्दछ भने भीर पाखा जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई पहिरोले लैजाला, पुरिएला कि भन्ने डर, त्रास मनमा पर्दछ । भारतबाट बहने चक्रीय वायुको प्रभावको कारण देशका धेरै स्थानमा केही दिन वर्षाद् हुने कुरा मौसम विभागले बताएको छ । त्यसैअनुसार चितवन जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी सचेत र सतर्कता रहन जिल्लावासीमा अनुरोध गरेको छ । हाल केही दिन यता जिल्लामा लगातार पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी एक दुई दिनसम्म अझै पानी परिरहने देखिएकोले नारायणी तथा राप्तीजस्ता ठुला नदी र अन्य ससाना खोलाहरूमा पानीको सतह बढ्न गई नदी/खोला आसपासको क्षेत्र प्रभावित हुनसक्ने तथा विभिन्न स्थानमा पहिरो जानसक्ने आशङ्का भएको हुँदा नदी कटान, डुबान, बाढी र पहिरोको उच्च जोखिममा रहेका त्यस्ता स्थान बस्तीहरूमा आवश्यक सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछ भनी प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
चितवन जिल्लामा नारायणी नदी र राप्ती नदीसँगै खहरे खोलाहरू थुप्रै बग्छन् । वर्षायाममा त्यस्ता नदी, खोलानालाहरूबाट बाढी आउँदा बर्सेनि लाखौँको जनधनको क्षति यहाँका मानिसले बेहोर्नु पर्दछ । यस्ता खालको प्राकृतिक विपत्तिबाट हुने क्षतिको कारण र भरपर्दो रोकथामका उपायहरू नअपनाउँदा सरोकारवाला निकायहरूले स्वाभाविक ठानेको जस्तो नागरिकलाई लागेको छ । बेलाबखतमा सूचना प्रकाशित गरी सचेत र सतर्कता अपनाउन अनुरोध गरेर औपचारिकतामात्र पूरा गरेको हो कि भन्ने कुरा पनि पीडितको मनमा परेको छ । नदीजन्य पदार्थहरू मापदण्डविपरीत अवैधरूपमा उत्खनन र ओसारपसार पनि प्राकृतिक विपत्तिहरू निम्तिनुको कारण हो भनी ज्ञात हुँदाहुँदै सरोकारवालाहरू तैँ चुप मै चुप किन रहन्छन् ? चासोको विषय छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जेठ १२ गते चितवन जिल्ला इच्छाकामना गाउँपालिका–७ भोटी खोलामा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएका ६ वटा ट्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समिति चितवनमार्फत आवश्यक कारबाही (रु.१०,०००/– जरिवाना) गरी छाडिएको कुरा आफ्नो फेसबुकमार्फत जानकारी गराएको छ । कालिका नगरपालिका १० स्थित सिद्धि गाउँमा क्रसर मेसिन नै राखी वरपरका खोला नालाहरूबाट गिट्टी बालुवा अवैधरूपमा झिकिएको छ । त्यस्तै भरतपुर महानगरपालिकाको ठिमुरा गाउँ नजिक भएर बग्ने त्रिसुली नदीमा दर्जनौँ टिपर, स्काभेटर, क्रसर मेसिन अवैध र मापदण्डविपरीत नै चलिरहेको स्थानीयको गुनासो छ । यस्ता किसिमका दृश्यहरूले स्थानीय सरकारहरूले नदी, खोलानालाका ढुङ्गा, गिट्टी र बालुवालगायत वन जङ्गलबाट उत्पादन हुने काठ, दाउराहरू नै मुख्य आम्दानीको स्रोत ठान्न पुगेको जोकोहीलाई लाग्न सक्छ ।
जिम्मेवार व्यक्तिहरूको यस्ता किसिमका लापरबाहीको कारण वर्षा याममा हुने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिबाट सामान्य नागरिकहरूले थप सास्ती खेप्नुपरेको हो ।
जिम्मेवारी निकाय नै कार्यकर्तालाई काम मिलाउन, आफ्ना गुन्डाहरूको पालनपोषणको लागि कर्मचारीहरूसँग मिलेमतो हुने हुँदा क्रसर उद्योगहरूलाई कुनै किसिमको मापदण्ड आवश्यक परेको देखिएन । यसकारण, जथाभावीरूपमा नदी, खोला उत्खनन हुन पुगेको छ । त्यस्ता क्षेत्रमा वर्षा याममा भेलबाढी आउँदा नदी कटान भई बाढी अनियन्त्रित हुन जान्छ । अन्तमा जनधनको क्षति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *